६ कार्तिक २०७७ बिहीबार
अन्य

भगवानको सेवाबाटै सन्तुष्टि

पढे–लेखेका मानिसलाई अब के गर्नुहुन्छ भनेर सोधियो भने जवाफ आउँछ, नेपालमै बसेर केही गर्छु कि विदेश जान्छु। नेपालमै बस्नेहरू राम्रा–राम्रा संघ–संस्थामा उच्च तहको जागिर गर्न चाहन्छन्,  बिदेसिनेहरू अमेरिका, अस्ट्रेलिया लगायत मुलक ताक्छन्। यो युवाहरूको मनोविज्ञान तथा जीवनदर्शन हो, तर यहाँ  फरक दृष्टिकोण भएका युवा पनि छन्, जो मन्दिरमा खटिएर भक्तजनको सेवा गर्न चाहन्छन्, ती युवा हुन्– काठमाडौं बौद्धस्थित सर्वेश्वर महादेव मन्दिरका पुजारी रोजन वस्ती।

२३ वर्षीय वस्ती  बिहानै नुहाइधुवाइ गरेर मन्दिर  जान्छन्, पूजापाठबाटै धार्मिक दिनचर्या सुरु गर्छन्। उनीबाटै धेरै भक्तजनले  पालैपालो टीका थाप्दै आशीर्वाद लिन्छन्। रातो फरियामा सजिने वस्ती बिहानभर मन्दिरमै  भेटिन्छन्। 

वस्तीले शास्त्रमा उल्लिखित भनाइलाई यसरी सुनाए,  ‘न चोरले चोर्न सक्ने, न राजाले डाठ्न सक्ने, न कसैले खोसेर लान सक्ने, न भारी हुने, न त दाजुभाइमा भागबन्डा हुने– विद्याबिना  मानिस पशुसरह हुन्छ।’

शिक्षाको महत्व राम्रैसँग बुझेका वस्तीले कर्मकाण्डलगायत औपचारिक शिक्षा लिएका छन्। धनकुटाका वस्तीले धरान पिण्डेश्वर क्याम्पसबाट संस्कृति विषयमा शास्त्री (स्नातक) गरेका छन्, संस्कृत नेपालमै पढ्न पाएकामा खुसी व्यक्त गर्छन्। उनले धरानको मल्टिपल क्याम्पसबाट आमसञ्चार विषयमा पनि स्नातक गरेका छन्। हाल वस्ती   रत्नराज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । बाबुबाजेले कुटीभित्र बसेर पढ्नुपरेको र आफूले गुरुकुल शिक्षा त्रिभुवन विश्वविद्यालयबाटै पढ्न पाएकामा गर्व गर्छन्।

वस्तीले भने, ‘कसैको चोरेर–ढाटेर खाने होइन, भगवान्को सेवा गर्ने मौका जु-यो, यसैमा सन्तुष्ट छु।  उनले पूजापाठ गर्न बुबाबाट सिकेका हुन्। पुख्र्यौली पेसा अँगाल्न पाएकामा  खुसी लागेको सुनाउँछन्।  ‘शास्त्रका अनुसार जो मानिसले धेरै परिश्रम गर्छ, त्यही मानिस ब्राह्मण हो। जातभात केही पनि होइन,’ उनी भन्छन्।

पढाइलाई उच्च स्थानमा राख्ने वस्ती  जन्मले नभई कर्मले बाहुन बनिने तर्क गर्छन्।  भगवान्ले  कुनै जात उल्लेख नगरेको सुनाउँदै उनले  कलियुगमा मानिसले मनपरी बोल्न  थालेकामा दुखेसो गरे।

मानिसले भिन्नाभिन्नै पेसा अँगाल्दा जाति व्यवस्था स्थिापित भएको उनको बुझाइ छ । उनका अनुसार समाज रूपान्तरण हुँदै गए पनि विभिन्न  विकृति पनि भित्रिँदै  छन्। ‘नेपालका सांस्कृतिक सम्पदा लोपोन्मुख हुँदै छन्,’ उनी भन्छन्, ‘नेपालीहरू भाग्यवादी भए, कर्मवादी बन्न सकेनन्। परिश्रमै नगरी  फलको आशा गर्ने मानिस धेरै छन्।’

त्यस्तै, ६३ वर्षीय लोकनाथ  अधिकारी  सर्वेश्वर महादेव मन्दिरका पुजारी हुन्,  सर्वेश्वर मन्दिरमा आएको दुई वर्ष भयो। यसअघि उनी भोजपुरको दिङ्ला क्याम्पसमा संस्कृतका शिक्षक थिए । शिक्षकबाट अवकाश पाएपछि उनी सर्वेश्वर महादेव मन्दिरमा आएका हुन्। बुढेसकालमै भए पनि भगवान्को सेवा गर्ने सौभाग्य मिलेकामा उनी निकै खुसी छन्।  ‘गुरु शरणनन्दका सतान हाैं,  भगवानको सेवा गरेर मर्छु,’ उनी भन्छन् ।  बाजेबाट रामायण र महाभारत सुन्थे। उनैबाट कर्मकाण्ड र मन्त्र  सिके।

पछिल्लो समय ब्राह्मण जातिका कारण अन्य जातिको उन्नति नभएको भनेर लगाइने आरोप सरासर गलत  भएको उनको भनाइ छ। ‘राज्यले सबैलाई उत्तिकै प्राथमिकता दिएको छ, समावेशीकरण सिद्धान्त लागू गरेर पिछडिएका जाति तथा वर्गको जीवनस्तर र पहुँमा वृद्धि गर्दै छ,’ उनी भन्छन्, ‘पछिल्लो समय बरु हामी (ब्राह्मण र क्षेत्री)लाई ओझेलमा पारिएको छ।’

जातजाति कर्मका आधारमा सिर्जना भएको उनको तर्क छ। उनी जातजातिभन्दा मुख्य कुरा कर्म र सत्चित्त ठान्छन्। उनी भन्छन्,  ‘मानिस  धर्मकर्मबाट विमुख हुँदै छन् ।  जानीजानी कुकर्म गर्छन्। सत्कर्ममा हिँड्ने ब्राह्मणहरूले पनि आफ्नो धर्म बिर्सिएका छन्।’

धर्मकर्ममा कम ध्यान दिइएकाले समाजमा विकृति र विसंगति बढ्दै गएको उनको बुझाइ छ। उनी भन्छन्, ‘धर्मले मानिसलाई अनुशासित हुन प्रेरित गर्थ्यो। धर्मकर्म बिर्सिँदै गइयो, यसैकारण लाजसरम र नैतिकता हराउँदै गयो।’

कुनै पनि शास्त्रमा ब्राह्मण सबैभन्दा माथि छ भनेर नलेखिएको उनी दाबी गर्छन्। मानिसले सबै कुरा बिर्सिएर रुपैयाँ–पैसाको पछि लागेकामा उनी दुःख मान्छन्।  उनी भन्छन्, ‘मानिस रुपैयाँको खोजीमा देश–विदेश धाउँछन्। मनमा शान्ति छैन, परोपकारी भाव छैन, आत्मसन्तुष्टि छैन। एकताको भावना हराउँदै गएको छ। भूमि पापैपापले भरिँदै छ।’  गोकर्णेश्वर उत्तरगयामा एउटा कुटी थियो। ऋषिमुनिले तपस्या गर्थे। धैर्य–धारणा गरी प्रतीक्षामा बस्थे, तर अहिले कुनै पनि कुराको प्रतीक्षा गरिँदैन। तत्कालै प्रगति चाहिन्छ।

प्रकाशित: २५ माघ २०७६ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App