१५ चैत्र २०८० बिहीबार
अन्य

लो–मन्थाङ यात्राको तितोमिठो

तस्बिर: रमिता छुँजु

रवि मग्राती

एकाबिहानै यात्रुलाई पिकअप गर्न म सुकेधारातिर लागें। फूलपातीको दिन भएर होला काठमाडौं बाहिर जानेहरूका कारण कोटेश्वरमा जाम थियो। त्यसैले ढिलो भयो। यता दुई जना महिला यात्रु भने एक घन्टा कुर्नु परेकामा रिसाएछन्। चापागाउँ दोबाटोमा पनि यात्रु कुरिबसेका थिए, धन्न ती रिसाएनन् ! 

हामी सात दिने यात्रामा निस्केका। यात्रु सबै रमाइला थिए। त्यसैले उहाँहरूलाई दाइ, दिदी र बुबाको नाताले सम्बोधन गर्न सकियो। नत्र त आजकालका मान्छेसँग घुलमिल हुनै गाह्रो पो हुन्छ त।

दसैंमा घर छाड्न परेकामा मनमा दुःख लागिरहेको थियो। सानी छोरीलाई छाडेर हिँड्नु प-यो। रमाइलो कुराकानी गर्दा गर्दै मुगलिन पुगेर खाना खायौं। त्यो दिन हामी पोखरा मास्तिरको सराङ्कोट पुग्यौं। त्यहाँ एक कप चिया खायौं। खाजा पनि नखाई दिउँसो ४ बजे बेनी बजारतिर लाग्यौं।

हाम्रो यात्राको पहिलो बास म्याग्दीको सदरमुकाम बेनीमा थियो। मोदी खोला नपुग्दै झमक्क साँझ परेकाले अलमल गर्नु ठिक लागेन। तर, सहयात्री दुई दिदीलाई गाह्रो भैसकेको थियो। बरोबर वान्ता गर्दै हुनुहुन्थ्यो।
उता घरमा पनि छोरीले नियाँस्रो मानिछन्। फोनमा भन्दै थिइन्, ‘बाबा दसैं आइसक्यो घर आउनुुुुस् न।’

जसोतसो राति ८ बजे बेनीमा पुगियो। सँगै जानु भएका बुवाले खानासँगै रक्सी अफर गर्नुभयो। तर, मेरो मुड थिएन। खानापछि सुत्न गएको, कोठामा सुत्न सक्ने अवस्थै थिएन। सिँत्तैमा दिएको कोठा के गतिलो हुन्थ्यो ! एकछिन होटलकी साहुनीसँग विवाद गरेपछि अलिक राम्रो कोठा दिइन्।

भोलिपल्ट कालीगण्डकीको तिरैतिर अघि बढियो। सडक मास्तिर रहेछ रुप्से झरना। त्यसले हाम्रो स्वागत ग-यो। हिजो ढिलो पिकअप ग-यो भनेर रिसाएका दिदीहरूको रिस पनि झरनाको चिसो पानीसँग चिसिइसकेको थियो।

हामीले आपसमा रमाइला कुरा ग-यौं। त्यो दिन अपरान्ह हामी मुस्ताङको छुक्साङ पुग्यौं। उज्यालैमा पुगेकाले हामीले वरपर घुमेर तस्बिर खिच्यौं। यसले गर्दा आपसमा नजिक बन्न सजिलो भयो। त्यो रात हामी त्यहीँ बस्यौं।

छुक्साङबाट कोरला नाकासम्मको यात्रा सोचेभन्दा कठिन थियो। यात्राभर भीरपाखा छिचोल्नु पर्ने। हाम्रो तेस्रो दिनको गन्तव्य थियो लो–मन्थाङ। हामी आपसमा घुलमिल भैसकेका थियौं। त्यो दिन मलाई एउटै परिवार जस्तो अनुभव भयो र मैले दसैं पनि बिर्सिएँ।

छुक्साङबाट उकालो चढेपछि हिमालले स्पर्श गरेको अनुभूति हुन थाल्यो। धौलागिरि टलक्क टल्केको थियो। चाँदीजस्तै हिमाल हेर्न पाउँदा मन रमायो। हामीले त्यहाँ धेरै तस्बिर खिच्यौं।

जति उकालो चढ्दै गयो उति मनले परिवार सम्झन थाल्यो। पाँच वर्षकी छोरीको मुहार आँखामा नाच्न थाल्यो। मैले उनलाई खुसी दिन सकिनँ।

यात्रा जारी थियो, चिसो बतासमा फराकिला पाटन र नांगो पहाड हेर्दै अघि बढ्यौं। साँच्चै प्रकृतिले दिएको स्वर्गै रहेछ नेपाल ! 

हामीले संसारकै महँगो धातु युरेनियमका पहाड घुम्यौं र स्याङमोछेमा बिहानको खाना खायौं। कति मिठो खाना ! साहुनीले खुसी हुँदै हातमा ५ सय रुपैयाँ राखिदिँदै भनिन्, ‘बाबुलाई चिया खर्च। फेरि पनि आउनुस् है !’ मैले यात्रु लगेकाले उनले मलाई टिप्स दिएकी हुन्। 

अचम्म कुरा त के भने हामीले यात्रामा रूखविनाका रङ्गीविरङ्गी पहाड देख्यौं। कुनै राता, कुनै खैरा र कुनै नीला।  
लो–मन्थाङ पुग्दा दिउँसोको ३ः३० बजेको थियो। त्यहाँ पुगेर हामी ९ जना पुराना गुम्बातिर लाग्यौं। प्राचीन गुम्बा र भोटको जीवन शैलीले मोहित तुल्यायो।

लो–मन्थाङको अर्थ बुझ्ने मौका पनि मिल्यो। भोटे भाषामा यसको अर्थ दक्षिणपट्टि भएको जडीबुटीयुक्त मैदान रहेछ।

राती सफा होटलमा बस्यौं। चौंथो दिन बिहान ७ बजेतिर करिव ४५ मिनेट यात्रामा हामी कोरला नाकामा पुग्यौं। त्यहाँ पुग्दा यति चिसो भयो कि ज्यानै बरफ बन्ला जस्तो। त्यहाँ हामीले हाम्रो देशको सिमा स्तम्भमा उभिएर तस्बिर खिच्यौं। नेपाली भएकामा गौरवबोध ग-यौं।

केहीबेरमा त्यहाँबाट फर्कियौं। हामीले बाटामा गुफा र निफुग गुम्बाको दर्शन ग-यौं। पहाडको चट्टानमा बनेको गुफा भित्र तलैतला रहेछ। साँच्चै विचित्रको रहेछ लो–मन्थाङ।

अबको हाम्रो यात्रा कागबेनीका लागि तय भयो। हामी फर्कन थाल्यौं। कागबेनीमा याक डोनाल्ड होटलमा बस्यौं। होटलको कोठा राम्रै होला भन्ने लागेको थियो तर मलाई त फोहोर कोठा दिइयो। मैले बरु पैसा थप्छु राम्रो कोठा दिनुस् भने। तर, होटलका साहुजीले कडा जवाफ दिए,‘मिल्दैन।’

बेलुकाको खाना खासै मिठो थिएन। मैले मासु थप्न आग्रह गरें। त्यहाँ पनि ठाडै जवाफ आयो–मिल्दैन। किन मिल्दैन भन्नुस बरु कति पैसा लाग्छ तिर्छु भने। त्यही बेला होटलकी साहुनी आएर भनिन्, ‘तपाईंलाई चित्त बुझ्दैन भने ढोका खुलै छ जान सक्नुहुन्छ । तर, किचकिच नगर।’

म चुप लागें। तर, सँगै गएका दाई तथा दिदीहरू साहुनीमाथि खनिनु भयो। मबाहेक सबैका आँखाबाट आँसु झर्न मात्र बाँकी थियो। उहाँहरुको ममाथिको माया देखेर म  भावुक बनें। जसोतसो उहाँहरूलाई सम्झाएर अर्को होटेलतिर लागें। त्यो पनि रातको साँढे ९ बजे।

म रातभर निदाउन सकिनँ। मानवले मानवलाई गर्ने व्यवहार कति फरक हुँदो रहेछ ! त्यहाँ सहयात्रीले दिएको माया र सम्मान सम्झेर आँसु थाम्नै सकिँन। एक्लै रोएँ घुँक्कघुँक्क।

त्यो रात बुझें नाता रगतकै हुन जरुरी छैन। सम्बन्ध वर्षौं पुरानो हुन पनि जरुरी छैन। जात र धर्म एकै पनि जरुरी छैन। बस आत्मीयता र आफ्नोपन भए पुग्छ। राति होटलवालासँग विवाद नभएको भए मैले दाजुदिदीहरूको माया जाँच्न नपाउने रहेछु । धन्य, म कति छिट्टै उहाँहरूको मनमा बस्न सफल भएछु। उहाँहरूप्रति असीम माया र श्रद्धा छ।

मैले आजसम्म धेरै जनालाई लिएर नेपालका विभिन्न ठाउँको यात्रा गरेको छु। तर, यसपालिको जस्तो अविस्मरणीय यात्रा कहिल्यै भएकै थिएन।

प्रकाशित: २३ कार्तिक २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App