नरेन्द्रकुमार नगरकोटी
भान्जीको फोन आयो । समय लकडाउनको हो । तैपनि भान्जीहरूको तनावमा लकडाउन भएको छैन ।
भान्जी भन्छिन्, ‘मामा मलाई स्कुल जानै मन छैन ।’
मामा तनावमा छन् । त्यसो त स्कुलहरू पनि लकडाउनका कारण बन्द छन् । तर, स्कुल खुल्ने भएपछि भान्जीले के गर्लिन् ? किन भान्जीले स्कुल जान्नँ भनेर अड्डी कसिन् ? यी प्रश्नहरू बोझिला छन् ।
मामा उत्तरको खोजीमा छन् ।
मामा पनि प्रश्न नै गर्छन्, ‘भान्जी स्कुल त जानुपर्छ नि । किन नजाने स्कुल भन त ?’
भाञ्जीलाई लाग्दो हो कि, ‘के हामी उत्तरको ट्याङ्क मात्र हौं र ? के हामीले हाम्रा जिज्ञासाले भरिएका प्रश्न राख्ने स्कुल हुँदैन ?’
तर उनको मनको कुरा सुनिदिने कसले ?
स्कुल जान मन नलाग्नुका कारणबारे मामाले राखेको जिज्ञासामा भने भान्जीले मनभरिका कुराहरू पोखिन् ।
– सन्तोष सर कहिल्यै सन्तोष मान्नुहुन्न हाम्रो काममा । जे काम गरे पनि र जत्ति नै मेहनत गरे पनि खोट मात्र भेट्नुहुन्छ । सन्तोष सरको दिमाग केले भरिएको छ ?
– हामीलाई ‘पिकनिक’ लैजाने तर रमाउनचाहिँ नदिने । हाँस्न, खेल्न र नाच्न नदिने । ‘पिकनिक’ चाहिँ किन जाने हो के हामीहरू ? धन्न यसपालिचाहिँ कतै जान नपाइने भो भनेर चित्त बुझाउन पाइन्छ जस्तो छ ।
– घरभित्र आआफ्नै कहानी हुन्छन् । कतै सुख, कतै दुःख त कतै अप्रत्यासित तनाव पनि । हाम्रै पारिवारिक कुरा गरेर ‘टर्चर’ दिँदाचाहिँ सरले के सिकाउन खोज्नुभएको हो ?
– तर्साउने काम उहाँहरूको हो भने तर्सिएर हामीले पाउनेचाहिँ के हो भनेर कहिले बुझ्ने उहाँले ?
– ‘फि’ तिर्न बाँकी छ भनेर परीक्षामा सहभागी नगराउने अनि कक्षाकोठाबाहिर राखिदिने । यो शिक्षा हो कि शासन । यो रहरको काम हो कि कर उठाउने उपक्रम मात्र ?
– एकै विषयका लागि एकै सेमिस्टारमा पनि ‘टिचर चेन्ज’ गरिरहने काम उहाँको रुचि र रहरको काम हो कि ? यसबाट हामीलाई कत्तिको अप्ठेरो पर्दछ भन्ने अलिकति पनि हेक्का हुँदैन कि उहाँलाई ?
– स्कुलमा ‘लाइब्रेरी’ छ भनेर सोध्नुहुन्छ कति ठाउँमा जाँदा । अझ केके किताब पढेकी छौ भनेर सोध्नुहुन्छ । अनि त्यस्तो बेलामा ‘लाइब्रेरी छैन । त्यसैले कोर्सका किताब मात्र पढ्छौं हामी’ भन्दा कत्तिको लाज हुन्छ होला हामीलाई ? यस्तो कुरामा कहिल्यै विचार गर्नुपर्दैन ?
– हामीलाई राम्रा लागेको शिक्षकलाई निकालिदिने निर्णय किन हुन्छ ? केटाकेटीलार्ई नतर्साउने अनि मायाममता प्रकट गर्ने शिक्षक गलत हुन्छन् हो ? लौरोको प्रेम मात्र वाञ्छनीय किन ? हाम्रो सञ्चो नै बिगारिदिने सन्तोष सरहरूलाई चाहिँ निकाल्न मिल्दैन ?
– हामीलाई जाँचको तयारी भन्दै ‘रिडिङ–राइटिङ’ मात्र गराएर के बनाउन खोजेको ? के हामीले जीवनमा त्यै काम मात्र गर्नुपर्छ कि जसको तयारी यत्ति महत्वसाथ गरिरहेका छौं ?
– शिक्षकलाई पनि केटाकेटीको सामुन्नेमा थर्काउँदा शिक्षकप्रति केटाकेटीको मनोविज्ञान के हुन्छ ? अनि शिक्षकको मनोबल उच्च हुनु जरूरी छैन शिक्षाको उन्नतिका लागि ?
यी र यस्तै केही बुँदा उनै मामाको मुखबाट मैले सुनेको हुँ, सम्पादित अंशको रूपमा ।
कुरा सुन्दै गर्दा मेसेन्जरमा घन्टी बज्छ ।यतिखेर मेरा प्रिय भान्जाले भिडियो कल गरेका रहेछन् । भान्जा भन्छन्, ‘मामा मलाई किताब देखाउनूस् न ।’
मैले किताबको आवरण देखाउँदै गर्दा भान्जाको मुखबाट अर्को प्रश्न छुटिसक्छ, ‘मामा बस्ने ठाउँमा किताब धेरै हुन्छ हो ?’
म अवाक् हुन्छु । देश लकडाउनमा छ ।
स्कुल र केटाकेटीबीचको दूरी बढ्दो छ । ‘सोसल डिस्ट्यान्सिङ्’ छ, थियो पहिल्यैदेखि । सामाजिक दूरी बढिरहेकै कारण सिकाइमा त्यसको प्रत्यक्ष असर परेको थियो । सिक्ने र सिकाउनेमा हुनुपर्ने समन्वयको अभाव थियो । त्यो दूरी अहिले प्राकृतिक रूपमै अनिवार्य बनेर आएको छ । अनि मनको दूरी कति थियो ? यो अहम् प्रश्न हो । जब मनको कुरा मनले सम्मान गर्नसक्ने अवस्था बन्दैन तब शिक्षाको उद्देश्य असफल नै हुने हो ।
यतिखेर धेरै भान्जाभान्जीको कुरा सुन्न मन छ । कस्तोकस्तो दिनमा स्कुल जान मन लाग्छ भनेर सोध्न मन छ ।
खास, यो प्रश्नको उत्तर त हामीलाई थाहा हुनै परथ्यो नि हैन !
अनि फोन गर्दा भान्जीले भन्नेथिन्, ‘मामा स्कुल जान कहिले पाइन्छ के ?’
प्रकाशित: ८ असार २०७७ १०:२७ सोमबार