२८ श्रावण २०७७ बुधबार
अन्य

सकेसम्म अरूको भलो गर्नु, अरूलाई दुःखचाहिँ नदिनु

प्रेरणादायी बाल्यकाल

डा.धनप्रसाद सुवेदी

भाइबहिनी हो, म धनप्रसाद सुवेदी हुँ । आज म तिमेरुलाई मेरो बाल्यकालका कुरा सुनाउँदै छु । मेरो बाल्यकाल कस्तो लाग्छ पढेर मलाई भन्न नभुल्नू है ।

भाइ खसेको सम्झना

हाम्रो घरबाट मावल जाने बाटमा छेपेखोला छ । त्यति बेला छेपेखोलामा काठको साँगु थियो । मलाई त्यो साँगु तर्दा खूब डर लाग्थ्यो, लडिन्छ जस्तो लाग्थ्यो । मपछिको मेरा भाइको सानै उमेर (८–९ महिना) मा निमोनिया भएर मृत्यु भएछ । भाइ बित्दा म मावलमा रहेछु । ‘तिम्रो भाइ खसेछ भनेर मलाई मावल हजुरआमाले सुनाउनुभयो । मैले सोचेँ, ‘मेरो भाइ त्यही छेपे खोलाको पुलबाट खसेछ ।’ अहिले पनि छेपेखोलमा पुग्दा म मेरो सानो भाइलाई सम्झिन्छु ।  

घरको छाना उडाउँदा

मूलघरबाट छुट्टिएपछि हामी सानो चित्राको कटेरामा बस्थ्यौँ ।  हाम्रो घर नजिकै काहुले भन्ने थियो (अहिले खेतबारी छ) ।  हामी गाईवस्तु चराउन त्यहाँ जान्थ्यौँ । एक दिन आमा, म र गाउँका अरू मानिसहरू काहुले वनमा गाईवस्तु चराउँदै थियौँ । एक्कासि ठुलो हावाहुरी चल्यो । रूखहरू लडे, गाईवस्तु दौडेर घर आए हामी पनि घर आयौँ । हाम्रो घरको छानाका चित्राहरू हावाले उडाएको रहेछ । त्यो देखेर म रुन थालेँ । आमाले सम्झाउनुभयो । त्यो रात हामी मूल घरमा बस्यौँ । भोलिपल्ट हाम्रो कटेरोमा नयाँ चित्राहरू हालियो । घर नयाँ जस्तो देखियो । म खुसी भएँ ।  

साहूले घोडा बनाएर कुदाउँछु भन्दा

म जन्मिएको अर्को साल बुबाहरू मूल घरबाट छुट्टिनुभएको रहेछ । हजुरबुबा पहिले नै बित्नुभएको थियो । छुट्टिँदा बुबाको भागमा १५ सय जति रिन रहेछ । त्यही रिन तिर्नका लागि बुबा दार्जिलिङतिर जानु हुँदो रहेछ । घरमा म र आमा मात्रै थियौं । साहूहरूले खलाबाटै अन्न लान्थे । खाने अन्नको दुःख थियो । आमाले बनीबुतो गरेरे खुवाउनुहुन्थ्यो ।

मेरो गाउँको नाम नेर्पा हो । नेर्पा अहिले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका (खोटाङ) मा पर्छ । हाम्रो गाउँमा खोटाङ जिल्लाको कुभिन्डे भन्ने गाउँका पोखरेलहरूले सरकारबाट उपहार पाएको जग्गा रहेछन् । त्यसरी सित्तैमा पाएको जग्गालाई बिर्ता भनिन्छ । तिनै बिर्ता पाउनेमध्ये नरनाथ नाम गरेका मान्छेलाई हामीले केही रुपैयाँ तिर्नुपर्ने रहेछ । एक दिन ती साहू हाम्रो घरमा आएर मेरा बुबाको सोधखोज गरे । बुबालाई नभटेपछि उनले हामीलाई हप्कीदप्की गर्दै भने, ‘तिमेरु रिन तिर्दैनौ । म तिमेरुलाई अर्को जुनीमा घोडा बनाएर कुदाउँछु ।’

उनी गएपछि मैले छक्क पर्दै आमालाई सोधेँ, ‘आमा, मान्छेलाई कसरी घोडा बनाएर कुदाउँछन् ।’ 

आमाले भन्नुभयो, ‘धनी भएर मात्तिएका हुन् । आफूले कमाएको सम्पत्ति होइन, सरकारले दिएको जग्गा अर्कैले कमाइदिन्छन्, खान पाएका छन्, मात्तिएका छन् । हामीलाई पनि दुईचार पाथी त्यही अन्न दिएका हुन् । ब्याजको स्याज हिसाब गरेर कति हिसाब पुरयाइसके ।’

‘आमा म पनि त्यस्तै धनी भएर रिन दिन्छु र अरूलाई हप्काउँदै हिँड्छु, यिनको जस्तै हटहट गर्दै घोडा कुदाउँछु ।’ मैले भनेँ ।  

‘बाबु सारा दुनियाँलाई दुःख दिने धनी हुनुपर्दैन । सकिन्छ भने अरूको उद्धार गर्नु, नसके अरूलाई दुःखचाहिँ नदिनु । आफूलाई खान लाउन पुगोस्, त्योभन्दा बढी धन किन चाहियो । पढेर विद्वान् बन्नुपर्छ र अरूको भलो हुने काम गर्नुपर्छ ।’ आमाले भन्नुभयो । 

त्यस दिनदेखि मैले धनी भएर अरूलाई दुःख दिने होइन, पढेर विद्वान् हुने र अरूको भलाइ हुने काम गर्ने अठोट गरेँ ।  

दार्जिलिङबाट ल्याएको ठूलो वर्णमाला  

 बुबाले मलाई ठूलो वर्णमाला भने किताब ल्याइदिनुभएको थियो । पढ्न जानेको थिइनँ । त्यहाँ राम्रा चित्र पनि थिए । त्यहाँ दुई मुख भएको चराको कथा र अरू कथा पनि रहेछन् । कान्छा काका पुण्यप्रसाद सुवेदीले मलाई ती कथा पढेर सुनाउनुहुन्थ्यो । मलाई पनि ती कथाहरू पढ्न खूब मन लाग्थ्यो । ती कथा पढ्ने लोभले मैले चाँडै अक्षर चिनेँ र पढ्न जान्ने भएँ ।      

कचहरीडाँडामा क, ख

हाम्रो घरको पूर्वपट्टि अलिक पर कचहरीडाँडा भन्ने सानो डाँडा छ । म तीन, चार वर्षको हुँदा त्यहाँ चित्राको गोठ बनाएर पढाउन थालिएको थियो । होमकाजी पराजुली शिक्षक हुनुहुन्थ्यो । प्रत्येक घरको दुई पाथी अन्न जम्मा गरेर शिक्षकलाई दिने कुरा थियो । मैले त्यो स्कुलमा एक महिना जति ‘क, ख’ (सावाँ अक्षर) पढेँ । केही महिनापछि त्यो स्कुल बन्द भयो ।

म ६ वर्षको हुँदा बहिनी जन्मिन् । अब बुबा पनि गाउँमै बसेर पुरेत्याइँ गर्न थाल्नुभयो । उहाँले मलाई घरैमा पढाउन थाल्नुभयो । बुबाले चण्डी पढ्न लगाउनुहुन्थ्यो । आमा, काकीहरूले स्वस्थानी कथा भन्न लगाउनुहुन्थ्यो । ८ वर्षको हुँदा मेरा व्रतबन्ध भयो । त्यसपछि बुबाले मलाई पुरेत्याइँ गर्न र रुद्री चण्डी पढ्न सिकाउनुभयो । घरमा देवीभागवत र अन्य धार्मिक किताबहरू थिए । बिस्तारै ती किताबतिर मेरो रुचि भयो ।  

दस वर्षको उमेरमा कक्षा एक

हाम्रो टोलबाट स्कुल जाने मान्छे कम थिए । ९ वर्ष भएपछि मैले बल्ल स्कुल जान पाएँ तर सरकारी पाठ्यपुस्तक पाउन सकिनँ । फेरि त्यही बेला स्कुल ग्राउन्डमा लडेर मेरो हात भाँच्चियो । त्यसैले त्यस वर्ष मेरो पढाइ रोकियो । अर्को साल अर्थात् दस वर्षको उमेरमा बल्ल कक्षा एकमा पढ्ने मौका मिल्यो । मैले गाउँको कालिका निमावि (अहिले मावि भएको छ), नेर्पा (खोटाङ) बाट ७ कक्षा पास गरेँ । 

गाउँको स्कुलमा ७ कक्षा मात्र पढाइ हुन्थ्यो । ८ कक्षादेखि खोटाङ जिल्ला सदरमुकाम दिक्तेलको सरस्वती माविमा पढेँ । हाम्रो गाउँबाट दिक्तेल पुग्न डेढ घन्टा लाग्छ । बाटामा खोलाहरू छन् । बाढी आएका बेला त तर्न नसकिने । त्यसले वर्षा याममा दिक्तेलमै डेरा बसेर पढिन्थ्यो । हिउँदमा भने घरबाटै स्कुल धाइयो । त्यतिबेला खाजा बोक्ने चलन थिएन । भोकले टाट होइन्थ्यो । स्कुलबाट फकिँदा बाटामा गहुँ, भटमास, ऐँसेलु, वर आदि टिप्दै खाँदै दौडिँदै घर गइन्थ्यो ।

सँगै पढ्ने कति साथीहरू घरबाट स्कुल जान भनेर हिँड्थे र स्कुल नगई दिक्तेल बजारमा क्यारेमबोर्ड खेल्ने, मेवा खोलामा झरेर पौडी खेल्ने गर्थे । तिनीहरूमध्ये धेरै जनाले स्कुलको पढाइ पूरा गरेनन् । मैले २०४५ सालमा प्रथम श्रेणीमा एसएलसी गरेँ । त्यति बेला प्रथम श्रेणीमा पास हुनु ठूलो कुरा हुन्थ्यो । त्यो वर्ष हाम्रो स्कुलबाट परीक्षा दिने १७३ जनामा मैले मात्र प्रथम श्रेणीमा पास गरेको थिएँ । त्यसैले मैले धैरै स्यावासी पाएँ ।  

स्कुलबाटै साहित्यमा लागियो

गाउँको स्कुलमा पढ्दा अतिरिक्त क्रियाकलापहरू हुँदैन थिए । सरस्वती माविमा कक्षा ८ मा पढ्न थालेपछि भने साहित्य र हाजिरीजवाफमा भाग लिने अवसर मिल्यो । मोती जयन्तीमा कविता सुनाएर दोस्रो भएँ । जिल्ला सदरमुकाम भएकालले बेलाबेलामा कविता, निबन्ध, हाजिरीजवाफ, वक्तृत्वकला जस्ता प्रतियोगिताहरू भइरहन्थे । मलाई स्कुलबाट अन्तर मावि हाजिरीजवाफ प्रतियोगिताको टोली नेता बनाएको थियो । स्कुलको प्रतिनिधित्व गर्दै निबन्ध, वक्तृत्वकला, कविता आदि प्रतियोगितामा भाग लिन पाएँ । धेरै पुरस्कार पनि पाएँ । त्यसले गर्दा साहित्य रुचि बढ्न थाल्यो ।

एसएलसीपछि मैले जागिर  र पढाइलाई सँगैसँगै लगेँ । मैले १२ वर्ष निजामती कर्मचारी भएर काम गरेँ । तर मलाई निजामतीभन्दा पढाउने काममा रुचि भयो र क्याम्पसमा पढाउन थालेँ । साहित्यतर्फको रुचिकै कारण मैले भाषा साहित्य विषय (नेपाली) मा विद्यावारिधि गरेको छु । मैले उपन्यास, कविता, समालोचना र अनुसन्धानका किताबहरू लेखेको छु । मैले साथीहरूसित मिलेर कक्षा ९ र १० को नेपाली किताब पनि लेखेको छु ।

मानिस परिश्रमबाट सफल हुन्छ । संसारका हरेक सफल मानिसहरू आफ्नो परिश्रमबाट बनेका हुन् । चाहना, लक्ष्य र त्यहीअनुसार परिश्रम गरियो भने लक्ष्यमा नपुग्ने कुरै छैन । 

प्रकाशित: २२ असार २०७७ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App