१ श्रावण २०७७ बिहीबार
अन्य

चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन

आयुष्मा ढकाल

कक्षा  १०,

श्री त्रिभुवन नमुना मावि, कोहलपुर, बाँके ।

मलाई चित्रकलामा विशेष रुचि छ । कुची र कलर हातमा भएपछि म सबै थोक बिर्सन्छु । चित्र कोर्ने क्रममा कहिले हिमालपारि पुग्छु त कहिले पहाडका भिरैभिर । चाँदीजस्तै टल्केका हिमाल र सेताम्मे हिउँमा फुल्ने हिउँफूल चित्रमा कोर्दा खूब आनन्द आउँछ । पहाडका लालीगुराँसहरु म सेतो पानामा फुलाउन सक्छु । डाँफे, मयुर, लगायतका विभिन्न चराचुरुङ्गीहरू बनाउँदा मनै फुरुङ्ङ हुन्छ ।

लकडाउनको समय चलिरहेको छ । सबैलाई घरभित्रै बस्नुपर्ने बनाएको छ कोरोनाले । बाँकेको बासिन्दा भएकाले घरबाहिर निस्कन झनै डर लाग्छ हामीलाई । कोरोनाको रेड जोनमा परेको छ हाम्रो जिल्ला । बाँकेमा अझै संक्रमित बढ्ने क्रम जारी छ ।

एसइईको तयारीमा रहेकाले पढ्नै पर्ने बाध्यता पनि छ । तर मन भने अन्यत्र गइरहन्छ । विभिन्न बौद्धिक व्यक्तित्वहरूले ‘परीक्षा हुँदैन, आन्तरिक परीक्षालाई नै अन्तिम परीक्षाको रूपमा मान्यता दिनुपर्छ’ भन्ने गरेको पनि सुनेकी छु । पत्रपत्रिका र शैक्षिक बहसहरू सुन्दा लाग्छ एसइईको परीक्षा अन्योलमा नै छ । त्यसैले पनि होला आजकल अनलाइन कक्षामा पनि विद्यार्थीहरू घट्न थालेका छन् ।  

परीक्षा संचालन गर्ने केन्द्रहरू सबै क्वारेन्टिन बनेका छन् । त्यसैले परीक्षा हुँदैन कि भन्ने डर बढ्दै गएको छ । मिहिनेत गरेर पढियो तर परीक्षाको तयारी काम नलागी नै सकिन्छ कि भन्ने कुराले तनाव दिन थालेको छ । तनाव व्यवस्थापनको मेरो माध्यम चित्रकला बन्ने गरेको छ ।  

फुर्सद हुनेबित्तिकै चित्र कोर्ने मेरो पुरानो बानी हो । चित्रकलाले मलाई नयाँ ऊर्जा दिए जस्तो लाग्छ । शारीरिक बोझ र तनाव हल्का गर्ने माध्यम चित्रकला नै हो जस्तो लाग्छ । आफूलाई स्वतन्त्र भएको आभास हुन्छ । एउटा सुन्दर आकृतिसँग खेलिरहेको जस्तो लाग्छ चित्रहरू बनाउँदा ।  

चित्रकला दृष्य कलामा एक महत्वपूर्ण रूप हो । चित्रकलाको महत्वपूर्ण तत्व रेखा, आकार, स्वरूप र मूल्य भएको चित्रकलाका जानकारहरू बताउँछन् । चित्रकला एउटा महत्वपूर्ण विधा हो । जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य सबै अटाएको हुन्छ । चित्रलाई बुझ्न र बुझाउन कुनै मातृभाषाको जरुरत पर्दैन । दृष्टि अनुभूतिबाट सबै कुरा बुझ्न सकिन्छ । हेरेर नै सबै कुरा छर्लङ्गै हुन्छ । कलाकृति तयार गर्न उमेरले छेक्दैन । तर, उमेरअनुसार चित्रको आकृति निर्माण फरक हुन्छ ।

प्राय  अभिभावकहरू आफ्ना सन्तान डाक्टर, इन्जिनियर र पाइलट बनुन् भन्ने चाहन्छन् । ठूलो घर, गाडी, नोकरचाकर राखेर बसुन् भन्ने चाहन्छन् । कसैले म कलाकार बन्छु भन्यो भने हाँसोको पात्र बन्न पनि सकिन्छ । धेरै जसो अभिभावकहरूले सन्तानलाई धेरै पैसा कमाएको र मानप्रतिष्ठामा बाँचेको हेर्ने रहर पालेका हुन्छन् । कलाकारितालाई उनीहरूले अतिरिक्त कार्यको रूपमा बुझेको पाइन्छ । रुचिका लागि बनाएका चित्रले जीवन धान्न नसक्ने उनीहरूको तर्क रहन्छ । त्यसैले चित्रहरू रुचिका लागि मात्र बनाइदिए हुन्थ्यो र अन्य पेशाका लागि पढाइलाई बढी ध्यान दिए हुन्थ्यो भन्ने सल्लाहसुझाव दिइरहन्छन् ।  

अहिले समय बदलिएको छ । एउटा कलाकारले चित्र बनाएर करोडौं कमाएको कुरा हामीले देख्न, सुन्न र पढ्न पाएका छौं । चित्र कोरेरै विश्वप्रख्यात बनेका लियो नार्दो दा भिन्ची, पिकासो, रविन्द्रनाथ टैगोर, लैनसिह बाङ्देल, रागिनी उपाध्यायलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यसैले सोख पूरा गर्न र जीवन निर्वाहका लागि मात्र नभएर उत्कृष्ट पेशा चित्रकला बन्न पुगेको छ । चाहे पुस्तक कभरका रूपमा होस् या चाहे घर, भवनहरू सजाउन नै किन नहोस् । चित्रहरू सबैको रुचिको माध्यम बनेका छन् ।  

मलाई चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन । सानै छँदा गृहकार्य गर्ने कापीका पछाडिका पानाहरू चित्रले भरिन्थे । कापीमा आधाभन्दा बढी पछाडिबाट चित्रहरू बन्थे । कहिलेकाहीं शिक्षक र मामुको गाली पनि पाइन्थ्यो । खेल्नका लागि छुट्याएको समय पनि चित्र बनाउँदा बित्थ्यो । मामुको लिपिस्टिकले दराजमा चित्र बनाउँदा गाली र थपड खाएको अभैm पनि याद छ । कोर्दै जाँदा नयाँ किनेर ल्याएको लिपिस्टिक कति बेला सकियो थाहै पाइन । बजारबाट किनेर ल्याएका गुडियाको अनुहार म नयाँ कलरले रङ्ग्याइदिन्थे । कति गुडियाहरू त फोहोर भयो भनेर मामुले फालिदिनुहुन्थ्यो । अभैm चित्रमोह घटेको छैन । विद्यालयमा हुने चित्रकलामा भाग लिएर पुरस्कार पाएपछि खुशी भएको क्षण अझै पनि याद छ ।  

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको कला विभागमा जोडिएपछि मेरो चित्रकला प्रतिको रुचि झनै बढेर गएको हो । यस क्षेत्रका चर्चित चित्रकार विक्रम शिशिर सरसँगको सामीप्य र सिकाइले चित्रकारितामा निखार बढ्दै गएको छ । आजकल आफ्ना चित्रहंरू आफैलाई मन पर्न थालेका छन् ।

ललितकला प्रज्ञाप्रतिष्ठानले संचालन गरेको विशेष तालिममा सहभागी भएपछि पोस्टरकला, मिथिला चित्रकला र अन्य लोककलातर्फ आर्कषण बढ्दै गएको छ । यस्ता चित्रहरू बनाउने ज्ञान मैले चित्रकार देवेन्द्र थुम्केली, विक्रम शिशिर र साथी आश्विन कोइरालाबाट सिकेकी हुँ । चित्र बनाउँदा म एक्रेलिक कलर, पोस्टर रङ, क्रेयन कलर लगायतका कलरहरू बढी प्रयोग गर्ने गर्छु । विशेष गरी लोककला, मोर्डन आर्ट, प्राकृतिक दुष्य र समसामयिक विषयवस्तुलाई चित्रमा उतार्दै गएको छु ।  

देश लकडाउन छ । समय बिताउन धेरैलाई कठिन भएको सुनिन्छ । म भने विगतमा प्रशिक्षणको समयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवाहारिक ज्ञानमा रूपान्तर गर्ने प्रयासमा छु । लकडाउनको समयमा डेढ दर्जन बढी चित्रहरू बनिसकेका छन् । दुईवटा हाइकु सङ्ग्रह हरिचन्द्र ढकालको ‘चन्द्रविन्दु’ र हरि प्रसाद त्रिपाठीको ‘चटनी’ मा पुस्तक कभरको रूपमा मेरा चित्रले स्थान पाएका छन् । संयुक्त चित्रकला प्रदर्शनीमा सहभागी भए पनि एकल चित्रकला प्रदर्शनी गर्ने रहर छँदैछ । छिट्टै कोरना त्रास हटेर एसइईको परीक्षा दिन पाए चित्रकलामा खुलेर लाग्न सकिन्थ्यो भन्ने लागेको छ । आशा छ, कोरोनाको कहर धेरै दिन रहने छैन । 

प्रकाशित: १५ जेष्ठ २०७७ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App