२३ असार २०७७ मंगलबार
अन्य

परिवार नै बैरी

पछिल्लो समय पारिवारिक अपराधको संख्या आश्चर्यजनक तरिकाले बढिरहेको छ र शान्तिसुरक्षामा चुनौती थपिएको छ।

१) असार १९ गते बिमाको रकम हात पार्न आफ्नै बाबुले ४ वर्षीया छोरीको हत्या गरेका गरे।  रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेका हुन्।

२) असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीया सावित्री भट्टराईको उनकै छोरी ईश्वरी भट्टराईका  योजनाअनुसार हत्या भयो। विवाहेत्तर सम्बन्धमा आमा बाधक भएपछि छोरीको योजनामा आमाको हत्या भएको हो।

३) जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या भयो। धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी ज्वाईले हत्या गरेका थिए।

४) वैशाख २० गते सिरहा नपा–१४ खिरौनाका २१ वर्षीय मनिषा कुमारी मण्डलको पनि हत्या भयो। दाइजोको कारण मनिषाको हत्या भएको थियो। सिरहाकै गोलबजार नगरपालिका–८ भाइजीटोल माइती रहेको मनिषाको गत फागुनमा मात्र रामनरेशसँग विवाह भए पनि छोटो समयमै मनिषाको ईहलीला समाप्त भयो।

पारिवारिक अपराध बढ्दै गएका यी प्रतिनिधि उदाहरण मात्रै हुन्। मानिसलाई जुन परिवार र सम्बन्धको भरथेग चाहिन्छ, तिनै सम्बन्ध र भरथेग हल्लाउने घटनाका रुपमा यसलाई लिन थालिएको छ।

२०७३ पुस ९ गते विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरे। ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि विष सेवन गरी आत्महत्या गरेका थिए।

पारिवारिक अपराध बढ्दै जान थालेपछि पारिवारक सम्बन्धमा समेत शंका उपशंका बढ्दै जान थालेको छ। पारिवारिक द्वन्द्व, आर्थिक समस्या र आवेगले यस्ता घटना हुने गरेको जानकारहरूको भनाइ छ। बेमेल, वैदेशिक रोजगारी, व्यक्तिगत स्वार्थ, आर्थिक मामिलाले पनि परिवारभित्रै आपराधिक घटना हुने गरेको प्रहरी अधिकारी बताउँछन्। परिवारका सदस्यहरू एकअर्काको व्यक्तिगत चरित्रमा हावी हुन खोज्ने प्रवृत्तिका कारणसमेत बेमेल र झगडा बढिरहेको छ। पति–पत्नीले एकअर्काको चरित्रमाथि आशंका गर्दा त्यसले हत्या र आत्महत्यासम्म निम्त्याउने गरेको छ।

१६ वर्ष अघि २०६० सालमा परिवार नै सखाप हुनेगरी दशैँको अष्टमीको दिन ललितपुरको बडिखेलमा ५ जनाको हत्या भएको थियो। नातामा जेठान नाता पर्ने चन्द्रबहादुर नगरकोटीले हत्या गरेका थिए। त्यतिमात्र होइन, सशस्त्र प्रहरीका डिआइजी  रञ्जन कोइरालाले आफ्नै श्रीमती गीता ढकालको हत्या गरेका थिए।

आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६ सय ८४ जनाको हत्या भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷७३ देखि २०७५÷७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६ सय ८४ जनाको हत्या भएको हो। प्रहरी दिएको तथ्यांकलाई हेर्ने हो भने श्रीमानले श्रीमतीको हत्या, श्रीमतीले श्रीमान्को, बाबुआमाले छोराछोरी, छोराछोरीले बाबुआमा,छोराबुहारीले आमाबाबु तथा सासू ससुरा ज्वाईछोरीसम्मको हत्या गरेका छन्।

सबैभन्दा बढी श्रीमान्बाट २ सय ७५ जना श्रीमतीको हत्या भएको छ। श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् भने बाबुआमा मिलेर १५ जना सन्तानको हत्या गरेका छन्। यस्तै छोराले मात्रै चार वर्षका बीचमा ५३ जना आमाबाबुको हत्या गरेको भेटिन्छ। यो पारिवारिक अपराधमा आफन्तहरु संलग्न रहेको र उनीहरुले विभन्न बहानामा आफन्तहरुको हत्या गरेको प्रहरीले जनाएको छ।

छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको तथा आमाबाट २४ जना वयस्क छोराछोरीको हत्या भएको तथ्यांक छ।

पछिल्लो चार वर्षको अवधिमा  सौतेनी आमा र बाबुले चार जना सन्तानको हत्या गरेका छन्। तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २३ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी जनाएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार पारिवारिक अपराधको कुनै एउटा कारण नभई विभिन्न कारणले हुने गरेको छ। ‘खासगरी आफन्तबाटै आफन्तको हत्या हुनुमा आपसी असमझदारी, चरित्रमा शंका, दाइजो विवाद, सम्पत्ति विवादका कारण हुने देखिएको छ,’ डिआइजी पोखरेलले भने। उनका अनुसार आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि सो व्यक्तिमार्फत् घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको छ।

कुन वर्ष कतिको हत्या ?
२०७२/७३ १५७ जना
२०७३/७४ १७७ जना
२०७४/७५ २०६ जना
चालू आर्थिक वर्षको हालसम्म १४५ जना

सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ। प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन्।

समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन,’ उनी भन्छन, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाइएको हो।’

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ। पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झैँ–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन्। अपराधशास्त्री माधव आचार्यका अनुसार १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरुबाट बढी अपराध हुने गरेको छ। ‘त्यसमाथिका मानिसहरुबाट अपराध हुँदैन भन्ने होइन, १६ देखि २५ वर्षको उमेर समूह भनेको निकै चञ्चले र अपरिपक्व समय हो यसबेला मानिसका मनमा विभिन्न खाले संवेगहरु उत्पन्न हुने गर्छन्। त्यतिबेला परिवार सदस्यपनि त्यसको शिकार बन्न सक्छन,’ अपराधशास्त्री आचार्यले भने।

नेपालगन्जका दीपक हेमकरसहित उनका परिवारका पाँच सदस्य र एक कामदारको २३ फागुन ०६२ मा रहस्यमय तरिकाले हत्या भएको थियो । घटनाको १३ वर्षपछि गत असोजमा हत्याकाण्डको पर्दाफास भयो । दीपकको ससुरालीबाटै सम्पत्ति हत्याउन सो हत्याकाण्ड गराइएको खुल्यो । दीपकको नामको सम्पत्ति श्रीमतीको नाममा नामसारी गरिएको थियो । हत्याका बेला श्रीमती भारत गएकी थिइन । मनोविद गोपाल ढकाल भन्छन्, ‘यस्तो हत्या सम्पत्तिको लोभमा हुने गरेका छन्। छिटो पैसा कमाउने धन्दाको रुपले अपराध जन्माउने गरेको अर्काको देखासिकी गर्दा अपराधले स्थान पाउछ।’

ढकालका अनुसार सामाजिक सञ्जालको प्रयोग, शहरीकरण, वैदेशिक रोजगारीजस्ता कुराले मान्छेका आवश्कताहरु बढ्दै गएका छन्। समाजमा तीव्र प्रतिस्पर्धा बढेको छ। सँगसँगै मान्छेमा इच्छा आकांक्षा, निराशा लगायतका मानसिक समस्याहरु पनि बढ्दै गएका छन्। मानिसहरु भौतिकवादी बन्दै गएका छन्। जसरी पनि आफ्ना आवश्यकता पूरा गर्न मानिसहरु लागिपरेका छन्। मानिस घर परिवार र समाजबाट एक्लिदै गएको छ। ‘मानिस जसरी पनि आफ्ना आवश्यकता  पूरा गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित छन्,’ ढकाल भन्छन्, ‘समाजमा यस किसिमको तीव्र प्रतिस्पर्धाका कारण र आवश्यकता पूरा गर्न अपराधतर्फ आकर्षित भइरहेको छ। उसले अपराध गर्न सकेन भने ऊ डिप्रेसनको शिकार हुन्छ।’ दुवै हिसाबले समाजलाई घाटा भएको मनोविद ढकाल बताउँछन्।

सप्तरीको राजविराजमा गत वर्ष जेठमा सामान्य विवादमा परिवारकै हत्या भयो। राजविराज बस्ने सूर्यनारायण साह, उनकी श्रीमती बेचनीदेवी र छोरी प्रतिभाको हत्या भएको थियो। सूर्यनारायणकै सहोदर भाइ पञ्चदेवले हत्या गरेका थिए। दाइले नागरिकता बनाउन सहयोग नगरेको बहानामा छिमेकीको सहयोगमा उनले हत्या गरेका थिए। यसबाट के देखिन्छ भने दाइको सम्पत्ति हात पार्नसमेत परिवारकै हत्या गरेका थिए।

गत बैशाखमा सिरहामा छोरा नपाएको भन्दै एक महिलाको हत्या भएको थियो। कर्जन्हा नगरपालिका–११ हटलेटवाका चन्देश्वर यादवले छोरा नपाएको निहुँमा आफ्नै श्रीमती ३१ वर्षीया रितु यादवको घाँटी थिचेर हत्या गरेको थिए।  प्रहरी प्रवक्ता डिआइजी पोखरेलका अनुसार तराईमा दाइजो नपाएको र छोरा नपाएको निहँुँमा अधिकांश पारिवारिक अपराध हुने गरेको छ। ‘तराईमा दाइजो नपाउँदा शिक्षित व्यक्तिहरुले पनि श्रीमतीको हत्या गर्ने, बुहारीको हत्या गर्ने प्रवृत्तिले अपराधलाई प्रश्रय दिएको छ,’ डिआइजी पोखरेलले भने।


डिआइजी विश्वराज पोखरेल
प्रहरी प्रवक्ता

प्रहरीका आएका पछिल्ला उजुरीलाई विश्लेषण गर्ने हो पारिवारि अपराधहरु बढेको देखिन्छ। पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छन। पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन्। पाँचथरको घटना नसेलाउदै भक्तपुर तथा अन्य क्षेत्रमा पनि पारिवारिक अपराधको श्रृंखला आएको छ। जुन नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।

तराईतिर हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन्। सामाजिक परिवेशभित्रको विचलनबाट सिर्जित हत्याका घटना बढेका छन्। परिवारभित्र र नातेदारभित्र हत्या भएका छन्। हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो जस्तो लाग्छ। सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन्। एउटा विषयमा परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ। आफू केन्द्रित भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ। यस्तो सोच र मान्यताले हत्या घटना बढेका जसले गर्दा समाजमा अपराध वृद्धि भएको तथ्यलाई लुकाउन सकिदैन तर अपराध गर्नेहरुपनि कानुनी दायरामा आएका छन्। समाज रहेसम्म अपराध हुन्छ भन्ने मान्यता भएपनि त्यसलाई नियन्त्रण गर्नु प्रहरीको दायित्व हो जो गरिरहेको छ।  

प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली अवलम्बन सुरु गरेको छ। अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ। सायद यो कार्यक्रमले यस्ता घटनामा कमी आउनेछ।

प्रकाशित: १६ श्रावण २०७६ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App