विक्रम शिशिर
प्रकृति, प्राणी र विपत्तिमा नजिकको सम्बन्ध हुँदैन र पनि यिनीहरू आसपासमा नै रहन्छन् । जबजब विपत्ति विनाशकारी हुन्छ तबतब प्राणीहरू विचलित हुन्छन् । प्राणीमध्ये सबैभन्दा आतंकित बन्छ मानव जाति । बोल्न सक्ने, बुझ्न सक्ने, सोच्न सक्ने र समाधान गर्न सक्ने क्षमता मानिसले मात्र राख्छन् । त्यसैले सबै खाले प्राकृतिक विनाशहरू वा मानव निर्मित विनाशहरू सफलतापूर्वक समाधान गरेका छन् मानिसहरूले ।
यतिबेला विश्व कोरोना कहरमा छ । कोभिड–१९ ले निम्त्याएको महामारीले विश्वव्यापी रूपमा आतंक मच्चिएको छ । आर्थिक तथा जनस्वास्थ्यको क्षेत्र धराशायी बन्दै छ । यो प्रभावबाट विश्वका कुनै पनि देश अछुतो छैनन् । दिनानुदिन हाम्रो देशमा पनि बढ्दो छ । हरेक नेपालीको दिनचर्याको साथै समाज, समुदाय, परिवारलाई प्रभावित गरेको छ कोभिड–१९ ले ।
शिक्षा लगायत उत्पादन, विकास, यातायात, पूर्वाधार, मनोरञ्जन, कला, साहित्य, नाट्य, संगीत, चलचित्र लगायत अत्यावश्यक कुराहरू ठप्प छन् । निम्न वर्ग, सोझा नागरिक, अपांग वृद्धवृद्धा, बालबालिका तथा महिलाहरूमा लकडाउनको सबैभन्दा बढी प्रभाव परेको पाइन्छ । बन्दाबन्दीले खुम्चिनु परेको भए पनि कति सिर्जनात्मक कामहरू भइरहेका छन् । शिक्षा स्वास्थ्य, उत्पादन, पूर्वाधार, विज्ञान, कृषि, कला, साहित्य, संगीत, नाट्य आदिमा रचनात्मक काम भएको पाइन्छ । कतिपय सिर्जनधर्मीहरूले लकडाउनको समयलाई अवसरको रूपमा परिणत गरेका छन् ।
बाँकेका साहित्यकार तथा कलाकारहरूले पनि लकडाउनको समयलाई विभिन्न तरीकाले सदुपयोग गर्दै आएको पाइएको छ । विशेष गरी बालबालिकाहरूको विद्यालय जाने समय घरको एकान्त कोठामा बितेको छ । ऊर्जाशील समयलाई कतिपय अभिभावकहरूले सिर्जनामा लगाएको पाइएको छ । यो राम्रो कुरा हो । बालबालिकाहरूलाई समय कटाउने सबैभन्दा सजिलो माध्यम हो चित्रकला । बाँकेको कोहलपुरमा धेरै बालबालिकाहरू चित्र बनाउँछन् । कतिपय बालबालिकाहरू हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेको कला विभागसँग समेत आबद्ध भएर चित्रकलालाई संस्थागत रूपमै अगाडि बढाउँदै छन् । चित्रकलामा आबद्ध यहाँका यी बालबालिकाहरूको लकडाउनको समयलाई राम्रैसँग उपयोग गरेको पाइएको छ
इच्छा हुँदाहुँदै पनि समय अभावका कारण बनाउन नसकेका कतिपय सिर्जनाहरू लकडाउन विशेष बनेको कुरा आयुष्मा ढकाल बताउँछिन् । उनी त्रिभुवन मावि कोहलपुरकी कक्षा १० की छात्रा हुन् । एसइई परीक्षा रोकिएको तनावको बेला विभिन्न चित्रहरू बनाएको बताउने आयुष्माले यही समयमा डेढ दर्जन बढी चित्र बनाएको बताइन् । उनी भन्छिन्, ‘म जस्तै कैयौं विद्यार्थीले भोग्नुपरेको कोरोना कहर र परीक्षा दिन नपाएको पीडा जब ब्रस र रंगसँग रंगिन्छ तब समय बितेको थाहै पाउँदिनँ।’ प्रायः लोक तथा दृष्य कला रचनामा रमाउने आयुष्मा थप्छिन्, ‘कल्पनाको गगन निकै ठूलो छ । जब कल्पना गरिन्छ सारा ब्राह्मण्ड सिर्जनाको दायरामा साँघुरो भएर आउँछ ।’
बालज्योति मावि कोहलपुरका विद्यार्थी दिपेश पौडेलले लकडाउनलाई अवसरको रूपले हेरेका रहेछन् । परिवारिक जिम्मेवारी नजिकबाट नियालेका उनले समाज, आफन्त र परिवेशमा घुलमिल हुन पाउनु पनि महत्वपूर्ण कुरा रहेको बताउँछन् । समाजबाट नै जिउने कला सिकिने ज्ञान प्राप्त भएको भन्दै चित्रकारितासँगै यतिबेला विभिन्न पुस्तक अध्ययन गरिसकेका सुनाए । कक्षा १० मा अध्ययनरत दिपेशका विभिन्न लेखहरू पनि प्रकाशित भएका छन् । लकडाउनको समयमा एक दर्जन बढी वास्तुकला र दृश्यकला सृजना गरेको बताउँछन् ।
त्रिभुवन मावि कोहलपुरका छात्रा अंशु चन्द र वंशु चन्द दिदीबहिनी हुन् । दुवैले लकडाउनलाई अवसरको रूपमा हेरेका रहेछन् । प्रायः मुहारचित्र र दृश्यचित्र बनाउने दुई बहिनीको समय स्केच कोर्ने, वस्तु र पर्यावरणसम्बन्धी दृश्यका चित्रमा रंग भरेर बितेको बताउँछन् ।
खुसबु विष्ट गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुरकी विद्यार्थी हुन् । कोहलपुरमा ललितकला पाठशाला खुलेपछि सिकेका तमाम विधि र विधागत अध्ययनलाई निरन्तरता दिन समय मिलेको बताउने उनले लकडाउनको समयमा थुप्रै चित्रमा रङ भरेको बताइन् । लकडाउनअघि कालिमाटी सल्यान पुगेकी उर्मिला थापाले प्रायः दृष्य चित्रहरू बनाउँछिन् । कोहलपुर नै भएको भए यतिखेर धेरै सिर्जना गर्ने अवसर थियो तर पर्याप्त सामग्री नहुँदा ग्राफिक डिजाइन र पेन्टिङ बनाएको बताइन् ।
तक्षशिला एकेडेमी बाँके कोहलपुरमा कक्षा ९ का दिव्या गौतमले दृष्य आधुनिक चित्रसँगै मुहार चित्र सिर्जनामा सक्रिय भएको बताइन् । त्यसैगरी त्रिभुवन मावि कोहलपुरको कक्षा १० की प्राष्ना दियालीको विशेष रुचि स्टोन आर्टमा छ । आफ्नो परिचय बनाइसकेकी प्राष्ना आशालाग्दो कलाकार हुन् । यति बेला उनी स्टोन कालामा व्यस्त छिन् । राधिका शाही, खगेन्द्र शाही, रोहित थारु, वर्षा थापा, सौगात साउत, पवित्रा थापा जस्ता बालबालिकाहरू ललित कला पाठशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने समय मिलेको बताउँछन् ।
कोरोनाबाट प्रभावित सबै साथीहरू आतंकित छौं र पनि हामीले सिकेका विधागत सीपहरूलाई निरन्तरता दिने समय मिलेको बताउँछिन् राधिका शाही । अविभावकबाट पनि राम्रो सहयोग पाएको बताउने शाही दृष्यकलामा रुचि राख्छिन् । ग्रनपिस माविकी आयुष्मा आचार्य र स्वरुप पौडेल मुहार र वस्तु चित्रकला सिर्जना गर्छन् । मुहार तस्वीर बनाएर आफ्नो बुवा लक्ष्मण पौडेललाई जन्मदिनको उपहार दिएका थिए रे स्वरुप पौडेलले ।
लकडाउनको समयमा यस क्षेत्रका धेरैजसो बालबालिकाहरू चित्रकलामा रमाएको देखिन्छ । विभिन्न आकृतिका चित्र बनाउने, रङ लगाउने र सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने बालबालिकाको संख्या अधिक छ । कतिपय आमाबाबुहरूले फेसबुकमा आफ्ना बालबालिकाहरूका चित्रहरू राखी मेरीे नानीको चित्र कस्तो छ भनेर सोधेको पाइन्छ । यसले पनि अभिभावकहरू समेत कलाबाट मोहित हुन थालेको अनुमान लगाउन सकिन्छ ।
कतिपय बाबुआमाहरूले आफ्ना बालबालिकाहरूलाई चित्र बनाउन सिकाएको पनि बताए । ‘वैभवविक्रम चन्दलाई साइकल सिरिज गराएका छौं । साइकलमा विभिन्न ज्यामितीय कोण हुन्छन् । एकै वस्तुमा धेरै कोणहरू हुने हुनाले पनि यसलाई निरन्तरता दिएका हौं । सिरिजमा काम गर्न लगाउँदा उक्त विषयको छिटो अध्ययन र प्रदर्शनी गर्न सहज हुने बताउँछिन् वैभवकी आमा उषा सुवेदी । वैभव तक्षशिला एकेडेमीका विद्यार्थी हुन् ।
लकडाउनले कतिपय बालबालिकालाई विपत्तिमा जीवन जिउने कला सिकाएको छ । भनिन्छ हरेक विपत्तिले अवसर लिएर आउँछ । अभिभावक र बालबालिका बीच समीप्य बढेको छ । पारिवारिक मेलमिलाप, सामाजिक दायित्व, घरगोठको सरसफाइ, करेसाखेती जस्ता कुराले प्राथामिकता पाएका छन् । कोरोना कहर त छ नै । यो समयलाई बालबालिकाहरूको हकहित र सिर्जनामा लगाउन सके भविष्यमा यसको परिणाम सकारात्मक आउन सक्छ ।
(लेखक – हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कला विभाग प्रमुख तथा ललितकला पाठशाला कोहलपुर बाँकेका निर्देशक हुन् ।)
प्रकाशित: ८ असार २०७७ ०६:१५ सोमबार