coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मोबाइल धेरै चलाउनु हुन्न है !

वसुश्री पाण्डे

प्यारा नानीबाबुहरू, तिमीहरू बालबालिकाका लागि लेखिएका पुस्तकहरू पक्कै पनि पढ्छौ होला ।  यस्ता पुस्तकहरू पढ्ने बानी गरयो भने विभिन्न किसिमका ज्ञानका कुराहरू थाहा पाउन सकिन्छ ।

मैले आफ्ना नातिनातिनीहरूलाई बोलाएर अगाडि बसाईकन कथाहरू सुनाउने गर्थें । एकदिन एउटा कथा सुनाउँथे अनि अर्को दिन अर्को कथा भन्थें । गर्दागर्दै हरेक दिन बेग्लाबेग्लै किसिमबाट एउटाएउटा कथा सुनाउँदै गर्दा उनीहरूलाई बानी पो बसेछ । पछिपछि त मैले नभनीकन नै एक्लै कोठामा बसेको बेला पारेर ‘कथा भनिस्योस् न आमा’ भनेर नातिनातिनीहरू सबै मेरो अगाडि आएर ध्यान दिई सुन्न बस्थे । मेरा नातिनातिनीहरूले मलाई आमा भन्थे । कतिपय कथाहरू मैले आफै बनाएर पनि सुनाउने गर्दथें । अघिपछि मैले टिभी धेरै हेर्नुहुन्न । मोबाइल फोन पनि धेरै हेर्नुहुन्न भन्दा वास्ता गर्दैनथे । कथाको माध्यमबाट उनीहरूलाई सुनाउन लागें ।

मैले नातिनातिनीहरूलाई भन्न लागें, ‘तिमीहरूलाई थाहा छ ! मेरो साथीको नाति सुरज तिमीहरूकै उमेरको छ बुझ्यौ !’ ऊ जुनसुकै बेला पनि मोबाइल र टिभी हेरिरहन्थ्यो । एकदिन उसको आँखा दुखेर हेर्नै नहुने भएछ र आफ्नो बुवासँग गएर भन्यो ‘बुवा एकदम आँखा दुःख्यो, हेर्न पनि गाह्रो भयो ।’

बुवाले भन्नुभयो, ‘पक्कै पनि तिमीले मोबाइल–टिभी हेरेर यस्तो दुखेको हुनसक्छ ।’

सुरजले भन्यो, ‘हैन बुवा यसै दुखेको हो ।’ 

बुवाले डाक्टरकहाँ सुरजको आँखा देखाउन लिएर जानुभयो । डाक्टरले सुरजको आँखा जाँच्नेबित्तिकै ‘तिमीले धेरै मोबाइल टिभी हेरेर यस्तो भएको हो । अबदेखि धेरै हेर्नु हुँदैन है’ भन्नुभयो । त्यसैले ‘तिमीहरू धेरै नहेर है’ भनेपछि मेरा नातिनातिनीहरू चुप भए ।

उनीहरू चुप लागेको देखेर डाक्टरले थप्दै भने, ‘टिभीमा बालबालिकाका लागि देखाइएको राम्रोराम्रो कार्यक्रमचाहिँ हेरे हुन्छ । त्यसबाट तिमीहरूले धेरै कुराहरू सिक्न सक्छौ । मोबाइल पनि धेरै हेर्नु हुँदैन ।’

‘हाम्रो छिमेकमा एउटा सबल नाम गरेको बाबू छ नि । उसलाई तिमीहरूले पनि चिनेका छौ । ऊ  ७ कक्षामा पढ्छ, थाहा छ हगि । त्यो केटा कस्तो थियो भने खाना खाँदा पनि मोबाइल नहेरी नखाने, भिडियो गेम खेलिरहने, राति पनि मोबाइल चलाएर अबेरसम्म बस्ने अनि आफ्नो स्कुलको कक्षामा गुरुले पढ्न दिएको गृहकार्यचाहिँ केही पनि गर्दैनथ्यो । स्कुलचाहिँ बाबुआमाको डरले जान्थ्यो तर आएर केही पनि पढ्दैनथ्यो । किताब नै छुँदैनथ्यो । बाबुआमासँग चाहिँ मैले स्कुलको पाठ सबै गरिसकें भनेर झूटो कुरा बोल्थ्यो । उसले पढ्नलेख्न ठग गरेपछि के भयो थाहा छ तिमीहरूलाई ? गुरुले कक्षामा सबैको अगाडि बेञ्चमाथि उभ्याएर सजाय दिनुहुन्थ्यो । कहिले मुर्गा बनाउने अनि कहिलेचाहिँ सय पटक कान समातेर उठबस गराउने गर्नुहुन्थ्यो ।

एकदिन सबललाई एकदम टाउको दुख्यो ।  स्कुल जान पनि सकेन । उसको कहिले आँखा दुख्ने र कहिले टाउको दुख्ने भएर उसको बुवाले डाक्टरकहाँ जँचाउन लग्नुभयो ।’ डाक्टरले सबलको आँखा हेर्नेबित्तिकै ‘तिमीले धेरै मोबाइल हेर्दो रहेछौ । त्यसैले यस्तो भएको हो । अबदेखि धेरै मोबाइल नहेर ठीक हुन्छ’ भन्नुभयो ।

आमाको यस्तो कुरा सुनेपछि एकपछि अर्को गर्दै एउटै आवाजमा सबै नातिनातिनीहरूले भन्न थाले, ‘के अब हामीले टिभी –मोबाइल कहिले पनि नहेर्नु त?’

मैले नातिनातिनीहरूलाई सम्झाउँदै भनें, ‘तिमीहरूलाई मैले केही हेर्दै नहेर्नु भनेकी कहाँ हो र ! पहिला गुरुले स्कुलमा गर्न दिएको पाठ राम्ररी पढ्नेलेख्ने गर्नुपर्छ अनि केहीबेर हेरे हुन्छ । बालबालिकाले सिक्नुपर्ने र जान्नुपर्ने धेरै कुराहरू देखाइएका हुन्छन् । त्यस्ता कुराहरूचाहिँ हेर्नुपर्छ । जे पायो त्यही बुद्धि बिग्रिने कुराचाहिँ हेर्नु हुँदैन भनेकी हुँ । भिडियो गेमले त झन् तिमीहरूलाई भुलाउने मात्र होइन आँखा र दिमाग दुवैमा दबाब दिन्छ ।’

‘समयमा नसुतेर निंद्रा बिगारेर हेरयो भने तिमीहरूको आँखा दुख्ने टाउको दुख्ने हुन्छ । कुरा बुझ्यौ मेरा प्यारा नातिनातिनीहरू ?’

प्रकाशित: १ श्रावण २०७७ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App