७ वैशाख २०८१ शुक्रबार
अन्य

डेंगु नियन्त्रण अभियान निष्प्रभावी

डेंगु नियन्त्रण आउन नसकेपछि बिहीबार सञ्चारकर्मीसँग छलफल गरिँदै। तस्बिरःरोहित राई/नागरिक

धरान– एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगु रोग धरानमा गत वैशाखको अन्तिम साता देखापरेको थियो। त्यसयता स्थानीय सरकार, प्रदेश र केन्द्रले समेत थुप्रै प्रयास र अभियानहरू चलाए पनि नियन्त्रणमा आउन सकेको छैन।

धरानको वडा नं १५ बाट सुरू भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिसकेको छ। नियन्त्रणमा आउनुको साटो मनसुन सुरू भएर डेंंगु प्रकोप थप चुनौतीपूर्ण बन्दै गएको छ। धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरैपिच्छे डेंगु संक्रमित बिरामी भएको आशंका छ। ‘प्रत्येक वडाबाट अध्यक्ष ज्यूहरूले निरन्तर खबर गरिरहनुभएको छ, अहिले त झन् घरघरमा डेंगु बिरामी छन् भन्ने कुरा छ,’ बिहीबार पत्रकारहरूसँग कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्, ‘मनसुनले गर्दा पनि अब त झन् नियन्त्रणमा चुनौती थपिएको छ, त्यसैले सर्वसाधारण जनता आफै सचेत नभई हुन्न।’

धरानको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार सुरूमा आफ्नो वडामा एक जना पनि डेंगु संक्रमित देखिएको थिएन तर, पछिल्लो समय वडा नं १६ मा अत्यधिकरूपमा डेंगु संक्रमित बिरामीहरू देखिन थालेको उनले बताए। ‘अहिले जति पनि नयाँ बिरामीहरू छन्, त्यसमा मेरो वडाको अत्यधिक छ। हरेकजसो घरमा डेंगुका बिरामी छन्,’ उनले भने, ‘हामी जनप्रतिनिधिहरू ज्यादै चिन्तित छौं।’

साउन १ गतेदेखि १५ गतेसम्मको पछिल्लो १५ दिनमा मात्र ४ सय ९० जना डेंगु संक्रमित बिरामी थपिएका छन्। हालसम्म धरानमा २ हजार ८ सय ३ जना डेंगु संक्रमित भएको तथ्यांक छ। तर, यो तथ्यांक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा उपचार गराउन पुगेका बिरामीहरूको मात्र तथ्यांक हो। ‘यही तथ्यांकले मात्र पनि महिनामा हजार जना बिरामी संक्रमित हुने देखियो। तथ्यांकमा नआएका त झनै धेरै संख्यामा छन्,’ उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने, ‘हामीले फेरि जनचेतना, सर्च एण्ड डिष्ट्रोय अभियान बृहत्रूपमा सुरू गर्ने तयारीमा छांै, नत्र मनसुनपछिको समय झन् भयावह हुनसक्ने देखिन्छ।’

कार्यवाहक प्रमुख भण्डारीले डेंगु नियन्त्रणका लागि सबै प्रयास गरे पनि सम्भव नभएको भन्दै प्रदेश र केन्द्र सरकारले विशेष टोली परिचालन गर्न पनि आग्रह गरिन्। ‘हामीले जति सक्ने थियौं सबै प्रयास र पहल ग-यौं। टोल टोलमा जनपरिचालन पनि ग¥यौं,’ उनले भनिन्, ‘तर स्थानीय तहसँग पूर्ण क्षमता छैन, त्यसैले डेंगु न्यूनीकरण र नियन्त्रण गर्न प्रदेश, केन्द्र सरकारले विशेष टोली नै परिचालन गर्न अपिल पनि गर्दछु।’

सचेत छन्, तर व्यवहारमा लागू गर्दैनन्
डेंगु महामारी फैलिएको धरान र डेंगुु नभएको अन्य ठाउँहरूमा गरिएको एक सर्वेक्षणले धरानका नागरिकहरू डेंगुबारे जानकार भए पनि बच्ने उपाय व्यवहारमा लागू नगर्ने प्रवृत्ति देखिएको छ। धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभागले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो।

क्याम्पसका विद्यार्थी, शिक्षकहरूले केही साताअघि एक हजार जनामा डेंगुप्रतिको ज्ञान, व्यवहार र अभ्यासबारे सर्वेक्षण गरेको थियो। त्यसक्रममा उनीहरूले डेंगु महामारी भएको धरान र नभएको इटहरी, धनकुटा, बराहक्षेत्र नगरपालिकामा सर्वेक्षण गरेको थियो। ‘डेंगु प्रकोपग्रस्त क्षेत्रको जनता र प्रकोप नभएको क्षेत्रका जनतामा डेंगुप्रति कस्तो ज्ञान छ, डेंगु हुँदा के गर्छन् र न्यूनीकरणमा सावधानी अपनाउँछन् कि अपनाउँदैनन् भनेर सर्वेक्षण गरेका हौं,’ क्याम्पसका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूले भने, ‘अन्यत्रका मानिसलाई भन्दा धरानेहरूलाई डेंगुबारे सबै ज्ञान छ। यो कस्तो रोग हो, के गर्नुपर्छ, कसरी बच्न सकिन्छ भन्ने पछि प्रस्ट थाहा छ, तर व्यवहारमा भने कसैले पनि लागू गरेको छैन।’

डेंगुको बारेमा सम्पूर्ण ज्ञान भएर पनि नियन्त्रणमा ल्याउन त्यसलाई व्यवहारमा उतार्न नसकेकै कारण धरानमा महामारी नियन्त्रणमा आउन चुनौती भएको विभागीय प्रमुख लिम्बूको भनाइ छ। साथै, उनले डेंगु पूर्णरूपमा नियन्त्रणमा आउन अझै समय लाग्ने पनि उनले बताए। ‘जबसम्म हामी प्रत्येकले व्यवहार लागू गर्दैनौं, तबसम्म नियन्त्रणमा आउँदैन, त्यसैले तत्काल सम्भव पनि छैन,’उनले भने।

फगिङ स्वास्थ्यका लागि हानिकारक
धरानमा डेंगुको संक्रमण देखिएपछि उपमहानगरपालिकाले प्रत्येक वडा तथा टोल टोलमा फगिङ(विषाक्त धँुवा छोड्ने) गरिरहेको छ। यसले वयस्क लामखुट्टेलाई मार्ने काम गर्छ। तर, विश्व स्वास्थ्य संगठनले भने फगिङ स्वास्थ्यका लागि प्रतिकूल भएकोले बन्देज गरिसकेको छ। केही दिनअघि मात्र डेंगु नियन्त्रणबारे आयोजित कार्यक्रममा सहभागी भएर फर्किएका स्वास्थ्य शाखा प्रमुख यादवले भने, ‘विश्व स्वास्थ्य संगठनले धुँवा उडाउँदै नउडाउनुस् भनेको रहेछ, तर हामीले फगिङमा नै बढी जोड दिइरहेका छौं। जनताको पनि माग त्यसैमा छ।’

चिकित्सक एवं विज्ञहरूका अनुसार मेसिनद्वारा गरिने फगिङले विशेष गरी वृद्धवृद्धा र बालबालिकालाई श्वासप्रश्वासमा गम्भीर असर पर्छ। वडा नं १६ का अध्यक्ष गिरीका अनुसार फगिङको क्रममा ४ वटा घरका वृद्ध र एक बच्चालाई असर परेर बिपी प्रतिष्ठानमा थप उपचारका लागि लैजानुपरेको थियो। ‘ती घरमा बुढापाका रैछन्, हामीले फगिङ गरेपछि सास फेर्न नसकेर अस्पताल लैजानुप-यो, दमका बिरामीलाई त झन् खतरा रहेछ,’ उनले भने, ‘तर डेंगु नियन्त्रण भन्दै वडामा त मेसिन किन्ने होडबाजी नै चलेको छ।’
फगिङले स्वास्थ्यलाई मात्र होइन, डेंगु भाइरस मानिसमा संक्रमण सार्ने एडिस एजिप्टाई लामखुट्टेको पनि क्षमता पनि वृद्धि गरिरहेको विज्ञहरूको भनाइ छ। केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख लिम्बूका अनुसार फगिङले मानिसको ग्रन्थी प्रणालीबारे असर गर्छ भने हार्मोन उत्पादनमा पनि समस्या ल्याउँछ। ‘फगिङले लामखुट्टे शतप्रतिशत मर्दैन, प्यारालाइज मात्र गर्छ र त्यस फगिङले नियन्त्रण होइन, एडिस एजिप्टाइको बाँच्न सक्ने क्षमता झन् बढाउने काम भइरहेको छ कि ?’उनले भने, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ।’

भाइरस सेरोटाइप २ भएको पुष्टि
धरानमा फैलिएको डेंगु भाइरस सेरोटाइप २(टु) नै भएको पुष्टि भएको छ। केन्द्रीय प्रविधि क्याम्पस र सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटरी एण्ड रिचर्स सेन्टर प्रालि, काठमाडौंबीच सहकार्य गरी रियल टाइम (पिसिआर) पोलिमेरेज चेन रियाक्सनबाट भएको परीक्षणले यो पुष्टि गरेको हो।

यसअघि बिपी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले गरेको परीक्षणले पनि भाइरस सेरोटाइप २ भएको जनाएको थियो। डेंगु प्रजातिको अध्ययन र अनुसन्धानका लागि थप अत्याधुनिक उपकरणमार्फत गरिएको परीक्षणले सेरोटाइप २ भाइरस नै भएको पुष्टि गरेको हो। ‘सय वटा कीट सेम्पल परीक्षण गरिएको थियो, त्यसमा ७६ वटा सेरोटाइप २ पोजेटिभ आयो,’ विभागीय प्रमुख लिम्बूले भने, ‘बाँकी २४ वटा चाहिँ नेगेटिभ आयो।’

विभागीय प्रमुख लिम्बूका अनुसार डेंगु पोजेटिभ देखिएको कीटमा पनि २४ वटा नेगेटिभ आउनुको मतलब यसअघि डेंगु पोजेटिभ भनिएको सबै रिपोर्ट डेंगु नै हँुदैन। कतिपय कीटको खराबीको कारण पनि पोजेटिभ रिपोर्ट आएको हुनसक्छ। त्यसलाई थप अत्याधुनिक रियल टाइम पिसिआर प्रविधिबाट परीक्षण गर्दा सही रिपोर्ट आउने उनले बताए।

फेरि सर्च एण्ड डिष्ट्रोय अभियानको तयारी
डेंगु नियन्त्रणमा नआएपछि धरान उपमहानगरपालिकाले पुनः अभियान सुरू गर्ने तयारीमा जुटेको छ। महामारी फैलिएपछि एक साताभित्र नियन्त्रण गर्ने लक्ष्यका साथ असार पहिलो साता सर्च एण्ड डिष्ट्रोय अभियान थालिएको थियो। मनसुन सुरू भएपछि यो अभियान थामिएको छ।

दुई सातायता पुनः डेंगु संक्रमण फैलिएको तथ्यांक आएपछि लार्भा नष्ट गर्ने अभियान पुनः सुरू हुने कार्यवाहक प्रमुख भण्डारीले बताइन्। ‘फेरि अभियानको सुरूआत गर्दै छौं, सबैले यसमा साथ सहयोग गर्नुपर्छ, प्रत्येकले आफ्नो घर आँगन वरिपरि ५ मिलिलिटर पनि पानी जम्न दिनुहँुदैन,’ उनले भनिन्, ‘सबैले आ–आफ्नो ठाउँबाट जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने हो भने डेंगु नियन्त्रणमा आउँछ।’ कार्यवाहक प्रमुख भण्डारीले विज्ञ तथा चिकित्सकहरूको सल्लाहअनुसार नै घर, कार्यालयमा हुने फ्रिज, एसी, कुलर र गमला राख्ने प्लेटलगायतको पनि अनुगमन गर्ने बताइन्। साथै, नगर प्रहरी, जनपथ प्रहरी र सशस्त्र प्रहरीलाई समेत अभियान टोलीमा राखेर कडाइका साथ जनपरिचालन हुने उनले बताइन्।

प्रकाशित: १७ श्रावण २०७६ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App