७ आश्विन २०७७ बुधबार
अन्य

राजविराज दर्शन

छिन्नमस्ता मन्दिर।तस्बिर : अमृत/नागरिक

सप्तरीको सदरमुकाम राजविराज आफैंमा एउटा सुन्दर फूलबारी हो। त्यस शहरमा मधेशी समुदायको बसोबास छ। हिन्दू, मुसलमान र जैन धर्मावलम्बी मिलेर बसेका छन्। शहरभित्रको मुख्य मन्दिर ‘राजदेवी’ हो। यिनकै शहरको नाम राजविराज राखिएको। मन्दिरमा थारु समुदायका पूजारी छन्।

राजविराजमा बस्ती बसेको आठ दशक भैसक्यो। टाउन प्लानिङअनुसार बस्ती बसाइएको मुलुककै पहिलो शहर। तिनताका हनुमाननगरबाट सदरमुकाम राजविराजमा सारिएको थियो। सप्तकोशीले हनुमाननगरलाई कटान गरेपछि विकल्पका रूपमा राजविराज रोजियो। 

इतिहास अनुसार विसं १९९६ मा पूर्वी नेपालका कमाण्डर जनरल बबर शमशेर र उनका सहयोगी प्रकाश शमशेर जबराको परिकल्पनामा राजविराज शहरको नक्सांकन गरियो। विसं १९९८ सालमा सदरमुकाम राजविराज सारियो। त्यतिबेला ६० विघा क्षेत्रफलमा नक्सांकन गरिएको थियो। त्यसको नक्सांकन इन्जिनियर डिल्लीजंग राणाले गरेका हुन्।

विसं २०१६ सालमा राजविराजलाई नगरपालिका बनाइयो। आवादी हुनुअघि त्यो स्याल कराउने ठाउँ थियो। केही उत्पादन हुँदैनथ्यो। आवादी भएसँगै खेती हुन थाल्यो। अचेल धान, तरकारी र आँप खेती राम्रो उत्पादन हुन्छ। 

राजविराज नगरपालिका क्षेत्रमा राजदेवी, दुर्गा, वागेश्वरी, हनुमान, रामजानकी, राधाकृष्ण, विष्णु, बैष्णवी, काली, महादेव लगायत मन्दिर, मस्जिद र जैन मन्दिर लगायत धार्मिक सम्पदा छन्। 

शहरमा बसपार्क, विमानस्थल, होटल, अस्पताल, कलेज आदि अत्यावश्यक पूर्वाधार सुविधा छ। मुख्य बजारबाट करिब १२ किमिमा भारतीय सीमा ‘तिलाठी नाका’ पनि छ।

जमुवा होमस्टेको नृत्य

काठमाडौंबाट घुमफिरमा निस्कँदा राजविराज पुग्न गाडीमा ९ घन्टा लाग्छ। अथवा काठमाडौं–राजविराज ३५ मिनेट हवाईयात्रा। अचेल बुद्ध एयरले बिहान ११ बजे काठमाडौंबाट र मध्यान्ह १२ बजे राजविराजबाट उडान भर्छ। विमानस्थलबाट ४ किमि दूरीमा छ बजार।  

राजविराजलाई केन्द्रमा राखेर छिन्नमस्ता, सलहेश, कोशीटप्पु, बराह क्षेत्र र गाईघाट लगायत गन्तव्यमा घुम्न सकिन्छ। त्यहाँबाट बीस मिनेटदेखि ३ घन्टा गाडी यात्रामा ती ठाउँमा पुग्न सकिन्छ।

राजविराजलाई तराई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। त्यहाँबाट बीस मिनेटदेखि तीन घन्टा गाडीको यात्रामा छिन्नमस्ता, सलहेस फूलबारी, कोशीटप्पु, बराह क्षेत्र र गाईघाट लगायत ठाउँमा पुगिन्छ।   

छिन्नमस्ता
राजविराज बजारबाट १० किमि दक्षिणमा छ छिन्नमस्ताको मन्दिर। यिनलाई सखडादेवी पनि भनिन्छ। छिन्नमस्ता सिद्धपीठ र शक्तिपीठ मानिन्छ। देवीको भाकल गरेमा मनले चिताएको पूरा हुने जनविश्वास छ। भाकल पूरा भएपछि तिर्थालु बोका, हाँस, परेवा, भेडा, कुखुरा आदिको बलि चढाउँछन्।

मुल मन्दिरमा सखडा देवीको मूर्ति छ। देवीको पाउमा मैशासुर बधको दृश्य छ। छिन्नमस्ता परिसरमा गणेश, पञ्चमुखि हनुमान, पँचमुखि नाग, शनि आदिका मूर्ति छन्। संस्कृत विद्यालय पनि छ। विशाल पोखरी (शान्ति सागर) छ।

चतराधाममा कुम्भस्तम्भ

बडादशैंको नवरात्र र वैशाख १ गते मन्दिरमा मेला लाग्छ। मन्दिरबाट २ किमि दूरीमा बिहार, भारतको सिमा छ। मेला भर्न भारतबाट बर्सेनी लाखौं भक्तजन आउँछन्। मन्दिर क्षेत्रमा धर्मशाला, खाजाघर, प्रसादी पसल र होटल छन्।

हनुमाननगर
राजविराजबाट पूर्व ११ किमिमा हनुमाननगर छ। त्यहाँ मन्दिरभित्र बालक हनुमानको मूर्ति छ। तिनका दुबै हातले आशीबार्द दिइरहेका छन्। यस्तो मूर्ति अन्यत्र भेटिएको छैन।

हनुमाननगरका हुनमान

हनुमानको बास भएकाले नगरको नाम हनुमाननगर राखिएको। हनुमान मन्दिरबाहिर शिव र गणेशका मूर्ति छन्। यहाँ रामनवमीका दिन मेला लाग्छ। त्यसबाहेक हरेक मंगलबार र शनिबार भीड हुन्छ। भाकल पूरा भएपछि हनुमानलाई भक्तजन लड्डू चढाउँछन्। मन्दिर क्षेत्रमा सामान्य खाजा पसल छन्।

कोशी टप्पु
कोशी टप्पु वन्यजन्तु आरक्षमा विशेषतः जंगली भैंसी अर्ना, चराचुरुंगी र थारू संस्कृति अवलोकन गर्न सकिन्छ। आरक्षमा ४४१ वटा अर्ना छन् भने ३०० प्रजातिका रैथाने चरा। तिनमा दुई सय थरि त हाँस प्रजातिका चरा हुन्। जाडो याममा साइबेरियादेखिका चरा आउँछन्।

विशेषतः अर्नाको संरक्षण गर्ने भनेर विसं २०२६ सालमा करिब १२ वर्ग किमि क्षेत्रफललाई संरक्षित गरिएको छ। अहिले यसको क्षेत्रफल १७५ वर्ग किमि छ।  कोशीटप्पुमा विभिन्न जनावर र जीवजन्तुको बसोबास छ। तिनमा माछा, पुतली, शरीसृप, निलगाई, लघुना, चित्तल, रतुवा, जंगली हात्ती, मलाह बिरालो, खर मयूर, डल्फिन, मगर गोही आदि हुन्। साथै जडीबुटीजन्य वनस्पति छन्।

कोशीटप्पुमा जीप सफारी, जंगल वाक, हात्ती सफारी र डुंगा सयर गरिन्छ। आरक्षको मध्यवर्ती क्षेत्रमा केही रिसोर्ट, होटल र होमस्टे छन्। जमुवामा थारु सामुदायिक होमस्टे छ भने उदयपुरमा तपेश्वरी मध्यवर्ती सामुदायिक होमस्टे। दुवै होमस्टेको प्रवद्र्धन एकीकृत विकास समाज नेपाल (आइडिएस)ले गर्दै आएको छ।  

बराहक्षेत्र
हिन्दू मान्यताअनुसार भगवान विष्णुले विभिन्न समयमा दश अवतार लिएर संसारको रक्षा गरेका थिए। बराह विष्णुको तेस्रो अवतार। बराहक्षेत्रको कोका र कौशिकी नदी संगममा पितृको उद्धार श्राद्ध गरिन्छ। नदी किनारमा बराह र शिवका मन्दिर छन्। मन्दिर नजिकै बस्ती छ।

बराह क्षेत्र नपुग्दै ७ किमि वर्तिरै चतराधाम छ। नेपालका प्रथम जगद्गुरु मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाउँदै आएका छन्। त्यहाँ ५९ फिट अग्लो कुम्भ स्तम्भ, ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर, हवन कुण्ड, वृद्धाश्रम लगायतका सम्पदा छन्।
चतराधाम र बराह क्षेत्रमा सामान्य खाजा र बास सुविधा पाइन्छ।

रामधुनी
रामधुनी क्षेत्र ३२ हेक्टर जमिनमा फैलेको छ। जंगल बीचमा छ रामधुनी। त्यहाँ मन्दिरभित्र काठको मुढाबाट निरन्तर धुवाँ आइरहन्छ। सत्य युगमा भगवान रामचन्द्र वनवास जाँदा विश्वामित्रसँग आएर यहाँको जंगलमा धुनी जगाएर ३ रात बसेका थिए भन्ने भनाइ छ। उनी यताबाट जनकपुर गएका थिए रे।

रामले जगाएको धुनी लुप्त थियो। पछि बनखण्डी महाराजले यहाँ ध्यान तथा तपस्या गर्दा ३ सय वर्ष अगाडि त्यो धुनीलाई सबैले देख्ने गरी जगाए। राजा पृथ्वीनारायण शाहले वनखण्डी बाबासँग दिक्षा लिएका थिए भनिन्छ।

सलहेस फूलबारी
लहान नजिकै एउटा फूलबारी छ जहाँ हरेक वर्ष वैशाख १ गतेका दिन ठूलो मेला लाग्छ। त्यो दिन मात्र बगैंचामा सेतो रंगको सुनाखरी फूल्छ। बगैंचामा सलहेस महाराज तथा मालिनीको मन्दिर छ। मन्दिरमा गरेको भाकल पूरा हुने जनविश्वास छ। त्यसैले मन्दिरमा प्रेमिल युवाको भीड लाग्छ। 

सलहेस अर्थात् राजा जयवर्धन सैलेश लोककल्याणकारी राजा थिए। उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही नायकका रूपमा लिइन्छ। दुसाध र दनुवार समुदायले देवताका रूपमा पूज्छ।
लहानमा होटल तथा रेष्टुँरा सुविधा छ।   

राजदेवी मन्दिर

गाईघाट
उदयपुरको त्रियुगा भ्याली आकर्षक छ। त्रियुगा नदी, आदिवासी जनजातिहरू थारु, दनुवार आदिको सभ्यता र संस्कृति गाईघाट क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन्। 

नगरभित्रका खाँबु चिलाउने, साउने जस्ता ठाउँमा राई, मगर र माझी समुदायको  बसोबास छ। उनीहरूको मौलिक परम्परा र त्यहाँबाट देखिने हिमाल र तराईका फाँट सुन्दर छन्। त्रियुगा नगरपालिकाले सुनकोशी नदी किनार समेटेर हिल सिटी बनाउने अवधारणा ल्याएको छ।

गाइघाट सेरोफेरोका आकर्षक गन्तव्यहरूमा धाप्लाङ, प्रस्तावित मयुर पार्क, शाही महल, ककनी गुफा, मोतीगरा, श्रमिक पार्क, गिद्ध गया आदि हुन्। सुनकोशी किनार, डहर, रानीवास, साउने र नजिकैको रौता पोखरी जस्ता ठाउँमा आन्तरिक पर्यटक रमाउन सक्छन्। 

राजविराजबाट गाईघाट पुग्ने दुइटा सडक छन्–महेन्द्र राजमार्गको कन्चनपुरबाट फत्तेपुर हुँदै गाइघाट ५४ किमि। त्यस्तै राजविराजबाट रुपनी, कदमाहा, जलजले हुँदै पनि ५४ किमि नै छ। गाईघाटमा होटल सुविधा छ।  

पर्यटन प्याकेज
नन्दलाल माझी,पर्यटनविज्ञ


राजविराज क्षेत्रमा धेरै तीर्थस्थल छन्। वाइल्ड लाइफका लागि कोशी टप्पु छ। यस क्षेत्रको कृषि कर्मले पनि लोभ्याउन सक्छ। साथै सेरोफेरोमा छिन्नमस्ता, बराह क्षेत्र, नेपालकै पहिलो नहर ‘चन्द्रनहर’, रामधुनी, सलहेस लगायत सम्पदा छन्। सबैतिर होटल तथा होमस्टे सुविधा छ। त्यसैले यस्ता धार्मिक तथा प्राकृतिक सम्पदा समेटेर घुमफिर प्याकेज बनाउन जरुरी छ। यसमा व्यवसायीको ध्यान जानु पर्छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App