१६ चैत्र २०८० शुक्रबार
अन्य

२५औँ महानगर दिवस मनाइँदै

काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार पत्रकार सम्मेलनमार्फत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागेको जानकारी दिए। महानगरले दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गर्ने भएको छ।

‘महानगरले ऐतिहासिक कला–संस्कृति संरक्षणमा सधैँ ध्यान दिँदै आइरहेको छ,’ मेयर शाक्यले भने, ‘महानगर दिवसका अवसरमा लोपोन्मुख बाजा संरक्षण तथा बाजाका गुरुलाई सम्मान गर्न लागिएको हो।’ उनले महानगरले यसै वर्षदेखि मखनटोलका कुमारी र किलागलका कुमारीलाई मासिक १५ हजार रुपैयाँ भत्ताको व्यवस्था गर्ने बताए। महानगरमा जीवित देवी कुमारी मात्रै नभएर अन्य पनि भएकाले २५औँ वार्षिकोत्सवदेखि दुई कुमारीलाई मासिक भत्ताको व्यवस्था गर्न लागेको उनको भनाइ छ। त्यसैगरी इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका गुरुहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ। त्यस्तै, १० जना पत्रकारलाई वितरण गरिँदै आएको महानगर सुशासन पत्रकारिता पुरस्कारलाई यो वर्ष पनि निरन्तरता दिएको महानगरले जनाएको छ।

महानगरले दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गर्नेछ।

दिवसका अवसरमा शनिबार बिहान माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल ¥याली गरिने कार्यक्रम छ। त्यस्तै, बौद्धको रामहिटीमा रहेको नवनिर्मित दमकल भवनको उद्घाटन गरिनेछ। महानगरले बौद्धमा  तीनवटा दमकल राख्ने गरी भवन निर्माण गरेको हो। सोही अवसरमा वसन्तपुरमा फोटो प्रदर्शनी, महानगरबाट तालिम पाएका स्थानीय साना उद्यमीबाट तयार पारिएका वस्तु तथा सामग्रीको प्रदर्शनी र मौलिक खाद्यवस्तुको प्रदर्शनी एवं बिक्री गरिनेछ। महानगरले आइतबार औपचारिक कार्यक्रम गरेर महानगरको पहिलो मेयर पिएल सिंहलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरेको छ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। महानगर दिवसकै  अवसर पारेर सहयोगापेक्षी सडक मानवमुक्त अभियानको घोषणा हुँदै छ। उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो।

प्रकाशित: २८ मंसिर २०७६ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App