२० श्रावण २०७७ मंगलबार
अन्य

तीन कविता

दीपक शम्चू

आत्महत्या

मुलायम घामको खोजी गर्ने सुरमा थिएँ
एकजोर गौंथली भुर्रर–भुर्रर उड्दै आएर
मेरो घरको दलीनमा बसे।

तिनीहरू
बगैंचामा गएर लुकामारी खेल्थे
कौसीमा बसेर गीत गुनगुनाउथे
छिनमै प्रेमलाप गर्दै रमाउँथे
छिनमै झै–झगडा गर्दै कराउँथे।

म ढुकुटी उघाएर आँगनमा फालिदिन्थेँ।
छाडेर फूलका थुँगा नाच्दै भोक साट्थें।

तिनीहरूले संसार चहारेर
भरोसाका डल्लाहरू चुच्चोमा च्यापी ल्याए
खजमजिएको भावना कुँदेर
सुरक्षित गुँड बनाइ फूल पारे
र रातदिन ओथार्न थाले।

आगो निभेको चुल्होमा न्यानो पसेझैं
उदास अनुहारलाई सुनौलो बिहानीले छोपेझैं
लाग्न थाल्यो मैले खोजेको उज्यालो भेट्टाएँ।
हाम्रो काव्यिक यात्राको सुरुवात भयो।
जब उनीहरूको सम्बन्ध बिग्रन्थ्यो
कविताका हाँगाहरू भाँचिन्थे
जब आपसमा मन मिल्थ्यो
लटरम्मै बिम्ब र प्रतीकहरू फल्थे।

उनीहरू शब्द बर्साउँथे
म सपनाको बिस्कुन फिजाउँथेँ।
अचानक खै ! कसले हो कुन्नि ?
गौँथलीको गुँडमा सल्काइदिएछ आगो
अनि मेरो कविताले आत्महत्या ग-यो।

आगाको झिल्को

फक्रनै लागेको वैंशलाई खरानी फूलले छोपेर
ओभानो अगेनोभित्र चुपचाप लुकिरहेको छ
आगाको झिल्को।
त्यो शान्त आगोको सागरमा
प्यास मेटेर कहिल्यै नसकिने तिर्खा हुनसक्छ
पूरा गरेर सपना कहिल्यै नरित्तिने रहर हुनसक्छ
सायद ! सबैलाई हुँदो हो
यौवनसँग खेलेर आगोजस्तै बल्ने रहर।

होस् छुपाएको झिल्को, जस्तो छ त्यस्तै छोडिदेऊ
नछोएरै आनन्दमा रमाऊ
टाढै बसेर नदेखेझैं गरी आफैंभित्र हराऊ।
छिसिक्क छुनमात्र खोज्यौ भने झिल्को
बिच्किएर एकाग्रता छरपष्टै पोखिन सक्छ
झुक्किएर फालिहाल्यौ भने एकझोक्का सास
डढेलोजसरी जताततै सल्किन सक्छ।

जसरी लुकिरहेको छ आगाको झिल्को
त्यसैगरी शान्तले नचलमलाई बस्नु
रोकेर सास, होसियारीका साथ फेर्नु
नसामा अनियन्त्रित कुदिरहेको रगतलाई
बेवास्ताझैं गरी छोडिदिनु।

बरु,
धागो बाटेर सपनालाई रहरको कुरुसले बुनिरहनू
अडेसा लगाएर क्षितिजलाई ताराहरू कुरिरहनू।

खर्लप्प निलेर अँध्यारो
कुनै दिन आइपुग्ने छ
तिमीसामु आगाको झिल्को।

बालमैत्री विद्यालय !
पुतलीझैँ सजिएर
पंक्तिवद्ध लाइनमा
सतर्क उभिरहेकी कोपिलाले
मेरो आँखामा आँखा रोपेर
अँजुली फैलाउँदै भनी
‘आई ह्याभ्’वन्ट ह्याङ्की सर, हिट मी’

मेटिएकै थिएनन्
डोरिँदै–डोरिँदै आएर
उसको हातबाट छुटि–फर्केका
स्नेही औलाका छापहरू।
अनायस उठेको मेरो हत्केलाबाट
भक्लक्क लडिझ-यो
छातिभित्र ढुकढुक ढुकढुक उफ्रिरहेको मुटु।

बाहिर निस्केपछि,
सडक किनारबाट
उड्नलाई तयारी अवस्थामा रहेको
जेटविमानझैँ ठूलो होडिङ बोर्डमा
अचानक खसेँ मेरा आँखा
जहाँ लेखिएको थियो
‘यहाँ बालमैत्री वातावरणमा पढाइ हुन्छ।’

प्रकाशित: ७ भाद्र २०७६ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App