३१ श्रावण २०७७ शनिबार
अन्य

रूख हाम्रो मित्र

बालकथा

गङ्गा कर्माचार्य पौडेल

विमल  र विनिता स्कुल छुट्टीमा मामाघर (डाँडा गाउँ)तिर लागे । उनीहरू हिंड्दा बाटोमा  घामले पोल्यो । त्यसपछि ‘दाइ एकछिन शीतलमा बसौं न’ विनिताले भनी  ।

विमल र विनिता रूखको छहारीमुनि बसे ।

विनिताले त्यही बेला नजिकै अर्को एउटा रूखमा छपक्कै फूलहरू फुलिरहेको देखेर ‘आहा ...कति राम्रो फूल । दाइ फूल टिपिदिनु’ भनी ।

‘फूल टिपेपछि ओइलाएर लुत्रुक्क हुन्छ । टिप्नु हुन्न । फूल टिप्न होइन हेर्न राम्रो हुन्छ बहिनी ।’ भनेर विमलले विनितालाई सम्झायो ।

विनिताले ‘अघि हिंड्दा कस्तो गर्मी भएको थियो । रूखको छहारीमा बसेपछि शीतल भयो । कसरी भएको होला दाइ’ भनेर सोधी ।

‘रूखको हाँगा पातले सूर्यको तापलाई छेकेर सोझै हामी माथि पर्न दिएन ।

अर्को कुरा विज्ञानको कितापमा लेखिएको छ । रूखले कार्वनडाईअक्साइड लिएर हामीलाई अक्सजन दिन्छ रे । त्यही भएर शीतल भएको हो ।’

‘दाइ, अक्सिजन कार्वनडाइअक्साइड भनेको केहो ?’

‘अक्सिजन भनेको प्राणीलाई बाँच्न नभई नहुने स्वच्छ हावामा पाइने तत्व हो । कार्वनडाईअक्साइड भनेको दूषित हावामा हुने खराव कुरा हो । जस्तै हामीले सास फेर्दा अक्सिजन लिन्छौं । कार्वनडाइअक्साइड फाल्छौं । फेक्ट्रीबाट निस्केको , गाडीले फालेको , फोहोर चीज जलाउँदा निस्केको धुँवामा कार्वनडाइअक्साईड हुन्छ । त्यसले हाम्रो स्वाश्थ्यमा हानि पुरयाउँदछ ।’

‘अहो, रूखले त हाम्रो जीवन रक्षा पो गर्ने रहेछ हगि दाइ । म त अब घर वरिपरि विरुवा सार्छु ।’

 विमलले भने,  ‘लल म पनि तिमीलाई साथ दिऊँला । उठ हिंड ढिलो हुन्छ मामाघर पुग्न ।’

विमल र विनिता अघि पढ्दै थिए । अलि पर पुगेपछि एउटा रूखको हाँगाहरूमा   टोप चराका गुँडहरू तुर्लङ्ङ झुन्डिएको देखेर रमाइलो लाग्यो अनि  एकछिन त्यहीं उभिएर हेरे ।

उनीहरु त्यहाँबाट जाँदै थिए अलिपर पुग्दा एउटा गोठालाले रूखका हाँगा नुगाएर बाख्राका साना पाठापाठीला  घाँस खुवाउँदै गरेको देखे । विनिताले पनि पाठापाठीलाई एकुन्टा पात खुवाइन् ।

अब भने मामाघर पुग्न ढिलो हुन्छ भनेर उनीहरु लम्केर हिडीं अलि परै पुगेका थिए । एकजना मान्छेले रूखबाट भुइँमा झरेका झिंजा दाउरा बटुलेर चौतारीमा बसी भात पकाउँदै गरेको देखे ।

त्यहीं नजिकै बाटो छेउमा लटरम्मै किम्बू र काफल फलेको रहेछ । विमल काफलको रूखमा चढेर हाँगो लच्काइदिए । विनिताले पाकेको किम्बु टिप्दै खाइन् । विमलले पनि मजाले किम्बु खाए ।

त्यहाँबाट विमल र विनिता जाँदै गर्दा एउटा खोला तनुपर्ने भयो । खोलामा काठको साँघु (पुल) थियो । विमलले भन्या, ‘बहिनी रूख हाम्रो जीवनमा कति उपयोगी रहेछ देख्यौ ? हरियो र सुकेको हाँगापात सबै काम लाग्ने । विनिताले हो.. भनेर टाउको हल्लाई।

उनीहरु साँघु तरेर पारि गएपछि भोक लाग्न थाल्यो । विनिताले भनी,  ‘दाइ,  ऊ त्यो चौतारीमा बसेर खाजा खाउँ न ।’ विनिताले झोलाबाट एउटा डिब्बा झिकेर खोली । त्यसपछि आमाले बनाएर राखिदिनुभएको रोटीतरकारी निकालेर खाए ।

अब भने जङ्गलको बाटो हिंड्नुपर्ने थियो । विनिता अलि डराए जस्तो गरी भनी,  ‘दाइ, यहाँ त बाघभालु पनि होला ।’

‘यो जङ्गल धेरै बाक्लो छैन । त्यसैले बाघभालु हैन स्यालहरु हुन सक्छ ।’

जङ्गल पार गरेपछि त झन् पाखैभरि गुराँसैगुराँस फुलेको पो देखियो । त्यसपछि विमलले भने, ‘बहिनी, हामीले रातो गुराँस मात्रै देखेका थियौं । हेर त यहाँ रातो, सेतो  र गुलावी रंगका गुराँस पनि रहेछ ।’

विनिता दङ्ग परी,  ‘हो दाइ कस्तो राम्रो हगि ।’ 

अझ अघि गएपछि उत्तरतिर झलल हिमाल टल्केको  देखियो । विनिताले हातको औलाले देखाउँदै भनी, ‘दाइ, हेर्नुस्त कति राम्रो हिमाल ।’

 ‘हो बहिनी हाम्रो देश हिमाल , पहाड, तराईले बनेको निकै सुन्दर छ ।’ विनिता मुसक्क हाँसी ।

विनिताले भनी, ‘दाइ, मलाई त हिमाल हेरेर बस्न मन लाग्यो । थकाइ पनि लाग्या छ ।’ 

‘डाँडागाउँ पुग्न अझ समय लाग्छ । बाटैमा रात पर्ला हिंड जाऊँ ।’ विमलले भनेपछि उनीहरु त्यहाँबाट अगाडि बढे । अलिपर गएपछि एउटा झरनाबाट झरझरझर पानी झरेको देखे  अनि विमल र विनिताले अंजुलीमा पानी उठाउँदै प्यास मेटे ।

विमल र विनिता अब मामाघर पुग्नै लागेका थिए । एक जना मान्छेले बाटो छेउको ठूलो रूख बन्चरोले धमाधम  काटिरहेको देखे । त्यो देखेर विनिताले भनी, ‘तपाईले यति ठूलो रूख किन काट्नुभएको ?’

‘चिरेर दाउरा बनाउन अनि सुकाएर भात पकाएर खान काटेको देखनौ ?’

विनिताले भनी,  ‘भात पकाएर खान सुकेका झिंजा भए नि हुन्छ नि । यति ठूलो रूख काट्नुपर्छ त ? हेर्नुस् रूखले हामीलाई शीतल छहारी दिन्छ,  अक्सिजन, फलफूल अनि  घर  र  पुल बनाउन काठ दिन्छ । गाईवस्तुलाई  घाँस, चरालाई आश्रय दिन्छ ।’ 

विमलले थप्यो, ‘हो रूख त हाम्रो मित्र हो ।’

त्यो मान्छे जंगिएर बोल्यो,  ‘तिमी फुच्चाहरूले मलाई सिकाउने बड...जान्ने हुँदा रैछन् ।’ 

विमल र विनिताले हात जोड्दै भने,  ‘तपाई हामीभन्दा उमेर र अनुभवले पाको हुनुहुन्छ । धेरै ज्ञान छ । हामी सानासँग पनि थोरै ज्ञान छ । हेर्नुस् रूखविना पृथ्वी मरुभूमि समान हुन्छ । त्यसैले जथाभावी रूख काट्नु हुँदैन । रूख हाम्रो मित्र हो ।’

उनीहरूको कुरा त्यो मान्छेलाई ठीक लाग्यो । अबदेखि रूख काट्दिन भनेर उसले पनि हात जोड्यो । 

प्रकाशित: १ श्रावण २०७७ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App