coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मलिम्बे

हिक्मत थापा

आकाशमा कावा खाँदै
तिमी जतिबेला
धर्तीका सुन्दर रचनाहरू हेरिरहन्छौ
र सोच्छौ,
कुनै इबादान
वा त्यतै कतै इकिटीको
सुन्दर भूदृश्यभित्र,
मजस्तै रंगविरंग
कालोमाथि सिम्रिक धर्सोजस्तो,
कतै बाडुलीमा आयो कि तिम्रो
सुन्दर आकृति ।

तिमी फेरि उड्यौ
कावा खाँदै,
र सम्झियौ कि मलाई–
मलिम्बे !

फरक आकाश
फरक धर्ती
फरक रङ
तैपनि बिछट्टको
तिम्रो रूपसँग
सुदूरमा आएर
म पनि रंगिएँ
तिमीजस्तै ।

अफ्रिकी नीलो आकाशमुनि
बादलसँगै,
लहराएका तिम्रा काला केश राशिमाझ
मैले पनि रंगाएँ तिम्रो सिउँदो
नेपाली सिम्रिकको रङले,
तिमी उड्यौ परपर
तै, म भुलेँ तिम्रै आकृतिमा
प्रिय मलिम्बे !
(मलिम्बे– पश्चिम दक्षिण नाइजेरियामा पाइने कालोमा सिम्रिक धर्का भएको सुन्दर चरा ।
इबादान र इकिटी – अफ्रिकी सहर विशेष ।)

प्रकाशित: १६ कार्तिक २०७६ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App