coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सत्यं शिवं सुन्दरम्

हिन्दू धर्मशास्त्रको मूल वेदअन्तर्गत शुक्ल यजुर्वेदले उपासना गर्दै भनेको छ, ‘नमः सम्भवायच मयोभवायच नमः शङ्करायच मयस्करायच नमः शिवायच शिवतरायच।’ उनै शिव भगवान्को पूजाआराधना गरी फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि मनाइन्छ। यो पर्व त्वरित फल प्राप्त गर्ने महत्वपूर्ण व्रतोत्सव हो। हिन्दू धर्मग्रन्थमा उल्लेख चार रात्रि (कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि)मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरातमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए। प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान् शिवले ताण्डव नृत्य गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् भन्ने मान्यता छ। यसकारण यस पर्वलाई महाशिवरात्रि भनिएको हो।

तिनै लोककी अपार सुन्दरी तथा शीलवती गौरी (पार्वती)लाई अर्धांगिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन् भनी शिवपुराणमा उल्लेख छ। उनको शरीरमा मसानघाटको भस्म, गलामा सर्पको माला, कण्ठमा विष, जटाहरूमा जगततारिणी पवित्र गंगा तथा मस्तकमा प्रलयंंकर ज्वाला छ। साँढेलाई वाहन बनाएका शिव अमंगल रूपमा रही भक्तहरूलाई मंगल प्रदान गर्दछन् र श्रीसम्पत्तिका दाता मानिन्छन्। शिवपुराणका अनुसार,  माघ अन्त्य वा फाल्गुण कृष्णपक्षको अविद्धा चतुर्दशीलाई शिवरात्रि भनिन्छ र यस दिन चार प्रहर रात  शिवको पूजा आराधनाका साथ लिइने व्रत सबैखाले यज्ञयज्ञादिमा सर्वोत्तम छ। त्यस्तै, शिवपुराणमै शिवरात्रि समान अर्को त्यस्तो महत्वपूर्ण व्रत छैन किनकि यस व्रतका प्रभावले सबै पापबाट मुक्ति मिल्छ, त्यसमा कुनै संशय छैन भनिएको छ। दान, यज्ञ, तपस्या, व्रत, तीर्थ जे जति धार्मिक कार्य छन्, जे जति कार्य गरिन्छन्, ती सबै पुण्य कर्मको फल शिवरात्रि व्रतले मिल्छ भनेर बताइएको छ।

शास्त्रमा ‘शिवरात्रिको दिन व्रत गरी चार प्रहर रात पूजाउपासना गरे मोक्ष निश्चित हुने उल्लेख छ। तसर्थ, यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका मानिसलगायत सम्पूर्ण प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिन मानिन्छ। महाशिवरात्रिका दिन चार प्रहर रात भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्नुपर्ने मान्यता छ। यस दिन ‘ॐ नमः शिवाय’ मन्त्र जप्दा सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। निर्जल व्रत, धुनी जगाई रात्रिकालीन जागरण, चार प्रहर पूजा, शिवलिंगमा दुग्ध तथा जलाभिषेक र शिव महिमा (कीर्तन) शिवरात्रि पूजाका मुख्य अंग हुन्। शिवरात्रि पूजा र व्रतकालमा  शिवको ध्यान, पूजन र जप गरिन्छ। शास्त्रमा रुद्राक्ष धारणले एक चौथाइ, भस्म धारण गर्नाले आधा, जपमन्त्रले तीन चौथाइ र शिवपूजाले पूर्ण फल मिल्ने बताइएको छ।

शिवरात्रि पूजा र व्रतकालमा  शिवको ध्यान, पूजन र जप गरिन्छ। शास्त्रमा रुद्राक्ष धारणले एक चौथाइ, भस्म धारण गर्नाले आधा, जपमन्त्रले तीन चौथाइ र शिवपूजाले पूर्ण फल मिल्ने उल्लेख छ।
 

यस दिन माटाको कलशमाथि बेलपत्र, आँक, धतुरोको फूल, चामल आदि हालेर शिवलिंगमा अर्पण गरिन्छ। किनकि बेलपत्र, आँक, धतुरोलगायत शिवजीका लागि प्रिय मानिन्छ। व्रतालुले बिहानै उठी स्नान गरेर शिवालय जाने र शिवलिंगको दर्शन गर्ने परम्परा छ। यो सम्भव नभए पूजाकोठामा शुद्ध र गिलो माटोबाटै शिवलिंग बनाएर पूजा गरिन्छ। रात्रिकालमा जागरण बसी रुद्रीपाठ तथा शिवपुराण पाठ गर्नुपर्ने र कथा सुन्नुपर्ने मान्यता छ। शिवलिंगमा १०८ वा १००८ बेलपत्ता चढाउनाले कर्मको पूर्ण फल मिल्ने शास्त्रमा बताइएको छ। व्रतको भोलिपल्ट बिहान सबेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

शिवको पूजा वा शिवार्चनमा ईशान मूर्ति स्वरूपलाई दूध, अघोर मूर्तिलाई दही, वामदेव मूर्तिलाई घिउ र सद्योजात लिंगोद्भव मूर्तिलाई महद्वारा स्नान गराउने चलन छ। त्यस्तै, प्रहरअनुसार अघ्र्य दिएर व्रत पूर्ण गर्नुपर्ने विधान छ। पहिलो प्रहरमा अघ्र्यपात्रमा बेलको फल राखेर, दोस्रो प्रहरमा बीजपुर (बिमिरो) राखेर, तेस्रो प्रहरमा दाडिम (अनार) फल राखेर र चौथो प्रहरमा रम्भाफल (केरा) राखेर विशेष अघ्र्य दिनुपर्ने शास्त्रीय विधान छ।  यसरी चार प्रहर रात्र जागरण बसी  व्रत पालना गरे सबै पाप नाश हुने र हिंस्रक प्रवृत्तिमा परिवर्तन आउने बताइएको छ। व्रतका प्रभावले निरीह जीवहरूप्रति दयाभाव उब्जिने शिव पुराणअन्तर्गत ईशान संहितामा उल्लेख छ।

किंवदन्ती
शिव पुराणको कोटिरुद्र संहितामा शिवरात्रिको महत्व झल्काउने एउटा रोचक कथा छ। एकपटक पार्वतीले शिवसँग सोधिन्, ‘यस्तो कुनचाहिँ श्रेष्ठ तथा सरल व्रत छ, जसबाट मृत्युलोकमा सम्पूर्ण प्राणीले हजुरको कृपा सजिलै प्राप्त गर्न सकून् ?’ उत्तरमा शिवजीले ‘शिवरात्रि’ व्रतको विधान बताएर यही कथा सुनाएका थिए : सपरिवार गाउँमा बस्ने सिकारी जंगली जनावरको सिकार गरी परिवारको पालनपोषण गथ्र्यो। गाउँमा एक साहू पनि बस्थ्यो, जसको ऊ ऋणी  थियो। ऋण तिर्ने पटक–पटकको भाका नाघेपछि एक दिन क्रोधित साहूले उसलाई शिवालयमा बन्दी बनायो। संयोगले सो दिन शिवरात्रि परेको थियो।

शिवालयमा भएका सम्पूर्ण धार्मिक क्रियाकलाप नियाल्दै सिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुरा सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्रि व्रतसम्बन्धी कथा पनि सुन्यो। कथा सुनेको प्रभावले साहुमा दयाभाव उत्पन्न भयो र उसले सिकारीलाई मुक्त गरिदियो। त्यसपछि आफ्नो सधैंको दिनचर्यासरह सिकारी जंगलतर्फ लाग्यो। ऊ दिनभर शिवालयमा बन्दी रहेकाले भोकप्यासबाट व्याकुल थियो। एउटा तलाउनजिक बेलवृक्ष थियो, सिकारी त्यही रुखमा चढ्यो। सो बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, तर त्यो विल्वपत्रहरूले ढाकिएको हुनाले सिकारीले थाहा पाएन। रुख चढ्ने क्रममा हाँगा भाँचिँदा विल्वपत्र झरे,  संयोगले रुखमुनि स्थापित शिवलिंगमा परे।

सिकारीले भोकै पहिलो एक प्रहर रात बितायो। उसमा अलिअलि हिंस्रक भाव हट्दै गइरहेको थियो। सो समयमा एउटी गर्भिणी मृग पोखरीमा पानी खान आयो। सिकारीले धनुषवाणले हान्न खोज्दा त्यसले भन्यो, ‘म गर्भिणी छु, छिट्टै बच्चा जन्मँदै छ। यतिबेला मेरो वध ग-यौ भने तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। मलाई बच्चा नजन्माउन्जेल नमार। जीवनदान याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो वध गर्नू।’

सिकारीले त्यस मृगलाई छोडिदियो किनकि शिवको कृपाले अरूको दयनीय वा करुण स्वरमा सहानुभूति प्रकट गर्ने  भाव उसमा विकास भएको थियो। केही समयपछि फेरि एउटा अर्को पोथी मृग पुनः त्यस तलाउमा देखा प-यो। सिकारी खुसीले गदगद भयो। नजिकै आएपछि उसले वाण हान्ने तयारी गर्दै थियो।  मृगिणीले विनम्रतापूर्वक निवेदन ग-यो, ‘हे सिकारी, म केही समयपहिले ऋतुकाल सकिएर निवृत्त भएकी छु। यतिबेला कामातुर छु, विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौँतारिँदै छु। म आफ्नो पतिसँग भेट गरी सहवास गरी कामनिवृत्त भएपछि चाँडै आउनेछु र मलाई सिकार गरेर तिमीले आफ्नो भोक तृप्त गर्न सक्नेछौ।’ सिकारीले त्यस मृगलाई पनि छाडिदियो। दुई–दुई पटक सिकार गुमाएकामा उसलाई साह्रै रिस उठ्यो। ऊ चिन्तित मुद्रामा थियो,  अब केको सिकार गरेर  परिवारलाई खुवाउने ? यसै क्रममा रातको अन्तिम प्रहर बित्न लाग्यो। फेरि एउटी अर्की मृगिणी आफ्ना बच्चासँगै त्यही ठाउँमा आयो। सिकारी खुसी भयो। अब त सिकार गर्नैपर्छ भनेर उसले धनुषवाण हान्न लाग्यो।

मृगिणीले पनि अनुरोध ग-यो, ‘हे सिकारी, म यी बच्चाहरूलाई यिनका बुबाकोे जिम्मा लगाएर आउनेछु, त्यसैले अहिले मलाई नमार।’ सिकारी चकित भयो र भन्न थाल्यो, ‘अगाडि आएको सिकार म कसरी छाडूँ, म मूर्ख त होइन नि, पहिले पनि दयाभाव देखाएकाले मैले दुईपल्ट आफ्नो सिकार गुमाइसकेको छु। मेरा बच्चा भोक र प्यासले घरमा छटपटाउँदै होलान्, म कसरी सिकार त्यागूँ।’ उत्तरमा मृगिणीले फेरि पनि अनुरोध ग-यो, ‘तिमीलाई जसरी आफ्ना बालबच्चाको माया लागेको छ, ठीक त्यस्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका लागि छोडिदेऊ, केही समयका लागि जीवनदान याचना गर्दछु। हे मनुष्य, मेरो विश्वास गर, म यिनीहरूलाई यिनका बुबाको जिम्मा लगाएर फर्कनेछु । मेरो प्रतिज्ञा।’ त्यस मृगिणीको दयनीय वचन सुनेर सिकारीले फेरि दया देखायो।

यी घटनाले दिक्क भएको सिकारी बेलपत्र चुँडेर  फ्याँक्न थाल्यो। त्यतिबेलासम्म सूर्यका किरण पनि पूर्वीय क्षितिजमा देखिन थाले, त्यही बेला फेरि एउटा हृष्टपुष्ट मृग त्यही पोखरीको किनारनेर आइपुग्यो। उसले यसको सिकार गर्ने विचार ग-यो। सिकारीले आफूतिर  वाण ताकेको देखेर मृगले विनीत स्वरमा भन्यो,  ‘हे सिकारी भाइ, यदि तिमीले मभन्दा पहिला आएका तीनवटा पोथी मृग र ससाना बच्चालाई मारिसकेका छौं भने मलाई पनि मार। यस शुभ कर्ममा ढिला नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक छिन पनि रहन मन छैन। म ती मृगिणीहरूको पति हुँ। यदि उनीहरूले पनि तिमीबाट जीवनदान पाएका छन् भने मलाई पनि केही क्षणका लागि जीवनदान गर्ने कृपा गर। लामो समयसम्म वियोगको पीडा खपेको म उनीहरूसँग भेट गरेर तिम्रो नजिक उपस्थित हुनेछु।’  मृगका कुरा सुनेपछि सिकारीको दिमागमा पूरा रातको घटनाचक्र घुम्यो, उसले सारा कथा मृगलाई सुनायो। त्यसपछि मृगले भन्यो, ‘मेरा तीनवटै पत्नीले जसरी प्रतिज्ञा गरेर गएका  छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउनेछैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन। तसर्थ, जसरी तिमीले उनीहरूलाई विश्वास गरी केही समयका लागि जीवनदान दिएका छौ, त्यसैगरी मलाई पनि देऊ। म उनीहरू सबैको साथमा आउनेछु।’

जानी नजानी व्रत बसेको, रात्रिकालीन जागरण तथा शिवलिंगमा बेलपत्र चढाएकाले सिकारीको हिंस्रक मन पग्लिसकेको थियो। शिवको कृपा तथा शक्तिले उसको हातबाट धनु भुइँमा झ-योे।  ऊ पश्चात्तापको ज्वालाले पिरोलिन थाल्यो। केही समयमा त्यो मृगको परिवार भेला भएर सिकारीसमक्ष उपस्थित भयो। जंगली पशुको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर सिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आँसुका थोपा चुहिए। कठोर हृदय पग्लिसकेको सिकारीले मृगको परिवारलाई जीवनदान दियो र मनबाट जीवहिंसा हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट सबै देवीदेवताले ऊमाथि पुष्पवर्षा गरे, देवदूतहरूले उसलाई विमान चढाएर लगे। उसले नक्षत्र पद प्राप्त ग-यो अथवा पुनर्जन्मको जन्जालबाट मुक्त भयो। र, अहिले पनि तिनै मृग, मृगिणी र तिनका बच्चाहरूसहित सिकारी ‘मृगशिरा नक्षत्र’को रूपमा आकाशमा रहेको विश्वास गरिन्छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App