४ वैशाख २०८१ मंगलबार
अन्य

जिउने आधार औषधि व्यापार

काठमाडौं भित्रिने कोटेश्वर नाकामा सवारीसँगै मानिसको चहलपहल देखिन्छ। ट्राफिक प्रहरी सवारी र पैदलयात्रु व्यवस्थापन गर्न खुब मिहिनेत गरिरहेका हुन्छन्। त्यही व्यस्त सडकको पेटीमा लहरै थरीथरीमा सामान राखेर बसेका व्यापारी झनै व्यस्त हुन्छन्। ट्राफिक प्रहरी विभाग कोटेश्वरको प्रवेशद्वार छेउमै पत्रिकामाथि स–साना सिसी राखेर बसेका हुन्छन्, सागर चौधरी।

चौधरी जडीबुटी व्यापारी हुन्। उनले औषधि  व्यापार गरेको धेरै वर्ष भयो। पैदलयात्रु औषधि हेर्दै हिँड्छन्, कोही–कोहीले  औषधि किन्छन्। चौधरीसँग पायल्स, नसा च्यापिएको, हड्डी मर्किएको, चोटपटक लागेको, खिल पल्टिएको जस्ता समस्याका औषधि छन्। गाह्रकले औषधि प्रयोग गरेपछि राम्रो प्रतिक्रिया दिएको उनी सुनाउँछन्। ‘औषधि खोज्दै ग्राहक यहाँसम्म आइपुग्छन्,’ उनले भने, ‘औषधिले काम नगर्ने भए यहाँ यसरी बस्न पाइन्थ्यो ? ग्राहकलाई विश्वास दिलाउन सकिएको छ।’

ललितपुरको इमाडोलेदेखि बिहानै चौधरी   कोटेश्वर  आइपुग्छन्। उनी दिनभर सडकपेटीमै बसेर व्यापार गर्छन्, साँझ घर फर्कन्छन्। २५ वर्षअघि कामको सिलसिलामा काठमाडौं आएका चौधरीले त्यसबेलादेखि नै औषधि व्यापार सुरु गरे।

औषधि व्यापार उनको पुर्ख्यौली पेसा हो। ‘औषधि व्यापार बुबाबाजेको पालादेखि नै गरिन्थ्यो,’ उनले भने, ‘उहाँहरू व्यापार गर्न पूर्वका विभिन्न ठाउँमा जानुहुन्थ्यो। तर, म काठमाडौं आएदेखि नै यहीँ बसेर व्यापार गरिरहेको छु। अन्य ठाउँमा भन्दा व्यापार गर्न यहीँ नै सजिलो छ।’

पश्चिम नवलपरासीको बर्दघाटमा उनको घर छ। तर,  उनको परिवार नै काठमाडौंमै बस्छन्। औषधि व्यापारले मात्र काठमाडौंमा गुजारा गर्न गाह्रो हुने उनी बताउँछन्। ‘छोराछोरी  दुवै शिक्षण पेसामा छन्, उनीहरूले घरखर्चमा सघाइरहेका छन्,’ उनले भने।

औषधि खोज्दै ग्राहक यहाँसम्म आइपुग्छन्। औषधिले काम नगर्ने भए यहाँ यसरी बस्न पाइँदैनथ्यो। ग्राहकलाई विश्वास दिलाउन सकिएको छ।

जुम्लाका व्यापारीबाट औषधि खरिद गर्छन्।  उनले  भारतबाट औषधि नेपाल भित्रिने जानकारी दिए। व्यापारबाट हुने आम्दानीबाट उनी सन्तुष्ट छन्। ‘व्यापार राम्रो भएको दिनमा ५ सयसम्म हुन्छ,’ उनले भने, ‘औषधिको मूल्य पनि धेरै छैन, सामान हेरेर औषधिको मूल्य तोकिन्छ।  ५० रुपैयाँदेखिका औषधि छन्। ‘हातखुट्टा चलुन्जेल यही काम गर्छु।’

त्यस्तै, सिन्धुलीका ३५ वर्षीय जीवन खड्का रत्नपार्कमा जडीबुटी व्यापार गर्छन्। सडक पेटीमा लहरै जडीबुटी औषधि राखिएका छन्। छेउमै रहेको स्पिकरमार्फत औषधीको भव्य प्रचार भइरहेको छ।

सडकपेटीमा औषधि व्यापार गर्नु बाध्यता भएको खड्काले सुनाए। काठमाडौंमा काम गर्ने सोचले आएका उनीसँग औषधि व्यापार गर्ने कुनै  योजना थिएन। उनले खोजे जस्तो काम नपाएकाले  औषधि व्यापारमा लागेको सुनाए। उनी यसबाटैे गुजारा चलेको सुनाउँछन्।  ‘राम्रो काम गर्न आफूले धेरै पढेको पनि छैन,’ उनले  भने, ‘यो सहरमा गुजारा चलाउन  भए पनि काम त गर्नैप-यो।’

खड्का विगत चार वर्षदेखि औषधि व्यापारमा लागेका हुन्।  ‘व्यापार राम्रो भएको दिन हजार रुपैयाँसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘सधैँ एकनास व्यापार हुँदैन। नगरपालिका आए उठेर जानुपर्छ। यसैकारण, व्यापार राम्रोसँग गर्न पाइएको छैन।’

प्रकाशित: २५ माघ २०७६ ०३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App