१ जेष्ठ २०७८ शनिबार
अन्य

जीवनको ग्रेड कसरी बढाउने?

परीक्षामा ‘ए प्लस’ आए पनि ‘बि प्लस’ वा जुनसुकै ग्रेड आए पनि त्यो तपाईंको बौद्धिक क्षमताको मापन हो। त्यसले तपाईंको आन्तरिक क्षमताको मापन गर्दैन। तपाईंको सुनिश्चित भविष्यको लागि त्यो पर्याप्त छैन। त्यस कारण ग्रेडलाई उति धेरै महत्व दिनु राम्रो होइन। अहिलेसम्म शैक्षिक क्षेत्रमा उच्च ग्रेड ल्याउन सङ्घर्षरत हुनु भयो। के अब जीवनको ग्रेड बढाउने कामको लागि तयार हुनुहुन्छ ? कक्षा दशसम्मको पढाइ एउटा अध्याय थियो। त्यसमा जे जस्तो प्रदर्शन गरियो, त्यसलाई भुलिदिनुमा नै भलाइ हुन्छ। प्लस टुदेखिको पढाइ नयाँ अध्यायको सुरुवात हो। 

यस अध्यायमा तपाईं के कुरामा केन्द्रित हुनुहुन्छ र के गर्नुहुन्छ, त्यसले तपाईंको जीवन निर्धारण गर्छ। शैक्षिक ग्रेडसँगै व्यवहार कौशल विकासमा पनि ध्यान दिनुपर्ने हुन्छ। आफ्नै अग्रसरतामा व्यक्तित्व विकास लगायत जीवनपयोगी शिक्षामा समय र ऊर्जा लगानी गर्नुपर्ने हुन्छ। अनि मात्र जीवनको ग्रेड बढाउन सकिन्छ। जीवनस्तर उकास्न सकिन्छ। यसका लागि केही कुरामा ध्यान दिनुपर्छ। एक, मानवीय आवश्यकता। दुई, सफल हुन चाहिने उत्कृष्ट दश कौशल। यसले शैक्षिक मात्र नभएर जीवनको ग्रेड बढाउन आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ।

मानवीय आवश्यकता
जीवनस्तर बढाउने अभियानमा लाग्नु पहिले मानवीय आवश्यकता बारेमा ज्ञान लिनु जरुरी छ। अमेरिकी लेखक टोनी रबिन्सका अनुसार मुख्यतः मानवीय आवश्यकता ६ वटा छन्। ती हुन्ः निश्चितता, विविधता, महत्व, सम्पर्क, विकास र योगदान।

निश्चितताः हामी सन्तुलित जीवन बाँच्न चाहन्छौँ। सम्बन्ध, स्वास्थ्य र आर्थिक जस्तो संवेदनशील पाटोमा सन्तुलन कायम भएको देख्न चाहन्छौँ। कुनै किसिमको उतारचढाव भोग्न चाहदैनौँ। हरेक कुरामा निश्चितता खोज्छौँ।

विविधताः हामीलाई विविधता मन पर्छ। एकै प्रकृतिको क्रियाकलापमा व्यस्त रहन सकिँदैन। नयाँ नयाँ अनुभव सँगाल्न चाहन्छौँ। आश्चर्यचकित बनाउने, साहसिक कार्य गर्न तत्पर रहन्छौँ।

महत्वः आफ्नो महत्व झल्काउन खोज्नु मानवीय स्वभाव नै हो। अरुभन्दा महत्वपूर्ण रहेको पुष्टि गर्न हामी लागिरहेका हुन्छौँ। अग्रस्थानमा देखिन चाहन्छौँ। नोटिस हुनको लागि जे पनि गर्न तयार हुन्छौँ।

सम्पर्कः उचित सम्पर्क बिना अगाडि बढ्न त्यति सहज छैन। त्यसैले क्षमतावान् व्यक्तिसँग जोडिने चाह हुन्छ। सम्पर्कविहीन, घृणित र एक्लो रहन सकिँदैन। प्रशंसित हुन चाहन्छौँ।

विकासः जुनकुनै गतिविधिमा संलग्न होऔँ त्यसले दिन सक्ने फाइदा हेरिन्छ नै। सोही गतिविधिका कारण व्यक्तिगत स्तरमा हुने विकासक्रम हेरिन्छ। कुनै परिवर्तन अनुभूत हुँदैन, फाइदाजनक परिणाम आउँदैन र प्रगति विवरण सङ्कलन गर्न सकिँदैन भने त्यस गतिविधिलाई निरन्तरता दिनुको औचित्य रहँदैन।

योगदानः सकेसम्म सहयोग र योगदान दिन सक्नुपर्छ। असीमित क्षमता, स्रोत साधन र धन सम्पत्ति छ तर त्यसको कुनै उपयोग गरिँदैन भने जीवन अर्थपूर्ण हुन सक्दैन। आफूसँग रहेको अरुलाई दिन सक्नुपर्छ अनि मनमा शान्ति मिल्छ।

उत्कृष्ट दश कौशल
जीवनस्तर उकास्ने अभियानमा लाग्नु पहिले ज्ञान लिनुपर्ने अर्को विषय हो, उत्कृष्ट दश कौशल। वल्र्ड इकोनोमिक फोरमले हरेक वर्ष उत्कृष्ट दश कौशलको रिपोर्ट निकाल्ने गर्छ। सन् २०२० मा सफल हुन चाहिने उत्कृष्ट कौशल यस प्रकार छन्ः जटिल समस्या समाधान, गहन सोचाइ, रचनात्मकता, मानवीय व्यवस्थापन, अरुसँगको समन्वय, भावनात्मक बुद्धिमता, निर्णय र निर्णय लिने, सेवा अभिविन्यास, सम्झौता रर संज्ञानात्मक लचिलोपन

यी उत्कृष्ट दश कौशलको सूचीमा हरेक वर्ष फेरबदल हुन सक्छ। यति मात्र होइन नयाँ कौशल पनि सुचीकृत हुने सम्भावना उत्तिकै रहन्छ। जो व्यक्ति उत्कृष्ट दश कौशलमा महारत हासिल गर्न सक्छ, उसले चाहेको जीवन निर्माण गर्न सक्छ। यसर्थ उत्कृष्ट दश कौशल सूचीअनुरुप चल्न अभ्यस्त रहनुहोस्।

अब गर्ने के ?
मानवीय आवश्यकताहरु के–के हुन्, त्यसको मोटामोटी जानकारी भएको हुनुपर्छ। भविष्यमा सफल हुन अत्यावश्यक कौशलको बारेमा पनि जानकारी भयो। उसो भए ती आवश्यकता परिपुर्ति गर्न के गर्ने ? कौशल कसरी निर्माण गर्ने ? यस्ता प्रश्नहरू उठेका हुन सक्छन्। त्यसका लागि निम्न कार्यनीति अवलम्बन गर्न सकिन्छः

(क) क्षमता र मुल्य मान्यता अनुसार उद्देश्य लिनेः हरेक व्यक्तिको अद्वितीय क्षमता हुन्छ। आफ्नो क्षमता के हो त्यो चिन्ने कोसिस गर्नोस्। तपाईंमा डाक्टर बन्ने क्षमता छ कि इन्जिनियर बन्ने, वक्ता बन्ने क्षमता छ कि लेखक बन्ने, मनोवैज्ञानिक परामर्शदाता बन्ने क्षमता छ कि राजनेता, कलाकार बन्ने क्षमता छ या अरु अन्य क्षमता छ ? त्यसमा स्पष्ट रहनुहोस्। अझै पनि भ्रममा हुनुहुन्छ भने स्रोत व्यक्तिको सहयोग लिनुहोस्। त्यसैगरी हरेक व्यक्तिको फरकफरक मूल्य मान्यता हुन्छ। तपाईंको प्रमुख मूल्य मान्यता के हो ? सम्मान हो या स्वतन्त्रता, सफलता हो या स्वस्थ्य, प्रेम हो या मित्रता, विज्ञान हो या आध्यात्मिक कार्य, शान्ति हो या सत्य ? आफ्नो प्रमुख मूल्य मान्यता बारेमा प्रस्ट रहनुहोस्। आफ्नो क्षमता र मुल्य मान्यता थाहा भएपछि त्यहीअनुसार लक्ष्य निर्धारण गर्नोस्। शैक्षिक क्षेत्र त्यहीअनुसार छनोट गर्नोस्। परिवारले के भन्छ ? साथीभाइ के पढ्दै छन् ? के गर्दै छन् ? त्यसको अनुसरण गर्नु बुद्धिमानी कदम होइन। अरु हिँड्ने बाटो भन्दा पनि आफ्नो मनले रोजेको बाटो हिँड्नुहोस्।

(ख) लर्न, अनलर्न र रिलर्नः यसको अर्थ हो सिक्नु, सिकेको भुल्नु र पुनः सिक्नु। एल्भिन टोफलर भन्छन्, ‘एक्काइसौं शताब्दीको अशिक्षित मानिस ती होइनन् जो पढ्न र लेख्न जान्दैनन् तर ती हुन् जो सिक्न, सिकेको भुल्न र पुनः सिक्न जान्दैनन्।’ सिक्ने क्रम बालापनदेखि सुरु हुन्छ। र, यो सिक्ने क्रम कहिल्यै अन्त्य हुँदैन। जीवनको अन्तिम घडीमा पनि सिक्ने क्रम जारी रहन्छ। अहिलेसम्म सिकाइको मात्रा कति भयो होला ? तपाईं निरन्तर सिक्नमा लाग्नुभयो र त्यसैलाई परिपूर्ण ठान्नु भयो भने के हुन्छ ? तपाईंको सोच खुम्चिन थाल्छ। इगो बढ्दै जान्छ। तपाईंमा मैले यति जानेको छु, बुझेको छु भन्ने घमण्ड पैदा हुन्छ। हरेक सेकेण्ड नयाँ नयाँ आविष्कार भइरहेका छन्। अनगिन्ती विषयमा अध्ययन सञ्चालन भइरहेका छन्। रिसर्च पेपर छापिएका छन्। यस्तो अवस्थामा तपाईं आफूले सिकेको कुरामा लिप्त हुनुभयो भने कहीँ कतै पुग्न सक्नु हुन्न। त्यसैले सिकेको कुरा आफ्नो लागि उपयुक्त नभए त्यसलाई भुल्न सक्नुपर्छ। यसले पुनः सिक्ने वातावरण बनाइदिन्छ।

(ग) व्यक्तित्व विकास कार्यलाई प्राथमिकतामा राख्नुः व्यक्तित्व विकास गर्नु सफलताको ग्यारेन्टी हो। यसो भन्दैमा सबैले व्यक्तित्व विकासमा समय र ऊर्जा लगानी गर्छन् भन्ने छैन। यसका लागि धैर्य, लगनशीलता र जुनून चाहिन्छ जुन हर व्यक्तिमा हुँदैन। अधिकांश छोटो र सजिलो बाटो रोज्छन्। अन्ततः असफल र पीडित व्यक्ति हुन पुग्छन्।

एक व्यक्तिको भविष्य उसले लिने छनोटमा भर पर्छ। प्रिय विद्यार्थी भाइबहिनीहरु तपाईंलाई जीवनको ग्रेड बनाउने अवसर उपलब्ध छ। त्यसको लागि अग्रिम शुभकामना !

प्रकाशित: २३ फाल्गुन २०७७ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?