२८ श्रावण २०७७ बुधबार
अन्य

हसिना कविता

कवि शुसिला खड्का

रञ्जना निरौला

दोलखाको रमणीय भूगोल जिरीमा जन्मे/हुर्केकी सुशीला खड्का ‘हसिना’ साहित्यप्रेमीमाझ कविका रूपमा परिचित छिन्। कोरा कल्पना भन्दा समाजको यथार्थ चित्रण गरिएको साहित्य लोकप्रिय बन्छ। आम जनमानसले भोगेका पीडालाई कवितामा उधिनेर पस्कने क्षमता भएकी हसिनाको कविता सुन्दा स्रोताले आफ्नै कथा–व्यथा सुनेको अनुभव गर्छन्। 

यस्तै अनुभव गर्न पाइयो साउन १६ गते पनि। त्यो दिन काठमाडौंको राष्ट्रिय नाचघरमा खचाखच दर्शकमाझ उनको एकल कविता वाचन कार्यक्रम गरियो। सांस्कृतिक संस्थानद्वारा मासिक रूपमा आयोजना हुने ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा उनका एक दर्जन कविता सुन्ने अवसर मिल्यो। कविताको कथानक अनुसारको हाउभाउका साथ कहिले जोसिलो पारामा त कहिले गम्भीर भावमा उनले रचना सुनाउँदा दशर्क मन्त्रमुग्ध बने।

कार्यक्रममा हसिनाले ९ वटा कविता वाचन गरिन् भने उनका समकालीन साथीहरू रञ्जना निरौला, सुशीला पौडेल र भुवन शिवाकोटीले एक–एक कविता वाचन गरेर उनलाई सघाए। उनले ‘वृद्ध आमाको घोषणा’सँगै कविता वाचन थालेर ‘पहिरोले पुरेको घाम’, ‘रातो गुलाव’, ‘समय’, ‘पैसाको पखेटा’, ‘विभेद’, ‘तेरोमेरो’, ‘अविश्वासको औंठाछाप’, ‘समयको झीरमा’ शीर्षकका कविता सुनाइन्। त्यसैगरी हामी सहयोगी कविहरूले क्रमशः ‘अर्को बुद्ध’,  ‘आमा’ र ‘सपनाको डोको’ शीर्षकका कविता सुनायौं।  

सुन्दर काव्यलेखनसहित सुमधुर स्वरकी धनी मानिन्छिन् हसिना। उनका कविताले गम्भीर प्रकृति र दिगो भाव बोल्छन्। ती कवितामा जीवनले भोगेका घाउहरूको पीडा, जीवनकै गुनासा, जीवनबोध र स्मृतिको बाटैबाटो देशको माया र आफैँसँग संघर्षरत जीवनीय गृष्म, शरद र वसन्तसहितका विभिन्न यामका छायाचित्र भेटिन्छ। आफूले देखेका, भोगेका र कल्पना गरेका विषयवस्तुलाई कविताको रूप दिएर गह्रौँ भारी बिसाएको भान गरेकी सुशीलाले माटो छामेकी छिन्। अविश्वासका पर्खाल लडेको भेटेकी छन्। स्वार्थका अनेकौँ तानाबानामा मानवीयता हराएको पाएकी छन्। ममताको गर्भाशयमा वर्तमानको बेथितिपूर्ण व्यवहार र संस्कार भुलिरहेको जर्जर समय कवितामा पोखेकी छन्। 

कविता वाचनको शैली र विषयवस्तु उस्तैउस्तै लागे पनि प्रत्येक कविताले दिने आस्वाद फरक–फरक थियो। सस्ता मायाप्रेमका भाव भन्दा टाढै वर्तमान समय, व्यवहार, बेथिति, स्मृति र अराजक समयका विषयवस्तुमाथि कविता उठान गरिएको थियो।

हसिनाको कवितामा लठ्ठिएका स्रोताले समय बितेको पत्तै पाएनन्। वरिष्ठ समालोचक रामप्रसाद ज्ञावलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार राजेन्द्र थापा, सांस्कृतिक संस्थानका पूर्वकार्यकारी निर्देशक राजेश थापा, संस्कृतिकर्मी टेकबहादुर जिरेल, साहित्यकार गीता त्रिपाठीलगायत धेरै साहित्यिक हस्तीहरू उपस्थित थिए। 

कविता वाचनपछि समालोचक ज्ञवालीले हसिनाको व्यतित्व र कवित्व बारेमा प्रकाश पारेका थिए। ‘जस्तोसुकै दुःखमा पनि नआत्तिने, सहयोगी र निरन्तर लगनशील रहने व्यक्तित्व हुन् हसिना,’ उनले भने। यसैगरी कविताको समालोचना गर्नेक्रममा साहित्यकार त्रिपाठीले हसिनाका कविता पवित्र मनले लेखिएको बताइन्। ‘हसिनाका कविता जीवनमय छन्,’ उनले प्रशंसा गरिन्, ‘रुढिवादी संस्कार र विभेद विरुद्ध उभिएका कविता सुन्दर छन्।’

दोलखाकी चेली सुशीला खड्का ‘हसिना’ले सांस्कृतिक संस्थानमा एकल कविता वाचन गरेर सबैलाई मन्त्रमुग्ध बनाइन्।

कार्यक्रममा वाचितमध्ये ‘विभेद’, ‘आमा’ र ‘तेरो मेरो’ कविता उत्कृष्ट रहेको उनको टिप्पणी थियो। प्रकृतिद्वारा बाँचेका मान्छेले प्रकृतिको उपहास गरेको र देशप्रेम व्यक्त कविता ‘भूगोल किन पढाइनछु’ भन्ने मार्मिक लाइनहरुले देशलाई के आवश्यक छ भनेर वर्तमान शिक्षा र आवश्यकता विरोधाभाष रहेको उनले सुनाइन्।

हरेक कविले वर्तमान समयलाई सम्बोधन गर्नु पर्छ। अबको जीवनलाई, अबको साहित्यलाई सम्बोधन गर्नुपर्छ। हसिनाका कवितामा जीवनबोध पाइन्छ। ती प्रकृतिका कविता हुन्। देशको सीमा भित्रका कविता भएर पनि विश्वदृष्टि बोक्ने कविता हुन्।
कविता सुन्ने सबैले हसिनाको तारिफ गरे। कार्यक्रमको सभापतित्व संस्थानका निमित्त कार्यकारी निर्देशक प्रभाकर शर्माले गरेका थिए। प्रिय साथीको कविता सुन्दै गर्दा मैले यस्ती प्रतिभाशाली छोरी जन्माउने माता हस्तकुमारी र पिता छत्रबहादुरलाई मनमनै धन्यवाद दिइरहें।

मुटुमा दोलखा बोकेर अचेल हसिना काठमाडौंमा पति र छोरासँग जीवन संघर्ष गर्दैछिन्। ग्रामीण परिवेशमा हुर्केकी उनको सृजनामा तिनै डाँडापाखा, गाउँघर, जनजीवन र माटोको सुगन्ध भेटिन्छ। कविता, गजल, गीत, कथा, लघुकथा लेखनमा सक्रिय हसिनाले जीवनका अनेकौँ अफ्ठयारा मोडमा पनि काव्य यात्रा छाडेकी छैनन्।

उनको सृजनशील मस्तिष्कबाट यस्तैयस्तै बेजोड कविताहरू जन्मिरहून्। आत्मीय साथीलाई लाखौंलाख शुभकामना !

प्रकाशित: ३२ श्रावण २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App