१६ चैत्र २०८० शुक्रबार
अन्य

लिमचुङबुङमा बल्ल राहत

गाउँपालिकामा आएको सामग्री हेलीबाट खसाइँदै। तस्बिरः महेश्वर/नागरिक

लिमचुङबुङ (उदयपुर)– निरन्तरको वर्षाले गाउँपालिका जोड्ने सबै सडक पहिराले भत्काएपछि प्राकृतिक नाकाबन्दीमा परेको लिमचुङबुङ गाउँपालिकामा तेस्रो प्रयासमा हेलिकोप्टरमार्फत खाद्यान्न अवतरण गरिएको छ। जताततै पहिरोले सडक भत्काएपछि सदरमुकाम र अन्य बजारसँग १० दिनयता यातायात सम्पर्क टुटेको गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिने प्रदेश सरकारले अघिल्लै दिन हेलिकोप्टर पठए पनि खराब मौसमका कारण हेली फर्केको थियो। 

बिहीबार विराटनगरदेखि खाद्यान्न बोकेर दुईपटक उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण लिमचुङबुङमा उत्रन नसकेपछि छिमेकी गाउँपालिका ताप्लीमा सो सामग्री उतारिएको थियो। गाउँपालिका अध्यक्ष मेजरकुमार राई र प्रदेश सांसद नारायण बुर्जामगरलाई विराटनगरदेखि चामल, दाल, नून र तेलजस्ता खाद्यवस्तु लिएर उडेको हेली मौसम खराब भएका कारण अवतरण गर्न नसकेपछि छिमेकी ताप्लीमा उतार्नुपरेको बताए। शुक्रबार बिहानदेखि पानी परिरहे पनि ११ बजेपछि मौसममा सुधार आएपछि २ टिप खाद्यान्न हेलीमार्फत् लिमचुङबुङ केन्द्र बाराहा उतारिएको अध्यक्ष राईले बताए। 

‘बिहीबारै गाउँपालिकावासीलाई खाद्यान्न लगिदिन दुईपटक प्रयास गरियो, तर खराब मौसमका कारण हेली बस्न नसकेपछि सो खाद्यान्न छिमेकी ताप्ली गाउँपालिकामा खसाइयो’ अध्यक्ष राईले भने, ‘शुक्रबार भने मौसममा सुधार आएकाले दुई टिप खाद्यान्न अवतरण गराइएको छ।’ उनले दुईपटकमा २५ किलोका १ सय ३७ बोरा अर्थात् ३ हजार ४ सय २५ किलो चामल लिमचुङबुङ खसाइएको बताए। त्योसँगै दाल, नून र खाने तेल पनि हेलीमार्फत गाउँपालिका पु¥याइएको छ। सो खाद्यान्न वितरणको तयारी भइरहेको छ। लिमचुङबुङ–४ बलम्ताका वडाध्यक्ष एन्दुप्रसाद राईले खाद्यान्न आइसकेकोले शुक्रबारै बैठक बसेर शनिबारदेखि वितरण गर्ने तयारी भइरहेको बताए। 

उनका अनुसार हाललाई हेलिकोप्टरलाई फुर्सद नभएको भन्दै दुई टिप मात्र खाद्यान्न अवतरण गरिएको र यसलाई ७ दिनसम्म पुग्ने गरी स्थानीयलाई वितरण गरिने छ। लिमचुङबुङका लागि ४ हजार २ सय बोरा चामल र दाल, नून तथा खानेतेल पठाउने निर्णय प्रदेश सरकारले गरेको गाउँपालिका प्रवक्ता तथा ५ नं. वडाध्यक्ष भुपाल खड्काले बताए। उनका अनुसार बाँकी खाद्यान्न भिœयाउन सकेसम्म हेलीबाटै र नपाए सडक मर्मत गरेर स्थलमार्गबाट आपूर्ति गरिने छ।

सदरमुकामदेखि ७५ किलोमिटर उत्तरमा रहेको गाउँपालिकामा निरन्तरको वर्षाले चारैतिरको सडक भत्केर आन्तरिक र बाह्य यातायात सम्पर्क टुटेपछि गाउँपालिकावासी पैदल यात्रा मात्र गर्नसक्ने अवस्थामा पुगेका छन्। पहिरोले पैदल हिँड्ने बाटोसम्म बाँकी नराखेको स्थानीयले कुटो कोदालोले खनेर गोरेटो निकापछि हिँड्डुल गर्न सक्ने भएको गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताए। आउजाउ गर्नै नसक्ने अवस्था भएसँगै कार्यपालिका बैठक बसेर गाउँपालिकालाई ‘संकटग्रस्त’ घोषणा गरिएको लेखा अधिकृत राईले बताए। 

राहत पाएर जनता खुसी

हेलिकोप्टरमार्फत खाद्यान्न गाउँमा आएपछि स्थानीयले खुसी व्यक्त गरेका छन्। गाउँ आउनेजाने कुनै सडक नरहने गरी पहिरो भत्केर आउजाउ बन्द भएको तथा घरखेत बगाएर बिल्लीबाठ भइरहेका बेला हेलीमार्फत् चामल र नूनतेल आएको देख्दा खुसी लागेको लिमचुङबुङ–५ जाँतेका राजेन्द्र राईले बताए। उनले गणतन्त्रमा गाउँगाउँमा सिंहदरबार भनेको सुनेको भन्दै यो विपत्का बेला यसरी गाउँमा चालम आउँदा साँच्चै हो जस्तो लागेको प्रतिक्रिया दिए। ‘साँच्चै गाउँमा सिंहदरबार आएजस्तो लाग्यो, सरकार छ जस्तो पनि लाग्यो’, उनले भने, ‘अब यो चामल सबै जनतालाई मिलाएर बाँड्नुपर्छ। अनि सबैले सरकार छ भन्ने महसुस गर्नेछन्।’ 

प्रकाशित: ११ श्रावण २०७६ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App