७ वैशाख २०८१ शुक्रबार
अन्य

‘नौ कक्षाको परीक्षा छुट्यो’

नीलम कार्की निहारिका

नीलम कार्की निहारिका

पहिलो महिनावारी हुँदा म विद्यालय गएकी थिएँ, नौ कक्षाको अर्धवार्षिक परीक्षा चलेको थियो। महिनावारी भएपछि छिटै कापी बुझाएर डेरा फर्कें। त्यो समय मेरो दाजु देवेन्द्र र दिदी आरती पाल्पा साइन्स क्याम्पस आइएससी पढ्दै हुनुहुन्थ्यो, म जनता माविमा कक्षा ९ मा अध्यनरत थिएँ, यो ०४५ सालको कुरा हो।

अध्ययनकै लागि भनेर बुवाआमाले हामी तीनजनालाई पाल्पाको सदरमुकाम तानसेनमा डेरा लिएर राख्नुभएको थियो। मेरो बुवाले पनि मैले पढ्ने स्कुलमै पढ्नुभएको हो। बुवाको पालादेखि झपेन्द्र सर त्यहाँको प्रअ हुनुहुन्थ्यो। पुरानो चिनजान भएकाले बुवाले हामीलाई झपेन्द्र सरकहाँ डेरा लिएर राख्नुभएको थियो।

म कोठामा फर्कंदा दिदी पनि कलेजबाट आइसक्नुभएको रहेछ। परीक्षाका बेला छिटो आएको देखेपछि उहाँले गाली गर्न थाल्नुभयो, परीक्षामा पूरै नलेखी आई भनेर। मलाई केही भन्नै आएन, रोएँ। रोएपछि उहाँले फकाउनुभयो, अनि मैले महिनावारी भएको कुरा बताएँ। उहाँले तत्काल म्याडम (झपेन्द्र सरको श्रीमती)लाई भन्न जानुभयो।

हामी बसेकै घरभन्दा माथिल्लो घरमा ढाका बुन्ने घर थियो। खै किन हो ! तान भएको ठाउँमा झ्याल–ढोका थुनेर बिजुलीबत्तीको उज्यालोमा ढाका बुन्ने गरिन्थ्यो। बुन्नेहरू महिला मात्र हुन्थे। त्यही एक कुनामा मलाई राख्ने कुरा भयो। त्यहाँ म सात दिनसम्म बसेँ। रातमा मात्र बाहिर निस्किन पाउँथे, दिनको सूर्य हेर्न हुँदैन भनिन्थ्यो। उज्यालो नहुँदै उठेर नुहाउनुपथ्र्यो। सात दिनपछि बिहानै नुहाएर कोठामा आएँ।

दिदी, आमा र अरुले महिनावारी बार्ने गरेको थाहा थियो। प्रथमपटक महिनावारी हुँदा दिदीलाई पनि त्यसरी नै सूर्य नदेख्ने गरी राखिएको थियो। त्यसैले त्यसरी थुनिएर बस्नु पनि नौलो लागेन। तर, आफूमाथि आइलाग्दा केही कष्ट महसुस भएको थियो।

त्यतिबेला बिहानमा मलाई दिदीले खाना ल्याइदिनुहुन्थ्यो। दिउँसो दिदी कलेज गएका बेला म्याडमले सुत्केरीलाई जस्तो घिउ राखेको खाजा ल्याइदिनुहुन्थ्यो।

त्यहाँ बस्दा दिनभर ढाका बुन्ने दिदीहरू हुनुहुन्थ्यो। रातमा पनि ती दिदीहरू आलोपालो गरेर मेरा लागि साथी बस्नुहुन्थ्यो। तैपनि, एकैचोटि त्यसरी बस्नुपर्दा अत्यास लागेको थियो।

त्यतिबेला महिनावारी बार्नु ठीक हो वा होइन भन्ने विचार आएन, चलेको चलनजस्तै लागेको थियो। पछि बुझ्दै जाँदा दिक्क लाग्न थाल्यो ।

पहिलोपटक महिनावारी हुँदा सात दिनसम्म विद्यालय जान पाइनँ, अन्तिम दिनको परीक्षा छुट्यो। धन्न म्याडमले भनिदिएर हेडसरले परीक्षा दिने व्यवस्था मिलाउनुभयो। महिनावारीका कारण परीक्षा छुटेको कुरा अरु सरहरूले पनि थाहा पाउनुभयो, त्यसपछि लाज र संकोच लागेको थियो।
अझ एकजना केटा साथीले सोधे, ‘परीक्षा छाडेर कहाँ गएकी थियौ ?’
मैले भने, ‘बुटवल घर।’ उनले हाँस्दै भने, ‘बुटवल गएकी हौ कि कहाँ थियौ, हामीलाई पनि थाहा छ।’
उनले जिस्क्याउने पाराले भनेका थिए। सानो उमेर भएकाले त्यसलाई पचाउन सकिनँ, केही दिनसम्म ठाडो शिर गरी हिँड्न सकिनँ। यस्तो व्यवहारले त्यो अवस्थाका किशोरीलाई कस्तो मानसिक असर पर्छ भन्ने उनले ख्याल गरेनन्। त्यस्तो सिकाइ र बुझाइ पनि थिएन।

एकजना केटा साथीले सोधे, ‘परीक्षा छाडेर कहाँ गएकी थियौ ?’ मैले भने, ‘बुटवल घर।’ उनले हाँस्दै भने, ‘बुटवल गएकी हौ कि कहाँ थियौ, हामीलाई पनि थाहा छ।’ उनले जिस्क्याउने पाराले भनेका थिए। सानो उमेर भएकाले त्यसलाई पचाउन सकिनँ, केही दिनसम्म ठाडो शिर गरी हिँड्न सकिनँ।

महिनावारी बार्नु र छाउप्रथामा खासै फरक छ जस्तो लाग्दैन, यसमा तरिका फरक होला, सोच एउटै हो। हामी सुदूरपश्चिमको छाउको कुरा सुन्दा अचम्म मान्छौँ। तर, हाम्रा घरघरमा छाउ कायम छन्। झुपडी मात्र होइन, पक्की दिवारमा पनि छ छाउ। हाम्रो मस्तिष्कमा पनि छाउले घर बनाएजस्तो लाग्छ।
हामीलाई महिनावारीका बेला ‘नछुने भएको’ भन्दै चार दिन बार्नुपर्दा त कति सकस हुन्छ। जीवनभर अछूत भनी व्यवहार गरिएका जातिलाई कस्तो भएको होला ? मान्छे बायलोजी, जातीय या कुनै पनि कारणले अछुत हुँदैन, यो हाम्रो रुढीगत सोच हो, यसलाई बदल्नुपर्छ।

पहिलो सन्तान
पहिलो सन्तानको रूपमा २०५८ सालमा छोरालाई जन्म दिएँ। त्यतिबेला म काठमाडौंमा थिएँ। नेपाल टेलिभिजनमा कार्यकम ‘स्वास्थ्य जिज्ञासा’ सञ्चालन गर्थें, कलेज पनि पढाउँथेँ।

पहिला–पहिला जिज्ञासा हुन्थ्यो– पेटभित्र बच्चा कसरी बस्छ, कसरी बाँच्छ होला ? पछि प्रमाणपत्र तहमा ‘नर्सिङ’ पढ्न थालेदेखि त्यो जिज्ञासा मेटियो। अध्ययनकै क्रममा कम्तीमा १० वटा डेलिभरी गराउनुपरेको थियो। तैपनि, पहिलोपटक गर्भवती हुँदाको अवधिभर अति असुरक्षित महसुर गरेकी थिएँ। पेटमा बच्चा चल्न थालेपछि भने आमा बन्दै छु भन्ने पूर्ण अनुभूति हुँदो रहेछ।

ठूलो बाबु जन्मदा दुई दिनसम्म व्यथा लागेको थियो। व्यथा लागेपछि मलाई महाराजगन्ज शिक्षण अस्पतालमा लगियो, त्यहीँ बाबु जन्मियो। त्यतिबेला मेरो साथमा सुत्केरी स्याहार्ने नै पेसा अपनाएकी एक अनुभवी दिदी हुनुहुन्थ्यो।

मेरो श्रीमान् पेसाले चिकित्सक, कहिलेकाहीँ त उहाँले अस्पतालमा २४ घण्टासम्म ड्युटी गर्नुपथ्र्यो। म सुत्केरी हुँदा पनि उहाँले बिदा पाउनुभएन। यद्यपि, उहाँले सकेसम्म मेरो हेरचाह गर्नुभयो।

कलेज पढाउँदा मैले विद्यार्थीलाई आफूले पढेकै कुरा बताउँथेँ– गर्भवती र सुत्केरी अवस्थामा परिवारको विशेष साथ चाहिन्छ। आफू गर्भवती र सुत्केरी हुँदा मात्रै महसुस भयो, यतिबेला हामीलाई कति साथ र हेरचाह आवश्यक हुन्छ भन्ने।

सुत्केरी हुनु वा गर्भवती भएर बच्चा जन्माउनु सृष्टिको सञ्चालन हो। यद्यपि, किताबमा पढ्नु, अरुको देख्नु र आफ्नो जीवनमा पर्नु फरक कुरा रहेछ। सुत्केरी अवधिभर माइतीको धेरै सम्झना हुने रहेछ। विशेषतः आफू आमा बनेपछि समस्त आमाप्रति झन् सम्मान चुलिने रहेछ।
(कुराकानीमा आधारित)

प्रकाशित: २८ भाद्र २०७६ ०४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App