११ आश्विन २०७७ आइतबार
अन्य

हाम्रो सम्पदाहरूप्रति गम्भीर होऔं

एभाञ्जोलिना कार्की,
कक्षा — १०,    
श्री जुगल बोर्डिङ स्कूल,कपन,काठमाडौं।

म भ्रमण असाध्यै मन पराउँछु। मलाई जीवनका लागि भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धि नै हो। हरेक भ्रमणबाट नयाँनयाँ कुरा सिक्न सकिन्छ। अहिले संसारका धेरै मानिसहरू हजारौं माइलको यात्रा गरेर विभिन्न देशहरूको धर्म, संस्कृति रहनसहनका साथै प्राकृतिक सौन्दर्य र इतिहासको खोजी गर्न उत्साहित देखिएका छन्।

भ्रमणले मानिसको जीवनमा सकारात्मक ऊर्जा मात्रै दिँदैन, मानसिक रूपमा समेत निकै स्वस्थ र आनन्दको अनुभूति प्रदान गर्दछ। यदि मानिसहरूलाई भ्रमण आनन्ददायी हुँदैनथ्यो भने लाखौं रूपैया खर्च गरेर टाढाटाढासम्म जाने नै थिएनन्। भ्रमणले हामी विद्यार्थीहरूलाई धेरै कुराको ज्ञान दिने गर्दछ। म पोहोर साल बाबाममीसँग मगल शैलीमा निर्मित प्रसिद्ध जानकी मन्दिर घुम्न जनकपुर पुगेको थिएँ। जानकी मन्दिर पुगेर मैले धेरै कुरा जान्न र देख्न पाएकी थिएँ। जानकी मन्दिरको यात्राबाट मैले पहिलो चोटि तराईको जनजीवन प्रत्यक्ष अनुभव गर्न पाएँ। किताबको अक्षरहरूबाट भन्दा भ्रमणबाट पनि धेरै कुरा सिक्न सकिंदोरहेछ।

भनिन्छ,‘पानीको कुरा पोखरीको डीलमा बसेर हेर्नेलाई भन्दा पोखरीमा झरेर पौडी खेल्नेलाई थाहा हुन्छ।’ मैले भ्रमणलाई शैक्षिक अध्ययनको एक महŒवपूर्ण पाटो बनाउँदै आएको छु। म समय मिलाएर हाम्रो देशका ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक र कलाकौशलले भरिएका सम्पदाहरूको भ्रमण गर्न रुचाउँछु। यो पटक म भक्तपुर जिल्लाको प्रसिद्ध दरबार क्षेत्रको भ्रमण गर्न मेरो मामा डा. सुशीलचन्द्र सुवेदीको साथमा त्यहाँ पुगेको थिए। विश्व सम्पदा सूचीमा रहेको ‘भक्तपुर दरबार क्षेत्र’ हाम्रा पूर्वजहरूको अनुपम सिप र कलाले भरिएको स्थान साँच्चै सुन्दर र आकर्षक रहेछ।

पर्यटकहरूका लागि निकै आकर्षक गन्तव्य रहेको भक्तपुर दरबार कलाकौशलका साथै मल्लकालीन सांस्कृतिक सभ्यता प्राचीन शिल्पकला एवं हस्तकलाको लागि समेत निकै महत्वपूर्ण रहेको देखिन्छ। प्राचीन कालमा मल्ल राजाहरूको बसोबास रहेको यो क्षेत्रमा प्रसिद्ध पचपन्न झ्याले दरबार पनि रहेको छ। आकर्षक काष्ठ कलाले सुसज्जित यो दरबार तत्कालीन राजा भुपतिन्द्र मल्लले विसं १७६५ मा निर्माण गर्न लगाएका हुन भन्ने शिलालेखमा अध्ययन गर्न पाइन्छ। यही क्षेत्रभित्र भुपतिन्द्र मल्लको शालिक, भगवतीको मन्दिर, ठूलो घण्टा, तलेजु भवानीको मन्दिर, कलात्मक सुनले जडिएको ढोका लगायतका संरचनाहरू निर्माण गरिएका छन्।

आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि काठमाडौं उपत्यकाभित्र रहेको यो दरबार क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ। नेपाल भ्रमण वर्ष सन् २०२० ले यो क्षेत्र निकै बाक्लिएको छ। पर्यटकहरू खचाखच भरिएका छन्। विसं २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले यस क्षेत्रलाई पनि ठूलो क्षति पु-यायो। प्राकृतिक विपत्तिको कारण इतिहासका यी कलाकौशल माथि पुगेको अपुरणीय क्षतिले हामी सबैको मन नराम्रोसँग कुँडियो। विनाशकारी भुँइचालोले हाम्रो देशभरि धेरै मानवीय तथा भौतिक रूपमा क्षति पु-यायो।

भुँइचालोपछि हाम्रा सबै सम्पदाहरूको संरचना जोखिममा प-यो। कति संरचना पूर्ण रूपमा नष्ट भए त कैयौ सम्पदामा टेको दिएर जोगाउने काम भएको छ। विपत्तिको लामो समयसम्म हाम्रा सम्पदाहरूको पुननिर्माण कार्य नहुँदा सम्पदाहरूप्रति हाम्रो सरकार उदासीन त छैन भन्ने प्रश्न उब्जाउँछ। लाखौ पर्यटकहरूको आकर्षक रहेको हाम्रा मौलिक धरोहरहरूप्रति सरकार मौन बस्न पटकै सुहाउँदैन। भक्तपुर दरबार क्षेत्रका मठ, मन्दिर, देवालय, दरवार र कलाकौशल निर्माणमा ढिला हुँदा हामीले लाखौ पर्यटकहरू मात्रै गुमाउँदैनौ, हाम्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा रहेको मौलिक कला र आफ्नोपन समेत गुमाउँदै जाने छौ।

प्रकाशित: २५ माघ २०७६ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App