७ वैशाख २०८१ शुक्रबार
अन्य

गंगा कालो उभिन्छु

कृष्ण धराबासी

खस्दै छहराहरुबाट । पहराहरुबाट
 ठोकिँदै ढुंगाहरुमा । रुखमा जराजरामा
   भिरालै तिर निरन्तर बगिरहेँ । भविष्यतिरै ।

गर्जिएको बादलमा थिएन पानी
        सुक्नु नहुने मैले कहिलै
        शिवको जटामा बेह्रिएर युगौं
        भविष्य खोज्दै हराएकी थिएँ आफैँ
        पुग्नुको एउटा महान् अधिरता
        लक्ष्यको सागर देख्थे टाडा–टाडा ।
    
        आवाजहरु सबै मेरै आवाजमा मिसिए
        गति मेरै गतिमा विलय भयो
        भगिरथको पछि पछि पाताल छुन
        मैले कति अभिसप्त सगर पुत्रहरुको
        मुक्तिबन्नु थियो
    
        सुकुमारी थिएँ
        पवित्रताको महान् तेज थिएँ म
        रोक्नै नसक्ने अथाह वेग थिएँ म
        कत्रा–कत्रा पहाड उभिएको मार्गमा
        ठोकिनआउँथे धारिलाचट्टानहरु
    
        बगाउँदै पापहरु, अपराधहरु, श्रापहरु
        बगाउँदै आपतहरु, अप्ठयाराहरु, अनिकालहरु
        काट्दै भीरपाखाहरु, लडाउँदै, पहिरो
        अनकन्टारमा बाटो बनाउँदै
        यात्रा बढेथेँ—
        खोंचखोंच— चेपचेपबाट
        एक्लै निरन्तर एक्लै
        गाउँदै गीतहरु धरतीका ।गतिका
        संवेग र आस्था उठेका ।

म ठोकिएका एक–एक चट्टानहरुमा
        गति र अन्तरालको सालिक उभिन्थ्यो
        पहराका हरेक फेद फेदमा तिनको जग काम्थ्यो
        कालान्तरदेखि अटल उभिएको
        एउटा अटेरी अत्याचार
        मेरो मार्गमा जब आउँथ्यो
        उल्टै त्यसले बगेर मैसँग
        बालुवाका कण–कण किनारामा विश्राम लिन्थ्यो ।
        हरेक गतिहिनतामा, अवरोधक
        र अटेरी अडानहरु
        जीवनको गतिमा सामेल हुन्थे
        एक एक गर्दै ती युगको संगीतको तार बज्थे
        कहाँकहाँ सम्म फैलिएका
        तिनका जरा र हाँगाहरु
        कहिले कहिले चुडिएर ती खसिसक्थे ।  

        लाग्थ्यो कसैले रोक्न सक्दैन मेरो वेगलाई
        म जब आइसकेँ— अब आइसकेँं
        मलाई छेक्नेहरु ममै डुब्नेछन्, बग्नेछन्
        मलाई नाप्नेहरु मेरै छातीमा खस्नेछन्, डुब्नेछन्
        मेरो अथाह यस गहिराइमा
        मलाई नै तिनले खोज्नेछन्
        
        भगिरथको त्यत्रो प्रयत्नले ल्याइएकी म
        फर्केर स्वर्गतिर फेरि किनजाऊँ
        मैले यस बञ्जर धरतीमा
        सिंचेर आफ्नै जलराशिले
        प्रकृतिको कला भर्नुथ्यो
        लागेथ्यो,
        अब एउटा अचम्मको गति पैदा हुन्छ यहाँ
        यहाँका प्रत्येक कण–कणमा तरंग फैलिने छ
        कहिलै नउठेका कुम्भकर्णहरु उठ्नेछन्
        कहिलै नबजेका घण्टहरु बज्नेछन्
        अब त म आइनै सकेकी छु
        हिमालले पनिआफ्नो शिर झुकाउने छ

        ०००

        गति, समय र दूरीविहीन थिएँ म
        म मात्र थिएँ जमेको एकै ठाउँ– कहिले देखि
        चुपचाप–चुपचाप–चुपचाप थिएँ ।
        थाहै थिएन यसरी बग्न पनि सकिन्छ
        आफ्नै गतिको यत्रो उत्तेजना हुन्छ
        आफैँ बगेको संगीतमा आफैँ सम्मोहित होइन्छ
        आफूले आफैँलाई नियन्त्रण गर्नै नसक्ने गरी
        यस्तो संवेगको अनुभूति पनि हुन्छ !

        चञ्चल बालक जस्तो
        जे देख्यो त्यही राम्रो
जे छोयो त्यही राम्रो
हरेक वस्तु एक्लै आफैँलाई झैं
बगाउँदै ल्याएँ–सोहोर्दै ल्याएँ ।

थाहा थिएन—
सबै चीज सधैं आफैँसँग राख्न नसकिँदो रहेछ
त्यो साथै जान नसक्दो रहेछ
        किनारामा पल्टिएका ढुंगाहरु
        बालुवाका कणहरु
    भाँचिएका बोक्रा उक्किएका
    आधा पुरिएका रुखहरु, तिनका जराहरु
    हाडखोड र गोलागोला ढुंगाहरु ।

    मलाइ आफ्नै किनारामा उभिएर
    आज रुन मन लागेको छ
    मलाई आफ्नै किनारामा टुसुक्क बसेर
    आफैंले आफ्नो अनुहार पानीमा हेर्न मन लागेको छ ।
    
    यो एक युगमा मैले
    आफैँलाई बिर्सिएर
    भ्रम, उत्तेजना, अधिरता र असंयमताको
    शिवजटामा पो बेहिएकी रहेछु ।
    मैले कति बगेर कहाँ पुगिसकेँ ठानिरहेका बेला
    म त आफ्नै वेगमा आफैं अल्झिएर पो ढलेकी रहिछु ।

    मलाई थाहा थिएन–
    अघि बढिरहँदा पनि गति पछि सरिरहेको हुँदोरहेछ
    माथि चढिरहँदा पनि यात्रा तल झरिरहेको हुँदोरहेछ ।

    आज मैदानमा आइपुग्दा–
    आफ्नो गति आफैं धिमा हुँदा
    कुद्छु भन्छु आफैं बालुवामा
    लटपटिएर खुट्टाहरु पाइला अल्झन्छन्
    धसिएर हिलोमा त्यहीँ गाडिन्छन्
    उभिएँ कि ! लाग्छ र सोच्दछु–

    हेर्छु बगिरहेकै छु
    तर गतिले यति लिएको छैन अहिले
    बग्न मन छैन अहिले
    उभिनै नसक्ने गरी थाकेकी छु यात्राले
    बोक्नै नसक्ने—
    कामै नलाग्ने भारी बोकेकी रहेछु अहिले ।

    कालान्तरमा तिमी मैदानमा पुग्दा
    नीलो देखिनेछौ गंगा !
    तिमीलाई धरतीमा
    नीलगंगाको नामले
    पुज्नेछन् सबैले
    भनी भनेथे उनीहरुले
    तर आज देख्दैछु आफैंलाई
    झन्झन् कालो हुँदै गइरहेछु
     मैलो हुँदै गइरहेछु ।

    मेरो पवित्रताले बगाएर सारा श्रापहरु
    मेरो स्वच्छताले पखालेर सारा फोहोरहरु     
    शुद्ध बन्ने आकांक्षा उभिएका हे भगिरथ !
    तर म आफैं आज यति अपवित्र किन?
    यति कलुषित किन?

    पहाडका चुचुरादेखि नै  
    रगतका फाल्साफाल्साहरु
    मिसिँदै आइरहेछन् ममा
    म नीलो हुन हिँडेको स्वर्गबाट
    तर आज रगतले रातो छु ।

    गन्हाएका लाशहरु
    कटकटिएका रगतका दागहरु
    विकृति र विडम्बनाका संगीतहरु
    सब मिसिएर आइरहेछन् ममा
    घिन लाग्दो, दिगमिग लाग्दो
    आफैं सुकौँ सुकौँ लाग्दो
    यस वर्तमान क्षणमा
    म बग्दाबग्दै टक्क उभिएकी छु
    चित्र बनेकी छु ।
    आफैँमाथि घोप्टिएको आकाश
    निन्याउरो अनुहार ममा टांँसी निस्ताएको छ ।
    घाट–घाटमा म थुनिएकी छु ।

    पापहरु बगाउने सर्तमा आएथें यहाँ
    तर पापले थिचिएर म भासिएकी छु
    गतिहीन, अविचल, लम्पसार म
    हरिश्चन्द्र घाटमा खरानीले छोपिएकी
    मषिकर्णिका घाटमा लाशले थिचिएकी
    तैरिरहेका एक–एक दुर्गन्धित लाशले
    डङडङती गन्हाइरहेकी म

    तथापि
    आस्थाको लोटामा अझै पनि जल भर्दैछु
    स्नान गर्दैैछु ।

    हिमालदेखि बगिरहेको रगत
    बाटोभरि कुहिँदै गन्हाउँदै
    रंग परिवर्तन भएर अब कालो भएको छु
    जताततै सडेको, गलेको, जलेको
    अंगार खरानी र रगतले म कालो भएकी छु
    नबगेर एक कालो दह जमेकी छु
    गंगा कालो उभिएकी छु ।
              
    
        
        

 

 

प्रकाशित: १८ कार्तिक २०७६ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App