७ वैशाख २०८१ शुक्रबार
अन्य

बसपार्क अस्तव्यस्त हुँदा यात्रुलाई सास्ती

राजधानीको खुलामञ्चस्थित बसपार्क परिसरमा रहेको फोहोरको डंगुर ।

आशिष पुडासैनी
जताततै फोहोर र खाल्डाखुल्डी । मनपरी रूपमा पार्किङ गरिएका गाडी । यो दृश्य हो, राजधानीको खुलामञ्चमा राखिएको बसपार्कको । यसले बसपार्क अस्तव्यस्त रहेको देखाएको छ ।

सवारीसाधनको बढ्दो चाप र सरोकारवाला निकायले बेवास्ताले बसपार्क अस्तव्यस्त बनेको हो । जसका कारण यात्रुले सास्ती खेप्नुपरेको यात्रुको गुनासो छ । बसपार्कमा कार्यरत कर्मचारी निरञ्जन कार्कीले अहिलेसम्म बसपार्क सडक मर्मत नहुँदा यात्रुहरूलाई समस्या भएको बताए । उनी बसपार्कका सवारी कर उठाउने कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्र्डस प्रालिमार्फत् सवारी साधनको कर उठाउँछन् ।

‘पुरानो बसपार्क सबै खाल्डाखुल्डीमा परिणत भएको छ,’ उनले भने, ‘फलस्वरूप यात्रुलाई धेरै असहजता भएको छ । मर्मतमा महानगरले प्रभावकारी कदम चालेको छैन । बसपार्क व्यवस्थापनमा कम्पनीबाट पनि केही कमी–कमजोरी भएको छ । फोहर व्यवस्थापनमा पनि महानगरले चासो लिएको छैन ।’
खाल्डाखुल्डीकै कारण उड्ने घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हुने हिलो हुने गरेको छ । गन्तव्यका लागि सवारीसाधन पर्खिरहने यात्रुहरूमा दुर्घटनाको जोखिम बढाएको छ ।

बसपार्क परिसरमा फोहरमैलाको डंगुर छन् । तर, व्यवस्थापनमा महानगरपालिकाले कुनै चासो देखाएको छैन । करिव तीन वर्षपहिले रत्नपार्कबाट हालको स्थानमा सारिएको बसपार्कको समय अनुरूप मर्मतसम्भार नगरिँदा जोखिमपूर्ण बनेको हो ।

बसपार्क जीर्ण र जोखिमपूर्ण अवस्थामा रहँदा पनि जिम्मेवार निकायले मर्मतसम्भारतर्फ कुनै चासो देखाएका छैनन् । बसपार्क मर्मतमा काठमाडौं महानगरपालिका चासो देखाएको छैन ।

उक्त बसपार्क वडा नम्बर २८ मा पर्छ । काठमाडौं महानरपालिका–२८ का वडाअध्यक्ष भाइराम खड्गीले बसपार्कको मर्मत र व्यवस्थापनको काम महानगरको भए पनि आफ्नो वडाले जनगुनासो सुनेर दैनिक दुई–तीन जनालाई बसपार्क सरसफाइमा खटाउने गरेको जानकारी दिए । उनका अनुसार वडाले महानगरसँग बसपार्क क्षेत्रमा पानी, टेलिफोन र प्राथमिक उपचार बक्स राख्नका लागी सहकार्यको प्रस्ताव राखेता पनि महानगरबाट कुनै प्रतिक्रिया नआएको उनी बताउँछन् । ‘हामीले महानगरलाई बसपार्क क्षेत्रमा निःशुल्क पानी, टेलिफोन र प्राथमिक उपचार बक्सको लागी सहकार्यको प्रस्ताव गरे पनि उताबाट केही प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘धुलो र हिलोे असाध्यै छ । जसले यात्रुको स्वास्थ्यमा असर गर्ने देखिन्छ । खाल्डाखुल्डीले उत्तिकै जोखिम बढाएको छ । यसमा महानगर गम्भीर हुन जरुरी छ ।’
बसपार्क मर्मतका लागि वडाले पहल र सहयोग गर्दै आएको उनले बताए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले यस वर्ष बसपार्कको मर्मतसम्भार गर्ने बताउँछन् । ‘महानगरले यस आर्थिक वर्षमा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रहेर बसपार्क मर्मत गर्दैछ,’ उनले भने, ‘यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेकाले दसैंलगत्तै बसपार्क कालोपत्रे सुरु हुन्छ।’
बसपार्क अस्थायी रहेकाले पनि महानगरले दिगो रहने कदम नचालेको उनले प्रष्ट्याए । बसपार्कमा दैनिक रूपमा फोहोरमैला व्यवस्थापन गरेको उनले सुनाए । उनले भने, ‘हामीले दैनिक सरसफाइ गरिरहेका छांै । तर पनि फोहोर व्यवस्थापन नभएको रहेछ भने हामी त्यसलाई व्यवस्थित गर्छौ ।’ महानगरपालिकाले सवारी कर उठाउने र बसपार्कलाई व्यवस्थित बनाउने जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिलाई दिइएको उनको भनाई छ । तर, पनि उक्त ठेकेदार कम्पनीले प्रभावकारी काम नगरेको उनको भनाइ छ ।–प्रशिक्षार्थी

प्रकाशित: १४ भाद्र २०७६ ०८:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App