२५ श्रावण २०७७ आइतबार
अन्य

खोकनाको जोगाएर फास्ट ट्रयाकको रेखांकन

प्राचीन बस्ती खोकना महŒवकांक्षी योजना फास्ट ट्रयाकको चेपुवामा नपर्ने भएको छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएपछि स्थानीयले विरोध गर्दै आएका थिए। खोकनाको मौलिकता नमास्न नेपाली सेनाले डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा फास्ट ट्रयाकको रेखांकन परिवर्तन गरेको छ। योजना अनुसार ७२.५ किलोमिटर लामो सडकको प्रस्थान विन्दु खोकनामा पर्नेछ। फास्ट ट्रयाकको अन्तिम विन्दु निजगढ रहनेछ।

पहाडी क्षेत्रमा सडकको चौडाई २५ मिटर र समथर क्षेत्रमा २७ मिटर छ। यसअघि ७६.२ किमी प्रस्ताव गरिएको थियो। फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण यो बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने देखिएपछि स्थानीयले विरोध जनाएका थिए।
फास्ट ट्रयाककै कारण खोकनाको धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिखली जात्रा हुने स्थल कुदेश, १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा भत्कने देखिएको छ। सम्पदाको मर्म ख्याल गर्दै सेनालले सरोकारवाला निकायसँग छलफल गर्दै सम्पदा छलेर नयाँ नक्सांकन गरेको हो। फास्ट ट्रयाकको रूट परिवर्तन भएपछि यी सम्पदा बच्ने सेनाले जनाएको छ।

नेपाली सेनाले काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको लागत १ खर्ब ७५  अर्ब रूपैयाँ लाग्ने बताएको छ। अघिल्लो नक्साअनुसार खोकनालाई फास्ट ट्रयाकको निशाना बनाइएको थियो। धार्मिक एवम् सांस्कृतिक महŒव बोकेको खोकनाको सिकाली मन्दिर साथै कोदेश क्षेत्र संरक्षण गर्ने गरी द्रुतमार्गको रेखांकन परिवर्तन गरिएको छ। सेनाले महादेवटारदेखी लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरूसहित रेखांकन परिवर्तन गरेको छ।

विकास नै संस्कृति संरक्षणको बाधाको रूपमा देखापरेकाले आफूहरूले यसको विरोध गरेको स्थानीय सरोज महर्जनले बताए। मुआब्जा मात्रै दिएर बस्ती भत्काउन खोजेपछि विरोध गरेको उनको भनाइ छ। ‘पैसाले किन्नै नसक्ने देशको कला संस्कृतिलाई उचो राख्ने बस्तीमध्ये खोकना पनि छ,’ उनले भने, ‘ठूला योजनाको चेपुवामा यसलाई पारिएको थियो, बल्ल केही सम्पदा जोगिने भएका छन्।’

यसअघि आइइ र इआइए रिर्पोटविपरीत खोकनामा फास्ट ट्रयाक सडकको रुट पारिएको थियो। जसका कारण सिकाली (शिखली) जात्रा हुने कुदेश (बस्तीको तल्लो भाग) मिचिने भएपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए।

करिब १७ सय वर्षपहिले सुरु भएको यो जात्रा हुने स्थान फास्ट ट्रयाकले भत्काउन नहुने अर्का स्थानीय अशोक महजर्नको भनाइ छ। उनका अनुसार त्यही ठाउँमा १५ दिनअघि १३ सय वर्षअघिको इनार पनि फेला परेको छ। यसलाई पनि जोगाउन स्थानीयवासीले पहल गरेका छन्। करिब ६ महिनाअघि पुरातत्व विभागका प्रतिनिधि, स्थानीय, रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिविद् लगायतका व्यक्ति त्यस क्षेत्रमा पुगेर सम्पदा र ऐतिहासिक वस्तुको अवलोकन गरेका थिए।

यसअघि सेनाले स्थानीयलाई प्रतिआना डेढ लाख मुआब्जा दिएर सेवा सडक निर्माण गरिरहेको छ। खोकनानजिकै फर्सिडोलमा अहिले फास्ट ट्रयाक निर्माण चलिरहेको छ। संस्कृति संरक्षणमा काम गर्दै आएको नेपा भ्याली संस्थाका संयोजक सुरज महर्जनले सडक विभागले स्थानीयलाई डेढ लाख मुआब्जा दिएर फास्ट ट्रयाक खन्न लागेको बताए। उनले त्यो मुआब्जा पनि निकै कम भएको बताए। ‘स्थानीयलाई धक्का परेको त छ नै। संस्कृति भत्काउन पाइन्न भनेर हामी सडकमा उत्रिएका थियौं, बल्ल सुनुवाई भएको छ,’ उनले भने।

खोकना क्षेत्रमा धर्माकरको मूर्ति छ। शिव लिंगरूपी ढुंगाको मूर्ति छ। ललितपुर महानगरपालिका–२१ का वडाअध्यक्ष रवीन्द्र महर्जनले फास्ट ट्रयाकको समस्या हल हुन लागेको बताए। उनले यसलाई मिलाएर अघि बढ्ने निर्णय भएको जानकारी दिए। ‘खोकनावासी यसमा निकै चिन्तित थिए, माथिल्लो निकायसँग कुराकानी गरेर खोकनाको साख जोगाउन सफल भएका छौं,’ उनले भने।

प्रकाशित: १४ भाद्र २०७६ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App