१२ मंसिर २०७७ शुक्रबार
अन्य

मोबाइलमा स्कुल

दीपिका नेपाल

दीपिका नेपाल

वाल्मीकि शिक्षा सदन, भरतपुर ४, चितवन ।

म स्कुल नगएको चार महिना पुग्न लागेछ । गत सालको चैत्र ५ गते अन्तिम परीक्षाको अन्तिम दिन परीक्षा दिन स्कुल पुगेकी थिएँ । त्यसपछि स्कुल जाने रहर हुँदा पनि जाने वातावरण मिलेको छैन । विश्वभर कोरोना फैलिएपछि नेपालमा पनि लकडाउन भयो । यसपछि त स्कुल बन्द भइहाल्यो । यति लामो समय स्कुल जान नपाएको मेरो जीवनको पहिलो घटना हो । यसअघि लगातार स्कुल जाँदा कहिलेकाहीँ त स्कुल नजाने दिन आए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । तर म गलत रहेछु । वास्तवमा मेरो यो सोचाइ गलत रहेछ । खासमा त स्कुल हाम्रो अर्को घर रहेछ । जसरी अहिले घरमा बस्दाबस्दा कतै जान पाए हुन्थ्यो भन्ने लाग्छ । यस्तो रहर गरेर कतै गएपछि फेरि कहिले आफ्नो घर फर्कूँ भन्ने लाग्छ ठीक त्यस्तै पहिले सधैं स्कुल जाँदा कहिलेकाहीँ त जान नपरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो तर लगातार लामो समय स्कुल जान नपाउँदा भने कहिले स्कुल जाऊँ भन्ने लाग्दो रहेछ ।

गत साल मैले कक्षा आठको आधारभूत तहको अन्तिम परीक्षा थिएको थिएँ । यसको नतीजा यही वर्षको वैशाख महिनाको मध्यतिर भयो । मैले आफ्नो क्षमताअनुसार राम्रै ग्रेड प्राप्त गरेँ तर मनमा भने मैले योभन्दा अझै राम्रो गर्न सक्थेँ भन्नेचाहिँ लागेको छ । मलाई गणित अलि गाह्रो लाग्छ । यसमा केही सुधार गर्न पाएको भए भन्ने नलागेको होइन । तर नतीजा आइसकेपछि सुधार गर्न त सकिँदैन । त्यसैले अब माथिल्लो कक्षामा भने मैले आफू कमजोर भएको विषयमा मिहिनेत नगरी सुखै छैन । हुन त चाहना गरेर मात्र नतीजा राम्रो आउने होइन । परीक्षामा प्रश्नअनुसारको उत्तर लेख्न जानेन भने नतीजा कहाँ राम्रो आउँछ र !

म पढिरहेको वाल्मीकि शिक्षा सदनले गत जेठ महिनादेखि नै अनलाइन कक्षा चलाइराखेको छ । मलाई पढाउने गुरुगुरुआमाहरूले ल्यापटप, मोबाइलबाट पढाइरहनुभएको छ । मैले पनि कहिले बाबाको र कहिले ममीको मोबाइलबाट पढिरहेको छु । यसअघि स्कुलमा हामीलाई अनावश्यक रूपमा मोबाइल चलाउन हुँदैन भनेर गुरुगुरुआमाहरूले भन्नुहुन्थ्यो । घरमा पनि बाबाममीले भाइ र मलाई मोबाइल चलाउन खासै दिनुहुँदैनथ्यो । तर अहिले यही ल्यापटप, मोबाइल मेरो र भाइका लागि स्कुल बनिरहेको छ । ल्यापटप र मोबाइल भएन भने त हाम्रो पढाइ नै हुँदैन ।

सरकारले पनि असार १ गतेदेखि अनलाइन कक्षा चलाउने भनेर सूचना दिएको मैले सुनेको थिएँ । मेरो बाबा स्थानीय कालिका एफएममा समाचार वाचन गर्नुहुन्छ । उहाँले वाचन गर्नुभएको समाचार मैले सुनेको थिएँ । हामीले त सरकारले भनेभन्दा पहिलेदेखि नै यसरी नै पढिरहेका थियौँ । अनलाइन पढ्दा धेरै साथीहरूलाई देख्न पाएको छु । स्कुलका गुरुगुरुआमासँग बोल्न पाएको छु । स्कुल जान नपाए पनि मोबाइलबाटै स्कुल जाने रहर पूरा गरेको छु । म र भाइका लागि बाबाममीको मोबाइल नै स्कुल बनेको छ ।

अनलाइनबाट पढ्दा सुरुमा त नौलो लागेको थियो । गुरुगुरुआमाहरूले पनि पहिले त अनलाइन पढाउन सजिलो हुने जुमएप चलाउन सिक्दै हुनुहुन्थ्यो । उहाँहरूले यो प्रविधि नेपालमै पहिलोपटक प्रयोग भएको भन्दै हुनुहुन्थ्यो । मलाई पनि बाबाले सिकाइदिनुभएको थियो ।

अहिले त हामी गुगल क्लासरुम, गुगल मिटबाट पनि पढ्छौं । काम गर्दै गएपछि सबै कुरा सजिलो हुँदो रहेछ । यसरी पढ्दा रमाइलो त हुन्छ तर स्कुलको कोठामा बसेर पढेको जस्तोचाहिँ नहुँदो रहेछ । अझ पढ्ने तयारी गर्दा कहिलेकाहीँ बिजुली हुँदैन, कहिलेकाहीँ नेट हुँदैन । कहिले गुरुहरूले बोल्नुभएको आवाज राम्रोसँग सुनिँदैन । तैपनि केही नहुनुभन्दा यसरी पढ्न पाउनु पनि ठूलो ठानेकी छु । यसरी पढ्दा आफैं जिम्मेवार बन्नुपर्ने रहेछ । शिक्षकहरूले हामीलाई दिनुभएको कक्षाकार्य, गृहकार्य आफैं जिम्मेवार भएर लेख्नुपर्ने रहेछ । पढाउने बेलामा उहाँहरूले हामीलाई बेलाबेलामा पाठसँग सम्बन्धित प्रश्न सोध्नुहुन्छ । यसरी सोधिने प्रश्नको जवाफ दिन नपढी सुखै हुँदैन ।

मजस्तै अरु ठाउँका विद्यार्थीहरूले पनि यसरी नै पढिरहेका होलान् । तर नेपालका सबै ठाउँमा मैले पाएको जस्तो सुविधा छैन होला । कतिपय ठाउँमा बिजुली पनि छैन होला । अझ कति ठाउँमा त नेटको सुविधा पनि छैन होला । कति विद्यार्थीहरूसँग मैले प्रयोग गर्ने जस्तो मोबाइल पनि छैन होला । यस्ता ठाउँका मजस्तै विद्यार्थीहरूले कसरी पढिरहेका होलान् ? यस्तो कुरा सम्झँदाचाहिँ नरमाइलो लाग्छ । बरु चाँडै वातावरण सुरक्षित भएर स्कुल जान पाए सबैले सजिलै पढ्न पाउने थिए । 

प्रकाशित: २३ असार २०७७ १५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App