९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

जनयुद्धकी निहारिका

सुरज उपाध्याय

तिम्रै निम्ति बरु यो ज्यान गएँ गइजाला,
तिमीसँग चोखो माया बस्यो जलजला।
साँझ परिसकेको थियो। मेरो छेउमै आएर बस्यो सुनिल। ‘सर यो गीत म पनि गाउँछु।’ उसले संगीत र नसाको तालमा सोध्यो, ‘सुन्नु हुन्छ ?’
म हाँसे मात्रै। केही भनिन।
‘बिहेमा हामी बुढाबुढी खुब नाचियो यो गीतमा। मलाई सारै मन पर्छ। साँच्चै चुनु दिदीलाई त मारेछन् है।’ सुनिल केही मातेको थियो। उसलाई आफू मातेको अन्दाज हुँदो हो। भन्यो, ‘सोरी सर मैले दुई घ्याम्पे हानिसकें। हजुरलाई गनायो कि ?’ मैले गीतको भोल्युम अलिकति घटाएँ।

भन्दै गयो, ‘आज नेताहरू धेरै धनी भए। कतिले महल बनाएँ। म भारी बोक्दै छु। चुनु दिदी जस्ताको बलिदान के भयो ? आज सरलाई धेरै कुरा सुनाउने धोको छ। सर एक गिलास लिन्छु है। हजुर पनि लिने भए लिनु। आज हजुरसँग पिउन मन लाग्यो। आजकल नपिउने को छ र ? धेरैथोरै मात्रै हो।’ अनि गीत गाउन सुरु ग¥यो, तिम्रै निम्ति बरु यो ज्यान गएँ गइजाला, तिमी सँग चोखो  माया बस्यो जलजला।

उसको कुरा सुनेपछि मलाई थाहा भयो ऊ पूर्व जनमुक्ति सेना हो। अहिले स्याङ्जामा ज्यालादारी गरेर बसेको छ। उसँग मेरो भेट युद्धकालमा कहिल्यै भएन। तर उसको हरेक बोलीमा सत्यता थियो। सोचे आज सुनिल सँगसँगै बसेर खानु प¥यो। कताकता नचिनेर पनि वर्षौपछि भेट भएको आत्मीय साथी जस्तो लाग्यो सुनिल। मैले भने, ‘हुन्छ नि आज सँगै खाने।’ ऊ निकै खुसी भएर गाउन थाल्यो–
हिम फुटे हिम नदी जनता जुटे जनलहर
औंसीको यो रात पनि हट्छ छिट्टै चिन्तै नगर।

यो गीतले मलाई रनाहामा पा-यो। टेबुलमा लोकल आइसकेको थियो। दायाँबायाँ केही नहेरी सनक्कै पारे। सुनिल झन् खुसी भयो। हास्यो ‘हिहि...। सरले पनि घ्याम्पे....! ओ साहुनी हाम्रो सरलाई थप्दिनु त एक गिलास।’ उसले एक चुस्की तानेर गीत नगाउने बतायो।
मैले भने ‘किन ?’

‘मलाई कमरेड निहारिकाले छोड्दै छोड्नु भएन। बेनी लडाइँ जिते पनि हामी छलिए छौ। मलाई होस् आउँदा कमरेड निहारिकाको काखमा थिएँ। म हिँड्न सक्ने अवस्थामा थिइनँ। मैले निहारिकालाई भने–कमरेड हजुर जानुस्। म त घाइते छु। भाग्ने उपाय कैन। साथीहरूलाई भनिदिनुस्। उत्तम मृत्युसँग लड्दै छ। बाँचे युद्धमोर्चामा फर्केर आउनेछ, आएन भने सहिदमा नाम लेखिदिनू।’

‘सरले फेरि घ्याम्पे लाउनुभयो भने।’ म जवाफविहीन भए। केही बोल्नै सकिन।
केही बेरपछि ऊ आफै बोल्यो, ‘सर यौटा कुरा सोधूँ ?’ हुन्छ भनें मैले।
‘हजुर पहिलाको माओवादी कि अहिलेको माओवादी ?’
‘म पहिले पत्रकारिता गर्थे।’ सोधें, ‘किन र ?’

‘पहिलाका माओवादी त सकिए। अहिले त नयाँ माओवादीले निकै गफ हाँक्छन्। केके न लडेरै आए जस्तो। म त तीन छक्क पर्छु। कहिलेकाही त ट्वाँ पर्छु। सुकिलामुकिला अहिलेका माओवादीका कुरा सुन्दा। गफ पनि कति लाउन सकेका। गफै लाएर राजनीति गरेका छन्। मेरो घरबेटी त झन् खत्रा गफाडी छ। बेनी  आक्रमणको यौटा समूहको कमान्डर नै मै हुँ भन्छ। अनि मलाई रिस उठ्छ। बेनी  आक्रमणमा त मै थिएँ। ती घरबेटीलाई त देखेको थिइनँ।’‘बेनी आक्रमणमा तिमी थियौ ?’ मैले कुरा खोतल्न चाहें।

‘मलाई गोली लागेको थियो। म मुच्र्छा परेर लडेछु।’ उसले सुनाउँदै गयो, ‘मलाई कमरेड निहारिकाले छोड्दै छोड्नु भएन। बेनी लडाइँ जिते पनि हामी छलिए छौ। मलाई होस आउँदा कमरेड निहारिकाको काखमा थिएँ। मिरमिरे उज्यालो हुन लागिसकेको रहेछ। हाम्रा साथीहरू डाँडा काटिसकेका थिए। म हिँड्न सक्ने अवस्थामा थिइनँ। मैले निहारिकालाई भने, ‘कमरेड हजुर जानुस्। म त घाइते छु। भाग्ने उपाय छैन। हजुर आफ्नो परिचय लुकाएर भाग्नुस्। साथीहरूलाई भनिदिनुस्। उत्तम मृत्युसँग लड्दै छ। बाँचे युद्धमोर्चामा फर्केर आउनेछ।  आएन भने सहिदमा नाम लेखिदिनू।’

सुरज उपाध्याय

‘सर पिउनु न। अघि घ्याम्पे लाउनु भाथ्यो। अहिले पिउनै छोड्नु भो। कि फेरि अर्को गीत गाउनु प-यो हिहि...।’ उसले विषय मोडेर भन्यो, ‘साँच्चि सर एउटा ओपेरा गाउँ है। त्यो ओपेरामा प्रचण्ड र बाबुराम धुरुधुरु रोएका छन्। हात्तीखोरमा हुँदा खुब हेरियो त्यो भिडियो।’

सोचे सुनिलसँग अर्को दिन पनि यसै गरी बस्नुपर्छ। एउटा इतिहास बोकेको मान्छे हो सुनिल। खुसिराम पाख्रीनको ओपेरा पनि सुनिलले गाउन सक्छ। आज स्याङ्जा बजारमा सामान्य ज्यालादारी गरेर बस्छ। उसको इतिहास कमैलाई थाहा छ। यस्ता इतिहास लुकेका योद्धाहरू कति होलान् ? यसको लेखाजोखा कसैसँग छैन।

‘सर अघि बेनी आक्रमणको कुरा गर्दै थिएँ।’ उसले आफ्नो कथा फेरि सुरु ग-यो, ‘मलाई निहारिकाले छोड्नै मान्नुभएन। उहाँले भन्नुभयो, ‘कमरेड उत्तम म यस्तो अवस्थामा हजुरलाई छोड्न सक्दिन। बाँचे दुवै बाचौला। मरे दुवैसँगै।’

निहारिकाको कुराले मेरो आँखा रसायो। हामी दुवै सँगै रोयौँ। उज्यालो भइसकेको थियो। बेनी बसपार्कको पछाडिपट्टिको पाखोमा हामी लुकेर बस्याैं। बजारमा मान्छेको भीड सुरु भयो। हेलिकप्टरले थप सुरक्षाकर्मीहरू ओसार्दै थियो। हामी के गर्ने कसो गर्ने अन्योलमा थियौं। दुवै जना कम्ब्याट ड्रेसमा थियौं। हतियार पनि साथमै थियो। हिजो मात्रैको भीषण आक्रमणले मान्छेहरू त्रसित थिए। पाखातिर कोही आउन सक्ने कुरा भएन। दिनभरि लुकेरै बस्यौं। खोल्साको सहारा लिएर। धन्न पानी थियो खोल्साको त्यै खाएर बाँच्यौं। हामीसँग १० पोका रम्बा चाउचाउ र १० पिस नेबिको कोकोनट बिस्कुट पनि थियो।

हामीलाई अर्को एक दिन पनि ढुक्कले बाँच्न सक्ने खाजा थियो। मेरो घाउको रगत पनि बग्न छोडेको थियो। हिँड्न भने म सक्दिनथे। दिनभर लुकेरै बस्यौं। पार्टी सम्पर्क गर्ने कुनै उपाय भएन। साँझ पर्न लाग्यो। झमक्क साँझ परेपछि निहारिकाले भुईंअमला खोज्न थाल्नुभयो। त्यो रात पनि पानी, भुईंअमला, चाउचाउ र बिस्कुट खाएर बितायौँ। भोलिपल्ट पनि कसरी भाग्ने भन्ने कुनै तरिका थिएन। रातभर दुखसुखका कुरा भए। निदाउन सकिएन। बिहानपख यसो आँखा लागेको के थियो। शाही सेनाको हेलिकप्टरको आवाजले बिउँझायो। कसरी बेनी छोड्ने ? हाम्रो उद्धार कसले गर्छ ? पूरै अन्योलमा थियौं। चैते गर्मीले हामीलाई बचाउन सहयोग गरेको थियो। बिस्तारै घाम चहकिलो हुँदै गयो। पानी र बिस्कुट खायौँ। मैले बेनी बजारतिर हेरे। चहलपहल बढिरहेको थियो।

‘निहारिका, तिमी मलाई साँच्चै माया गर्छौ ?’ अचानक निहारिकालाई तिमी भन्न पुगे। अहिलेसम्म निहारिकालाई तिमी भनेको थिइनँ। निहारिकाका आँखा रसाए। उनले भनिन्, ‘हो म तिमीलाई माया गर्छु। सुरुदेखि नै तिमीसँग एकतर्फी माया गर्थें, भन्न सकेकी थिइनँ। पार्टीको कार्वाहीमा परिने डरले गाह्रो भएको थियो। आज झन् गाढा भएको छ। म तिमीलाई जिन्दगीभर साथ दिने छु। पार्टी सम्पर्क भएपछि विवाहका लागि अनुरोध गरौं।’

पार्टी सम्पर्क कहिले हुन्छ। केही थाहा थिएन। यही पाखोमा अझै कति दिन बस्ने, के खाएर बाँच्ने र म कसरी निको हुने ? कुनै उपाय थिएन हामीसँग। एक अर्कोलाई हेरेर हामी बाँचेका थियौं। तेस्रो दिन उनले भनिन्, ‘उत्तम म ड्रेस फुकालेर माग्ने जस्तो बन्छु। भित्र लाएको कपडा पनि लाज छोप्ने नै छन्। बेनी बजार गएर आउँछु। कतै हाम्रो पक्षमा काम गर्ने मानवअधिकारकर्मी भेट हुन्छन् कि ?’ उनी सामान्य महिला जस्तो बनिन्। ‘तिमी मलाई पर्खेर बस्नु।’ मलाई पर्खन लगाएर उनी बजार झरिन्।

‘सर एक गिलास थपौं है। आँधीखोलाको माछा रैछ यहाँ। माछा पनि खाने कि सर। मेरो विगतले हजुरलाई झ्याउ लागेको त छैन नि।’ सुनिलले एकै सासमा भन्यो। मैले छैन भने। मलाई अझै सुन्न रहर थियो। ‘सुनाउन अझै।’ मैले भनें।

‘भन्छु सर, किन नभन्नु। बल्ल मैले पत्रकार भेटेको। अनि किन नभन्नु आज रातभरि भन्छु।’ लोकल सुरुप्प पार्दै उसले भन्न सुरु ग-यो।

‘म निहारिकाको प्रतीक्षा गरेर बसे। प्रतीक्षा गर्नुबाहेक उपाय पनि थिएन। घाउ अलि बढी नै दुखेको थियो। जति दुखे पनि सहनु थियो। पछि त दुखाइको बानी पर्दै आयो। उनको बाटो हेर्दै बसे। दिन बित्यो। साँझ पर्न लाग्यो। चराहरू चिरबिराउन थाले। त्यो पर्खाइमा चरा नै मेरा साथी बने। पर्खदापर्खदा म आत्तिसकेको थिए।  मनमा अनेक शंका उब्जिन थाले। कतै उनलाई दुश्मनले केरकार गर्न त लागेनन् ? अवस्था पनि त्यस्तै थियो। त्यस्तै बेलुकीको आठ बजेको थियो। उनी मेरा लागि प्याकिङ खाना लिएर आइन्। खुसीले मेरा आँखा रसाएँ। कहिलेकाहीँ खुसीमा पनि रुन मन लाग्दो रहेछ। म रोएँ। उनी पनि रोइन्। मेरो निधारमा चुम्दै भनिन्, ‘हरेस खानु हुन्न कमरेड। भोलिसम्म हाम्रो उद्धार हुनसक्छ। मैले बजारमै खाएँ। तिमी पनि खाऊ। पार्टीमा पनि खबर पु-याइदिन्छु भनेका छन्। सम्भव भएसम्म भोलि तिमीलाई पोखरा लैजाने कुरा छ। अवस्था हाम्रो हातमा छैन। पर्सि पनि हुन सक्छ। धैर्य गर्न भनेका छन्। हामीले प्रतिकूलतलाई अनुकूलतामा ल्याउन धैर्य गर्नुपर्छ।’

उनको कुरामा सहमति जनाउनुबाहेक अरू विकल्प पनि थिएन मसँग। रातभर गफ गरेर समय कट्यो। बिहान उज्यालो भइसकेको थिएन। हामी बसेको ठाउँमा दुई जना अपरिचित आए। आउँदाआउँदै बाटैबाट अभिवादन गरे। केही शंका भएन। स्टेचर लिएर आएका थिए। रेडक्रसको ड्रेस लाएका थिए। आउनेबित्तिकै उनीहरूले भने तल भ्यान रेडी छ हिँडिहालौं। अँध्यारोमै बेनी बजार पार गर्नुपर्छ। हामीले हजुरलाई सुरक्षित तरिकाले पोखरा फेवासिटी पु¥याउनु छ। जनयुद्धताका हरेक क्षेत्रमा हामीलाई सहयोग गर्ने शुभचिन्तक थिए। रेडक्रसमा पनि रहेछन्। मलाई स्टेचरमा बोकेर उनीहरू कुदिहाले। बोक्न उनले पनि सहयोग गरिन्। बेलुकी चार बजे मलाई पोखरा फेवासिटी हस्पिटल ल्याइपु¥याइयो। मेरो खुट्टामा लागेको गोलीको खोका निकालियो। ढाडमा पनि छिर्का लागेको थियो। घाउ पनि सफा गरियो।’ गिलासमा रहेको अलिकति लोकल सुरुप्प पार्दै सुनिलले भन्यो, ‘त्यसरी म बाँचे सर।’

‘उपचारपछि मलाई र निहारिकालाई फेवाताल माथिको यौटा गाउँमा राखियो। कम्युनिस्टका पुराना नेताको घर भन्थे। एमालेमा राम्रै पहुँच भएका नेता रहेछन्। उनको घरमा सेना पनि आउँदो रहेनछ। भित्रभित्र हाम्रो पार्टीलाई सहयोग गरेका रहेछन्। मेरो राम्रै हेरचाह भयो त्यहाँ। सानिमाकी नातिनी बनेर निहारिका पनि त्यहीँ घरमा बसिन्। घरको सबै काममा सघाएर। गाउँमा कसैले थाहा पनि पाएनन्। दस दिनपछि तिनै नेताले मलाई फेवासिटी लगेर मेरो रिचेक गराए। मेरो घाउ निको भइसकेको थियो। मलाई सामान्य काम गर्न भनियो। निहारिकालाई पाल्पा खटाइयो। मलाई पोखराबाटै निस्कने एउटा साप्ताहिक पत्रिकाको वितरकको जिम्मा दिइयो। त्यो पत्रिका अहिले बन्द भएछ। ‘स्वाभिमान साप्ताहिक’ हो क्यारे नाम। जनादेश पनि आउँथ्यो कहिलेकाही।’

उसका कुराले मलाई मेरा पत्रकारिताका दिन सम्झाइदिए। उसले भनिरहेको थियो, ‘राजु क्षेत्रीलाई हजुरले चिन्नु हुन्छ ? उहाँ मर्नु भयो कि बाँच्नु भयो ? केही थाहा छैन। राजु दाइले चाहिँ मलाई माया गर्नुहुन्थ्यो। अचेल त भेटे पनि चिन्दिन होला।’

राजु क्षेत्रीको नाम लिएपछि मैले केही भन्न सकिन। पिउँदापिउँदै आधा गिलास बाँकी थियो। एकै चोटिमा सुरुप्प पिएँ। ऊ फेरि हाँस्यो ‘हिहि, सर घ्याम्पे। अब लास्ट गिलास है सर।’ उसले किचनतिर फर्केर भन्यो, ‘ओ साहुनी फेरि हाम्रो सरलाई एक गिलास थप्दिनु।’
‘निहारिकासँग भेट भयो कि भएन ?’ मैले सोधें।

‘भेट मात्रै। बिहे नै भयो नि।’ उसले बडो उत्साहका साथ भन्यो, ‘अब उनी जुना हुन् सर। हाम्रो दुईटा बच्चा छन्। स्कुल पढ्छन्। उनले पनि सहकारीमा सरसफाइको काम गर्छिन्। उनको र मेरो जनवादी विवाह मात्रै होइन अन्तरजातीय विवाह पनि हो। वर्गीय प्रेमले हामीलाई भुलाएको छ। उनकै पहलमा पार्टी विवाह भयो। हाम्रो विवाह पाल्पामा भएको थियो। विवाहमा ठूलो सांगीतिक कार्यक्रम भएको थियो। सांस्कृतिक विभागका माइला लामा पनि उपस्थित थिए। अचेल माइला लामा कहाँ छन् सर ?’

उसले माइला लामालाई पनि चिनेको रहेछ। मलाई उसको राजनीतिक चेतकाबारे जान्न मन लाग्यो। सोधें, ‘अहिले त माओवादी पनि चिराचिरा छन्। कि अब फेरि जनसेनामा भर्ती हुने हो ? अब भर्ना खुल्दै छ रे ?’

‘होइन अब हतियार बोक्दिन सर।’ उसले गर्वसाथ जवाफ दियो, ‘नयाँ क्रान्तिलाई पूरै समर्थन छ। नेतृत्वले धोका दिँदैमा क्रान्ति सकिँदैन। क्रान्ति निरन्तर चलिरहन्छ। जबसम्म शोषण रहन्छ।’

उसले हात्तीखोरको कुरा त बीचमै छाडेको थियो। मलाई फेरि कोट्याउन मन लाग्यो, ‘सेना समायोजनमा जान मन लागेन।’

‘लागेन सर।’ निसंकोच भएर भन्यो, ‘हामी दुवै जना चेक लिएर स्वेच्छिक अवकाशमा निस्कियौँ। अहिले मजदुरी गरेर बसेका छौं। शाही सेनासँग नै युद्ध लडियो। फेरि आत्मसमर्पण गर्न मन लागेन। समायोजन मलाई आत्मसमर्पण जस्तो लाग्यो। माओवादी सकिएको पनि त्यहीँबाट हो नि।’
मैले सोधे, ‘अनि घरमा किन बन्देज भयो त ?’

‘दलित विवाह ग-यो भनेर सर। आफै भन्नु त सर उनले मलाई नबचाएको भए म बाँच्थे त। हाम्रो प्रेम दरो छ। मलाई घरको बालै मतलब छैन। जसले बँचायो उसलाई म धोका दिन सक्दिन। आखिर प्रेम भनेको यही रहेछ। जुना मेरी जीवन दाता हुन्। म उनलाई माया र सम्मान दुवै गर्छु।’

अँध्यारो कालो हुँदै आयो। हेलुबजार सुनसान भइसकेको थियो। आँधीखोला कराएको आवाज एकोहोरो आएको थियो। सँगै खाना खाएर कोठामा उक्लियौं।

मेरो निद हराएको थियो। उसको कुराले अतीततिर धकेलिएको थिएँ। चैतको आठ गते हो बेनी आक्रमण भएको। अझै पनि बेनी आक्रमणको चर्चा चल्ने गर्छ। जनसेनाले ऐतिहासिक सफलता हासिल गरेको थियो त्यो दिन। त्यही जनयुद्धका डोबहरू आज मसिनो गरेर यसरी छरिएका छन्, देशैभरि।

‘एक दिन उनले मलाई भनेकी थिइन्, हाम्रो कथा कसले लेख्ला ?’ मुख छोपेको सिरक हटाएर सुनिलले सोध्यो, ‘हाम्रो कथा कहिले छापिन्छ सर ? के मैले यो कथा जुनालाई देखाउन पाउँछु ?’
म नाजवाफ भएँ। केही छिनमा सुनिल घुर्न थाल्यो।

प्रकाशित: २१ भाद्र २०७६ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App