१६ चैत्र २०८० शुक्रबार
अन्य

सारंगी टोलीद्वारा ट्राफिक सचेतना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारंगी टोली खटाएको छ। महाशाखाले ट्राफिक नियम सचेतनाका लागि यात्रु–चालकको ध्यानाकर्षण गर्न यस्तो टोली खटाएको हो।

महाशाखाका एसएसपी भीम ढकालले जथाभावी सडक पार गर्ने, ट्राफिक लाइटको ख्याल नगर्ने र जेब्राक्रसिङको प्रयोग नगर्नेलाई सचेत गराइएको बताए।

उनले भने, ‘यात्रु–चालकले संगीतमय  वातावरण बढी रुचाउने हुँदा सारंगी टोली परिचालन गरेका हौं। अहिलेसम्म करिब १० ठाउँमा सचेतना स्वरूप सारंगी टोली परिचालन गरिएको हो।’

उनले आमसडक प्रयोगकर्तालाई सुरक्षित रूपमा सडक प्रयोग गर्न सूचनामूलक धुनमार्फत सचेतना गराउँदै आएको जानकारी दिए। सडक–सडकमा २० मिनेटको सारंगी धुन सुनाउँदै सचेतनामूलक गीतमार्फत सुरक्षित सडक प्रयोग गर्न प्रेरित गरिएको  उनको भनाइ थियो।

त्यस्तै, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उपत्यकामा सवारी आवगमनलाई सहज, व्यवस्थित, मर्यादित बनाउन र सवारी दुर्घटना कम गर्न यस्तो अभियान सुरु गरिएको बताए। महाशाखाको सारंगी टोलीले गीत गाएअनुसारको प्रतिक्रिया पाउँदा थप हौसला प्रदान भएको श्रेष्ठले बताए।

उनले भने, ‘मान्नैपर्ने ट्राफिक नियम नमानेमा जान्छ है जीवन नामक शब्द–संगीतमा सारंगीको धुन सुनाउँदै सचेतना कार्यक्रम सुरु गरेका छौं।’

महाशाखाले यस किसिमका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। उपत्यकामा सवारी आवागमनलाई सुरक्षित,  मर्यादित एव व्यवस्थित बनाउन तथा सवारी दुर्घटना कम गर्न विभिन्न  ट्राफिक टोली परिचालन गरिएको हो । महाशाखाले २८ पुसदेखि २ फागुनसम्म  ९ हजार ९ सय ८९ जनालाई सचेतना कक्षा दिइसकेकोे छ।

विभिन्न ठाउँमा सिसिटिभी जडान गरी ट्राफिक स्वंयसेवक परिचालन गरिएको महाशाखाले जनाएको छ। उपत्यकामा भ्रमण वर्ष  २०२० सफल पार्न थप ट्राफिक व्यवस्थापन गरिएको श्रेष्ठको भनाइ छ।

विभिन्न स्थानमा ट्राफिक जरिमानासम्बन्धी सूचनामूलक बोर्ड राखिएसँगै सडक दुर्घटना न्यूनीकरण हुँदै गएको श्रेष्ठले बताए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App