coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मेरा साना आँखाले, अक्षर चिन्न थालेपछि ...!

मेरो जन्म ओखलढुंगामा विसं २००० साल ऋषि पञ्चमीको दिन भएको हो। मेरो चिनाको नाम नारायणभक्त श्रेष्ठ हो। म रेडियो नेपालको कार्यक्रममा आउँदासम्म त्यही नामले चिनिन्थें। मैले घरैमा बाबाट ‘कख’ लेख्न सिकें। हाम्रो घर नजिकै भाषा पाठशाला थियो। त्यहाँ धुलामा सिन्काले लेख्न सिकाउँथे। चकटी, बोरा र पिरा बोकेर जानु पथ्र्यो। त्यहाँ यति कक्षा भन्ने हुँदैन्थ्यो। गुरुहरू लठी लिएर आउनु हुन्थ्यो र त्यही लठीले धुलौटे भुइँमा लेख्न सिकाउनु हुन्थ्यो। त्यति धेरै किताब हुँदैन थिए। ‘ठूलो वर्णमाला’ भन्ने किताब पथ्र्यो।

‘ठूलो वर्णमाला’ जान्ने भएपछि म २००७ सालमा सगरमाथा हाइस्कुल गएँ। त्यहाँ चार कक्षामा भर्ना भएँ। त्यतिबेला खरी पाइन्थ्यो। कालोपाटी पाउँदा कति ठूलो कुरा पाए जस्तै लाग्थ्यो। पेन्सिल पाउन पनि गाह्रो थियो। कापी पाइँदैन थिए। नेपाली कागजमा लेख्नुपथ्र्यो। धर्का भएको देशी कापी हुन्थ्यो। त्यस्तो कापी पाए कति लेखिन्थ्यो होला भन्ने लाग्थ्यो। अर्मपर्म र घाँसपात गर्दै दिन बित्थ्यो। जति पढ्नु पथ्र्यो दियो बालेर राति नै पढ्नु पथ्र्यो। आमाले दुःख गरेर भए पनि पढेर नाम कमाउनु पर्छ है भनेर सम्झाउनु हुन्थ्यो। आमा नै सबैभन्दा ठूलो र पहिलो गुरु हुनुहुन्छ। म उहाँलाई असाध्य सम्झिन्छु।  म सम्झनाको दहमा आमा जिउँदै हुनुहुन्छ भन्ठान्छु।

अहिले पहिले जस्तो ओखलढुंगा छैन। बस्तीको रूप फेरिएको छ। जताततै गाडी र मोटरसाइकलहरू दौडिन थालेका छन्। घरहरू बाक्लिएका छन्। हाम्रो पालामा सानो नेवारी बस्ती थियो। हाम्रोमा पनि काठमाडौं, भक्तपुर र ललितपुरमा हुने इन्द्रजात्रा, गाईजात्रा, लाखे नाच जस्ता सांस्कृतिक कार्यक्रमहरू हुन्थे। उतिखेर महाभारत र रामायण कथामा आधारित नाटक देखाइन्थ्यो। हिन्दी फिल्मका कथाहरूलाई नेपालीमा अनुवाद गरेर नाटक देखाइन्थ्यो। मैले ६ वर्षको हुँदै बालकलाकारको रूपमा सहभागी हुने मौका पाएँ। नाच्नगाउन पाउँदा दङ परिन्थ्यो। आफैले स्टेजहरू मिलाउनु पथ्र्यो। काठमाडौंमा तयार गरेका पर्दाहरूमा भएको कथा सुहाउँदा चित्रहरूले कसरी चित्र बनाएको होला भन्ने उत्सुकता हुन्थ्यो। पर्दाका चित्रहरूले चित्र कोर्न प्रेरणा मिल्थ्यो। गाईजात्रामा नानीहरूलाई गाई बनाएर लैजाने चलन थियो। म पनि धेरैचोटि गाई भएको छु। त्यतिबेला नानीहरूलाई गाई जस्तै सिँगारेर लगिन्थ्योे। गाई भएर जानेलाई सबैले माया गरेर मिठाई, बिस्कुट र फलफूल दिन्थे। हामी केटाकेटीलाई सधैं यस्तो भइरहे हुन्थ्यो भन्ने लाग्थ्यो।

  हामी सानो छँदा बालसाहित्यको स्थिति राम्रो थिएन। पाठ्यपुस्तकमा ‘चिँ मुसी चिँचिँ’, ‘ताराबाजी लैलै’ जस्ता केही कविताहरू थिए। पाठ्यपुस्तकमा बालबालिका सुहाउँदो   सिर्जना हुँदैनथ्यो। दक्ष शिक्षक पाइँदैनथ्यो। गुरुले हातमा छडी लिएर ‘पढ्पढ्’ भन्नुहुन्थ्यो। आफूले सर्र एकचोटि पाठ पढेर नानीहरूलाई भन्ने लगाउँथे। पाठका अन्तर्य कुराहरू बुझाउँदैन थिए। राम्रो लेखन भने औंलाको बीचमा कलम राखेर थिच्ने गर्थे। गृहकार्य गरेन भने गाली गर्थे। सर्कल बनाउन नजान्ने नानीलाई हात समातेर ‘क’ लेख्न सिकाए कति राम्रो हुन्थ्यो। उतिखेरको पढाइमा म एकदम असन्तुष्ट थिएँ।

दस कक्षातिर  नेपाली विषयका ‘गद्य संग्रह’ र ‘पद्य संग्रह’ पढ्नु पथ्र्यो। त्यसमा बालकृष्ण सम, माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौडेलका कविताहरू पढ्नु पथ्र्योे। मैले २०१८ सालमा सगरमाथा हाइस्कुलबाट एसएलसी गरें। मैले २०१९ सालमा काठमाडौं आएँ र कलेज अफ एजुकेसन, काठमाडौंबाट बिएड गरें।

नानीहरूको मस्तिष्क विकसित भएको हुँदैन। पहिले नानीहरू कति कक्षाको, कति उमेरको र कस्तो अवस्थाबाट आएको हो बुझ्नुपर्छ। हाम्रो सामाजिक परिवेश एकै खालेको हुँदैन। उनीहरू विभिन्न खाले पृष्ठभूमिबाट आएका हुन्छन्। कोही सम्पन्न र कोही विपन्न परिवारबाट आएका हुन्छन्। नानीहरूलाई नानीहरूको आँखाबाट हेरेर पढाउनुपर्छ। राम्रो ग¥यो भने ‘अहो स्याबास’ भन्नुपर्छ। बिग्रियो भने यसो गर्नुपर्छ  भनेर सम्झाउनु पर्छ। हामीले गीत र चित्रको माध्यमबाट रमाइलोसित पढाउनुपर्छ  जस्तो, हामीले पहेँलो मकै छ¥यौं। मकै उम्रिँदा हरियो भयो। अलिक ठूलो हुँदा घोगा लाग्यो र यसभित्रै फेरि पहेँलै मकै आयो। कसरी यस्तो भयो होला ? हामीले गीत बनाएर विज्ञानका यस्ता कुराहरूलाई रमाइलोसित सिकाउन सकिन्छ। हामीले विज्ञान,भूगोल जस्ता सबै विषय गीत र चित्रको माध्यमबाट सजिलै बुझाउन सकिन्छ।

अहिले नर्सरीदेखि एघारबार पढुञ्जेल नानीहरूलाई दिग्भ्रमित कुराहरू सिकाइरहेका छन्। उच्छृङ्खल फिल्मी गीतमा नानीहरूलाई नचाइरहेका छन्। मलाई उच्छृङ्खलताको विरुद्ध गीत लेख्नुपर्छ भन्ने लागिरहन्थ्यो। विद्यालयमा हुने कार्यक्रममा भ्रष्ट बनाउने गीतमा आफ्ना नानीहरू नाच्दा अभिभावकहरू मक्ख पर्छन्। त्यसको दुष्प्रभावबारे सोच्दैनन्। पछि त्यही नानीहरू दुष्कर्ममा लाग्दा पछुताउने गर्छन्। नानीहरूलाई कस्तो खाले गीत दिने होला ? उनीहरूलाई नैतिकताका कुराहरू कसरी सिकाउने होला ? नर्सरीदेखि बाह्र कक्षासम्मको यति लामो अवधिमा राम्रो कुरा सिकाउन पाए कस्तो हुन्थ्यो होला ?  यस्तो अवस्थामा सरोकारवालाहरू पनि आफैं रमिते बनेका छन्।

पञ्चायती कालमा जताततै राजाका प्रशस्ति मात्रै गाइन्थ्यो। जनताको दुःखपीडाका कुरा केही हँुदैनथ्यो। मलाई गीतबाट नानीहरूलाई कसरी सकारात्मक छाप छोड्न सकिन्छ भन्ने लागिरहन्थ्यो। यस्तैमा २०४६÷४७ सालतिर कक्षागत गीतको माग भयो। मैले एक कक्षाका लागि ‘मेरा साना आँखाले, अक्षर चिन्न थालेपछि’ भन्ने गीत लेखें। हामी सधैं सरकारको विपक्षमा विद्रोह गथ्र्यौ।  मलाई मेरो गीत छनोटमा पर्ला कि नपर्ला भन्ने लागेको थियो। गीत छनोटमा परेछ। अझै हाम्रा गीतहरू बजाइदैनन्। मैले नानीहरूमा देशप्रेमको भावना जगाउन उद्देश्यको साथ यो गीत लेखेको थिएँ। यो गीतमा म आफैंले पनि संगीत भरेको थिएँ। पछि कक्षागत गीतको रूपमा छानिएपछि गोपाल योञ्जनले संगीत भरेका हुन्।

उतिखेर ज्ञानको सीमितता थियो। सूचनाप्रविधिको विकास भइसकेको थिएन। कहीँ कतै ठूलाबडाका घरमा मात्रै रेडियो पाइन्थ्यो। त्यसैबाट गीत र समाचारहरू सुनिन्थ्यो। ग्रामफोनबाट गीतहरू सुन्थ्यौं। कसरी गीत बजेको होला भनेर छक्क पथ्र्यौे। ठूला मान्छेहरूले त्यहाँभित्र मान्छे बसेको हुन्छ भनेर हामीलाई जिस्क्याउँथे। हामी त्यहाँ कसरी मान्छे बसेका होला भन्थ्यौं।

उतिखेर काठमाडौंलाई ‘नेपाल’ भनिन्थ्यो। ‘गोरखापत्र’ एउटा मात्रै पत्रिका निस्किन्थ्यो। त्यो पत्रिका तीनचार महिनापछि मात्रै ओखलढुंगा पुग्थ्यो तर हामी त्यो पत्रिका नयै मानेर पढ्थ्यौं। अहिले सूचनाप्रविधिले फड्को मारेको छ। संसारमा अहिले के भइरहेको छ। हामी छिनभरमै देख्न सक्ने भएका छौं। सूचनाप्रविधिले नकारात्मक कुराहरू पनि भिœयाएको छ। यस विषयमा पनि अभिभावक, शिक्षक र सरकार कसैले चासै नदिएको जस्तै देखिन्छ। यसले नानीहरूलाई राम्रो गर्दैन। यो एकदम दुखद् पक्ष हो।

हिजो कतै बाटो र चौतारा र बनाउन जाने भनेपछि सबै जना कुटोकोदालो र माटो बोक्ने बोराहरू बोकेर एकैछिनमा भेला हुन्थे। वरपीपल रोप्ने र वरपीपलको बिहे गराउने चलन थियो। वातावरण राम्रो बनाउन बोटबिरुवा रोपिन्थ्यो। दाजुभाइ– दिदीबहिनीहरू एक आपसमा दुखसुखको कुरा गर्थे। एक आपसमा माया, स्नेह र भावनात्मक सम्बन्ध हुन्थ्यो। अहिले त्यस्ता कुराहरू पूरै हराएका छन्। नानीहरू मोबाइल र ल्यापटपमा अल्झिएका छन्। कार्टुन, मत्लुपत्लु र अश्लील कुरा हेरेर दिन बिताउँदै छन्। नानीहरू स्वास्थ्यवद्र्धक खानेकुराभन्दा ‘जंकफुड’ मा रमाउन थालेका छन्। अभिभावकहरू पनि आफूलाई ‘डिस्टर्ब’ नहोस् भनेर नानीहरूलाई काँचै चाउचाउ दिने गर्छन्। नानीहरूले जे भने त्यही पु¥याइरहेका छन्। यसले सामाजिक रूपान्तरणमो निकै ठूलो असर पु¥याइरहेको हुन्छ।

ओखलढुंगा कुइनेटामो पर्छ। जहाँबाट जाँदा पनि निकै समय लाग्थ्यो। त्यतिबेला काठमाडौं आउनु भनेको नेपाल पस्ने भनिथ्यो। काठमाडौं आउनु भनेको सपनाको कुरा जस्तै लाग्थ्यो। बालदिमागमा अनेक कुराहरू आउँथे। त्यहाँबाट पश्चिमपट्टि हेर्दा अग्लाअग्ला महाभारत श्रृङ्खलाहरू देखिन्थे। कप्तान कुवा, गढीडाँडा, चन्दने, ठोट्ने, मोलुङ, सिस्ने जस्ता खोलाहरू देखिन्थे। त्यतिबेला लुक्ला विमानस्थल बनेकै थिएन। हिमाल चढ्न जानेहरू सबै त्यहीँ ओखलढुंगाको बाटो भएर सोलु जानु पथ्र्यो। त्यहीँ ओखलढुंगा भएर एडमड हिलारी र तेन्जिङ शेर्पा सगरमाथा चढ्न गएका थिए र फर्केका थिए। आँखैअघि देखिने सगरमाथा कसरी चढ्यो होला ? आफू पनि त्यसरी चढ्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो। हामीले तेन्जिङ शेर्पाहरूलाई फूलमालाले स्वागत ग¥यौंै। त्यतिबेला हिमाल पनि चढ्न सकिने रहेछ भन्ने लाग्यो। हामीले हिलारीका खुट्टाका औंला देखेनौं। हिउँले खाएको भन्थे। हिउँले कसरी खायो होला भनेर हामी  छक्क प¥यौं।  हिउँले कठ्याङ्ग्रिएर औंलाहरू खसेका रहेछन्।

सिद्धिचरण जस्ता ठूल्ठूला मान्छेहरू काठमाडौं नै बस्थे। ठूलो मान्छेहरू काठमाडौं नै बस्नु पर्ने रहेछ भन्ने लाग्थ्यो। बाइस–चौबीस सालको बीचमा सिद्धिचरण श्रेष्ठसित हाम्रो भेट भयो। विसं २०१९ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल राष्टिय लोक गीत सम्मलेन प्रथममा सगरमाथा अञ्चलको प्रतिनिधित्व गरेर ओखलढुंगाबाट रामेश र म गएका थियौं। हामीले रेडियो नेपालमा गाएका गीत धेरैले मन पराए। हामीले पहाडी भेकका गीतहरू पनि गायौं। हाम्रा प्रशंसकहरू धेरै भेटिए। त्यही सिलसिलामा पारिजात दिदीसित हाम्रो भेट भयो। उहाँले हाम्रो गीत मन पराएर हामीलाई भेट्न खोज्नुभएको रहेछ। उहाँ हाम्रो फ्यान हुनु भएको रहेछ। गाउँबाट आएको हाम्रो लवाइखुवाइ केही थिएन। पारिजातले भेट्न खोजेको छ भन्दा साँच्चै हो कि उडाउन खोजेको भनेर हामी हच्कियौं। धेरैले धेरैचोटि कुरा गरेपछि हामीले पत्यायौं। हामीलाई पारिजातकहाँ  ज्ञान उदास भन्ने साथीले पु¥याउनुभयो। उहाँले हामीलाई प्रेमपूर्वक स्वागत गर्नुभयो। तपाईहरूको गीत असाध्य मन पर्छ भन्नुभयो। उहाँको कुराले हाम्रो खुम्चिएको छाती ढक्क फुलेर भयो। हामी पनि केही त रहेछौं भन्ने लाग्यो। त्यति ठूलो लेखकले त्यसो भन्दा हामी दङ्ग प¥यौं। त्यतिखेर काठमाडौंमा त्यसो भनिदिने हाम्रो कोही थिएनन्। हामीलाई त्यतिबेला अभिभावक भेटे जस्तो लाग्यो। एउटा परिवारभित्र छु जस्तो लाग्यो।

पारिजात दिदीकामा उत्तम कुँवर, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, ध्रुवचन्द्र गौतम, मदन रेग्मी, शंकर लामिछाने जस्ता त्यतिबेलाका चर्चित साहित्यकारहरूको जमघट हुुन्थ्यो। नाम चलेका गायककलाकारहरू पनि आउँथे। हाम्रो बाइसतेइस सालतिर रेडियो नेपालसित खटपट भयो र हामी त्यहाँबाट बाहिरियौं। त्यसपछि हामीले पारिजात दिदीको घरमा राल्फा परिवार खोल्यौं। उहाँ गीत लेख्नुहुन्थ्यो। अरिम, म, मञ्जुल र रामेश गीत गाउँथ्यौं। पछि हाम्रो समूहमा अरू साथीहरू पनि जोडिन आए। हामीले आधुनिक गीतहरू पनि गाउन थाल्यौं। हाम्रो प्रस्तुति धेरैले रुचाए। त्यतिबेला राम्रो गीतले जनतामा आशा, उत्साह र उमंग भर्ने रहेछ। गीतले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने रहेछ। गीत आवाजविहीनहरूको आवाज रहेछ भन्ने लाग्यो।

हाम्रो ओखलढुंगामा वल्लो बजार र पल्लो बजार थिए। मेरो घर ओखलढुंगाको वल्लो बजारमा थियो। त्यहीँमुनि युगकवि सिद्धिचरण श्रेष्ठको घर थियो। धेरैपछिसम्म त्यहाँ उनको घर थियो। काठमाडौं आएपछि उनी ठूलै कवि भए। हामी  उनका कविताहरू पढ्थ्यौं। गुरुहरूले यहीँ हाम्रै ठाउँमा जन्मेको भन्नुहुन्थ्यो। उनी कस्तो होला ? कहिले भेट्न पाइएला ?  उनी जस्तै कसरी हुने होला भन्ने सोच्थें। त्यतिबेला चित्रहरू केही पाइँदैन थियो। चित्र पाए कति खुसीसाथ हेथ्र्यौ होला।

हामीले  राल्फा परिवारमा हुँदै सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ भन्ने गीत पनि गायौं। यो खबर उनले पनि थाह पाएछन्। हामीले उनले सुन्न खोजेको कुरा पनि थाह पायौं। हामीले उनले लेखेका कविताहरू पढेर पास हुनु पथ्र्यो। हामीबाट उनले आफ्नै गीत सुन्न खोज्दा हामी खूब मक्खियौ। हामीले उनको घरमा गएर त्यो गीत सुनायौं। ‘मेरो कविता त यति मीठो गीत पो भएछ’ भनेर उनी निकै खुसी हो।

मेरो ‘सिमा’ र ‘कहाली’ गीति नाटक छन्। पब्लिक स्तरबाट २०३७ –३८ सालतिर तयार गरिएको यो नाटक प्रज्ञाप्रतिष्ठानमा निकै समय चलेको थियो। नाटक क्षेत्रमा यो कोसेढुंगा सावित भयो। हामीले राल्फाकाल तथा आन्दोलनमा हिँड्दा ‘गाउँगाउँबाट उठ्, बस्तीबस्तीबाट उठ्’, ‘एक जुगमा एक दिन एकचोटि आउँछ’, ‘तिमी देऊ तिम्रा हातहरू’ ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर, हाम्रो नेपालमा’,‘दूधकुन्ड पानीको सरोबर, हुनुपर्छ चमेली सबैलाई बराबर’ भन्ने गीतहरू खूब गायौ। हामी राल्फा आन्दोलनको क्रममा नेपालका धेरै ठाउँ पुगेका थियौं।

हामी २०१९ सालमा रेडियो नेपालमा ‘गाई चर्नेमा भैंसी च¥यो, वनको शेखी झ¥यो, वनको राजा कुसुन्डालाई हजुर भन्नु प¥यो’ भन्ने गीत लिएर गएका थियौं। महेन्द्र राजाले दुई तिहाईको कांग्रेसी सरकारलाई विघटन गरेर हातमा सत्ता लिएका थिए। धेरै नेताहरूलाई जेल पठाइएका थियो। त्यतिबेला त्यो गीतलाई अर्थ अर्कै लाइयो र गाउन दिइएन। 

अहिले उच्छृङ्खलता बढेको छ।  समाजलाई अघि बढाउन नानीहरूमै लगानी गर्नुपर्छ। त्यस्तै परिवर्तनमुखी गीतहरू सिर्जना गर्नुपर्छ। यस्तो अवस्थामा नानीहरूलाई नैतिकवान् बनाउनु पर्छ। गुरुले असल नागरिक निर्माण गर्न उत्तिकै चासो दिनुपर्छ। तेइसदेखि तीस सालसम्म राल्फा आन्दोलन चल्यो। पछि हामी विभिन्न धारमा बाँडियौं।

घरपरिवारमा प्रेमपूर्वक व्यवहार गर्न, आमाबाबुले जे दिनु हुन्छ मीठो मानेर खान, मोबाइलभन्दा सिर्जनात्मक काममा बढी ध्यान दिन र जुन कुराले पढाइ राम्रो हुन्छ त्यही कुरामा ध्यान दिँदै अघि बढ्ने प्रयत्न गर्नुपर्छ भन्ने नानीहरूलाई मेरो सुझाव छ। अहिले म ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ को कुलपति भएर देशको सेवा गर्दै छु।  नानीहरूलाई पनि भविष्यमा ठूलो मान्छे भएर देशको सेवा गनुपर्छ भन्छु।

प्रकाशित: २८ भाद्र २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App