१६ चैत्र २०८० शुक्रबार
अन्य

आठ वर्षमा पनि बनेन पार्क

राजधानीको गोकर्णेश्वर नगरपालिकामा अलपत्र परेको सहिद पार्क। तस्बिर ः श्याम राई

श्याम राई
बगैँचामा हरियो झार पलाएको छ। वरपरको पैदलमार्ग भत्किएको छ। संग्रहालय भवन जीर्ण छन्। भ्युटावर बनाउन फलाम ठड्याएर छाडिएको छ। यो दृश्य हो, गोकर्णेश्वर नगरपालिका–४, यज्ञडोल डाँडामा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्कको। २०६८ सालमा निर्माण सुरु गरिएको पार्क अलपत्र अवस्थामा छ। पार्कलाई स्थानीयले शौचालयका रूपमा प्रयोग गर्न थालेका छन्। तर, आठ वर्ष बित्दा पनि पार्क निर्माणले गति लिन सकेको छैन। पार्क निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी समेत अहिले सम्पर्कमा नरहेको सरोकारवाला बताउँछन्।

गोकर्णेश्वर नगरपालिका वडा ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले ठेकेदार बेपत्ता भएकाले पार्क निर्माण हुन नसकेको बताए। ‘ठेकेदारको लापरवाहीले पार्क निर्माण हुन सकेको छैन,’ उनले भने, ‘ठेकेदार नै सम्पर्कविहीन छन्। शान्ति मन्त्रालय खारेज भएकाले  सहरी मन्त्रालयले यो पार्क हेर्ने गरेको छ। हामीले केही गर्न मिल्दैन। सहरी मन्त्रालयले ठेकेदारलाई कारबाही गर्नुपर्छ। निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउन पहल गर्दे आएका छौँ। यसमा छलफल गरिरहेका छौं।’

२०६८ सालमा निर्माण सुरु गरिएको पार्क अलपत्र अवस्थामा छ। पार्कलाई स्थानीयले शौचालयका रूपमा प्रयोग गर्न थालेका छन्।

उनले वडा कार्यालयको मातहतबाट गर्न सकिने सबै काम गरिरहेको बताउँछन्। उनले भने, ‘नयाँ टेन्डर गर्न भौतिक पूर्वाधार मन्त्रालयले नयाँ पदाधिकारी पठाएको छैन। यसले पनि टेन्डर प्रक्रियामा लान सकिएको छैन। ’पार्क शिलान्यास भएपछि निर्माणका लागि ४६ करोड ७१ लख रूपैयाँमा सुनौला खिम्ती जेभी, बोखिम कन्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य÷आ.बि÷जनपथ÷जे.भि, चक्रेश्वरी÷सूर्यजीवन जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। यो परियोजनाको सबै निर्माण २०७२ चैत मसान्तसम्ममा सक्ने गरी काम थालिएको थियो। यसमा ४ प्याकेज अनुसार काम छुट्याएको छ। काम नभएपछि यसलाई निर्माण अवधि लम्ब्याएर २०७७ सालसम्ममा पूरा गर्ने लक्ष्य तय गरिएको छ। तर, काम सक्ने कुनै छाटकाट भने देखिँदैन।

सामुदायिक वन एवम् राष्ट्रिय सहिद पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले ठेकेदार कम्पनीको लापरवाहीले पार्क निर्माण रोकिएको बताए। ‘ठेकेदारले पार्कको काम गर्दागर्दै अहिले अलपत्र छोडेको छ। व्यवसायी सम्पर्कमा नै छैनन्,’ उनले भने, ‘ठेकेदारलाई सम्पर्कमा ल्याएर कारबाही गराउने पहल भइरहेको छ। दुई निर्माण व्यवसायी सम्पर्कमा आएको सुनेको छु।’

उनका अनुसार शान्ति तथा पुनर्निर्माण मन्त्रालयको कार्यविभाजन खारेज भएपछि उक्त परियोजना अहिले सहरीविकास मन्त्रालयमा आएकोले सबै काम र निर्माण व्यावसायीलाई कारबाही गर्ने जिम्मा सोही मन्त्रालयमा हुन्छ। बाँकी काम सकाउनको लागि नयाँ टेन्डरको प्रक्रिया पनि सहरी विकास मन्त्रालयले गर्नुपर्ने हुन्छ। उनले भने, ‘एक वर्षमा काम सक्ने गरी नयाँ टेन्डर गरिन्छ। यस वर्ष नीतिगत सबै काम बन्छ। छिट्टै टेन्डर प्रक्रियामा जान्छ।’

लक्ष्य भित्रमा काम सम्पन्न गर्न निरन्तर पहल गरिरहेको उनले बताए। सिग्देलका अनुसार अहिलेसम्म पार्क निर्माणमा २७ करोड खर्च भइसकेको छ। यसमा तीन किलोमिटर पार्कको कम्पाउन्ड हालिसकेको छ। त्यस्तैगरी वरिपरिबाट बाटो खोल्ने काम ७० प्रतिशत, भित्री बाटोको कालो पत्रे ९० प्रतिशत काम सम्पन्न भएको छ। वित्तीय प्रगति विवरण ५८ प्रतिशत छ भने ७० प्रतिशत भौतिक संरचनाको प्रगति विवरण रहेको छ। दोस्रो जनआन्दोलनको अभिलेख राख्न, सहिदलाई श्रद्धा व्यक्त गर्न, सहिद भएका निजामती कर्मचारी, दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश फैलाउनलाई उक्त पार्कको निर्माण थालिएको उनले बताए।

सहिदको नाममा पार्क संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, रेस्टुरेन्ट, मूर्तिस्थल, पिकनिक क्षत्रे, चैत्य, सार्वजनिक शौचालय, शान्तिस्तुप बगैँचा बनाउने योजना छ। अहिले पार्कको प्रवेश शुल्क १० रूपैयाँ तोकिएको छ। पार्क बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुला हुन्छ। पिकनिक जाने, सवारीसाधन पार्किङ गर्नेले छुट्टै शुल्क तिर्नुपर्छ।  

प्रकाशित: १४ भाद्र २०७६ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App