नेपाली गीतसंगीतको क्षेत्रमा लोकप्रिय गायिका हुन्, बिन्दु परियार । ‘पर्ख पर्ख मायालु’, ‘चोखो माया’, लगायतमा उनको आवाज सुन्न सकिन्छ । उनीसँग भोला अधिकारीले गरेको क्याजुअल कुराकानी :
पहिलोपटक स्टुडियो प्रवेश गर्दा कस्तो लागेको थियो ?
म बाहिरतिरका कार्यक्रममा गाइरहेकी हुन्थेँ । तर मैले गीत रेकर्ड भने गरेकी थिइनँ । स्टुडियो कस्तो हुन्छ होला भन्ने मनमा हुन्थ्यो तर कस्तो हुन्छ भनेर जानेको थिइनँ । एकजना दाइले मलाई फिल्मको गीत गाउनका लागि अफर गर्नुभयो । त्यो गीत मैले गाएँ । आफ्नो आवाज कहिल्यै सुनेकी थिइनँ । त्यहाँ त सुन्न पाइँदो रहेछ । आफ्नो आवाज सुनेर आफैं दंग परें ।
कुन फिल्ममा पहिलो अफर आएको थियो ?
मैले ‘अप्रिलफुल’ फिल्ममा पहिलो गीत रेकर्ड गरेकी हुँ । ‘तेरो मेरो पिरती भयो कस्तो कस्तो’ बोलको गीत गाएँ । पहिलो चोटी स्टुडियोमा गीत गाएको म त आत्तिएँ । गाउन भने राम्रै गाएँछु भन्ने अहिले पनि लाग्छ । नत्र स्टुडियोमा गाउँदा र बाहिर गाउँदा फरक आउँछ । कतिको बाहिर गाउँदा मिठो सुनिन्छ भने कसैको स्टुडियोमा । मेरो भने दुवैमा फिट भयो ।
कसको प्रेरणाबाट गायनमा लाग्नुभयो ?
मेरा लागि त घरपरिवारबाट नै सपोर्ट भएको हो । एक्लै भएको भए त कसरी गायन क्षेत्रमा आउन सकिन्थ्यो होला । ललितकला क्याम्पसमा ब्याचलर पढिरहँदा पनि गायनमा खुब चाख दिन्थेँ । स्कुलका कार्यक्रममा भाग लिन्थेँ । सबैको हौसला ममा मिल्यो । फिल्मका लागि अफर दिने दीपक शर्मा सर हुनुहुन्छ । उहाँको पनि सपोर्ट धेरै छ । उहाँले पनि बैनीको आवाज राम्रो छ भनेर हौसला दिनुहुन्थ्यो । उहाँलगायत सबैले राम्रो छ भनेपछि नै त हो अगाडि बढ्ने । सबैको प्रेरणाबाट नै गायनमा आएकी हुँ भन्नु पर्ला ।
कस्ता खालका गीत गाउन मन पर्छ ?
मलाई आधुनिक, लोक गीत गाउन मन पर्छ । धेरै जसो भने फिल्मी शैलीका गीत मेरो रोजाइमा पर्छन् ।
सुन्न चाहिँ नि ?
म त सबै खाले गीत सुन्न रुचाउँछु । नेपाली पप गीत पनि सुनिरहेकी हुन्छु । हिन्दी गीत पनि सुनिरहेकी हुन्छु । नेपाली त सबै सुन्छु । विदेशी पनि उत्तिकै मन पर्छ । यही प्याटनको गीत सुन्ने भन्ने छैन ।
तपाईंको पहिलो कमाइ कति थियो ?
मैले अवसर खोजिरहेकी थिएँ । मैले विनापारिश्रमिक गीत गाएकी थिएँ । कोरस गीत गाउँदा भने सय रुपैयाँ पाएकी छु । कोरस गाउनेलाई एक सय नै दिने चलन थियो ।
यदि तपाईं गायिका नभएको भए के बन्नुहुन्थ्यो ?
थाहा छैन । सायद कतै पढाइरहेकी हुन्थेँ होला या हाउस वाइफ हुन्थेँ । यो बाहेक के नै गर्न सकिएला र ?
जीवनको त्यस्तो समय तपाईं फेरि जिउन चाहनुहुन्छ ?
बाल्यकालमा नै हो । त्यो बेलामा कुनै कुराको टेन्सन पनि नहुने । केही चाहियो भने रोइदिँदा भइहाल्थ्यो । अहिले त चाहियो भने नि आफैं, यसो गर आफैँ, सबै सह्माल्नु परेको छ । भगवान्ले तथास्तु गर्दिने भए म बाल्यकालमै फर्कन चाहन्छु ।
तपाईंलाई जीवनमा के गर्न मन लाग्छ ?
मलाई कार्यक्रम गरिरहन मन लाग्छ । धेरै गीत गाएर दर्शकलाई मनोरञ्जन दिन सकुँ भन्ने नै हो । अरु त केही छैन ।
तपाईंलाई कुन कुराले चित्त दुख्छ ?
अरुले कुरा काट्यो भने मलाई साह्रै चित्त दुख्छ । हुन्छ नि, फलनाले यसो गर्यो रे, उसो गर्यो रे भनेर कुरा काट्दा मलाई चित्त दुख्छ ।
तपाईलाई अलिक फरक प्रश्न ? तपाईं सुतिरहेको कोठामा अचानक भूत आयो भने के गर्नुहुन्छ ?
सायद म त आत्तिएर नै मर्थेँ होला । भूत आएपछि अरु त के पो गर्न सकिएला र ।
यदि तपाईंलाई एकदिनका लागि नेपालको प्रधानमन्त्री बनाइयो भने सबैभन्दा पहिलो काम के गर्नुहुन्छ ?
नेपाल सुन्दर प्रकृतिले भरिपूर्ण देश हो । यहाँको विकट ठाउँहरुमा पर्यटकीय स्थल बनाएर नेपालमा पर्यटकीय क्षेत्रका लागि काम गर्न अर्याउँथेँ । वृद्ध आमाबुबालाई घरनिकाल गर्नेलाई सजाय तोक्थेँ होला । अरु त खै के नै भ्याइन्छ होला र ?
तपाईंलाई भाषण गर्न आग्रह गरियो भने के विषयमा बोल्नु हुन्थ्यो ?
सायद नेपालको गरिबीका बारेमै आवाज उठाउँथेँ होला । विदेशमा भन्दा नेपालमा गर्न सकिने धेरै कामका बारेमा आफ्नो भाषणमा खर्चिन्थे होला ।
तपाईलाई कुन कुराले खुसी बनाउँछ ?
आफूले गरेको काम सफल भयो भने मलाई खुसी बनाउँछ । आफूले गाएको कुनै गीत हिट भयो भने पनि आफूलाई कस्तो खुसी लाग्छ । आफ्नो सफलतामा अरुले राम्रो भनिदियो भने पनि खुसी लाग्छ ।
के देख्दा दुःख लाग्छ ?
बाटोमा अपाङ्ग भएकाहरु लडिरहेको देख्छु । उनीहरुलाई कसैले हेल्प गरिरहेका हुँदैनन् । अनि दृष्टिविहीनहरु बाटो काटिरहेका हुन्छन् । त्यो देख्दा धेरै दुःख लाग्छ । अर्को झन् महत्वपूर्ण कुरा के छ भने घरपरिवारबाट आमा, बुवालाई वृद्धाआश्रममा राखेको रे भन्दा सबैभन्दा बढी दुःख लाग्छ । मान्छेको सोच कति घटिया रहेछ भन्ने लाग्छ ।
फेसनमा कत्तिको ध्यान दिनुहुन्छ ?
हल्का आफूलाई सुहाउने गर्छु । ओभर भने गर्दिनँ ।
प्रेम प्रस्ताव कत्तिको आउँछ ?
गायिका हुनुभन्दा अगाडि धेरै आउँथे । छोरी मान्छेलाई प्रेम प्रस्ताव नराख्ने त सायद कमै होलान् । अझ गायनमा लागेपछि अझै बढी आउने । मैले बिहे गरेको कुरा थाहा नभएर पनि यस्तो प्रस्ताव त आइरहन्छ । नआउँने भन्ने छैन ।
आफूले गर्न चाहेको तर गर्न नसकेकोे अधुरो काम के हो ?
मैले ब्याचलर पढ्दापढ्दै छोडेकी छु । आफ्नो पढाइलाई पूरा गर्न सकेकी छैन । कहिलेकाहीँ सपनामा पनि ब्याग बोकेर कलेज गइरहेको देख्छु । पढ्छुभन्दा भन्दै पनि पढ्न सकिरहेकी छैन ।
आफ्नो कमजोरी के हो जस्तो लाग्छ ?
म राम्रा मान्छेलाई पनि विश्वास गरिहाल्दिन । अर्को कुरा हत्तपत्त रिसाउँदिन । कुनै कुनै कुरामा रिसाउनु पर्ने अवस्था आउँछ । तर पटक्कै रिस उठ्दैन ।
आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
आत्मविश्वास नै हो । मैले काम गर्न सक्छु भनेपछि गरेरै छाड्छु ।
आफ्नो आफैँलाई मन पर्ने बानी ?
सबै सँग घुलमिल हुन सक्छु । कसैलाई नराम्रो भन्दिन । किनभने मेरो बच्चैदेखि नै कसैको चित्त दुख्ने कुरा गर्नै आएन ।
आफ्नो नराम्रो बानी ?
आफूलाई आफ्नो नराम्रो बानी त के होला र ? सबै राम्रै लाग्छ ।
साथीभाइलाई कहिल्यै उल्याएर उडाइयो ?
दिदीसँग हुँदा भने उल्याइन्थ्यो । स्कुल तहमा पढ्दा त्यस्तो गरिन्थ्यो । त्यसपछि त कहिल्यै उडाइएन । त्यो बेला भने हाँस्न मज्जा आउने उट्पट्याङ काम गरियो ।
प्रकाशित: १८ माघ २०७६ ०८:३२ शनिबार