८ वैशाख २०८१ शनिबार
कला

दोस्रो महाभारत

शुभचन्द्र राई

उहिले युद्धमा हार व्यहोरेपछि 

शुभचन्द्र राई

श्रापित भई

इमानदारिताका साथ  

आफ्नो चिरञ्जीवी मणि कृष्णलाई दान गरेर

निरीह बाँचिरहेका अश्वत्थामाहरूले

कतिन्जेल सही रहलान्

भाग्यको छेउ निधारको घाउ ?

 

समयको यो बिन्दुमा

गुरुभक्त

एकलव्यहरूले  

गुरु–दक्षिणामा बुढीऔँला चढाएको  

औतित्य खोजिरहेका होलान् ।

 

जीवनमा  

भगवानकै लीलाले जन्मेर

विभेदको आरनबाट पनि

सुरता प्राप्त गरेको

कर्णहरूले  

आफ्नो कवच दानमा दिएको  

उपलब्धि खोजिरहेका होलान् ।

 

धर्म र सत्यताका लागि

टाउको कटाएका अजेय योद्धा बर्बरिकहरू

आपत्ति जनाइरहेका होलान्

आफूहरूलाई कसरी  

राखियो अधर्म

र, असत्यको कित्तामा ?

 

प्रश्न गरिरहेका होलान आफैंसँग

के सत्य हुन विजय आवश्यक छ ?

उनीहरूले  

आफ्नो यो योगदानहरूको  

हिसाब–किताब समयसँग खोजिरहेका होलान् ।

 

यसरी  

बेवास्ता गरिरहेर

यसरी नै खेलिरहने हो भने

झुटको खालमा  

अभिमानको जुवा ।

कोही त फेरि  

जानैपर्छ वनबास ।

 

तब उसरी नै साँधिने छ प्रतिशोध

बगैँचाहरूको छाती कुरुक्षेत्र बन्नेछ ।

फेरि हुनेछ महाभारत  

फेरि हुनेछ रणसंग्राम ।

 

तर, यसपालि को कसको पक्षमा लड्ला ?

उही समीकरणमा भयो भने युद्ध

अर्जुनहरूले जोगाइरहेका छन् कि छैनन् धनुर्विद्या ?

कृष्णहरूलाई  फुर्सद छ कि छैन,

गोपिनीहरूको कपडा लुकाउनबाट ।

युधिष्ठिरहरूसँग बाँकी छ कि छैन सत्यता,

जुन धर्मयुद्धमा एक झुट बोलिदिँदा पत्याउने हतियार बन्छ ।

भीमहरूले जोगाइरहेका छन् कि छैनन् पाँच हात्तीको बल ?

सहदेवहरूको सुन्दरता अझै उस्तै छ कि छैन होला ?

र नहकुलको विद्यता कायम  छ छैन ?

यदि छ नै भने पनि

फेरि यसपालि

कर्णहरूले दानी स्वाभावमात्रै  फेरिदिए भने,

एकलव्यहरूले गुरू भक्ति मात्रै तोडिदिए भने,

अश्वत्थामाहरूले पाण्डवहरूले झैं  

अलिकति युद्धधर्म तोडेर आफ्नो बदला लिए भने

बर्बरिकहरूले टाउको कटाएर युद्ध हेरिरहन सक्लान् कि नसक्लान् ?

भीष्म पितामहहरूले ईच्छा मृत्यु चाहलान् वा नचाहलान् ?

युद्धभुमिमा झुट बोल्दा पत्याइएला नपत्याइएला ?

यदि यस्तो भएन भने  

युद्धको परिणाम फेरिनेवाला छ ।

 

युद्ध जसले जिते पनि

जित्नेले हामी अधर्मीहरूले युद्ध जितियो भनेर  

इतिहास नलेख्लान् ।

 

वा, प्रश्न त यो पनि छ

फेरि यसपालि  

कौरवहरूले जिते भने युद्ध  

महाभारतको कथा कस्तो लेखिएला ?

 

त्यसपछि

पूजा कसको होला ?

भगवान  

कसलाई मानिएला ?

 

मैले त आजसम्म  

युद्ध हारेको भगवानको मन्दिर देखेको छैन ।

 

प्रकाशित: १७ जेष्ठ २०७७ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App