१५ आश्विन २०७७ बिहीबार
अन्य

दुई लघुकथा

देवकी के.सी.

भुल
धनप्रसाद आफ्नो नामको विपरीत गरिबीको भुमरीमा फसेको थियो। पाखो बारी जति खनिखोस्री गरे पनि परिवारको हातमुख जोड्न सधैं मुस्किल पर्ने धनप्रसादलाई भने नजिकिँदै गरेको चुनावले खुसी दिएको थियो। खुसी यस अर्थमा कि चुनाव जितेपछि नोकरी लगाइदिउँला भनेर नेताजीले उसलाई निकै प्रयोग गरेका थिए।

अभावको पीडा भोग्न बाध्य धनप्रसादले चुनावमा नेताजीलाई निकै सहयोग पु-यायो। त्यसबापत उसलाई टन्न मासुभात खान र परिवार पाल्न अलिअलि नोट पनि मिलेको थियो। भोक र नोटको अघिल्तिर धनप्रसादको परिवार पनि विवश थियो भोट बेच्न। भोकमरीलाई धपाउन सकिने चुनाव भन्ने चाड सधैं आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो उसलाई।

नेताजीले चुनाव जितेपछि धनप्रसादले एउटा सरकारी कार्यालयमा झाडु लगाउने नोकरी पनि पायो। नोकरीसँग ऊ यति खुसी थियो कि उसले कार्यालयका भुइँ, टेवल, कोठा शौचालय सधैं टिलिक्क टल्काउँथ्यो। सायद त्यतिको सफा त उसले आफनो शरीर पनि गरेको थिएन होला !

राजनीति र समुन्द्रको छालको भर नहुँदो रैछ क्यारे कुनबेला उर्लने र सेलाउने भन्ने कुरा। नेताजीको पार्टीसँग के खटपट प-यो कुन्नि, त्यसपछि त अर्को शक्तिशाली पार्टीका नेताले आफ्नो मान्छेलाई धनप्रसादको ठाउँमा नोकरीमा नियुक्ति गरिहाले। विचरा धनप्रसादले राजनीतिको रङलाई कसरी चिन्नु ?

हिजो छोरो जन्माएर अपहेलनाको पात्र हुनबाट बचेकी पुण्यमती आज त्यही हुर्केपछि फेरि अपहेलनाको सिकार बनेकी छन्।

नोकरीबाट हटाइएकै दिन ऊ फेरि त्यही गरिबीको रापमा पिल्सिएको धनप्रसाद भएर फर्कदै गर्दा उसले बाटोमा खडेरीले खाएर सुकेका मकै र धानका बोट देख्यो। त्यसपछि उसले आफैसँग मनमनै भन्यो, ‘मनसुनको खेती र भनसुनको नोकरीसँग भरोसा गर्नु भनेको ठूलो भूल रहेछ।’  

अपहेलना
पाँचवटी छोरी लगातार जन्माउँदा पुण्यमतिले घरपरिवारबाट मात्र होइन, समाजबाट समेत खेप्नु परेका अपहेलना कति हो कति, अहिले सम्झिँदा कहाली लागेर आउँछ। सन्तुलित आहार त के खोले पनि पेटभरि खान नपाउँदा पुण्यमतिका शरीर बैंसमा पनि सुकेका रुखजस्ता भएका थिए।

छोरी मात्र जन्माउँदा घरबाट निकाल्नेदेखि सौता हाल्ने समेत प्रयास नभएका होइनन् पुण्यमतिमाथि। छोरो नजन्माएकै कारण पुण्यमतिको घरवार चुँडिने अवस्थामा पुगेको थियो। ‘छोरो जन्मियोस् समाजको अपहेलनाबाट मुक्त हुन्थे म, मेरो घरबार राम्रो बस्थ्यो’ भनेर पुण्यमतिले आँसुको धारा बगाउँदै भगवान्सँग प्रार्थना गरेकी थिइन्।

छैठौ सन्तानका रूपमा पुण्यमतिले छोरो जन्माएपछि मात्र उनमाथि अपहेलनाका बज्रपातमा कमी हुन थाल्यो। उजाडिएको उनको घरबारमा वसन्त ऋतु छायो। विगतका आफ्ना त्यस्तै अपहेलनाका तीता भोगाइ सम्झेर पिढींमा एक्लै टोलाइरहेकी पुण्यमतिलाई आज एक्लो जिन्दगी निकै उजाड लाग्न थालेको थियो। लोग्नेले छाडेर एक्लो बनेकी ऊ छोरा बुहारी घर छाडेर सहरमै मोजमस्तीमा हराउन थालेपछि साँच्चै एक्लो महसुस गर्दै थिइन्।

त्यसमाथि छोरा बुहारीलाई समेत आफू घाँडो हुन थालेपछि पुण्यमतिलाई यो संसारसितै वैराग जागेको थियो। छोरी पराई घर, लोग्ने भगवान्को घर, छोराबुहारी सहर, के गर्नु बिचरा ! पुण्यमति सधैं एक्ली। त्यसमाथि छोराबुहारीको अपहेलना बुढ्यौलीले गलेका पुण्यमतिका शरीरले सामना गर्नुपर्ने बाध्यता– हिजो छोरो जन्माएर अपहेलनाको पात्र हुनबाट बचेकी पुण्यमति आज त्यही हुर्केपछि फेरी अपहेलनाको पात्र बनेकी छिन्।

प्रकाशित: ३२ श्रावण २०७६ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App