७ वैशाख २०८१ शुक्रबार
अन्य

मनु र बाबा

मनुको हातमा बाबाको हात थियो। बाबाको हातमा चाहिँ मनुको हात थियो। बाबाले मनुको हात समातेर आफूसँगै हिँडाइराख्नु भएको थियो। मनुले भन्यो, ‘बाबा, म आफैं हिँड्छु नि।’ हुन्न बाबा, तिमी लडिहाल्छौ नि।’ बाबाले मनुको हात बलियोसँग समात्दै भन्नुभयो। ‘ए, म लड्छु भनेर बाबाले मेरो हात समात्नुभएको ?’ मनुले पनि बाबाको हात बलियोसँग समात्दै भन्यो।

कतै जानुप-यो भने बाबा र मनु यसैगरी हात समातेर हिँड्नुहुन्छ। कहिले बाबा अघिअघि हिँड्नुहुन्छ। मनु बाबाको पछिपछि हिँड्छ। कहिलेचाहिँ बाबा र मनु सँगसँगै पनि हिँड्छन्। बाबाको सहारा पाएर मनु कहिल्यै पनि लडेको छैन। हिँड्दाखेरि मनु लड्छ कि भन्ने बाबालाई चिन्ता थियो। लड्यो भने त चोटपटक लागिहाल्छ नि। चोटपटक लाग्यो भने दुख्छ। पीडा हुन्छ  अनि उपचार गर्नुपर्छ। औषधि खानुपर्छ। पैसा नाश हुन्छ।

मनु बिस्तारै हुर्किंदै गयो। ऊ आफैं निर्धक्क हिँड्न सक्ने भयो। अब उसलाई बाबाको सहारा चाहिएन। मनु ठूलो हुँदै गयो। ऊ जवान भयो। तन्नेरी भयो। उसले धेरै पढ्यो। पढेर असल र ज्ञानी मान्छे बन्यो। धेरै मान, सम्मान र इज्जत पनि कमायो। बाँच्नका लागि पैसा चाहिन्छ। उसले पैसा पनि कमायो। घरमा सुख, शान्ति र समृद्धि आयो। घरका सबै जना खुसी र सुखी भए।

समय परिवर्तन भयो। मनु र बाबाको जीवनमा पनि परिवर्तन आयो। यो परिवर्तन प्रकृतिको नियम हो। शिशु जन्मेपछि क्रमशः बालक हुन्छ। बालक फेरि किशोर हुन्छ। किशोर फेरि युवा हुन्छ। युवा फेरि वयस्क हुन्छ र वयस्क फेरि वृद्ध हुन्छ। बालक मनु जवान भयो। अनि वयस्क बाबाचाहिँ वृद्ध हुनुभयो। अब बाबालाई एक्लै हिँड्डुल गर्न गा-हो हुन थाल्यो। उहाँलाई हिँड्डुल गर्न कसैको सहारा चाहिने भयो। त्यो सहारा मनुले दियो।

बाबाको स्वास्थ्य जाँचका लागि मनु र बाबा अस्पताल जाँदै थिए। मनुले बाबाको हात समातेको थियो। बाबा लड्नुहुन्छ कि भन्ने मनुलाई चिन्ता थियो। म आफैं हिँड्छु नि बाबु।’ बाबाले भन्नुभयो।

‘हुन्न बाबा। हजुर लड्नुहुन्छ। लड्यो भने चोटपटक लाग्छ। हजुरलाई दुख्छ। पीडा हुन्छ। हजुरलाई पीडा भयो भने हामीलाई पीडा हुन्छ।’ मनुले बाबाको हात बलियोसँग समात्दै भन्यो। अनि बाबाले पनि मनुको हात बलियोसँग समात्नुभयो।

हिजो मनुको हात समातेर बाबा अघिअघि हिँड्नुहुन्थ्यो। मनुचाहिँ बाबाको पछिपछि हिँड्थ्यो। तर अहिले बाबाको हात समातेर मनु अघिअघि हिँड्छ। बाबाचाहिँ मनुको पछिपछि हिँड्नुहुन्छ। कहिलेकाहीँ चाहिँ बाबा र मनु सँगसँगै पनि हिँड्छन्। बाबा हिजोको मनुजस्तै हुनुभएको छ। मनुचाहिँ हिजोको बाबाजस्तै भएको छ।

समय परिवर्तनशील छ। जीवन पनि परिवर्तनशील छ। समयसँगसँगै हुने जीवनको परिवर्तनलाई हामीले आत्मसात् गर्नुपर्छ। हाम्रो जीवन कुमालेको चक्रजस्तै हो। यो निरन्तर घुमिरहन्छ। यो घुम्दै गर्दा हाम्रो अवस्था र हाम्रो भूमिका पनि बद्लिन्छ। हामीले अवस्थाअनुसार फरकफरक भूमिका निर्वाह गर्नुपर्छ। यो प्रकृतिको नियम हो। बाबाको अवस्था बद्लियो। त्यसैले उहाँको भूमिका बद्लियो। मनुको अवस्था बद्लियो। त्यसैले उसको भूमिका पनि बद्लियो।

अहिले मनुचाहिँ हिजोको बाबाजस्तै भएको छ – अरूलाई सहारा दिन सक्ने। बाबाचाहिँ हिजोको मनुजस्तै हुनुभएको छ – अरूको सहारा चाहिने।

प्रकाशित: १८ माघ २०७६ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App