१८ असार २०७७ बिहीबार
कला

कैली दमिनीको पसल

कथा

त्यो हिउँदको एक सौम्य बिहान थियो ।  

मलिन देखिन्थ्यो, घामको अनुहार पनि । हिउँदले पाइला टेक्न थालेपश्चात् सिंगो फाँट हुस्सुको आवरणमा लपेटिन थाल्छ । मान्छेहरू भन्छन्, त्यसलाई इंगित गर्दै, ‘अब फाँट बस्न थाल्यो, अबको दुई महिना त यस्तै हो ।’ हुस्सुको सघनता बढ्दै जाँदा ढोकाको काप–काप र जस्केलाबाट निस्फिक्री रूपमा छिर्छ, हुस्सु । कपाउँछ बेस्सरी नै ।  

विवश वस्ती

काठका प्वाँलहरूबाट उज्यालो छि¥यो, बिस्तारै ।  

उज्यालोको प्रवेशसँगै कैली दमिनीका आँखा उघ्रिए । एकजोर सपाट आँखा । तिनै आँखा कैलो–कैलो भएर नै हो, उनलाई सबैले भन्दै आए– कैली दमिनी । फरक रङको आँखाले नै जुरायो, उनको नाम । आँखा रातो भएको भए सबैले भन्थे होलान्– राती दमिनी । उनी भन्थिन् पनि, ‘किन नहोस् त मेरो आँखा कैलो । बच्चामा अघाउँजी खान पाएकी भए मेरो आँखा कहाँ कैलो हुन्थो र ? अरुका जस्तै हुन्थे होलान् । धन्न, अहिलेसम्म देख्न भने पाएकी छु ।’  

उघारिन ढोका उनले । फाँट टम्मै ढाकेको थियो, बाक्ला हुस्सुले । चारैतिर नजर ओछ्याउँदा–ओछ्याउँदै उनको आँखा त्यही रुखमा पर्यो । त्यही अभागी रुखमा । निकै तलको खोल्साको सालको त्यो अग्लो रुख । जुन आँखाका गेडीमा टाँसिने बित्तिकै उनी द्रवित हुन्छिन्, अझै पनि । तर, तत्काल सम्हाल्छन् पनि आफूलाई, ‘अब त मैले बिर्सिनु पर्छ, त्यो कुरा । पुराना कुरा सम्झेर कति पिरोलिइ रहने ?’

 

‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मार्यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् । ‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।

केही दिनयता भने आफूभित्र बढ्दै गएको अन्तरद्वन्द्वको तह उनमा झन्झन् बढ्दै छ । के गर्ने, के नगर्ने ? उनले केही पनि ठम्याउन सकेकी छैन ।  

‘किन रित्तै हात बस्छौ, केही न केही काम गर । काम गरेर कोही साना हुँदैनन् क्यारे ।’ त्यस्तै ६–७ महिनाअघि कतारबाट फर्किने बित्तिकै दिलमायाले सम्झाएकी थिइन्, उनलाई । तर, उनीभित्र थोपरिएको वैदेशिक रोजगारीको कहर अझै हटिसकेको थिएन । उनी व्याकुल नै थिइन् ।  

‘खै, के काम गर्नु ?’ उनी लाचारी दर्साउँथी ।  

‘अब यतै पाइन्छ काम । विदेश गइराख्नु पर्दैन ।’ दिलमायाले ढाढस दिँदै भनेकी थिइन्, ‘विदेश जानेले भन्दा यहीं बसेर काम गर्नेहरूका कमाइ राम्रो छ अचेल । यो रोड खुलेपछि त कसैले पनि बेरोजगार बस्नु परेको छैन । अब त मरिन खोलाबाट बाटो खुल्दैछ । त्यहीं तलको फाँटै–फाँट मोटर कुद्छ, अब ।’

कैली दमिनीले एकोहोरो सुनि मात्र रहिन्, कुनै प्रतिक्रिया जनाइनन् ।  

दिलमाया भने निरन्तर प्रशिक्षण दिन व्यस्त देखिन्, ‘बम्जन टोलको किङ्के दुई वर्ष मलेसिया बसेर आयो । के लछारपाटो लायो र त्यल्ले, विदेश बस्दा । रिन काढेर गएको पैसा पनि तिर्न सकेन, फर्केर आउँदा । अहिले अटो किनेर चलाउन थाल्या छ । त्यही कमाइले घर बनाउँदै छ । बरु तिमी पनि एउटा अटो किनेर चलाउन थाल ।’

‘आम्मोइ, कहाँ केटी मान्छेले चलाउनु ?’

‘के केटा, के केटी । अचेल अटो त केटाले भन्दा केटीले बढी चलाउन थाल्या छन् ।’ दिलमाया ढाढस दिन व्यस्त देखिइन् ।  

‘मसँग अटो किन्ने पैसा कहाँ हुनु, दिदी ? त्यत्रो काम आँटनै सक्दिनँ म । बरु सानोतिनो कुनै पेशा गर्नुपर्ला ।’ कैली दमिनीले आकाशतिर नियाल्दै भनिन् ।  

आकाश बिस्तारै खुल्दै थियो ।  

००

केही वर्षयता बोझे डाँडाको रौनक नै बदलिएको छ । गाउँको मध्य विन्दुबाट सडक खुलेपछि मानिसहरूमा आवतजावत बढ्दै गएको छ । त्यो सुख्खा, उजाड र प्यांखर पाखा अचेल भने हरियाली परिदृश्य सँगालेर बाँच्ने अभ्यासमा तल्लिन देखिन्छ ।  

‘ए बैनी, तिमी त्यत्तिकै नबस । मैले त तिम्लाई विदेशबाट फर्किने बित्तिकै भनेकी पनि हुँ, केही काम गर । अहिलेसम्म हात बाँधेर बसि रा’छौ ।’ दिलमायाले फेरि सम्झाइन् ।  

‘के काम गर्नु खै ?’ कैलीमा अन्यमनस्क भाव व्याप्त थियो ।  

‘म तिमीलाई एउटा सजिलो उपाय बताइदिन्छु । तिमीसँग धेरै पुँजी छैन भने सानोतिनो पसल चलाए पनि हुन्छ । अँ, अचेलका केटाकेटीले त्यो पानीपुरी, चट्पटे खुबै मन पराउँछन् । बरु तिनै खिच्रिमिच्रिहरू बेच्ने पसल थाप । थोरै लगानी, राम्रो आम्दानी...।’ दिलमायाले सहज भावमा भनिन् ।  

‘तर, दिदी... ।’ कैली दमिनी अन्कनाइन् ।  

‘के तर ?’  

‘आफ्नै गाउँमा त कहाँ त्यस्तो होला र ?’ कैलीले धक मान्दै थपिन्, ‘तपैंलाई थाहै छ, म दमिनी हुँ । पानी नचल्ने जात । मैले चटपटे, पानीपुरीको पसल राखें भने कसले आएर खान्छन् र ? दमिनीको पसल भनेर सबैले दुर्दुर गर्दैन ?’

दिलमाया गम्भीर देखिइन् । केही क्षण सोचमग्न हुँदै उनले थपिन्, ‘तिम्रो कुरा पनि ठीकै हो । तिम्रो जात सप्पैलाई थाहा छ । तिम्ले छोएको अरुले नखालान् । तर, समाज पहिलाजस्तो चाहिँ छैन है, बैनी । मान्छेहरू बदलिँदै गएका छन् ।’

कैली दमिनी निर्निमेष उभिइरहिन्, यथास्थानमा । र, हेरिन्, पूर्वतिरका अग्ला–होचा डाँडातिर । च्याउकोट, भीरगाउँ, सिरु डाँडा, हरिथुम्कातिर पु¥याइन् उनले आँखा । ती डाँडाहरूमा छरिएका थोप्लाथोप्ली बादल क्रमशः फाट्दै गइरहेको थियो । फाट्दै गइरहेका बादलतिर हेर्दै उनी कल्पिन थालिन्, ‘यो जातीय विभेद र छुवाछुत पनि त्यही बादलजस्तै, यो समाजबाट फाट्दै गए कति जाति हुन्थ्यो होला ।’

‘के सम्झेकी बैनी ?’ दिलमायाको आवाज पोखिएसँगै उनी झस्किइन् र भनिन्, ‘हैन, केही पनि सम्झेकी हैन । म त त्यत्तिकै टोलाउन पुगेछु ।’  

‘तिम्ले चटपटे, पानीपुरी बेच्ने पसल राख्यौ भने मलाई त चल्छजस्तो लाग्छ । किनभने, यो गाउँमा दलित र जनजातिहरूकै बाहुल्य छ । तिम्रो पसल चल्ने देख्छु म त । थाप बैनी । निस्फिक्रीसाथ थाप ।’ दिलमायाले उत्प्रेरित गर्दै भनिन्, ‘तिम्ले पसल थाप्यौ भने म नै पहिला आएर खाइदिन्छु ।’

‘मेरो निम्ति त्यत्रो जोखिम नमोल्नोस्, दिदी ।’ उनको आवाजमा उदासीको गन्ध घोलिएको थियो ।  

‘छाड यस्तो कुरा । हाम्ले परिवर्तन नगरे कसले गर्छ ?’ दिलमायाको प्रेरणादायी आवाज झन्झन् प्रवाहित हुँदै गइरहेको थियो ।  

केही दिन बिते । कैली दमिनीका ती तीनहरू दिन तनाव, द्विविधा र अन्योलको एम्बुसमा परे । उनी एउटै चिन्ताले पिरोलिइरहिन्, ‘पसल त थापुँला तर दमिनीको पसल भनेर कसैले किनेर खाइदिएनन् भने के गर्ने ? यो ठाउँ यस्तै हो । दमिनीको पसलमा को आउला र र खाला ? अहँ, म आँटन सक्दिनँ ।’

आज भने कैली दमिनीको अनुहार हिजोअस्तिको भन्दा चम्किलो थियो । पूरै उज्यालो । उनले गाउँको बीचमा अवस्थित चोकतिर हेरिन् र मनमनै संकल्प गरिन्, ‘म पसल थाप्छु, थापेरै छाड्छु । यो समाजमा केही गरेर देखाउन चाहन्छु ।’

००

गाउँको केन्द्रविन्दुमा एउटा सानो पसल थाप्ने निधो गरेपछि उनी एउटा सानै टहरो बनाउन जुटिन् । केही बाँस, पुराना थोत्रा टिन र डोरीहरू सम्हाल्दै गर्दा उनले आफूले टेकेर आएका संघर्षका बाटाहरूलाई नियाल्न चाहिन् । डरलाग्दा थिए, ती बाटाहरू । भीर र अक्करले घेरिएका । अनायासै उप्किए, उनका जीवनको मझेरीमा केही प्रसंग । जसलाई उनी कदापि बिर्सिन सक्दिनन् । ऐंजेरुजस्तै टाँगिएर बसेका छन्, उनको जीवनरुपी वृक्षमा ।  

प्रसंग– १

माथ्लो टोल उनको । पूरै प्यांखर । बलौटे ढुंगाहरूको बाहुल्य भएका बारीहरू । फल्छ त केवल अन्नका नाममा उही कोदो मात्र । अलिअलि लाप्चे र कागुनो पनि । तल्लो टोलको भने कुरै नगरौं । ब्राम्हणहरूको बाक्लो बस्ती । क्षत्री पनि छन्, केही घर । घर–घरमै धारा । तल्लो टोलका प्रायः सबैजसोको खेत छन्, फाँटमा । मुरीका मुरी भित्र्याउँछन्, हरेक वर्ष धान । मकै र आलु पनि ।  

कैलीले दस वर्ष टेकेकी थिइन्, त्यो वर्ष । एकदिन उनी त्यही तल्लो टोलको डगरै–डगर हिँडिरहेकी थिइन् । एउटी अधबैंसे महिला दूध बोकेर जाँदै थिइन्, कतै । परैबाट सेतो तरल पदार्थमा आँखा पोखिएपछि उनले सोधिन्, ‘के हो बज्यै यो ?’

‘कस्ती दमिनी रै’छे यो त । दूध पनि नचिन्ने । तैंले अहिलेसम्म दूध देखेकी छैनस् ? भैंसीको दूध हो यो, भैंसीको ।’ ती अधबैंसे महिलाले रिसाउँदै भनेकी थिइन् ।  

‘अहँ, देख्या थि’न त ।’ कैलीले निर्दोष नजर बिछ्याउँदै जवाफ दिइन् । दस वर्ष बित्दा पनि न उनले दूध देखेकी थिइन्, न त त्यसको स्वाद उनको जिब्रोले ग्रहण नै गरेको थियो ।  

प्रसंग– २

कैली दमिनीले भयावह सपना देखिन्, हिजो राति । सपनाको सार यस्तो थियो ः

‘सुतिरहेकी थिइन् उनी । मस्त निद्रामा । एउटा कालो बिरालो बाटोबाट माथिल्लो गह्रामा उक्लियो । त्यो बिरालोले उनको घरको आँगन टेक्यो । आँगनमा उभिएर चारैतिर हे¥यो, दायाँ–बायाँ सबैतिर । त्यसपछि घुम्न थाल्यो, घर वरिपरि । घर वरिपरि तीन चार पटक नै घुमिसकेपछि मध्यरातमा आकाशबाट खसेर क्षणभरमै विलिन हुने ताराझैं अलप भयो, त्यो बिरालो ।’

झस्केर उठिन् उनी, हठात् रुपमा ।  

मनमनै कल्पिन्, ‘यो राम्रो सपना होइन । कालो बिरालो, त्यसमा घरको चारै सुर, तीन–चार पटक नै घुम्नु । पक्कै यो नराम्रो सपना हो ।’

कैलीले पतिलाई उठाइन् र भनिन्, ‘नराम्रो सपना देखेँ मैले त ।’

‘के देखिस् ?’

‘एउटा कालो बिरालोले घरको चारै सुर फन्को मा¥यो, तीन–तीन पटक नै । यस्तो सपना मैले अहिलेसम्म देखेकी थिइनँ ।’ कैलीले भयभित नजर बिछ्याउँदै भनिन् ।  

‘आ, छाड यस्तो सपनाको कुरा । सुत ।’ पति ओछ्यानमा पल्टिए र घुर्न थाले तत्काल नै ।  

भोलिपल्टको परिदृश्य थियो यो ।  

‘म त्यो रुखको हाँगाहरू छिमोल्छु । दाउरा हुन्छ ।’ भोलिपल्टको मध्यान्ह उनका पतिले तलको खोल्सामा उभिएको वृद्धावस्थातिर उन्मुख एउटा अग्लो र मरन्च्याँसे रुखतिर हेर्दै भने ।  

‘भो पर्दैन, त्यति अग्लो रुख चढ्न । छँदैछ नि दाउरा ।’ कैलीले भनिन् ।  

‘हैन म आजै काट्छु, त्यो रुखका हाँगाहरू ।’ उनका पतिले जिद्दि गर्दै भने र बञ्चरो बोकेर लम्किए, त्यतैतिर । हिँड्ने बेलामा भनेका थिए, ‘३–४ दिनलाई बजारमा लगेर बेच्ने दाउरा त छ । तर, त्यसपछि फेरि चाहियो नि । आज काट्यो भने एक हप्तापछि त सुकिहाल्छ नि ।’

करिब आधा घन्टापछिको परिदृश्य नितान्त बेग्लै थियो । त्यो रुखको हाँगा गिड्दागिड्दै उनका पतिको खुट्टा चिप्लिन पुग्यो । एउटा गहु्रँगो आवाज ओकल्दै भुइँमा खसे, बजारिए, उनी । आवाज आएसँगै कैली त्यो खोल्सातिर दगुर्दै गइन् ।  

टाउकोमा चोट लागेको थियो, गहिरो । उनका पतिले मुखबाट फिँज निकालिरहेका थिए र एकोहोरो भनिरहेका थिए, ‘मलाई अस्पताल लैजाऊ । म बाँच्न चाहन्छु ।’  

कैलीले जेनतेन एक्लै घरसम्म ल्याइन् । तर, केही समयपछि नै उनका पतिको प्राणान्त भयो... ।  

अझै उभिइरहेको छ, त्यो रुख । झन्झन् वृद्ध र मरन्च्याँसे रुपाकृतिमा बदलिए पनि अझै ढलेको छैन । खङ्रङगै सुके पनि अस्तित्ववान् भएर उभिइरहेको छ ।  

त्यो रुखले उनलाई अझै मर्माहत बनाउँछ । कहिलेकाहीं त्यो रुखतिर आँखा पुग्दा उनको शरीर सुख्खा पातहरूझैं काँप्न थाल्छ ।  

प्रसंग– ३

पति बितेपछि उनकै काँधमा थोपरियो, पारिवारिक दायित्व । भैंसी पालिन्, खसी–बाख्रा पालिन् । बेच्थिन् कहिलेकाहीं दाउरा पनि । उनको आर्थिक स्थिति सुध्रिदै गयो ।  

एकदिन सुनिन्, ‘विदेशमा गइयो भने राम्रो कमाइ हुन्छ । २–४ वर्षमै जिन्दगी बन्छ ।’

त्यो समय वैदेशिक रोजगारीको हावा सबैतिर बहेको थियो । १५–१६ वर्ष टेकेपछि गाउँका युवाहरू नागरिकता बनाउन अग्रसर हुन्थे र धाउँथे, काठमाडौंका मेनपावर कम्पनीहरू । २–३ वर्ष विदेश गएर आएपछि तिनीहरूका रवाफ नै बेग्लै हुन्थ्यो ।  

‘म पनि जाने भएँ विदेश । राम्रो कमाइ छ रे । आज एजेन्टसँग बुझेर आ’की ।’ कैली दमिनी प्रफुल्ल थिइन् र गाउँको पुछारमा भेटिएकी दिलमायासँग उनले खुसी साटिन् ।  

‘एजेन्टले फसाउला नि ।’ दिलमायाले सतर्क गराइन् ।

‘कहाँ फसाउनु ? कति विश्वासिलो एजेन्छ रहेछ ।’ उनी विश्वस्त देखिइन् ।  

‘पैसा त टन्नै लाग्ला नि, उड्ने भएपछि ।’

‘भैंसी, खसी र बाख्रा बेच्दा पुग्ने रहेछ ।’ कैली दमिनीले ओठमा चमक उमार्दै भनिन् ।  

के हुन्थ्यो सोचेजस्तो । उड्न त उनी विदेश उडिन् तर ६ महिना नबित्दै फर्केर आइन् । जति पैसा तिरेर उनी विदेश उडेकी थिइन्, त्यसको आधा रकम पनि कमाइ नगरी फर्किएकी थिइन् ।  

‘किन फर्किएकी ?’ सोध्थे कसै–कसैले ।  

‘काम नै गाह्रो । असाध्यै गर्मी । नसकेर फर्किएकी हुँ म ।’ हुन्थ्यो उनको जवाफ । तर, उनले आफ्नो कामबारे कहिल्यै, कसैसँग खुलाइनन् ।

००

कैली दमिनीले पसल थापेको करिब महिना दिनजति मात्रै बितेको थियो । उनले एउटा नमीठो आरोप, समस्याको सामना गर्नुप¥यो ।  

उनको पसल नामक सानो टहरोअघि गाउँभरिका मानिसको भीड जमेको थियो । टहरोको आडमै उभिएर कैली दमिनी चुपचाप मुन्द्रामा थिइन् ।  

त्यो साँझपखको दृश्य थियो । एउटी महिला ठूलो स्वरमा, गाउँ नै कम्पन हुने गरी उफ्रिँदै थिइन्, ‘यो दमिनीलाई यहाँ पसल थाप्न दिनै हुन्नथ्यो । मेरी बच्चीले यसको पसलमा खै के पुरी भन्ने खाइछे । घर पुगेपछि त तीन पटकसम्म बान्ता गरी । अहिले मैले घरमै सुताएर आएकी ।’

‘मेरो के गल्ती छ र ? अरु सबैले खाँदा केही भएको छैन । तिम्री बच्चीले के भएर बान्ता गरी । मलाई किन दोष दिनु हुन्छ, बित्थैमा ?’ आफूलाई प्रतिरक्षात्मक रुपमा उभ्याउँदै कैली दमिनीले एकत्र भीडतिर नियालिन्, तत्क्षण । भीड मौन थियो, कुनै आवाज उब्जिएको थिएन ।  

‘मेरी छोरीले यस्कै पसलमा खाएपछि बान्ता गरेकी हो । बिहानसम्म सद्दे नै थिई । यो पसलमा केके खाएर गएपछि बान्ता गरी ।’ ती महिला झनै उग्र बनिन् र भीडतिर सर्सर्ती नजर घुमाउँदै थपिन्, ‘यो दमिनीले केके खुवाएर बच्चाहरूलाई मार्ने भई । तपैंहरू किन चुप लाग्नुभएको ? यसको पसल यहाँबाट उठाउनुपर्छ । राख्न दिनु हुँदैन यहाँ ।’

‘अरु सप्पै भन्नुस् तर दमिनी भनेर नहोच्याउनुस् ।’ कैलीले प्रतिवादको भाषा बोलिन्, यस पटक ।  

‘दमिनीलाई दमिनी नभनेर के भन्ने त ?’ ती महिला झन् विस्फोट भइन्, ‘तँ दमिनी नै होस् । तँ हिजो पनि दमिनी नै थिइस्, आज पनि दमिनी नै छस् । यो पसल थाप्ने बित्तिकै अर्कै जातकी भएँ कि भन्ने लाग्यो कि क्या हो ?’

कैली दमिनीको मौनता तोडियो । उनी टहरोको आडबाट केही अगाडि सरिन् र भन्न थालिन्, ‘पहिला पहिलाजस्तो सहेर बसिन्नँ अब । अब कसैलाई जातीय रुपले विभेद गर्छ भने त्यस्तालाई ठीक पार्ने उपाय हाम्ले पनि जानेका छौं । म दमिनी भएर तिम्लाई किन टाउको दुख्यो ? मैले आफ्नो काम गरेर खाइरहेकी छु । तिम्रो घरमा भतुवा लाग्न गएकी छैन, अहिलेसम्म । मलाई अझै पनि दमिनी भन्यौ भने म तिमी विरुद्ध उजुरी हाल्छु । यत्रा गाम्लेले सुनेका छन् सबै ।’

‘तैंले मेरो बच्चालाई मार्नका लागि...।’

‘मकहाँ खाएर बान्ता गरेको भन्ने के प्रमाण छ ? तिम्रै घरमा खाएर पनि त बान्ता गरेको हुनसक्छ ।’ कैली दृढ देखिइन्, झन्झन् ।

‘अब यल्लै सबै, गाउँभरिका मान्छेलाई मार्ने भई ।’ ती महिलाको आवाज झन् अग्लिन थाल्यो, ‘मैले त्यल्लाई यसको पसलमा गएर केही पनि नखा भनेकै थिएँ । के गर्नु, लुकेर खाइछे, छौंडीले ।’  

भुत्भुताउँदै घरतिर लागिन्, ती महिला । केही क्षणमा नै भीड पनि तितरवितर भयो ।  

००

कैली दमिनी भोलिपल्ट बिहान उठ्दा घाम निकै माथि चढिसकेको थियो । हिजो साँझको दृश्य–परिदृश्य अझै उनको आँखा वरिपरि घुमिरहेको थियो । उनको मन–मस्तिष्क नै तम्तम्याइँदो बनिरहेको थियो ।  

बाहिर निस्किन् उनी । तलको फाँटमा पातलो हुस्सु बसिरहेको थियो । घाम बिस्तारै छिप्पिँदै जान थाल्यो । घामले सशक्त उपस्थिति जनाउँदै जाँदा हुस्सु पनि क्रमशः फाट्दै र बिलाउँदै गयो । हिजोको अकल्पनिय घटनाबाट धेरै नै मर्माहत भएकी थिइन्, कैली । बिस्तारै–बिस्तारै बिलाउँदै गएको हुस्सु र घामका चहकिला किरणतिर हेर्दै र कताकता टोलाउँदै भनिन्, मनमनै उनले, ‘यो छुवाछुत र विभेद पनि त्यही हुस्सुजस्तै फाट्दै गए कति राम्रो हुन्थ्यो होला ।’

घाम झन्झन् चहकिलो हुँदै थियो ।  

०० 

प्रकाशित: १० जेष्ठ २०७७ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App