७ आश्विन २०७७ बुधबार
अन्य

नेपाल चिनाउने बेलायती जोडी

एउटा बेलायती दम्पति कात्तिक तेस्रो साता काठमाडौं आइपुगेको छ । उनीहरू कति औं पटक नेपाल आएका हुन् भनेर गन्नै बाँकी छ । यथार्थ के हो भने, उनीहरू यसअघि नै सय पटक भन्दा बढी नेपाल आइसकेका छन् । कहिले विशुद्ध पर्यटक भएर नेपाल आए त कहिले पर्यटकलाई घुमाउने पथ प्रदर्शक बनेर ।

यसपाला सांस्कृतिक सहर काठमाडौं घुमफिर गर्नु त छँदैथियो, साथै पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बनेको मर्दी हिमाल पदयात्रा पनि गर्नेछन् उनीहरू । सामान्य पर्यटकजस्तो उनीहरू घुमघाम गर्ने र दुई चार फोटा सामाजिक सञ्जालमा पोस्ट गरेर रमाउने यात्री मात्र होइनन् । उनीहरु त घुमेका ठाउँको विषयमा कि यात्रा अनुभव लेख्छन् कि त गाइड बुक नै निकाल्छन् ।

उनीहरूले नेपालका मुख्यमुख्य पदमार्गका गाइड बुक लेखिसकेका छन् । उमेरका हिसाबले बब गिबन्स ६८ वर्षका भए भने शियान पिचर्ड जोन्स ६५ वर्षकी । इच्छाशक्तिका हिसाबले हेर्दा उनीहरू भर्खर २५ वर्षका तन्नेरीझैँ छन् । उनीहरूको नेपाल नाता गज्जबकै छ । दुबै जना नेपाललाई बिछट्टै माया गर्छन् ।
नेपाललाई पहिलोपटक चिन्ने अवसर पाएका हुन्, बबले । उनी सन् १९७४ मा ल्यान्डरोभर चढेर बेलायतबाट इरान, भारत हुँदै काठमाडौं आएका थिए । त्यस समय उनी विश्वविद्यालयका विद्यार्थी थिए, साथीहरूसँग मिलेर सय दिने यात्रामा निस्केका ।

तिनताका काठमाडौंको झोंछे ‘फ्रिक स्ट्रिट’का रुपमा प्रख्यात भैसकेको थियो, जहाँ पर्यटकको भिड लाग्थ्यो । त्यहाँ रेष्टुराँ खुलिसकेका थिए । उनीहरू झोछेंमा बसेनन्, टेकुको नदी किनारमा क्याम्पिङ गरेर बसे । सहरको फन्को मारे । बेलाबेलामा एप्पल पाई खान झोंछे पुग्थे ।  ‘अहो त्यतिबेलाको काठमाडौं स्वर्ग जस्तै थियो,’ बबले सम्झिए, ‘मान्छे कम थिए । चारैतिर हरियाली थियो । कुनै प्रदूषण थिएन । गाउँले जीवनशैली थियो ।’

सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पतिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूतै हुन् । भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !

पहिलो यात्रामै मन्दिरैमन्दिरको सहरले मन जित्यो उनको । नेपालबाट बेलायत फर्केपछि उनले एउटा ट्राभल कम्पनीमा नोकरी पाए । अनि त एक्सडुज कम्पनीमा ओभरल्यान्ड ट्रक चलाएर पर्यटकलाई एसिया, अफ्रिका र अमेरिका घुमाउन थाले ।

अचेल उनीहरू बुढाबुढी मिलेर वर्षका दुई पटक नेपाल आउँछन् । यस बीचमा बागमतीमा धेरै पानी बगिसक्यो । समयसँगै नेपालीको आनीबानी र जीवनशैलीमा धेरै परिवर्तन आएको छ । तर, मौलिकता बोकेका परम्परागत शैलीलाई त्यागेर आधुनिकताको होडबाजीमा उत्रिएको देख्दा उनीहरूको मन कटक्कै खान्छ ।

‘आधुनिकताको भर्‍याङ चढ्दै गर्दा हामीले मौलिकता बिर्सनु हुँदैन,’ उनीहरू सुझाउँछन्, ‘आधुनिकता र पम्पराको फ्युजन गरेर अघि बढ्दा राम्रो हुन्छ ।’ बबले गाउँमै नेपालको बारेमा सुनेका थिए । गाउँको पुस्तकालयमा ‘विन्टर इन नेपाल’ नामक फोटो पुस्तकमा कुमारी हिमाल माछापुच्छे«को कलात्मक तस्बिर देखेर नेपाल घुम्ने हुट्हुटी जागेको थियो उनमा ।

समयको दौडमा उनी ट्रक चलाउँदै थिए । कश्मिरदेखि लद्दाखसम्मको पदायात्रामा उनले सन् १९८३ मा न्युजिल्यान्डकी शियानलाई भेटे । शान पेशाले कम्प्युटर सिस्टम एनलिस्ट थिइन् । उनीहरुबीच मायाको डोरो कसियो । लगत्तै शियानले अन्नपूर्ण सर्किटको फन्को मारिन् ।
हिमाली जीवनशैलीले तान्यो उनलाई । ‘मलाई पनि नेपाल मन पर्‍यो,’ बबतिर हेर्दै उनले भनिन्, ‘पछि हामी ट्रेकिङ गाइड पनि बन्यौं ।’

जागिरको सिलसिलामा बब नेपाल, अफ्रिका र अमेरिका घुमिरहन्थे । शियानले पनि सन् १९८४ मा जागिर छाडिन् र बबसँग सहयात्रा गर्न थालिन् । अचम्मको कुरा, उनीहरूले काठमाडौंमा विवाह गरे । सन् १९८६ मा जिल्ला प्रशासन कार्यालय डिल्ली बजारमा विवाह गरेपश्चात उनीहरू औपचारिक रुपमा पति–पत्नी बने । त्यसयता उनीहरूको जिन्दगी सुखसँग बितिरहेको छ । दुवै जना सधैं साथसाथै हुन्छन् । दुवै हँसिला र रसिला छन् । बब बेलाबेलामा ठट्टा गरिरहन्छन् ।

समयसँगै नेपालीको आनीबानी र जीवनशैलीमा धेरै परिवर्तन आइसकेको छ । तर, मौलिकता बोकेका परम्परागत शैलीलाई त्यागेर आधुनिकताको होडबाजीमा उत्रिएको देख्दा उनीहरूको मन कटक्कै खाएको छ । ‘आधुनिकताको भर्‍याङ चढ्दै गर्दा हामीले मौलिकता बिर्सनु हुँदैन,’ उनीहरूको कथन छ, ‘आधुनिकता र पम्पराको फ्युजन गरेर अघि बढे राम्रो हुन्छ ।’

दुवै हरपल मुस्कुराइरहन्छन् । दुवै जनाले सन् १९८६ देखि सन् १९९८ ग्रुप लिडर बनेर विभिन्न कम्पनीमा काम गरे । उनीहरुको कम्पनी ‘एक्सपिडिसन वल्र्ड’ले विदेशीलाई नेपाल घुमाउँछ । उनीहरुलाई नेपाल जति घुम्यो, उति घुमुँघुमुँ लाग्छ । घुमेर मात्र पुगेन, आफू घुमेको ठाउँप्रति अरुलाई पनि घुम्ने मोह जगाउन उनीहरूले गाइड बुक लेख्छन् । उनीहरूले पुस्तक लेखेर नेपालको पर्यटन प्रर्बद्धनमा योगदान पुर्‍याएका छन् । राम्रा गाइड बुक अभाव पूर्ति गर्न कलम चलाएको बताउँछन् उनीहरू ।  

उनीहरू वर्षको दुई पटक नेपाल आएर करिब ४ महिना जति यतै बिताउँछन् । यस अवधिमा उनीहरुले गाइडबुकको प्रारुप तयार पार्छन् र विभिन्न कम्पनीलाई गाइडबुक छाप्ने प्रस्ताव राख्छन् । स्वीकृत हुँदा गाइड बुक पनि प्रकाशन गरेर बजारमा ल्याउँछन् । यस क्रममा कहिले सिसेरोन कम्पनीसँग काम गरे त कहिले पिलग्रिम्स बुक हाउससँग । पछिल्लो समय हिमालयन म्याप हाउसँगको सहकार्यमा ‘हिमालयन ट्राभल गाइडस्’ शृङ्खलामा नेपालका पदमार्गहरूको छुट्टाछुट्टै गाइड बुक लेखिरहेका छन् । पति–पत्नी दुवै मिलेर लेख्छन् । सम्पादन गर्ने कलामा चाहिँ शियान निपूर्ण छिन् ।

शियान भन्छिन्, ‘थाहा छैन कहिलेसम्म नेपाल आउने मौका मिल्छ । मन त हरपल नेपालमै घुम्छ । बाँचुञ्जेल वर्षको एक पटक मात्र भए पनि नेपाल आउन पाए हुन्थ्यो भन्ने लाग्छ । हाम्रो मनभरि नेपाल बाँचेको छ ।’

भनिरहनु नपर्ला, नेपालको अर्थतन्त्रमा पर्यटन मेरुदण्ड बन्न सक्छ । राज्यले पर्यटनलाई उद्योगको मान्यता दिएर पूर्वाधार विकासमा जोड दिनु पर्छ । ‘त्यतिले मात्र पुग्दैन,’ उनीहरू भन्छन्, ‘इन्टरनेट र टिभीबाट पर्यटन प्रोडक्टको एग्रेसिभ मार्केटिङ गर्नु जरुरी छ ।’

यसरी सय पटक भन्दा बढी काठमाडौं आइसकेको बेलायती दम्पत्तिले गाइड बुक लेखेर नेपालको प्रवद्र्धन गर्दै आएको छ । कर्मले उनीहरू नेपालको अघोषित पर्यटन सद्भावना दूत बनिसके । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । यही बेला नेपाल सरकारले यस्ता नेपालप्रेमीको सम्मान गर्ने कि !

नेपालसम्बन्धी पुस्तक
उनीहरूले नेपाल सहित विभिन्न देशका गाइड बुक लेखेका छन् । धेरैजसो किताब नेपालकै बारेमा लेखेका हुन् । उनीहरूका गाइड बुकहरू–अन्नपूर्ण, अर्थक्वेक डायरी, कान्छीज् टेल, मनास्लु र चुम भ्याली, डोल्पो, गणेश हिमाल, लाङटाङ, एभरेस्ट, रोल्वालिङ, मुस्ताङ, कञ्चनजंघा, मकालु, वेस्ट नेपाल, धौलागिरि, नेपाल हिमालय, काठमाडौं–भ्याली अफ दि ग्रिन आइड यल्लो आइडल लगायत हुन् ।

भ्रमण वर्ष २०२० लाई सुझाव  
*  पहिलो कुरा अन्तर्राष्ट्रिय बजारमा नेपालको राम्रो प्रचार हुनु आवश्यक छ । यसका लागि नाम चलेका मिडियामार्फत् विज्ञापन गर्नुपर्छ ।
*   भ्रमण वर्षमै नेपाल किन घुम्ने भन्ने जवाफ सरकारले दिन सक्नु पर्छ । त्यसका लागि आकर्षक प्याकेज ल्याउनु पर्छ । भिषा शुल्क बढाएर होइन, घटाएर पर्यटकको सम्मान गर्ने कि !
*  त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयलाई छरितो बनाउनु पर्छ । घण्टौं विमान चढेर आएका पर्यटकले ६ घण्टासम्म अध्यागमनमा अलमलिनु परेको उदाहरणसम्म भेटेका छौं । त्यस्तो हुनु हुँदैन ।
*  युरोपबाट हवाई उडान सोझै काठमाडौं हुने वातावरण मिल्यो भने यात्रा सहज र सस्तो बन्न सक्छ । यसका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाको उडान बढाउनु पर्छ ।
*  पर्यटकले सुदूरपश्चिम र कर्णाली प्रदेश घुम्न महँगो पर्छ । काठमाडौंबाट नेपालगञ्ज र नेपालगञ्जबाट हुम्ला उडेर फेरि काठमाडौं फर्कंदा हवाई उडानमा मात्र बेलायत फर्कन पुग्ने पैसा खर्च हुन्छ । नेपाली र हामी विदेशीलाई फरकफरक हवाई शुल्क लिने विभेदकारी नीति अन्त्य गरिनु पर्छ ।
*  हेर्दा सानो कुरा जस्तो लाग्छ, प्लास्टिक प्रयोगमा कमी ल्याउनु पर्छ । दैनिक हजारौं मिनिरल वाटरका बोतल खपत हुन्छ । होटलहरूमा पानी भर्ने व्यवस्था मिलाउन सके प्लास्टिकको साटो अन्य बोतलको खपत हुने थियो । यसले वातावरणमा राम्रो प्रभाव पार्नेछ ।
*  दिगो पर्यटन विकासका लागि सरकारले अत्यावश्यक पर्यटकीय पूर्वाधार विकासमा जोड दिनु पर्छ ।

नेपाल चिनाउने जोडि


दीपकराज जोशी
सिइओ, नेपाल पर्यटन बोर्ड

करिब ८ वर्ष अघि नेपाल पर्यटन बोर्डमा पहिलोपटक बब र शियानसँग मेरो भेट भएको थियो । बरोबर नेपाल घुमेर गाइड बुक मार्फत् नेपालको प्रवद्र्धन गर्दै आएको कुरा थाहा पाउँदा म औधी खुसी भएको थिएँ । वास्तवमा यस्तै खालका विदेशीको माया र सहयोगी भावनाका कारण नेपालको पर्यटन जस्तोसुकै संकटको अवस्थामा पनि जिवित रहेको र अलिकति अनुकुल वातावरण पाउने वित्तिकै फक्रिहाल्ने खालको छ । निरन्तर नेपाल आएर गाइड बुक लेख्ने यो जाडीको योगादनको म समग्र नेपालको पर्यटन क्षेत्रका तर्फबाट उच्च प्रशंसा गर्न चाहन्छु । नेपाल प्रतिको प्रेमका लागि उहाँहरूलाई धन्यवाद पनि ।  

प्रकाशित: ११ मंसिर २०७६ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App