८ वैशाख २०८१ शनिबार
अन्य

वडा–वडामा सुपथ पसल

दैलेखको गुराँस गाउँपालिकाले लक–डाउनका बेला आफ्ना नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन टोल–टोलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सुपथ पसलमा बाहिरभन्दा केही सस्तो पर्छ। गाउँपालिकाले जथाभावी हिँड्डुल र सार्वजनिक कार्यक्रममा पूर्ण रोक लगाएको छ। अध्यक्ष खेमराज वलीले लक–डाउनका बेला महँगी बढेकाले गाउँपालिकाले सबै वडामा सुपथ मूल्य पसलहरू सञ्चालन गरिएको बताए।

‘खाद्यान्नको ढुवानी भाडा गाउँपालिकाले व्यहोर्छ, सहकारीमार्फत बिक्री हुन्छ,’ उनले भने, ‘यसबाट बजारको भन्दा सस्तोमा जनताले खाद्यान्न पाएका छन्।’ गाउँपालिकाले ३० लाख रुपैयाँको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ। कोषमार्फत औषधि, स्वास्थ्य सामग्री तथा क्वारेन्टाइनमा रहेकालाई खाना–खाजाको व्यवस्था गरेको छ। गाउँपालिकामा रहेका एक सय १२ अति विपन्न परिवारलाई निःशुल्क खाद्यान्नको व्यवस्था गरिएको छ। गाउँपालिकाले ७८ जना क्षमताको क्वारेन्टाइन र दुई बेडको आइसुलेसन वार्ड स्थापना गरेको छ।

स्वास्थ्यकर्मीलाई घर–घरमा पुर्‍याएर नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रबाहिर रहेका, भारतमा मजदुरीका लागि गएका नागरिकलाई उद्धार गरेर ल्याएको छ। ‘यो संकटले हामी जनतासँगै छौं र साँच्चै जनताका प्रतिनिधि हौं भन्ने कुराको पुष्टि गरेको छ,’ अध्यक्ष वलीले भने, ‘स्थानीय सरकारलाई गुनासो नआउने गरेर हामीले कामहरू गरिरहेका छौं।’

प्रकाशित: ११ वैशाख २०७७ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App