१२ आश्विन २०७७ सोमबार
अन्य

'महँगो छ उडान'

साढे दुई दशकभन्दा लामो समयदेखि हवाई क्षेत्रमा आबद्ध विजय श्रेष्ठ यतिबेला अन्तर्राष्ट्रिय रूपमा उडान गर्दै आएको हिमालय एअरलाइन्सको उपाध्यक्ष छन् । सन् १९९२ तत्कालीन घरेलु हवाई कम्पनी नेपाल एयरवेजबाट क्यारिअर सुरु गरेका श्रेष्ठसँग अर्को निजी कम्पनी यती एयरलाइन्समा पनि काम गरेको अनुभव छ ।

चीनको टिबेट एअरलाइन्स र यती एयरलाइन्सको साझेदारीमा सन् २०१५ देखि सञ्चालनमा आएको हिमालय एअरलाइन्सले यतिखेर नयाँ गन्तव्य मात्र विस्तार गर्दै गएको छैन । एकपछि अर्को आधुनिक ३२० एअर बसको संख्या पनि थप्दै गइरहेको छ । सञ्चालनमा आएको तीन वर्षमै ६ लाख यात्रु बोक्न हिमालय एयरलाइन्स सफल भइसकेको छ ।

३२० एअर बसको संख्या तीनवटा पुर्‍याइसकेको हिमालयले चाँडै अर्को एअर बस पनि थप्दैछ । नेपालको हवाई तथा पर्यटन क्षेत्र, प्रतिस्पर्धा, समस्या र चुनौतीबारे श्रेष्ठसँग नागरिक परिवारका लागि विश्मणि पोखरेलरुद्र खड्काले गरेको  कुराकानी ।

तपाईं लामो समयदेखि हवाई (आकाशको) व्यापारमा हुनुहुन्छ, कस्तो छ अवस्था ?
हवाईं व्यापारलाई दुई किसिमबाट हेर्नुपर्छ । पहिलो त यो व्यापार असीमित छ । जहाँ गए पनि हुन्छ । दोस्रो यो व्यापारको डाइमन्सन लामो, चौडा छ । हाम्रो कुरा गर्दा ढाका, साउदी अरेबिया, आबुधावी दोहा, कतार गइरहेका छौं  ।  त्यस्तै चीनमा जान खोजिरहेका छौं । चाँडै बेइजिङ, ल्हासा जाँदैछौं । कम्पनीलाई विस्तार गर्दैछौं ।

बजार कस्तो छ नि !
हामी जहाँ उडेका छौं । सबैतिर राम्रो मार्केट छ । यसका लागि पर्यटन बोर्ड, सम्बन्धित मुलुकमा रहेका र ती मुलुकका काठमाडौंस्थित राजदूतावाससँग मिलेर काम गर्दैछौं । हामी जहाँ गइरहेका छौं, जहाँ जान खोजिरहेका छौं । सबैतिर बजारको सम्भावना धेरै छ । रोजगारीका लागि गएका युवाको संख्या ठूलो छ । अहिलेसम्म उनीहरूलाई टार्जेट बनाएर काम गर्न सकेका छैनौं । त्यहाँको बजारलाई चिर्न सकेका छैनौं । अब त्यसमा लाग्नु पर्ने आवश्यकता छ ।
 त्यस्तै एयरलाइन्स कम्पनीले पनि धेरै तयारी गर्नुपर्ने हुन्छ । हवाई कम्पनी आफैंमा आन्तरिक तयारी धेरै गर्नुपर्ने क्षेत्र हो । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्यो भने धेरै सम्भावना छ । हवाई बजारको सम्भावना भने निकै छ । यतिखेर हिमालय एयरलाइन्सले यिनै अवधारणामा रहेर काम गरिरहेको छ ।

अन्य हवाई कम्पनीसँग प्रतिस्पर्धा गर्न कत्तिको गाह्रो छ ?
हिमालय एअरलाइन्स खुला अर्थतन्त्रमा विश्वास राखेर बजारमा प्रवेश गरेको हो । सुरुको बेलादेखि नै बजारमा प्रतिस्पर्धा छ भनेर सुरु गरिएको हो । हाल नेपालमा विभिन्न २८  एअरलाइन्स कम्पनीले हवाई उडान गरिरहेका छन् । ती सबैसँग हाम्रो प्रतिस्पर्धा हुन्छ । ती  सम्पूर्ण एअरलाइन्ससँग प्रतिस्पर्धा गर्ने आधार हामीसँग छन् । सुरक्षा, विश्वसनीय र  भरपर्दो सेवा तथा प्रतिस्पर्धी भाडा प्रतिस्पर्धा गर्ने आधार हुन् । नेपालबाट वर्षमा ४० लाखभन्दा बढीले विदेशमा हवाई यात्रा गर्छन् । जसमा ६० प्रतिशतभन्दा बढी नेपाली छन् । हामीले ती यात्रुलाई विचार गरेर सेवा दिने हो ।

नेपाल एयरलाइन्ससँग प्रतिस्पर्धा छ कि छैन नि ?
नेपाल एयरलाइन्स सम्पूर्ण नेपालीको साझा संस्था हो । यो पुरातात्विक हो भन्ने मलाई लाग्छ । ५०-६० वर्ष पुराना भइसकेको यो एयरलाइन्सलाई कसरी राम्रो गर्ने भन्ने सबैको चासो छ । हाम्रो प्रतिस्पर्धा नेपाल एअरलाइन्ससँग होइन । ऊसँग सहकार्य गर्ने हो । यात्रुलाई मर्का नपर्ने गरी नेपाल एअरलाइन्ससँग सहकार्य  गर्नुपर्छ भन्ने हाम्रो चाहना हुन्छ । सक्ने र मिल्ने ठाउँमा सहकार्य र बजारमा प्रतिस्पर्धा गर्नुपर्छ ।

हवाई उड्डयनको क्षेत्रमा सरकारी नीति कत्तिको सहयोगी  छ ?
सकारी निकायबाट सहयोग नभएको होइन । विभिन्न ठाउँमा सहयोग पाइरहेका छौं । तैपनि केही नीतिमा सरकारले ठूलो परिवर्तन गर्न जरुरी छ । केही सरकारी नीति र नियमका कारण विदेशी एअरलाइन्ससँग हामीलाई तुलनात्मक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको छ । जस्तोः हवाई इन्धनलाई लिऊँ । संसारभरि नै हवाई व्यापारमा इन्धन सबभन्दा महँगो हुन्छ । नेपालमा त्यो समस्या झनै चर्को छ । 

दिल्ली, मध्यपूर्व तथा खाडी मुलुकसँग तुलना गर्ने हो भने नेपालमा हवाई इन्धन सतप्रतिशत महँगो छ नेपालमा उडान गर्ने विदेशी जहाजले ती मुलुकमै इन्धन भर्छन् । हामीले अधिकांश इन्धन यहीँबाट बोकेर उड्नुपर्छ । यसले गर्दा स्वदेशी हवाई कम्पनीको सञ्चालन खर्च महँगो भइरहेको छ ।  अन्य विदेशी कम्पनीसँग तुलना गर्दा हाम्रो ५० प्रतिशतभन्दा खर्च इन्धनमै पुग्छ । त्यस्तै पाटपुर्जालगायतमा लाग्ने खर्च र कर पनि निकै महँगो छ । जहाज लिजमा लिँदा लाग्ने कर पनि बढी छ । अरु सम्पूर्ण उद्योगलाई उत्प्रेरक खेल्ने सरकारले हवाई उद्योगमा पनि त्यस्तै व्यवहार गर्नुपर्छ ।  

हवाई इन्धन महँगो हुनुको कारण के हो ?
हवाई इन्धनमा नेपाल आयल निगमले धेरै मार्जिन लिने गरेको छ । उसले झण्डै ४० प्रतिशत मार्जिन राख्ने गरेको छ । सरकारले यसमा सहयोगी भूमिका खेल्नुपर्छ ।
अलि फरक प्रसंगमा कुरा गरौं, अहिले देशमा राजनीतिक स्थायित्व छ । यसको प्रभाव हवाई क्षेत्रमा कस्तो परिरहेको छ ?
राजनीतिक स्थायित्वले हवाई क्षेत्रमा निकै प्रभाव पर्छ । जोखिम कम भएको क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउने हो । जोसुकै व्यक्तिले राजनीतिक स्थायित्व भएको ठाउँमा यात्रा गर्ने हुन् । योसँगै राजनीतिक स्थायित्वको साथमा आर्थिक वृद्धिदर पनि बढ्नु पर्छ । देशमा आर्थिक वृद्धिको अवस्था भने अझै देखिएको छैन । आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारको विकास हुनुपर्छ । विमानस्थल बन्नु पर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि केही राम्रो हुन्छ कि भन्ने ठान्छु म । राजनीतिक स्थायित्वले गौतमबुद्ध विमानस्थलको निर्माण द्रुतगतिमा हुन सघाइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय भन्दा पनि आन्तरिक विमानस्थल निर्माण गर्ने क्रम बढेको देखिन्छ, यो  कति आवश्यक छ ?
नेपालमा अझै पनि भावनामा बगेर विमानस्थल बनाउने चलन छ । आर्थिक अवस्थाको मूल्याङ्कन गरिँदैन ।  विमानस्थल भनेको पूर्वाधार हो । पूर्वाधार तयार गर्न लगानी गर्नुपर्ने हुन्छ । मेरो विचारमा आर्थिक नहुने ठाउँमा लगानी गर्नु हुँदैन । रहरले विमानस्थल बनाएर मात्र हुँदैन । त्यस्तो विमानस्थलबाट ठूलो समूहले फाइदा लिन सक्नुपर्छ । त्यस्तै भौगोलिक अवस्था र सुरक्षा पनि विमानस्थलका लागि महत्वपूर्ण कुरा हुन् । विमानस्थल बनाउने तर त्यहाँसम्म पुग्ने बाटो नहुने अवस्थाले गर्दा कैयौं विमानस्थलमा गरिएको लगानी खेर गइरहेको छ । नेपालमा क्षेत्रफलको हिसाबमा हेर्ने हो भने धेरै विमानस्थल नचाहिने हुन सक्छ । तर, भौगोलिक विकटता धेरै छ ।

युरोपियन युनियनले लामो समयदेखि नेपाललाई कालोसूचीमा राखेको छ, यसबारे के भन्नु हुन्छ ?  
यसबारे विभिन्न व्यक्तिका अनेक धारणा छन् । मेरो धारणा भने सुरक्षाको मामलामा कहिलै सम्झौता गर्नु हुँदैन भन्ने हो । त्यसैले हिमालय एअरलाइन्सले सुरक्षालाई सधैं पहिलो नम्बरमा प्राथमिकतामा साथ राख्ने गरेको छ । युरोपियन युनियनले कालो सूचीमा राख्नुको कारण पनि सुधारका लागि नै हो । छिमेकीले हामी बसेको घरको छतबाट धुँवा उडेको देख्यो भने त्यसबारे ख्याल गर्ने कुरा त घरधनीकै हो नि । यसलाई सकारात्मक रुपमा लिएर समस्याको सम्बोधन हुनुपर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको हवाई ट्राफिक कम गर्न के गर्नुपर्ला ?
आन्तरिक उडान र हेलिकोप्टरको सेवालाई अन्यत्र सार्न सकियो भने सहज हुन्छ । यसो गर्न सकियो भने एक घण्टाको यात्रा गर्न  दुई/तीन घण्टा विमानस्थल कुर्नुपर्ने समस्याको अन्त्य हुन्छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पनि केही सहज होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा कति अन्तर्राष्ट्रिय विमानस्थल चाहिएला ?
ठ्याक्कै यति चाहिन्छ भन्न गाह्रो छ । तैपनि समय अनुसार यो क्षेत्र पनि विकासका लागि परिपक्व हुँदै जानुपर्छ ।

नेपालमा पर्यटनको चर्चा त हुन्छ । चर्चा गरेअनुसार पर्यटन क्षेत्रबाट लाभ लिन सकिने सम्भावना कत्तिको छ ?
कुल गार्हस्थ उत्पादनमा बोकेको हिस्सा हेर्ने हो भने पर्यटन साह्रै ठूलो क्षेत्र होइन । तैपनि यो क्षेत्र महत्वपूर्ण छ  । मेरो बुझाइमा सम्भावना भएको तर जिडिपीमा योगदान गर्न नसकेको  क्षेत्र पर्यटन हो । सम्भावना भएकाले नेपालले पर्यटनमा लगानी गर्नुपर्छ भन्ने मेरो धारणा छ । हामी स्रोत धेरै भए पनि प्रयोगमा आउन सकेका छैनन् । पर्यटन क्षेत्र एउटा इकोसिस्टम हो । त्यसको विकासका लागि होलेस्टिक एप्रोच चाहिन्छ । राम्रो होटल बन्दैमा खुरुक्क मान्छे आएर बस्ने होइन । त्यसैले सम्पूर्ण क्षेत्रबाट पहल हुनुपर्छ । पछिल्लो समयमा निजी क्षेत्रले केही पहल पनि गरेको छ।

सरकारले अर्को वर्ष २० लाख पर्यटक भिœयाउने घोषणा गरेको छ । अहिलेको अवस्थामा कत्तिको सम्भव देख्नुहुन्छ?
मास टुरिजममा नगई सम्भव छैन ।

अन्त्यमा,  जनशक्तिको दृष्टिकोणले अन्तर्राष्ट्रिय हवाई कम्पनी सञ्चालन गर्न कत्तिको चुनौती छ ?
हामीले एयरलाइन्स सुरु गर्ने बेला एकजना नेपाली पाइलट÷कोपाइलट थिएनन् । इन्जिनियरको अवस्था त्यस्तै थियो । त्यो बेला ११ देशबाट जनशक्ति ल्याएर कम्पनी सुरु गरेका थियौं । अहिले तीन वर्षको अवधिमा हामीसँग काम गर्ने विदेशी सात देशमा झरेका छन् । कोपाइलट नेपाली नै तयार भएका छन् । पाइलट तयार हुँदैछन् । यो प्राविधिक विषय भएकाले विदेशी जनशक्तिमा भर परिरहेका छौं । विदेशीको संख्या घट्दै गए पनि हाम्रो कुल सवा तीन सय स्टाफमध्ये १० प्रतिशत हाराहारीमा विदेशी जनशक्ति नै छन् ।

फुर्सदको समय कसरी बित्छ ?
घरमा छोराछोरी, आमा, भान्जा र म छौं । छोरा र छोरीले पोखरामा सञ्चालन भइरहेको होटल रानीवन रिट्रिटको जिम्मा लिएका छन् । कार्यालय समयबाहेक हप्ताको पाँच दिन वाकिङ गर्छु । सहरभन्दा बाहिर गएर हाककिड गर्न मन लाग्छ । बेलाबेला जान्छु पनि ।

कार्यालय आउँदा बिहान सवा आठ बजेतिर घरबाट निस्कन्छु । साँझ साढे ५ बजे कार्यालयको काम सकेर ७ देखि ९ बजेको बीचमा घर पुग्छु । घरमा चाँडै पुगेको दिनमा किताब पढ्न मन लाग्छ । व्यवस्थापन, अर्थशास्त्र, साहित्य, हवाई सम्बन्धी पुस्तक पढ्न मन लाग्छ ।

 

प्रकाशित: २६ भाद्र २०७६ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App