भगवान् शिव व्यक्ति होइनन्, अध्यात्मका प्रतीक हुन्। साधारण मनुष्यलाई बुझाउनका लागि शिवलाई मानवीकरण गरिएको हो। मानवीकरण नगरिएको हुन्थ्यो भने धेरै पहिल्यै शिवतत्त्वका बारेमा विस्मरण भइसक्ने थियो। तर जुन हाम्रो कल्पनामा आउँछ, ती शिव हुनै सक्दैनन्। अनि शिवको वास्तविक रुप कल्पनामै आउँदैन। आध्यात्मिक प्रक्रियाको मूल आवश्यक कुरा नै कल्पना नगर्नु हो।
शिव त चारैतिर व्याप्त हुन्छन् ऊर्जाका रुपमा। शून्यताका रुपमा। कल्पना या विचार नचल्दा शिवतत्त्व शरीरमा प्रवेश हुन्छ। विचार या कल्पना नष्ट हुने चिज हुन्। तर ती नहुँदा बाँकी रहने शून्यता कहिल्यै नष्ट हुँदैन। त्यहीँसम्म पुग्नकै लागि गरिने हुन् सबै आध्यात्मिक साधनाहरु। शिवको मूर्ति परिकल्पना हो, जुन छैन। शिवको मूर्ति एउटा प्रतीक हो आध्यात्मिक यात्राको। शिवको मूर्तिका माध्यमबाट शिवतत्त्वसम्म पुग्ने।
शिव आकाशमा बसिरहेका छन् र हामीलाई हेरिरहेका छन् भन्ने कुरा गलत हो। अनि साधनाको मतलब कुनै चिजको कल्पना गर्नु पनि होइन। यस्तो गर्नु त पागलपन हो। यति हुँदाहुँदै पनि मान्छेहरु कल्पनाविना रहन धेरै गाह्रो हुने हुनाले कल्पनाकै माध्यमबाट पनि अगाडि बढ्न सकिन्छ। शिवतत्त्वको कल्पनामा आउँदैन, अनि जुन चिज छैन त्यसको परिकल्पना गर्दा हाम्रो मन खालि हुँदै जान्छ र शून्यमा पुग्छ।
आध्यात्मिक ऊर्जा पूरै ब्रह्माण्डमा हरेक समय उपलब्ध छ, जसलाई शिवको महिमा बुझेका साधकहरुले शिवतत्त्व भन्छन्। यसर्थमा शिव पूरै ब्रह्माण्डमा व्याप्त छन्। शिवतत्त्वबाटै चल्छ संसार। शिवतत्त्व छैन त संसारमा कुनै पनि चिजको अस्तित्व नै छैन।
अध्यात्मले भन्छ, संसारका हरेक चिज परिवर्तनशील छन्। परिवर्तन हुन्छ भन्नुको अर्थ हो, हरेक समय कुनै चिजको मृत्यु हुन्छ र नयाँ चिज जन्मिन्छ। परिवर्तन हुने क्रममा जुन तत्त्व जान्छ त्यो मृत्यु हो र जुन चिज तयार हुन्छ त्यो जीवन हो। यसरी हेर्दा हरेक चिजमा हरेक समय मृत्यु र जीवन सँगसँगै घटित भइरहेको हुन्छ।
साधनाको गहन अवस्थामा पुगेका साधकहरुले मुख्य दुईवटा बाटो अपनाउँछन्। या त हरेक समय हुने मृत्युको परिवर्तनलाई याद गरेको गरेकै गर्छन् या हरेक समय घटित भइरहेको जीवनलाई याद गरिरहन्छन्। मृत्युलाई याद गरे पनि या जीवनलाई याद गरे पनि त्यो वर्तमानमै हुन्छ। यही कारण हो, अध्यात्ममा वर्तमानको महत्त्व भएको।
यिनै दुई पाटामध्ये हरेक समय घटित हुने मृत्युलाई स्वीकार गर्नु शिवलाई सम्झनु हो। अर्थात् शिवलाई स्वीकार गर्नु भनेको मृत्युलाई स्वीकार गर्नु हो। यही कारण हो शिवलाई संहारकर्ता भनिएको। संहार अर्थात् हरेक समय भइरहेको संहार (मृत्यु) लाई चेतनताका साथ स्वीकार गर्नु।
शिवको व्याख्या गर्ने केही भक्तहरुले ‘शव’ शब्दमा ‘इ’ को मात्रा लागेर शिव भएको मान्छन्। यही कारणले श्मशानका शक्तिका रुपमा शिवलाई लिइन्छ र तान्त्रिकहरुले शिवको आराधना गर्ने गर्छन्।
‘शिव’ शब्दमा ‘शि’ को अर्थ ऊर्जाशक्ति हो, जुन ब्रह्माण्डमा हरेक ठाउँमा हरेक समय उपलब्ध हुन्छ। ‘शि’ अक्षर आफैँमा एउटा मन्त्र हो। यस मन्त्रले शरीर र मनलाई ब्रह्माण्डमा व्याप्त शक्ति धारण गर्न तयार गराउँछ। ‘व’ अक्षरको अर्थ हो, कुशलता। यसरी ‘शिव’को पूरा अर्थ हुन्छ, ऊर्जाशक्तिलाई कुशलताका साथ धारण गर्नु।
संस्कृत भाषाअनुसार शिवको अर्थ हो, कल्याणकारी या शुभकारी। यजुर्वेदमा शिवलाई शान्तिदाता बताइएको छ। ‘शि’को अर्थ पापलाई नाश गर्ने र ‘व’को अर्थ दिने दाता।
शिवको मानवीकरणभित्र ठूलो विज्ञान लुकेको छ। आजको आवश्यकता हो, शिवभित्र लुकेको वैज्ञानिकतालाई बुझ्नु र बुझाउनु। पछिल्लो समयमा शिवलाई मानवीकरणका रुपमा विश्वास त गरियो, तर विश्वासले गर्दा शिवभित्र लुकेको रहस्यको खोज रोकियो। हुन पनि हो, जहाँ विश्वास हुन्छ त्यहाँ खोज रोकिन्छ। तैपनि शिवको मानवीकरणले खोजी गर्ने साधन बाँकी राख्यो। नभए केको खोजी गर्ने?
शास्त्रहरुमा व्याख्या गरिएको शिवको स्वरुप विचित्रको छ। त्यहाँ उल्लेख गरिएको प्रतीकलाई बुझ्न सक्ने हो भने मानव हुनुको लक्ष्य पूरा गर्न सिकाउँछ उनको पूरै स्वरुपले।
उनको कपाल जटा परेको छ। जटा अन्तरिक्षको प्रतीक हो। जटापछाडि रहेको चन्द्रमा मनको प्रतीक हो।
शिवको मन चन्द्रमा झैँ सरल, निर्मल र उज्ज्वल छ। त्यस चन्द्रमामा ध्यान ग-यो भने मनुष्यको मन पनि तुरुन्तै शान्त बन्छ। अध्यात्ममा अगाडि बढेका साधकहरुको मस्तिष्क चन्द्रमाले दिने जत्तिकै शीतल हुन्छ। कतिपय साधकहरुले आफूभित्रको छटपटाहट हटाउन चन्द्रमालाई त्राटक गर्ने (विधिवत् एकोहोरो हेर्ने) गर्छन्।
शिवका तीन आँखा छन्। यही कारणले उनलाई त्रिलोचन पनि भनिन्छ। ती तीन आँखा सत्व, रज र तमका प्रतीक हुन्। भूत, वर्तमान र भविष्यका प्रतीक हुन्। स्वर्ग, मृत्यु र पाताल लोकका प्रतीक हुन्।
जब शिवसाधकहरुको तेस्रो नेत्र खुल्छ उनीहरुले यी सबै चिजको दर्शन गर्न सक्छन्। अध्यात्मको विकास हुँदै जाँदा तेस्रो नेत्र पनि खुल्दै जान्छ। तेस्रो नेत्रले संसारमा दुई आँखाले देख्न नसकेका चिजहरु देख्न र अनुभव गर्न सक्छ।
शिवले सर्पको हार लगाउँछन्। यसको अर्थ हो हिंस्रक जीव उनको अधिनमा छन्। सर्प तमोगुणी जीव हो।
यसबाट सिक्न सकिन्छ, आफ्नो ह्रिंसक स्वभावलाई सधैँ आफ्नै वशमा राख्नुपर्छ। तमोगुणलाई वशमा राख्नाले अध्यात्मको मार्गमा अगाडि बढ्न सजिलो हुन्छ। भौतिक मार्गमा पनि ह्रिंसक स्वभावले आफैँलाई घाटा दिन्छ।
शिव त्रिशूल बोक्छन्। त्रिशूलले भौतिक, दैविक र आध्यात्मिक तापलाई नष्ट गर्छ। मार्गमा आइपर्ने बाधाहरु हटाउँछ।
शिवको हातमा डमरु छ। त्यो डमरु उनी ताण्डव नृत्यको समयमा बजाउँछन्। डमरुको नाद नै ब्रह्मा रुप हो।
शून्यावस्थामा रहेका साधकलाई अनुभव हुन्छ, त्यहाँ एक खालको ध्वनि उत्पन्न भइरहेको हुन्छ। सङ्गीत या आवाजको मूल त्यहीँबाट सुरु हुन्छ। उच्च साधकहरुले त्यही संगीतमा आफूलाई डुबाउँछन्। त्यस सङ्गीतले आनन्द प्रदान गर्छ।
अलिकति मात्रै ध्यान गर्दै जाँदा पनि मस्तिष्कमा आफैँले मात्र सुन्न सकिने आवाज आउन थाल्छ। जसलाई नाद भनिन्छ। नाद विभिन्न थरिका हुन्छन्। तिनलाई पछ्याउँदै जाँदा मूल आवाजसम्म पुग्छन् साधकहरु। त्यस ध्वनिलाई शिवसाधकहरुले शिवनाद भन्ने गर्छन्।
शिवले आफ्नो गलामा मुण्डमाला धारण गरेका छन्। यसको अर्थ हो शिवले मृत्युलाई वशमा राखेका छन्।
हरेक मान्छेले एउटा अवस्थामा पुगेपछि अथवा शिवको संसारमा पुगेपछि मृत्युलाई वशमा राख्न सक्छन्। शरीर कतिखेर र होसपूर्वक कसरी छाड्ने भन्ने कुरा उच्चसाधकलाई ज्ञात हुन्छ।
शिव बाघको छाला लगाउँछन्। बाघलाई हिंसा र अहंकारको प्रतीक मानिन्छ। यसको अर्थ हो, शिवले हिंसा र अहंकारलाई दमन गरेका छन्।
हिंसा र अहंकार आध्यात्मिक मार्गका शत्रु हुन्। यिनलाई जित्न सकेन भने साधकहरु अगाडि बढ्न सक्दैनन्। शिवले जस्तै गरी यी दुई शत्रुलाई जित्नुपर्छ।
शिव भष्मधारण गर्छन्। शिवलिङ्गको अभिषेक पनि भष्मबाटै गरिन्छ। भष्मको लेपले यो संसार नश्वर छ भनेर बताउँछ।
हरेक प्राणी र संसारको जीवन नश्वर हुन्छ। छिनछिनमा मरिरहेको हुन्छ। फेरिइरहेको हुन्छ। संसार अनित्य या नश्वर हो भन्ने कुराको ध्यान साधकले सधैँ राखेको हुन्छ। यो पनि अध्यात्म मार्गमा आवश्यक याद हो।
शिव साँढेमाथि चढ्छन्। साँढे सधैँ शिवकै साथमा रहन्छ। साँढे धर्मको प्रतीक हो। उनी यसरी चारवटा खुट्टा भएको जनावरमाथि सवारी गर्नुको कारण हो धर्म, अर्थ, काम र मोक्ष उनको कृपाबाट मात्रै मिल्छ।
मनुष्यले जीवनमा धर्म, अर्थ, काम र मोक्षको मार्गमा हिँड्नुपर्छ। यिनलाई आफ्नो वशमा राख्नुपर्छ। यसरी शिवको मानवीकरणमा सृष्टिको रहस्य लुकेको छ।
शिवलिङ्ग
‘लिङ्ग’ शब्दको संस्कृत अर्थ ‘चिह्न’ हो। यही अर्थमा शिवलिङ्गको प्रयोग हुन्छ। शिवलिङ्ग अर्थात् परमपुरूष या प्रकृतिको चिह्न।
शिव, शङ्कर, महादेव
शिव र शङ्कर एकैजस्तो लागे पनि फरक हुन्। दुवैका प्रतिमा फरक–फरक आकृतिका हुने गर्छन्। शङ्करको प्रतिमामा उनी सधैँ तपस्वीको रुपमा देखिन्छन्। कतिपय ठाउँमा त उनले शिवलिङ्गको ध्यान गरिरहेका देखिन्छन्।
शिवपुराणका अनुसार शिवले सृष्टिको स्थापना, पालना र विनाशका लागि क्रमशः ब्रह्मा, विष्णु र शङ्करको रचना गरे। यसरी हेर्दा शिव ब्रह्माण्डका रचयिता हुन् भने शङ्कर उनको रचना। शिवलाई यही कारणले महादेव अर्थात् देवताहरुको पनि देव भनिन्छ। यीबाहेक शिवलाई १०८ वटा अन्य नामहरुले पनि चिनिन्छ र पूजा गरिन्छ।
अर्धनारीश्वर
संसार चल्नका लागि नारी र पुरूषको आवश्यकता पर्छ। दुईको आपसमा सधैँदेखि सम्बन्ध छ। नारी प्रकृति अर्थात् शक्ति हुन् भने नर पुरूष। प्रकृतिविना पुरूष बेकार हुन्छ र पुरूषविना प्रकृति बेकार। अर्धनारीश्वर यही परस्पर सम्बन्धको प्रतीक हो। शिव जब शक्तिले युक्त हुन्छन् बल्ल समर्थ हुन्छन्।
नीलकण्ठ
अमृत पाउने इच्छाले देवता र दानवहरु समुद्रमन्थन गरिरहेका थिए। सबैले आ–आफ्नो तर्फबाट सकेको प्रयास गरिरहेका थिए। त्यसै क्रममा समुद्रबाट कालकुट नाम गरेको विष निस्कियो। त्यो विष अत्यन्तै कडा थियो। जसका कारण दसै दिशा जल्न थाल्यो। प्राणीहरुमा हाकाकार मच्चियो। देवता, दैत्य, ऋषिमुनि, मनुष्य, गन्धर्व, यक्ष आदि सबै त्यही विषका कारण तड्पिन थाले। देवताहरुले त्यस पीडाबाट मुक्त गर्नका लागि शिवसँग प्रार्थना गरे। शिवले त्यो विष हातमा लिए र पिइदिए। त्यो विष उनले कण्ठभन्दा तल झारेनन् र त्यहीँ विषको प्रभाव कम गरिदिए। शिवको कण्ठ नीलो बन्यो। त्यसैबेलादेखि उनी नीलकण्ठका नामले प्रसिद्ध भए।
भोलेबाबा
एकजना शिकारी थियो। एकपटक जंगलमा शिकार गर्ने क्रममा बाटोमै रात प-यो। शिकारीले एउटा बेलको रूखमा रात बिताउने निर्णय ग-यो। रूखमा बसिरहँदा निद्रा लाग्यो भने खस्न सकिने सम्भावना हुन्थ्यो। त्यसैले रातभर जागै रहनका लागि उसले बेलको एउटा–एउटा पात चुँड्दै भुइँमा फ्याँकिरह्यो।
बेलको पात शिवलाई अत्यन्तै प्रिय लाग्छ। संयोगले त्यस बेलको रुखुमुनि एउटा शिवलिङ्ग थियो। शिवलिङ्गमा आफूलाई मन पर्ने पात कसैले चढाइरहेको देखेर शिव खुसी भए। शिकारीलाई भने आफूले बेलको पात चढाइरहेको छु भनेर थाहै थिएन। शिवले आफूले मन परेको पात पाएको हुनाले शिकारीलाई उसको मनोकामना पूरा हुने वरदान दिए।
यस कथाबाट शिव अत्यन्तै भोले (सजिलै खुसी हुने) स्वभावका छन् भनेर बुझ्न सकिन्छ। यही कारणले उनलाई भोलेनाथ भन्ने गरिन्छ।
महामृत्युञ्जय मन्त्र
शिवलाई मानेर आध्यात्मिक यात्रा गर्ने साधकहरुलाई मृत्युको भय रहँदैन। रोग र शोकको चिन्ता हुँदैन। यसको कारण हो शिवतत्त्वले उनीहरुको मनलाई सामथ्र्यवान् बनाएको हुन्छ। शिवतत्त्वको ध्यान महामृत्युञ्जय मन्त्रबाट गरिन्छ। यस मन्त्रको जपबाट भगवान् शिवको कृपा मिल्छ। शास्त्रहरुमा यस मन्त्रलाई कैयौँ कष्ट निवारक बताइएको छ। यो मन्त्र हो,
ऊ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनात्, मृत्योर्मुक्षीय मामृतात्।
अर्थात् – हामी भगवान् शिवको पूजा गर्छौं, जसका तीनवटा नेत्र छन्। जसले हरेक श्वासमा जीवन शक्तिको सञ्चार गरिदिन्छन्। जसले पूरै जगतको पालनपोषण गर्छन्। उनीसँग हाम्रो प्रार्थना छ – उनले हामीलाई मृत्युको बन्धनबाट मुक्त गरिदिऊन्। ताकि मोक्ष प्राप्ति होस्। हरहर महादेव !
साउनको महत्त्व
शास्त्रअनुसार साउन मासहरुमा उत्तम मास हो। साउनको पहिलो दिनदेखि सूर्य दक्षिणायन हुन्छ। दिन छोटा हुन थाल्छन् र रातहरु लामा हुन्छन्। यो क्रम माघ एक गतेसम्म रहन्छ। साउन महिनाको पूर्णिमामा श्रवण नक्षत्र योग बन्छ। यही कारणले यस महिनाको नाम श्रावण रहन गएको हो। श्रावणलाई नै साउन भन्न थालियो।
साउन शुभ महिना पनि हो। चतुर्मास या साउनदेखि कार्तिकसम्मका महिना शुभ मानिन्छन्। यी चार महिनामा दिनको एकपटक शुद्ध सात्विक भोजन गर्दा राम्रो हुन्छ भनेर शास्त्रहरुले बताएका छन्।
श्रावण शब्द श्रवणबाट बनेको हो। श्रवण अर्थात् सुन्नु। ऋषिहरुले ईश्वरबाट ज्ञान सुनेर आम मानिसलाई बताए। त्यसैले वेदलाई श्रुति भनियो। त्यसैले यो महिनामा सुनेर धर्मको मर्म बुझ्नका निम्ति राम्रो मानिन्छ।
यिनै विविध कारणहरुले गर्दा यस महिनालाई अत्यन्तै उत्तम मानिएको छ। यिनै विशेषताका कारण यस महिनालाई शिवको आराधना गर्ने महिनाका रुपमा लिइयो। भनिन्छ, शिवलाई यो महिना निकै प्रिय लाग्छ। विशेषगरी सोमबारका दिन भगवान् शिवको विशेष आराधना हुने गर्छ।
संस्कृतिविद्हरुका अनुसार साउन महिनामा धेरै पानी पर्छ। बाढीपहिरोको जोखिम बढी हुन्छ। यस्ता घटनाबाट दुर्घटना नहोस् भनेर यो महिनामा शिवको पूजा गर्ने गरिन्छ।
पार्वतीले शिवलाई पाउनका लागि साउन महिनाभर निराहार रहेर कठोर तपस्या गरेकी थिइन्। यसबाट शिव खुसी भएका थिए। यही कारणले पनि यो महिना विशेष हुन गएको छ।
शिवलाई जलाधार अत्यन्तै प्रिय लाग्छ। प्रकृतिले नै जलाधारा लगाउने यो महिना वातावरणीय स्वच्छताको हिसाबले पनि उत्तम मानिन्छ।
शिवका १९ अवतार
वीरभद्र अवतार
सतीका पिता दक्ष प्रजापतिद्वारा आयोजित यज्ञमा शिव र सतीलाई बोलाइएन। सतीले आफ्ना बुबाले यज्ञ आयोजना गरेका तर आफूहरुलाई नबोलाइएको थाहा पाइन्। यस विषयमा जिज्ञासा राख्न उनी यज्ञस्थलमा पुग्न। दक्ष प्रजापतिले आफ्ना पति शिवलाई जथाभावी भन्न थालेपछि सतीले सहन सकिनन् र यज्ञमै फाल हाली देहत्याग गरिन्।
शिवले जब यो कुरा थाहा पाए, अत्यन्तै क्रोधित हुँदै आफ्नो शिरबाट एउटा जटा उखेले र रोषपूर्वक पहाडमाथि बजारे। त्यस जटाको पूर्वभागबाट महाभयङ्कर वीरभद्र प्रकट भए। यिनै शिवका अवतारले यज्ञ ध्वस्त गरिदिए र दक्ष प्रजापतिको टाउको काटेर पछि बोकाको टाउको जोडिदिए।
पिप्पलाद अवतार
ऋषि दधीचिले जन्मनुभन्दा पहिल्यै पिप्पलादलाई छाडेर गए। पछि पिप्पलादले देवताहरुसँग आफ्ना पिताले छाडेर जानुको कारण सोधे। देवताहरुका अनुसार शनिग्रहको दृष्टिको कारण यस्तो भएको थियो। यस्तो सुनेर पिप्पलाद क्रोधित बने र शनिलाई नक्षत्र मण्डलबाट झर्ने श्राप दिए। श्रापको प्रभावले गर्दा शनिदेव आकाशबाट झर्न थाले।
देवताहरुले यस्तो नगर्न प्रार्थना गरेपछि पिप्पलादले शनिलाई जन्मेदेखि १६ वर्षको उमेरसम्म कसैलाई कष्ट दिने छैनन् भन्ने शर्तमा क्षमा दिए। यही कारणले गर्दा पिप्पलादको स्मरण गर्नेबित्तिकै शनिको पीडा हराउने विश्वास गरिन्छ। शिव पुराणका अनुसार स्वयं ब्रह्माले नै शिवको यस अवतारको नामकरण गरेका थिए।
नन्दी अवतार
शिलाद नाम गरेका मुनि ब्रह्मचारी थिए। आफ्नो वंश समाप्त भइरहेको देखेर उनका पितृहरुले उनीसँग सन्तान जन्माउन भने। शिलादले मृत्युहीन सन्तानको कामना गर्दै भगवान् शिवको तपस्या गरे। तब शिवले आफैँले शिलादको पुत्रका रुपमा जन्म लिने वरदान दिए।
केही समयपछि बारी जोत्ने क्रममा शिलादले भुइँबाट एउटा बालक भेटे। जसको नाम उनले नन्दी राखे। भगवान् शिवले नन्दीलाई आफ्नो गणाध्यक्ष बनाइदिए। यसरी नन्दी नन्दीश्वर बने। नन्दीको बिहे मरुतहरुकी छोरी सुयशासँग भयो।
भैरव अवतार
एकपटक भगवान् शङ्करको मायाबाट प्रभावित भएर ब्रह्मा र विष्णुले आफूलाई श्रेष्ठ मान्न थाले। त्यसैबेला त्यहाँ तेजपुञ्जको बीचमा एउटा पुरूषाकृति देखियो। जसलाई देखेर ब्रह्माले भने, “चन्द्रशेखर ! तिमी मेरो पुत्र हौ। त्यसैले मेरो शरणमा आऊ।”
ब्रह्माको कुरा सुनेर शिवलाई क्रोध उत्पन्न भयो। उनले त्यस पुरूषाकृतिसँग भने, “कालझैँ शोभित भएका कारण तिमी साक्षात् कालराज हौ। भीषण भएका कारण तिमी भैरव हौ।”
शिवबाट यी वर प्राप्त गरेर कालभैरवले आफ्नो औँलाको नङले ब्रह्माका पाँचैवटा टाउको काटिदिए। ब्रह्माको टाउको काटेका कारण भैरवलाई ब्रह्महत्याको दोष लाग्यो। पछि काशीमा ब्रह्महत्याको पापबाट मुक्ति मिल्यो। त्यसैले काशीमा बस्नेहरुले विशेषगरी भैरवको भक्तिमा जोड दिन्छन्।
अश्वत्थामा अवतार
पाण्डवहरुका गुरू द्रोणाचार्यका छोरा अश्वत्थामा काल, क्रोध, यम र भगवान् शङ्करको अंशावतार थिए। आचार्य द्रोणले भगवान् शङ्करलाई पाउनका निम्ति घोर तपस्या गरेका थिए। शिवले उनलाई आफू पुत्रका रुपमा आउने वरदान दिएका थिए।
समय आएपछि सवन्तिक रुद्रले आफ्नो अंशबाट अश्वत्थामाका रुपमा जन्म लिए। भनिन्छ, अश्वत्थामा अमर छन्। अहिले पनि धर्तीमै गङ्गाकिनारमा निवास गरिरहेका छन्।
शरभावतार
हिरण्यकशिपुको वध गर्नका लागि भगवान् विष्णुले नृसिंहावतार लिए। हिरण्यकशिपुलाई मारिसकेपछि पनि नृसिंहावतारको क्रोध शान्त भएन। देवताहरुले यस विषयमा शिवसँग गुनासो गरे। शिवले शरभावतार लिए र नृसिंहकहाँ पुगेर उनको स्तुति गरे। यति हुँदा पनि नृसिंहको क्रोधाग्नि शान्त भएन। यस्तो देखेर शरभरुपी भगवान् शिवले आफ्नो जुँगाले नृसिंहलाई बेरेर उडे। लामो समयपछि नृसिंहको क्रोध शान्त भयो। उनले शरभावतारसँग क्षमा मागे र विनम्र भावले उनको स्तुति गरे।
शरभावतार शिवको छैटौँ अवतार हो। यस अवतारमा शिवको स्वरुप आधार मृग र बाँकी पक्षी (आठवटा खुट्टा भएको सिंहभन्दा पनि शक्तिशाली जन्तु) को थियो।
गृहपति अवतार
नर्मदा नदीको तटमा धर्मपुर नामक नगर थियो। विश्वानर नाम गरेका एक मुनि आफ्नी पत्नी शुचिष्मतीका साथमा त्यहाँ बस्थे। शुचिष्मतीले लामो समयसम्म निःसन्तान भएका कारण एकदिन आफ्ना पतिका सामुन्ने शिवझैँ पुत्र प्राप्ति गर्ने इच्छा गरिन्। पत्नीको अभिलाषा पूरा गर्नका लागि मुनि विश्वनार काशी आए। त्यहाँ उनले घोर तपस्या गरे। शिवको लिङ्गको आराधना गरे। एकदिन लिङ्गको बीचमा एक बालक देखियो। बालक रुपधारी शिवको पूजा गरेपछि प्रसन्न भएर विश्वानरलाई आफू शुचिष्मतिको गर्भबाट अवतार लिने वरदान दिए।
समय आएपछि शुचिष्मति गर्भवती भइन्। ब्रह्माले बच्चाको नाम गृहपति राखिदिए।
दुर्वासा अवतार
महर्षि अत्रिले ब्रह्माको निर्देशनअनुसार पत्नीसहित ऋक्षकुल पर्वतमा पुत्रका पाउने उद्देश्यले घोर तपस्या गरे। उनको तपबाट प्रसन्न भएर ब्रह्मा, विष्णु र महेश उनको आश्रममा आए र आ–आफ्नो अंशबाट तीन पुत्र जन्मने र त्रिलोकमा विख्यात हुने वरदान दिए।
समय आएपछि ब्रह्माको अंशबाट चन्द्रमा, विष्णुको अंशबाट दत्तात्रेय र रुद्रको अंशबाट मुनिवर दुर्वासा जन्मिए।
हनुमान अवतार
देवता र दानवहरुका बीचमा अमृत बाँड्नका लागि विष्णु भगवान्ले मोहिनी रुप धारण गरेका थिए। मोहिनी रुप देखेर कामातुर भएका शिवले वीर्यपात गरिदिए। सप्तऋषिले त्यस वीर्यलाई केही पातहरुमा जम्मा गरे।
समय आएपछि उनीहरुले त्यो वीर्य वानरराज केसरीकी पत्नी अञ्जनीको कानको माध्यमबाट गर्भमा स्थापित गरिदिए। तिनै अञ्जनीको कोखबाट हनुमान जन्मिए।
वृषभ अवतार
एकपटक भगवान विष्णु दैत्यहरुलाई मार्ने उद्देश्यले पाताल लोक गए। त्यहाँ उनले चन्द्रमुखी नारीहरु देखे। ती नारीहरुसँग रमण गरेर उनले थुप्रै सन्तान जन्माए। विष्णुका ती पुत्रहरुले पातालदेखि पृथ्वीसम्म उपद्रो मच्चाउन थाले। उनीहरुको व्यवहारबाट आत्तिएर ब्रह्माले ऋषिमुनिहरुलाई लिएर शिवकहाँ पुगे र रक्षा गर्न प्रार्थना गरे।
तब भगवान् शिवले वृषभ रुपमा धारण गरेर विष्णुका ती पुत्रहरुको संहार गरे।
यतिनाथ अवतार
अर्बुदाचल नामक पर्वतको नजिकै शिवभक्त एक दम्पती रहन्थे। एकपटक भगवान् शङ्कर यतिनाथको भेषमा उनीहरुको घरमा आए। उनले तिनै दम्पतीको घरमा रात बिताउने इच्छा प्रकट गरे। दम्पतीमध्ये पत्नीले आफ्ना पतिलाई गृहस्थको मर्यादा स्मरण गराउँदै धनुषबाण लिएर बाहिर रात बिताउन र यतिलाई घरमा विश्राम गर्न दिन प्रस्ताव राखिन्। पति धनुषबाण लिएर बाहिर गए।
बिहान पति मरेको अवस्थामा भेटिए। उनलाई कुनै वन्य प्राणीले मारिदिएको थियो। यतिनाथलाई अत्यन्तै दुःख लाग्यो। पत्नीलाई शान्त गर्दै उनले शोक नगर्न भने। उनका अनुसार अतिथिको सेवामा प्राण विसर्जन गर्नु धर्म थियो। आफ्ना पति चिताग्निमा जलिरहेका बेला शिवले उनलाई दर्शन दिए र अर्को जन्ममा फेरि आफ्ना पतिसँग भेट हुने वरदान दिए।
कृष्णदर्शन अवतार
इक्ष्वाकु वंशमा राजा नभग जन्मिए। पढ्न भनेर गुरूकुल गएका नभग लामो समयसम्म पनि नफर्केपछि उनका दाजुभाइहरुले आपसमा राज्यको विभाजन गरे। यसबारेमा सुनेपछि नभग आफ्ना पिताकहाँ पुगे।
पिताको आज्ञा पाएर नभगले यज्ञभूमिमा पुगेर यज्ञ सम्पन्न गराए। त्यहीबेला शिव कृष्णदर्शनका रुपमा प्रकट भएर यज्ञमा अवशिष्ट धनमाथि आफ्नो अधिकार भएको बताए। विवाद भएपछि कृष्णदर्शनले नभगसँग उनका पिताबाट निर्णय गराउन भने। नभगका पिताले कृष्णदर्शन भगवान् भएका र यज्ञमा अवशिष्ट वस्तु उनकै भएको बताए। पिताको कुरा सुनेर नभगले शिवको स्तुति गरे।
अवधूत अवतार
एकपटक वृहस्पति र अन्य देवताहरुलाई साथमा लिएर इन्द्र शङ्करको दर्शन गर्न गए। इन्द्रको परीक्षा लिने उद्देश्यले शङ्करले अवधूत रुपमा धारण गरेर उनको मार्ग रोके। इन्द्रले बारम्बार अवधूत अवतारसँग परिचय सोधे। शङ्कर बोलेनन्। इन्द्रले रिसाउँदै अवधूतमाथि बज्र प्रहार गर्न खोजे तर उनको हात आफैँ रोकिए।
यत्तिकैमा वृहस्पतिले शिवलाई चिने र अवधूतको विधिपूर्वक स्तुति गरे। प्रसन्न भएर शिवले इन्द्रलाई क्षमा गरिदिए।
भिक्षुवर्य अवतार
विदर्भ देशका राजा सत्यरथलाई शत्रुहरुले मारिदिए। उनकी पत्नी गर्भवती थिइन्, जसले लुकेर आफ्नो प्राण बचाइन्। समय पुगेपछि उनले छोरो जन्माइन्। पानी पिउन गएका बेला उनलाई गोहीले खाइदियो।
बच्चा भोकै तड्पिन थाल्यो। त्यहीबेला शिवको प्रेरणा पाएर एक महिला भिखारी त्यहाँ पुगिन्। शिवले भिक्षुक रुप धारण गरेर बालकको परिचय दिए र पालनपोषण गर्न निर्देशन दिए। यति भनेर भिक्षुक रुपधारी शिवले आफ्नो वास्तविक रुप देखाए। शिवको आदेश पाएर ती महिलाले बालक हुर्काइन्। पछि त्यस बालकले शिवको कृपाले आफ्ना सबै दुश्मनहरुलाई हराएर आफ्नो राज्य पुनः प्राप्त गरे।
सुरेश्वर अवतार
व्याघ्रपादको छोरो उपमन्यु आफ्नो मामाघरमा हुर्किएका थिए। उनी सधैँ दूध पिउने इच्छाले व्याकुल रहन्थे। उनकी आमाले उनको अभिलाषा पूरा गर्नका लागि शिवको शरणमा जान सल्लाह दिइन्। उपमन्युले जङ्गलमा गएर तपस्या गरे। शिवले सुरेश्वर (इन्द्र) को रुप धारण गरेर उनलाई दर्शन दिए र शिवको निन्दा गर्न थाले। शिवको निन्दा सुन्न नसकेर उपमन्यु क्रोधित हुँदै इन्द्रलाई मार्नका लागि उभिए।
उपमन्युको दृढशक्ति र विश्वास देखेर शिवले आफ्नो वास्तविक रुपको दर्शन गराए। क्षीरसागरको समान एउटा अनश्वर सागर प्रदान गरे। उनको प्रार्थना स्वीकार गर्दै शिवले परमभक्तको पद पनि दिए।
किरात अवतार
कौरवहरुले छलकपट गरेर पाण्डवहरुको राज्य हडपे। पाण्डवले वनबास जानुप-यो। वनबासका क्रममा अर्जुन भगवान् शङ्करलाई खुसी बनाउनका लागि तपस्या गरिहेका थिए। त्यहीबेला दुर्योधनले पठाएको मूड नामक दैत्य अर्जुनलाई मार्नका लागि सुँगुरको रुप धारण गरेर त्यहाँ पुग्यो।
अर्जुनले सुँगुरमाथि आफ्नो बाण प्रहार गरे। त्यही बेला भगवान् शङ्करले पनि किरात भेष धारण गरेर त्यही सुँगुरमाथि बाण चलाए। दुवैले आ–आफ्ना बाण प्रहारबाट सुँगुरको बध भएको दाबी गर्न थाले। विवाद बढ्दै गएर दुईबीच युद्ध भयो। अर्जुनको वीरता देखेर भगवान् शिव प्रसन्न भए र आफ्नो वास्तविक स्वरुपमा आएर अजुनलाई कौरवमाथि विजय प्राप्त गर्ने आशीर्वाद दिए।
सुनटनर्तक अवतार
हिमाचलसँग उनकी छोरी पार्वतीको हातमा माग्नका लागि शिवले सुनटनर्तक भेष धारण गरेका थिए। हातमा डमरु बोकेर शिव नटको रुपमा हिमाचलको घर पुगे र नृत्य गर्न थाले। उनको नृत्य देखेर सबै खुसी भए।
हिमाचलले नटराजसँग भिक्षा माग्न भने। नटराजले पार्वती मागे। यो सुनेर हिमाचल क्रोधित बने। नटराजले पार्वतीलाई आफ्नो रुप देखाएर गए। उनी गइसकेपछि मैना र हिमाचललाई दिव्य ज्ञान भयो र उनीहरुले पार्वती शिवलाई दिने निर्णय गरे।
ब्रह्मचारी अवतार
पार्वतीले शिवलाई आफ्ना पतिको रुप पाउनका लागि कठोर तप गरिन्। पार्वतीको परीक्षा लिनका लागि शिव ब्रह्मचारीको भेष धारण गरेर तपस्यास्थल पुगे। पार्वतीले ब्रह्मचारीको विधिवत् पूजा गरिन्। ब्रह्मचारीले पार्वतीसँग उनको तपस्याको उद्देश्य सोधे। पार्वतीको शिवलाई पाउन तप गरेको कुरा सुनेर उनले शिवको निन्दा गर्न थाले। पार्वती अत्यन्तै रिसाइन्। पार्वतीको आफूप्रति भक्ति र प्रेम देखेर शिवले उनलाई आफ्नो वास्तविक रुपको दर्शन दिए।
यक्ष अवतार
देवता र असुरहरुले मिरेको समुद्र मन्थन गर्दा त्यहाँबाट विष निस्कियो। भगवान् शिवले त्यो विष पिइदिए र कण्ठमै रोकिदिए। विषपछि समुद्रबाट अमृत कलश निस्कियो। अमृतपान गरेपछि सबै देवताहरु अमर त भए साथसाथै उनीहरुलाई आफूहरु सबैभन्दा बलशाली भएको अभिमान जाग्यो। देवताहरुको यही अभिमान तोड्नका लागि शिवले यक्षको रुप धारण गरे र देवताहरुका अगाडि एउटा सिन्का राखेर त्यसलाई काट्न भने। आफ्नो पूरै शक्ति लगाउँदा पनि देवताहरुले त्यसलाई काट्न सकेनन्।
त्यहीबेला यक्ष सबैको अभिमान विनाश गर्ने विनाशक भगवान् हो भनेर आकाशवाणी भयो। सबै देवताहरुले भगवानको स्तुति गरे र आफ्नो अपराधका लागि क्षमा मागे।
प्रकाशित: ९ श्रावण २०७६ १०:३४ बिहीबार