coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नेवार कन्याको गुफा यात्रा

साँखुकी ११ वर्षीया फेरिसा महर्जन गत मंसिर ५ मा बाःरा बसिन् र ७ गते निस्किन्। कक्षा ६ मा पढ्ने जिम महर्जन र सबिना महर्जनकी एक्ली छोरी उनी स्वयम्भुस्थित गुठीको एउटा घरमा ३२ अन्य कन्यासँग बाःराः बसेकी थिइन्। उनीहरूलाई फरक–फरक समूह बनाएर राखिएको थियो। फेरिसाको समूहमा १३ कन्या थिए। फेरिसाले बाःरा बस्दाको आफ्नो अनुभव सुनाइन्, ‘बाःराः बस्दा रमाइलो भयो। साथीहरूसँग परिचय भयो। साथीहरू मिलेर लुकामारी खेल्यौँ। क्यारेम बोर्ड खेल्यौँ। आँखा छोपी र रुमाल लुकाइ पनि खेल्यौँ।’

साथीहरू र सबैका आमाहरू भएकाले अँध्यारो कोठामा बस्दा पनि डर नलागेको, आमाहरूले सूर्यलाई कसरी हेर्ने, अनि बाबालाई कसरी हेर्ने भनेर सिकाएको उनले बताइन्। १२ दिनसम्म बाःराः राख्ने चलन भए पनि दुई रात मात्रै राख्नुको कारणबारे फेरिसाका बुबा जिम महर्जन भन्छन्, ‘यसमा एक त सामाजिक व्यवहार निकै खर्चिलो भएको छ। दोस्रो, बच्चाको स्कुल छुट्छ। त्यसकारण अचेल एक–दुई दिन मात्रै बाःरा राख्ने चलन छ।’

बाःराःको सुरुवात
नेवार समुदायले जन्मदेखि मृत्युसम्म गर्ने दश कर्म संस्कारमध्ये एक हो, बाःराः तय्गु अर्थात् गुफा बस्नु। बाःराःअघि इहि संस्कार सम्पन्न गरिन्छ। इहि र बाःराः महिलाकेन्द्रित संस्कार हुन्। नेवार कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइराख्ने चलनलाई बाःराः वा गुफा राख्ने भनिन्छ। बाःराः नेवार समुदायमा सभ्यता र संस्कृतिको एउटा महŒवपूर्ण पाटो हो। बाःराःका क्रममा १२ दिनसम्म उज्यालो नछिर्ने बन्द कोठामा बस्दा नेवार कन्याले आफ्नो शारीरिक तथा मानसिक परिवर्तन, मनोवैज्ञानिक जिज्ञासा, प्रजनन स्वास्थ्य र यौनसँग सम्बन्धित आधारभूत ज्ञान, व्यक्तिगत सरसफाइ, गृहस्थी जीवन, पारिवारिक दायित्वलगायत धर्म र संस्कारसम्बन्धी ज्ञान प्राप्त गर्छन्।

बाःराःको सुरुवात कहिले भयो भनी बुझ्न विद्वानका भनाइलाई आधार मान्नुपर्ने हुन्छ। ‘नेवार समुदायको धर्म र संस्कार’ शीर्षकको आलेखमा काशीनाथ तमोटका अनुसार, मनु (अन्दाजी ई.पू. २०० देखि १००) ले आफ्नो स्मृति (धर्मनीति ग्रन्थ) मा १२ संस्कारको उल्लेख गरेका छन्। त्यही १२ संस्कारमा बाःराः अर्थात् बाह्रा पनि पर्छ। यसैगरी नेपाल संवत् ७९६ मा भक्तपुरका राजा उग्र मल्लकी रानी भानुमतीलाई बाःराः राखेको मल्लकालीन ऐतिहासिक प्रमाण भएको शंकरराज राजवंशीले लेखेका छन्। यस तथ्यलाई आधार मान्ने हो भने मल्लकालदेखि नै बाःराःको चलन सुरु भएको मान्न सकिन्छ।

‘हाम्रो समाज : एक अध्ययन’ मा जनकलाल शर्माले लेखेका छन्, ‘इहीपछि नेवार कन्याहरूमा बाह्रा पनि एउटा महत्वपूर्ण घटना हो। रजोवतीअघि नेवार कन्यालाई बाह्रा गराइन्छ र यसलाई नेपाली भाषाभाषीहरू गुफा राख्ने वा गुफा पस्ने पनि भन्छन्।’ यसैगरी आफ्नो पुस्तक ‘नेपाली जनजीवन’ मा नगेन्द्र शर्माले लेखेका छन्, ‘नेवारी कन्याको रजस्वला हुनुअघि गरिने अर्को एउटा रोचक परम्परालाई ‘बाह्रा’ भनिन्छ।

बाःराः के हो ?
कन्यालाई गुफा राख्नुलाई कसैले बाह्रा भन्ने गरेका छन् भने कसैले बारा। नेवार–नेपाली–अंग्रेजी शब्दकोशमा ‘बाःरा’ लेखिएको छ। बोलीचालीको ध्वन्यात्मकतालाई ध्यान दिने हो भने ‘बारा’ उच्चारण गरिएको सुनिन्छ। संस्कृतको द्वादश, हिन्दीको बारह र नेपालीको बाह्रबाट अपभ्रंश भई बाह्रा भएको अनुमान गर्न सकिन्छ। बाह्र दिनसम्मको संस्कार भएकाले पनि बाह्रबाट बाह्रा भएको अनुमानलाई पुष्टि गर्ने आधार बलियो रहेको देखिन्छ। यद्यपि बोलीचालीको ध्वन्यात्मकतालाई आधार मानेर यसलाई बाःराः भन्नु नै उचित हुने देखिन्छ। नेवार–नेपाली–अंग्रेजी शब्दकोशमा पनि बाःराः लेखिएको छ। नेवार समुदायमा प्रचलित संस्कारअनुसार बाःराः तीन किसिमले राख्ने परम्परा  पाइन्छ।

साइत बाःराः
नेवार कन्याको बाःराः राख्ने उमेर भएपछि नेवार ज्योतिष (जोशी) कहाँ गएर साइत हेराउने चलन छ। ज्योतिषले दिएको साइतको दिनमा सबै विधि पूरा गरी राखिने बाःराःलाई साइत हेरेर राखिने बाःराः भनिन्छ।

सामूहिक बाःराः
बाःराः बस्ने कन्याका अरू बहिनीहरू पनि छन् भने ज्योतिषलाई साइत हेराई तोकिएको दिनमा दिदीसँगै ती बहिनीहरूलाई पनि बाःराः राख्ने परम्परा पनि छ। दाजुभाइ तथा नजिकका नातागोताका छोरीहरूलाई यसरी सँगै बाःराः राख्ने चलन छ। तर, एउटै आमाका तीन दिदीबहिनीलाई भने एकैपटक सँगै बाःराः राख्नुहुन्न भन्ने मान्यता छ। सँगै बाःराः राखिएका बहिनीहरूलाई भोलिपल्टै बाःराः निकाल्न मिल्ने मान्यता पनि छ।

आकस्मिक बाःराः
कुनै कारण बाःराः राख्न नसकिएका अथवा नभ्याइएका कन्या अकस्मात् रजस्वला भए भने त्यस्ता कन्यालाई तत्काल बन्द कोठामा राखिन्छ र बाःराःका बाँकी विधि क्रमशः पूरा गरिन्छन्।

बाःराः विधि
ज्योतिषले दिएको साइतमा बाःराः राख्ने कन्याको नङ काट्न लगाउने र नुवाइधुवाइ गराई निसि (चोखीनिती) गरिन्छ। त्यसपछि बाःराः राखेको अवधिभर कुनै अशुभ नहोस्, बाधा–अवरोध नहोस् भनेर एउटा सानो माटाको पालामा चामल, सानो सिंगो सुपारी र पैसा (दक्षिणा) राखी घरकी ज्येष्ठ महिलाद्वारा किसली (संकल्प गरिएको चामल, सुपारी र दक्षिणासहितको पाला) पन्छाइन्छ। त्यसपछि झ्याल तथा ढोका कतैबाट पनि सूर्यको किरण नछिर्ने कोठाको एक कुनामा कपासबाट बनाइएको बाःराःख्याः (ख्याक÷भूत) स्थापना गरिन्छ। खाःराःख्यालाई ख्याः द्यः (यक्ष देवता) पनि भनिन्छ। बन्द कोठामा एक्लै बस्दा डर नहोस् भनी बाःराःख्याको स्थापना गरिएको हो। बाःराःख्याःलाई आकाशको तीन ताराको प्रतीकात्मक स्वरूप पनि मानिने भएकाले बाःराःख्यासँगै तीन तारा (कपासकै) पनि राखिन्छ।

नेवार समुदायले जन्मदेखि मृत्युसम्म गर्ने दश कर्म संस्कारमध्ये एक हो, बाःराः तय्गु अर्थात् गुफा बस्नु। बाःराःअघि इहि संस्कार सम्पन्न गरिन्छ। इहि र बाःराः महिलाकेन्द्रित संस्कार हुन्। नेवार कन्यालाई रजस्वला नहुँदै १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइराख्ने चलनलाई बाःराः वा गुफा राख्ने भनिन्छ।

बाःराःख्या किंवदन्ती
कुनै समय कुनै गाउँमा आमा र छोरी बस्थे। उनीहरू साह्रै गरिब थिए। छोरीलाई बाःराः राख्नुपर्ने बेला आयो। गरिब आमाले जसोतसो सामग्री जुटाएर छोरीलाई बाःराः राखिन्। एक्लै बन्द कोठामा कठिनतापूर्वक बिताउनुपर्दा बाःराः राखिएकी कन्या दुब्लाउँदै गइन्। संयोग नै भन्नुपर्छ। त्यो घरमा ख्याः (ख्याक : सहरका पुराना घरका अँध्यारा कुनामा बस्ने र तर्साउने भनिएको भूत) को बास रहेछ। ख्याकलाई कन्याको दुर्दशा देखेर दया लागेछ। त्यसपछि ऊ केटीको भेषमा कन्यासँग बस्न थालेछ।

एक दिन आमा घरबाट बाहिर निस्किन्। छोरीलाई साथी पठाइदिएकामा एक महिलालाई धन्यवाद दिइन्। तर, ती महिलाले आफ्नी छोरी त घरमै रहेको बताइन्। आमालगत्तै घरमा फर्केर सोधेपछि केटीको रूपमा आएको ख्याकले वास्तविकता बतायो। त्यसपछि आमाले खुसी भएर ख्याकलाई धन्यवाद दिइन्। तत्काल ख्याक अलप भयो। त्यसै बेलादेखि बाःराः कोठामा ख्याकको स्थापना गर्ने चलन चलेको हो। बाःराःख्यालाई विधिपूर्वक पूजाआजा गरिन्छ। बाःराःख्या भयको प्रतीक पनि हो। बाःराः अवधिभर बाःराःमचा (बाःराः बस्ने कन्या) लाई त्यही बाःराःख्याले रक्षा गर्ने विश्वास छ।

बाःराःख्याःलाई विधिवत पूजा गरिसकेपछि बाःराः बस्ने कन्यालाई अभिषेक गरी सगुन खुवाई त्यही बन्द कोठामा १२ दिनसम्म राखिन्छ। यो अवधिमा बाःराःमचाले सूर्य र अरू कुनै पुरुषको मुख हेर्नु हुँदैन। कुनै पुरुषसँग बोल्नु पनि हुँदैन। १२औँ दिनमा विधिवत रूपमा बाःराःख्याःलाई चढाएपछि मात्रै बाःराःमचालाई खाना खुवाउने मान्यता छ। १२ दिनसम्म बाःराःमचालाई पट्यार लाग्न नदिन, उसको हेरचाह गर्न, उसको मन बहलाउन र उसलाई व्यावहारिक कुरा सिकाउन विवाहित र अनुभवी महिलालाई साथी राखिन्छ। त्यसरी बाःराःमचाको साथी बस्ने महिलालाई ‘बाःराःपासा’ भनिन्छ। बाःराःपासासँगै अन्य कन्या तथा महिला पनि बाःराःमचासँग बसेर कुराकानी गर्न सक्छन्। तर, पुरुषको प्रवेश र बाःराःमचासँगको कुराकानी पूर्णरूपमा वर्जित छ।

बाःराः राखेको ६ दिनसम्म बाःराःमचाले नुन बार्नुपर्ने मान्यता छ। ६ दिनसम्म हरेक दिन लगाएको लुगा फुकाली चोखो कपडाले जिउमा बेरेर दूधभात अथवा फलफूल मात्रै खानुपर्छ। छैटौँ दिनमा बन्द कोठाभित्रै बाःराःमचालाई स्नान गराएर क्वःचिकँ बुयगु (चामलको पीठो, तोरी, पिना, जौ र तेल मिसाएर बनाइएको पाउडर अर्थात् सौन्दर्य प्रसाधन) कार्य सम्पन्न भएपछि बाःराःमचाको नुन फुक्छ। यसै दिन विशेष पूजा गरी ब्वचा बजि (चिउरा, मासु, साग, भटमास, घ्यु, चाकु, वः- बारा, सिङ्के आदिको परिकार) सूर्यदेवलाई चढाउने गरिन्छ। यसै दिनदेखि नातागोता तथा आफन्तले छुस्यामुस्या (भुटेको मकै, भटमास, गहुँ, बदाम, चना आदि) खुवाउन आउने क्रम सुरु हुन्छ। पहिले छुस्यामुस्या मात्रै खुवाउने चलन भए पनि अहिले फलफूल र मिष्ठान्न आदि पनि ल्याउने चलन चलेको छ। छुस्यामुस्या लिएर आउने महिलाले बाःराःमचालाई सामाजिक दायित्वदेखि शारीरिक र मानसिक विकाससम्मका ज्ञान दिने वा आफ्ना अनुभव सुनाउने गर्छन्। बाःराः अवधिभर घर–परिवार र १३ दिने दाजुभाइ सबैलाई सुतक लाग्छ। यो अवधिमा कुनै धार्मिक कार्य, पूजाआजा र पितृकार्य गर्न नहुने मान्यता छ।  

बाःराः पिकायेगु

बाःराःको १२औं दिन बिहान सबेरै सूर्योदयअघि नै बाःराःमचालाई स्नान गराई निसि (चोखीनिती) गरिन्छ। घरका अरू सदस्यले पनि स्नान गरी चोखीनिती गर्छन्। घर पनि लिपपोत गरिन्छ। बाःराःमचालाई सौन्दर्य प्रशाधनले दुलहीजस्तै सिँगारिन्छ। त्यसपछि विधिपूर्वक बाःराःमचालाई बन्द कोठाबाट बाहिर निकाली अनुहार छोपेर घरको कौसीमा अथवा घरको पिखालखु द्यः (कुमार) अगाडि उभ्याइन्छ। अचेल बाक्लो बस्तीले गर्दा पिखालखुबाट सूर्यदर्शन सम्भव नहुने हुँदा प्रायजसोले कौसीमा लगेर सूर्यदर्शनको काम सम्पन्न गर्छन्। सूर्यदर्शनअघि नै अन्यत्र पुरुषतिर दृष्टि नपरोस् भनेर तामा वा पित्तलको भाँडो राखिएको पानीमा सूर्यको छायाँ हेर्न लगाइन्छ। त्यसपछि सूर्यको दर्शन गराइन्छ। सूर्यदर्शन र सूर्यपूजाका लागि बाःराःमचालाई ज्वालान्हायकँ (धातुको विशेष ऐना) र सिन्हःमु (टीकादानी) दिइन्छ। यी सबै क्रियाकलाप गर्न÷गराउन घरकी ज्येष्ठ महिलाको अहं भूमिका रहन्छ।

सूर्यदर्शन र सूर्यपूजापछि बाःराः संस्कार पूरा भएको मानिन्छ। बाःराः निकाल्ने क्रममा नजिकको गणेश मन्दिरको दर्शन र पूजा गर्ने प्रचलन पनि कहीँकतै पाइन्छ। सूर्यदर्शनलाई कसैकसैले सूर्यसँगको विवाह भन्ने गरेका छन्। सूर्यलाई कन्यादान नगरिएको र सूर्यको दर्शन मात्रै भएकाले यो सूर्यविवाह नभएको जानकार नेवारहरूको भनाइ छ। बाःराः पिकायेगु (बाःराः निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ। जसकारण अहिले बाःराः विधि महँगो पर्ने महसुस गरिएको छ। पहिले बाःराः भोज बाःराःमचाका सखीहरू र अरू महिलाहरूका लागि मात्रै हो भन्ने धारणा थियो। अहिले त्यो धारणामा परिवर्तन आएको छ। सक्नेले भव्य पार्टीकै आयोजना गर्न थालेका छन्। बाःराः निकालेको भोलिपल्ट बाःराःमचा र उसका बाःराःपासाहरू मिलेर बाःराःख्यालाई नदीमा लगेर सेलाउने गरिन्छ। अनि बाःराःख्याःको भाग बाःराःमचा र बाःराःपासाहरू मिलेर प्रसादका रूपमा खाने गर्छन्।

व्यावहारिकता
बाःराः राख्ने चलन किन चल्यो भन्ने विषयमा लिखित प्रमाण भेटिँदैन। तैपनि ९ देखि १२ वर्ष सेरोफेरो उमेरका कन्यामा शारीरिक परिवर्तन आउने, रजस्वला हुने र प्रजनन क्षमताको विकास हुने भएकाले यहीबेला यौन तथा प्रजननसम्बन्धी ज्ञान र शिक्षा दिने उद्देश्यले बाःराः राख्ने चलन चलेको हुनसक्ने अनुमान गर्न सकिन्छ। दाजुभाइ, बुबा र हजुरबुबा लगायत पुरुषहरूको अगाडि यस्तो शिक्षा दिन अप्ठेरो हुने भएकाले बन्द कोठामा राखेर यस्तो व्यावहारिक ज्ञान र शिक्षा दिने उद्देश्यले बाःराः राख्ने चलन चलाइएको अनुमानलाई तार्किक मान्न सकिन्छ।

सामाजिक दृष्टिकोणले हेर्दा बाःराः तयेगु, बाःराः च्वनेगु र बाःराः पिकायेगु निकै व्यावहारिक देखिन्छ। जीवनमा उचित शिक्षादीक्षा प्राप्त भएमा मात्रै त्यो जीवन सार्थक हुन्छ, घरपरिवार र समाजलाई समेत राम्रो बाटोमा डो-याउन सकिन्छ। बाःराःको विधि र प्रक्रिया हेर्दा यही अभीष्टले बाःराः को चलन चलाइएको हो भन्दा अतिशयोक्त हुने छैन। सर्सर्ती हेर्दा बाःराःमा जीवनोपयोगी सामाजिक पक्ष लुकेको देखिन्छ। बाःराःमचाले व्यावहारिक ज्ञान र शिक्षा पाएर आफू, आफ्नो परिवार र समाजलाई राम्रो मार्गमा डो-याउन, खराब चालचलन र अरूको छलकपटबाट बच्न, आफ्नो स्वास्थ्यको हेरविचार आफैँ गर्न र जीवनलाई रसमय बनाउन शृंगारिक ज्ञान प्राप्त गरुन् भन्ने हेतुले बाःराः संस्कार गरिएको बुझिन्छ। सम्पूर्ण जीवजन्तु र प्रकृतिका रक्षक सूर्यदेवलाई समेत १२ दिनसम्म बेवास्ता गरी बन्द कोठामा बसेर व्यावहारिक ज्ञान र शिक्षा प्राप्त गर्ने विधि हो, बाःराः संस्कार। त्यसरी १२ दिनसम्म सूर्यलाई बेवास्ता गरेको दोष नलागोस् भनेर सूर्यदेवको दर्शन तथा पूजा गर्ने चलनले नेवारहरू प्रकृतिप्रेमी र प्रकृतिपूजक समेत रहेको पुष्टि हुन्छ।

गृहस्थजीवनका लागि उपयोगी शिक्षा बाःराः समयमा प्राप्त हुने हुँदा यसलाई समयसापेक्ष संस्कारको रूपमा लिन सकिन्छ। हिन्दू धर्मावलम्बीमाझ मृत्युसंस्कारलाई पाँच दिन अथवा तीन दिनमा छोट्याउनुपर्ने आवाज उठिरहेकै बेला नेवारमा पनि बाःराः अवधि छोट्याउन थालिएको छ। अहिले कन्यालाई १२ दिनसम्म बाःराः राख्दा आर्थिक, सामाजिक तथा स्वास्थ्यमा समस्या परेको भन्दै एकै दिनमा बाःराःको संस्कार सम्पन्न गर्नेको संख्या बढेको छ। त्यस्तै, अहिले परिवारका सदस्यको जागिर वा पेसा हुने हुँदा कुरुवाको समस्या पर्ने, कन्याको पढाइ छुट्ने, स्वास्थ्यमा समस्या आए उपचार गर्न समस्या पर्ने आदि कारण पनि बाःराः विधि छोट्याउन थालिएको छ। पहिले घरभित्रै बन्द कोठामा कन्यालाई राखिन्थ्यो, अहिले ठाउँको अभाव र सहजताका लागि सामूहिक रूपमा विहारहरूमा राख्न थालिएको छ। यद्यपि १२ दिनसम्मै बाःराः राख्नेहरूको संख्या पनि उत्तिकै छ।

बाःराःसी (बाःराः शव)
कहिलेकाहीं बाःराःकै अवस्थामा रोगादि कारणले बाःराःमचाको मृत्यु हुन सक्छ। यसरी मृत्यु भएमा त्यसलाई बाःराःसी भनिन्छ। बाःराःको एउटा कठोर नियम छ। त्यसरी मृत्यु भएको बाःराःमचाको शवलाई अरू बेला जसरी अन्त्येष्टि गरिँदैन। कोठाबाट सोझै बाहिर निकाल्नु पनि हुँदैन। माथिल्लो तलामा बाःराः राखिएको छ भने कोठामा प्वाँल बनाइ तल झार्नुपर्छ। भुइँतला अथवा छिँडीमै खाल्डो खनेर गाड्नुपर्छ। बाःराःसी गाडिएको घरलाई अशुभ मानिन्छ।

प्रकाशित: २५ माघ २०७६ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App