१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तोरीको तेल नै सर्वोत्तम

म सानो छँदा आमाले बाबालाई भनेको सुन्थेँ, ‘नारायणगढ पुगिसकेको मान्छेले मिलमा पुगेर आफ्नै आँखाअगाडि पेलेको चितवनको तोरीको तेल लिएर आउनुपर्दैन ?’ पछि थाहा भयो– तोरी, तिल, झुसे तिल, आलस, नरिवल लगायतको तेल नेपालकै परम्परागत रहेछ। पुरानो कोलबाट तेल पेल्ने चलनलाई भारतबाट आयातित तेल पेल्ने मेसिनले प्रतिस्थापन गरेको रहेछ।

परम्परागत रूपमा तेलहन बालीको गेडा वा नरिवललाई मेसिनले बेसरी च्यापेर मिसावटरहित तेल निकाल्ने प्रविधिलाई ‘कोल्ड प्रेस मेथड’ भनिन्छ।यस्तो प्रविधिबाट सानो स्तरको उत्पादन मात्र सम्भव हुने हुँदा ठूलो परिमाणमा तेल निकाल्न औद्योगिक तरिका विकास भए। ठूला मेसिन र आधुनिक भनिएका प्रविधि सस्तो हुँदा कोल्ड प्रेस प्रविधि फ्याट्टफुट्ट एकाध दुर्गम गाउँमा मात्र सीमित हुन पुगे। केही समयको अन्तरालमै हामी सस्तोमा तेलहन बाली बेच्ने अनि महँगोमा ठूला उद्योगका तेल किन्ने बन्न पुग्यौँ।

हामीले स्कुल पढ्नेताका सञ्चार र सूचनाको स्रोत गोरखापत्र र रेडियो मात्र थियो। तिनमा आधुनिक प्रविधिबाट उत्पादित तेलले मुटु राम्रो गर्ने, स्मरण शक्ति बढ्ने आदि विज्ञापन आउँथ्यो।तनहुँको मित्रता माविमा हामीलाई विज्ञान पढाउने शिक्षकले पढाइमा कमजोर विद्यार्थीलाई भन्नुहुन्थ्यो, ‘आमालाई रेडियो नेपालले फुकेको बजारको पोकाको तेलको प्याकेट किनेर तरकारी पकाउन भन।’ बिहान पिटी कक्षामा राम्रो गर्नेलाई शिक्षकले ‘घरमा बजारिया तेल खाएजस्तो फूर्तिलो बन्यो’ भनी सबैको अगाडि स्याबासी दिनुहुन्थ्यो । यसले हामीमा त्यो चितवनको तोरी, घरेलु तिल र आलस खाएकाले हाम्रो शरीर वलिष्ठ नबनेको विश्वास जाग्ने गर्थ्यो ।

जतिबेला हामी आफ्नो घरको घरेलु तेलका कारण आफ्नो शरीर नै विकास हुन नसकेको विश्वास गर्दै थियौँ, त्यतिबेला संसारमै तेलहन बालीबाट परम्परागत प्रविधिबाट उत्पादन गरिएका तेल उत्कृष्ट मात्र होइन धेरै अर्थमा मानव स्वास्थ्यका लागि लाभदायक रहेको प्रमाणित भएर पुरानै प्रविधिमा आधारित तेलहरू उच्च मूल्यमा बिक्री हुँदै थिए। विकसित मुलुकमा अनिष्ट गनिएका ठूला तेल उत्पादन कम्पनीहरू नेपालजस्ता गरिब मुलुकका सञ्चारमाध्यममा चुस्त खर्च गरी कु–समाचारमार्फत सामाजिक हिप्नोटिजम् विकास गरी बजारमा आफ्नो एकाधिकार जमाउन सफल भएका रहेछन्। नेपाल जस्तो मुलुकमा आफ्नो उत्पादनलाई स्वस्थवद्र्धक भनी दाबी गरेर विज्ञापन प्रसारण गर्न कुनै प्रमाणित तथ्य पेस गरिराख्नुपर्ने कानुन समेत नरहेकाले निम्न स्तरको उत्पादन समेत हाकाहाकी उत्कृष्ट भनी सरकारी रेडियोमा फुक्न पाइने रहेछ।

प्रत्येक तेलको आफ्नै ‘स्मोकिङ प्वाइन्ट’ (तेलबाट धुँवा आउन सुरु हुने बिन्दु) को हद हुने गर्छ।‘स्मोक प्वाइन्ट’ यस्तो बिन्दु हो, जुन बिन्दुभन्दा धेरै ततायो भने तेल आफैँ टुक्रिन सुरु गर्छ।तोरीको तेलबारे गरिएको एक अनुसन्धानमा पाँच लिटर क्षमताको ‘फ्रायर’मा १८० प्लस ५ डिग्री सेल्सियसमा ६ दिनसम्म तोरीको तेल हरेक दिन ५ घन्टा तताएर कति टुक्रन्छ भनी हेरिएको थियो।

हाल संसारमै मानिसको खानाको प्रयोजनका लागि प्रतिबन्ध रहेको ‘हाइड्रोजिनेटेड’ र ‘ब्रोमिनेटेड’ डाल्डा घिउजस्ता मानव विषको समेत एकताका स्वस्थवद्र्धक घिउको रूपमा सञ्चार माध्यममा व्यापक प्रचार–प्रसार गरियो। निम्न वर्गलाई जीवनभर मुटु रोगको उपहार दिएर साँगुरो घेराका सीमित व्यापारी वर्ग धनाढ्य बने। उक्त घटनाबाट कोही कसैले केही पाठ समेत सिक्न जरुरी ठानिएन। अहिले पनि नेपालको अवस्था उस्तै–उस्तै भेटिन्छ। पहिले रेडियो र न्यून संख्यामा पत्रपत्रिका थिए। अहिले अनगिन्ती रेडियो, टिभी, एफएम, युट्युब, सोसियल मिडिया, अनलाइन न्युज पोर्टल, पत्रपत्रिका छन्। सीमित वर्गको मुनाफाका लागि बिनाप्रमाण कुनै रोकतोक आफ्नो उत्पादनको विज्ञापन गर्न सकिने माहोल छ।

सलादमा तेल
स्वस्थ राम्रो हुने लालसामा मानिसले दैनिक दुई–तीन गिलास (तीन सयदेखि चार सय ५० ग्राम) सलाद खानाको रूपमा खाने चलन देखिन्छ। सलादमा हुने क्यारोटिनोइड र फ्याटमा घुलनशील भिटामिन शरीरमा उपलब्ध हुन तेलको समेत जरुरी पर्छ, जुन प्रायः सलादमा हुने गर्दैन। त्यसै सन्दर्भमा गरिएको एक अध्ययनबाट तेल मिश्रित सलाद खाँदाको अवस्थामा सलादमा पाइने औषधीय गुण बोकेको क्यारोटिनोइड र फ्याटमा घुलनशील भिटामिन शरीरमा पुग्ने प्रमाणित भयो।

उक्त जानकारीपछि संसारभर सलादमा तेल र स्वाद पुग्ने गरी मसलाहाली खाने चलन चलेको हो। अनुसन्धानबाट सलादमा हुने मुख्यतः अल्फा क्यारोटिन, बिटा क्यारोटिन, लुटिन, लाइकोपिन, भिटामिनई, भिटामिनके, भिटामिनए आदिले शरीरमा प्रभावकारी अवशोषण गराउँछ। जसका लागि तीन कप सलादमा दुई चम्चा जति तेल वा एकपटकमा खाइने प्रतिकप सलादमा बढीमा एक चम्चा मिसाएर खानु प्रभावकारी भेटिएको थियो। त्यसैले हाल सलादमा तेलको प्रयोग गरी खाने चलन छ। क्यारोटिनोइड र फ्याटमाघुलनशील भिटामिनहरू एन्टिअक्सिडेन्ट मात्र नभएर एन्टिएजिङ प्रकृतिको हुन्छ, यो शरीरको तौल घटाउन प्रभावकारी हुन्छ, त्यसैले यसलाई ब्रेक फास्टमा थोरै चिल्लो समाविष्ट गरी खान थालिएको पाइन्छ।

सलादका लागि प्रचुर मात्रामा ‘मोनोसेच्युरेटेड फ्याट’, ‘फाइटोकेमिकल्स’ र ‘अल्फा लिनोलेनिक एसिड’ भेटिने तेलहरू (जस्तैः भर्जिन ओलिभ, क्यानोला, बदाम, फ्याक्स सिड, ओखर, भाङ, एभोकाडो, अंगुुर र बदामका तेल) उपयुक्त ठानिन्छ। ओखर, बदाम, हेजलनट र फ्ल्याक्स सिड जस्ता नटबाट निकालिएका तेलहरूको विशिष्ट र समृद्ध स्वाद समेत हुने गर्छ। औद्योगिक रूपमा सलाद ड्रेसिङका लागि भने एक तटस्थ, कलर र फ्लेभर विहीन सफा, प्रशोधित तेलको मिश्रण गरिन्छ। नरिवल, भटमास, सूर्यमुखी, तोरी, तिल, आलस, झुसे तिल, बदामको तेल, चिउरी बटर र घिउ आदि नेपालका स्थानीय कच्चा पदार्थबाटै बन्ने गरेका घिउ–तेल हुन्।

तेल तात्ने र फाट्ने बिन्दु
सलादमा प्रायः चिसै तेल प्रयोग भए पनि खाना पकाउने तेल पकाउने क्रममा १७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा तताएर भुटनको रूपमा उपयोग गरिन्छ। प्रत्येक तेलको आफ्नै ‘स्मोकिङ प्वाइन्ट’ (तेलबाट धुँवा आउन सुरु हुने बिन्दु) को हद हुने गर्छ। ‘स्मोक प्वाइन्ट’ यस्तो बिन्दु हो, जुन बिन्दुभन्दा धेरै ततायो भने तेल आफैँ टुक्रिन सुरु गर्छ। तेल टुक्रिएर ग्लिसिरोल, ग्लिसिरोल टुक्रिएर फ्याट्टी एसिड, फ्याट्टी एसिड टुक्रिएर धुँवा र मानिसका लागि विषाक्त हुने फ्री–रेडिकल पैदा गर्दछ। तेल टुक्रने क्रममा खराब चिल्लो पदार्थमा भेटिने सेचुरेटेड फ्याट्टी एसिड ठूलो मात्रामा खानामा पुगिरहेको हुन्छ।यस्तो खानाले धमनीभित्र जमेर रक्तसञ्चार रोक्ने ‘ट्रान्स फ्याट’ थपिदिन्छ।‘सेचुरेटेड फ्याट्टी एसिड’ र ‘ट्रान्स फ्याट’ मुटुलाई प्रत्यक्ष हानि पु¥याउने पदार्थ हुन्।

टुक्रने क्रममा उत्पन्न हुने मालोनडिअल्डिहाइड र फ्री रेडिकलहरू शरीरमा अक्सिडेटिव स्ट्रेस दिने तथा मिउटाजेनिक निम्त्याउने विषादि मानिन्छ। अझ सेल पाउरोटी, रोटी, दुनोट, निम्किन, दालमोठ, तारेको खाना (माछा, पकौडा, समोसा, जेरी, फ्रेन्च फ्राइज आदि) लामो समयसम्म एउटै तेलमा पकाउने र तेलको पुनः प्रयोग गर्ने जस्ता कामले घिउले जस्तै तेलमा विषाक्त ट्राई फ्लुरो एसिटिक एसिड र अन्य फ्री रेडिकल ठूलो घनत्वमा पैदा गर्ने गर्छ। निम्न वर्ग नेपालीमा हाल विद्यमान हृदय रोग, ज्यान पोल्ने, रगतमा अधिक चिल्लो भेटिने, रगतको नसाले आवश्यकता अनुसार फुक्ने र खुम्चने क्षमता गुमाउने, कलेजोको र मस्तिष्कको कोशिका आदि समस्याको मूलकारक कम तापक्रममै ‘स्मोकिङप्वाइन्ट’मा पुग्ने कुकिङ ओइलहरूको प्रयोग हुनु नै हो भन्ने प्रस्ट अनुमान गर्न सकिन्छ।

विदेशतिर ‘डिप फ्राई’जस्ता कार्यका लागि प्रयोग हुने तेलको तातोपना नियन्त्रण हुने ‘फ्राएर’ (फ्राई गर्ने भाँडो)को प्रयोग हुने हुँदा सिफारिस गरिए अनुरूप भुट्ने वा डिप फ्राई गर्दा तेलको तापक्रम नियमित नियन्त्रणमा राख्न सम्भव हुन्छ। १७० देखि १९० डिग्री सेल्सियससम्म तातेको तेलमा खाना राम्रोसँग भुटिने र डिप फ्राई समेत हुने हुँदा संसारमा सामान्यतः कुकिङ ओइल भनेर २३० डिग्री सेल्सियसभन्दा माथिको स्मोक प्वाइन्ट भएको तेललाई वर्गीकरण गरेको देखिन्छ। सामान्यतः आलसको तेल १०७डिग्री सेल्सियस र भर्जिन नरिवल तेल १७७डिग्री सेल्सियस स्मोकी प्वाइन्ट छ। त्यस्तै, कदम (२००), भर्जिन ओलिभ (२१०), तिलको तेल (२१०), अंगुर (२१६), भेजिटेबल ओइल ब्लेन्ड (२२०), आलमण्ड (२२१) डिग्री सेल्सियसको आसपासको स्मोक प्वाइन्ट हुने गर्छ। यस्ता तेल खानामा हालेर खाने क्रममा धेरै नतातिने किसिमको प्रयोजन जस्तै सलाद आदिका लागि राम्रो ठानिएको हो। त्यस्तै, उच्चस्मोक प्वाइन्ट हुनेमाकेनोला (२३०), मकै (२३०), बदाम (२३२), धानको भुसको तेल (२३२), भटमास (२३४), पाम (२३५), तोरीको तेल (२५०), सूर्यमुखी (२५२), कुसुम (२६६) र इभोकेडो (२७०) र शुद्ध घिउ (२५०) आदि पर्छन्।

परम्परागत रूपको तिल, तोरी पिनेजस्तो सीधै प्रेसर दिएर सार तत्वमा तेल निकाल्ने प्रविधि प्राकृतिक मात्र नभई मानव स्वस्थका लागि उत्कृष्ट समेत हुन्छ। यो प्रविधिबाट तेल अलि कम निक्लने हुँदा केमिकल सोल्भेन्ट (जस्तैः हेक्जेन, बेन्जिन, कार्बन टेट्रा क्लोराइड, डाइक्लोरोमिथेन जस्ता) को प्रयोग गरिन्छ। सबै नै तेल निकाल्ने ‘सोल्भेट एक्सट्रेक्सन’ तरिका बजारमा व्यापक प्रयोग भइरहेको छ। यस्तो विधिमा प्रयोग हुने केमिकल पछि पूरै हटाउन नसकिने हुन्छ।सोल्भेन्टको रूपमा प्रयोग हुने केमिकलहरूको थोरै मात्राले पनि कार्सिनोजेनिक अथवा क्यान्सर जस्ता घटक रोग पैदा गर्न सक्ने हुँदा यिनीहरू जन–स्वास्थ्यका लागि थप चुनौती पूर्ण बनिदिएको छ।

तोरीको गेडालाई परम्परागतरूपमा मिलमा पिसेर तेल निकाल्दा भन्दा ‘स्टिम डिस्टिलेसन’ गरी धेरै तेल निकाल्न सकिन्छ। तोरीको गेडामा ‘माइरोसिनेज’ वा ‘ग्लुकोसिनोलेट’ (जसलाई सिनिग्रिन भनिन्छ) एन्जाइम हुन्छ। उच्च प्रेसर र तापक्रममा पानीको उपस्थितिमा माइरोसिनेज र सिनिग्रिन रियाक्सन गरी एलाइल आइसो थायो साइनेट वा आइसो थायोसाइनेट बनाउँछ।सुरुमा एलाइल आइसो थायो साइनेटलाई नराम्रो मानिन्थ्यो। तर, पछि यसको क्यान्सर पÞmाइटिङ गुण पत्ता लागेपछि उत्तम ठानिन थाल्यो।एलाइल आइसो थायो साइनेट पेट्रोकेमिकलका रूपमा बजारमा उपलब्ध हुने एलाइल क्लोराइड र पोटासियम थायोसाइनेटलाई ल्याबमा रियाक्सन गरी समेत बनाउन सकिन्छ। जसलाई ‘आर्टिफिसियल मस्टर्ड ओइल’ भनिन्छ।

नेपालमा इम्पोर्ट गरिने कतिपय तेल ‘सोल्भेन्ट एक्सट्रेकटेड’ छ। तोरीको तेलहरूमा आर्टिफिसियल मस्टर्ड ओइल हाली ओरिजिनल तोरीकै तेल हो कि जस्तो बनाइएको हुन्छ। विगतमा तोरीको तेलमा सस्तो पामको तेल मिसिएको, विषाक्त अर्जिमोन हालिएको बदमासी समेत भेटिए। खाद्य तथा गुणस्तर नियन्त्रण निकायको मिसावट रहे–नरहेको यकिन गर्न प्रयोग गर्ने फ्री फ्याट्टी एसिड, पेरोक्सिडेज भ्यालु, पीएनिसिडिन भ्यालु, आयोडिन भ्यालु, कलर भ्यालु र टोटल अक्सिडेन्ट भ्यालु जस्ता ल्याब छन्, तर यी ल्याबले मिसावट रहे/नरहेको खुट्ट्याउन नसक्ने गरी मिसावट गर्न सकिने प्रविधि बजारमा व्यवसायीलाई उपलब्ध रहेको देखिएको छ। सलादको प्रयोजन र तरकारी हल्का भुटेर खाने प्रयोजनका लागि नेपाली मिलमै पिनेको तिल, आलस, नरिवल तेल र कुकिङ प्रयोजनका लागि परम्परागत नेपाली पाराको मिलमा पेलेको मिसावटरहित तोरी, बदाम, भट्टमास, सूर्यमुखी आदिजस्ता तेल र घरेलु वा डेरीको शुद्ध घिउ नै धेरै भरपर्दो उत्तम विकल्प रहेको देखिन्छ।

अनुसन्धानबाट तोरीतेल उत्कृष्ट
नेपालमा तोरीको तेलमा ५ देखि ३३ प्रतिशतसम्म ‘इरुसिक एसिड’ भेटिन्छ। सन् १९९० मा, अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ देखि ३३ प्रतिशतइरुसिक एसिड रहेको) लिएर मुसामा परीक्षणगरिएको थियो। तोरीको तेलमा हुने ‘इरुसिक एसिड’ मुटुका रगत लैजाने–ल्याउने नसामा टाँसिएर मुटुको समस्या पैदा गरेको देखेपछि यसलाई मानिसमा परीक्षण नगरी खाने तेलका रूपमा प्रतिबन्ध लगाइयो। उक्त अनुसन्धानपछि अमेरिका, क्यानडा र युरोपियन युनियनले समेत खाने तेलको रूपमा तोरीको तेल आयात र बिक्रीमा प्रतिबन्ध लगायो। ती मुलुकमा तोरीको तेल मसाजको तेलको रूपमा आयात हुने र एसियन मुलुकका मानिसहरूले खाने तेलका रुपमा प्रयोग गरिरहेका छन्।

वास्तवमा सन् १९९८ पछि भारतमा तोरीको तेल खाएर अचानक ६० जनाको मृत्यु र लगभग तीन हजार मानिस अचानक शरीर सुन्निने रोगको सिकार भएका थिए। त्यसकारण अदालतको आदेशबाट तोरीको तेल प्रतिबन्ध भएको थियो। केही महिनामै उक्त तोरीको तेल हेक्जागन पेट्रोकेमिकलबाट प्रदूषित भएको पत्ता लागेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो। ‘इरुसिक एसिड’ले मानवमा कुनै प्रतिकूल प्रभाव नपर्ने परम्परागत रूपमै यसको प्रयोग भइरहेकाबाट प्रमाणित नै थियो। सन् २०१२ मा भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एमस) र गंगाराम अस्पतालले जैतुनको तेल, क्यानोला तेल, तोरीको तेल र सूर्यमुखी तेलमाथि गहिरो अध्ययन ग-यो। जसले मानिसको हृदय रोगको जोखिम कम गर्न सबैभन्दा अब्बल तोरीको तेल रहेको निष्कर्ष निकाल्यो। तोरीको तेल खानका लागि जैतुनको तेलभन्दा धेरै राम्रो हुनुको कारण यसमा हुने ओमेगा–६ र ओमेगा–३ फ्याट्टी एसिड थियो, जसले हृदय रोगको जटिलता कम गर्न मद्दत गर्छ।

तोरीको तेलबारे गरिएको एक अनुसन्धानमा पाँच लिटर क्षमताको ‘फ्रायर’मा १८० प्लस ५ डिग्री सेल्सियसमा ६ दिनसम्म तोरीको तेल हरेक दिन ५ घन्टा तताएर कति टुक्रन्छ भनी हेरिएको थियो। प्रत्येक दिन लिइएको नमुनाको फ्री–फ्याट्टी एसिड, पेरोक्सिडेज भ्यालु, पि–एनिसिडिन भ्यालु, आयोडिन भ्यालु, कलर भ्यालु र टोटल अक्सिडेन्ट भ्यालु विश्लेषण गरी  हेर्दा चारदिन वा २० घन्टा पुगेपछि मात्र उक्त तेल अनुसन्धानशालाको मापदण्डअनुरूप खान अयोग्य बनेको भेटियो। यो अनुसन्धानले नेपालमा तेलमा खानेकुरा पाक्ने तरिकाको सन्दर्भमा कुकिङ बोइलका लागि तोरीको तेल उपयुक्त हुने देखाएको छ।

लामो समय तताउँदा समेत झट्ट नटुक्रने क्षमता देखिन्छ, नेपाली शुद्ध घिउ र तोरीको तेलमा। पकाउने क्रममा सानो अंश डढ्न गई मानव स्वास्थ्यमा पुग्न सक्ने हानिअन्य तेलको तुलनामा नेपाली शुद्ध घिउ र तोरीमा कम रहन्छ, यसर्थ नेपाली सन्दर्भमा यिनलाईउत्कृष्ट भुटन मान्न सकिन्छ। तेल परीक्षणमा चार दिन टिकेको भेटिए पनि हाम्रो गाउँघरमा चर्को आगोमा तेल तताउने गर्दा तेल २४० डिग्रीसम्म तातेको कथा सुनिएको छ।

कसरी प्रयोग गर्ने ?
तपाईं शुद्ध तोरीको तेल वा शुद्ध घिउमा ‘डिप फ्राई’ गरी खाना खान चाहनुहुन्छ भने एकपटक भुटन प्रयोग भएको तेल पुनः प्रयोग गर्नुहुँदैन। तेल तात्दा निस्किएको विभिन्न प्रकारका फ्याट्टी एसिडमाथि फिँजमा आउने हुँदा त्यसलाई नियमित हटाउन राम्रो हुन्छ। अझ खाना तार्न वा भुट्न विभिन्न प्रकारका तेल मिसाउँदा उपयुक्त हुन्छ।यसो गर्दा कुनै एक प्रकारको तेलमा नहुने फ्याट्टी एसिडहरूको अभाव अर्को तेलले पूरा गर्न सक्छ। अनुसन्धानले कानोला तेल, जैतुन तेलभन्दा तोरीको तेल मुटुको स्वास्थ्यका लागि उपयुक्त भएको प्रमाणित गरिदिएको छ। हाम्रा मिलले तोरी पिसेर निकाल्ने तेल घरमा लामो समयसम्म राख्दा पनि बजारको तेलजस्तो तुरुन्तै नबिग्रने क्षमता त छँदैछ, यसका स्वस्थवद्र्धक फाइदा भेटिएका छन्। अमेरिकन र युरोपियनले ‘इरुसिक एसिड’ हुनाले मुटुको खराबी दिने हो कि भनी यसलाई बन्देज गरिरहँदा वास्तवमा त्यही ‘इरुसिक एसिड’ स्नायुर मस्तिष्कका तन्तुको रक्षा गर्न तोरीको तेल सक्षम बनेको यथार्थ बाहिरिएको छ।

तोरीको तेल मुख्य तेलको रूपमा खाने व्यक्तिको पाचनशक्ति अन्यको भन्दा उच्च देखिएको छ। खाना पचाउन, पाचन प्रक्रियामा उत्पन्न हुने शरीरलाई जरुरी नहुने पदार्थ दिसा–पिसाबबाट बाहिर फाल्न तोरीको तेल सहयोगी हुने प्रमाणित बनेको छ। मानिसमा न्यून ‘मेटाबोलिक डिसअर्डर’ कायम गर्न र स्वास्थ्यका हिसाबमा आन्तरिक र बाहिरी रूपमा तोरीको तेलको थुप्रै फाइदा रहेको प्रमाणित भएको छ। तोरीको तेल मुटु, दाँत,छाला, रक्तसञ्चार आदिका लागि फाइदाजनक छ। यति हुँदाहुँदै पनि कुनै पनि तेलको धेरै सेवन मानिसलाई राम्रो नगर्ने हुँदा तोरीको तेल र घिउ समेत पौष्टिक आहारका लागितोकिएको दैनिक मात्रा भन्दा धेरै सेवन गर्नु पक्कै राम्रो हुने छैन।
(लेखक नेपाली मूलका क्यानेडियन खाद्य वैज्ञानिक तथा औषधि विज्ञ हुन्।)

प्रकाशित: १७ फाल्गुन २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App