२५ असार २०७७ बिहीबार
अन्य

डोल्पाका ज्योति

सेम्दुक लामा, शिक्षासेवी

हिमाली भेकमा बोन धर्मावलम्बीको बसोबास छ। बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवो हुन्। बोन धर्म १८ हजार ३६ वर्षअघि सुरु भएको थियो। संसारका सबै प्राणीलाई दुःखबाट रक्षा गर्ने धर्मलाई युङडुङ बोन धर्म भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुने बोन्पोहरूको विश्वास छ।

त्यही बोन धर्मका गुरूको नाम हो– तापिरिचा। ध्यान, योग र तपस्याबाट उनले सिद्धि प्राप्त गरे। उनलाई बोम्पोहरू ज्ञानको प्रतीक मान्छन्। तिनै ज्ञानीका नामबाट डोल्पामा एउटा विद्यालय सञ्चालित छ– तापिरिचा मावि।

फोक्सुन्डो पदमार्गको साइजलमा अवस्थित विद्यालय। शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको विद्यालयमा एलकेजीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। हिउँ पर्ने र चिसो बढ्ने भएकाले कक्षा १० बाहेकका विद्यार्थीलाई मंसिरदेखि चैतसम्म बिदा दिइन्छ। त्यतिबेला कक्षा १० का विद्यार्थीलाई चाहिँ काठमाडौं लगेर पढाइन्छ।

विसं २०६५ देखि एसएलसी परीक्षामा सामेल हुन थालेका विद्यार्थी राम्रो अंक ल्याएर उत्तीर्ण हुँदै आएका छन्। साइजलमा विद्यालय जीवन बिताएपछि नेपालगञ्ज वा काठमाडौंमा माथिल्ला कक्षा पढेका कतिपय विद्यार्थी डोल्पामै फर्केका छन्। केही शिक्षक बनेका छन् त केही पुख्र्यौली काममा छन् त अनि केही पर्यटनमा।

डोल्पाको तापिरिचा मावि कर्णाली प्रदेशकै नमुना मानिन्छ। यसको विकासमा शिक्षासेवी सेम्दुक लामाले अतुलनीय योगदान गरेका छन्।

विसं २०५४ सालमा स्थापित विद्यालयमा सरकारी कोटाका १० शिक्षक छन्।  निजी स्रोतका ५ शिक्षक र ७ कर्मचारी काम गर्छन्। विद्यालय व्यवस्थित छ, जहाँ गुम्बा, खेल मैदान, पुस्तकालय, कक्षाकोठा, छात्रावासलगायत संरचना छन्।

तापिरिचा मावि नमुना बनेको छ। डोल्पाको मात्र होइन, कर्णालीकै नमुना विद्यालयमा २०५ विद्यार्थी छन्। विद्यालयमा नेपाली, अंग्रेजी र भोटे भाषामा पढाइ हुन्छ। विद्यालय हाताको गुम्बामा बिहान र बेलुका विद्यार्थीलाई ध्यान गराइन्छ। 

हिमाली भेकमा आवासीय विद्यालय सञ्चालन गर्नु सजिलो काम होइन। तापिरिचाले निजी स्रोतका शिक्षक, कर्मचारीको तलबका साथै भवनहरू बनाउन विदेशी शुभेच्छुकहरूबाट सहयोग जुटाउँदै आएको छ।

विद्यार्थीहरू विद्यालयमै खाना खान्छन्। त्यहीँ पढ्छन् र त्यहीँ सुत्छन्। विद्यालयले प्रतिविद्यार्थी वार्षिक १७ सय रूपैयाँ नगद, ७० किलो चामल, १० किलो मकैको पिठो, १० किलो फापरको पिठो, घिउ डेढ किलो र १ किलो नुन उठाउँछ। बाँकी खानेकुरा, शैक्षिक सामग्री आदि विद्यालयले नै व्यवस्था गर्छ।  

एउटा सामुदायिक विद्यालयलाई आवासीय ढाँचामा सञ्चालन गर्ने कामको अगुवाइ शिक्षासेवी सेम्दुक लामाले गरेका हुन्। विद्यालयको विकासमा उनले निकै पापड बेलेका छन्। उनले ‘तापिरिचा एसोसियसन फर सोसल हेल्प इन डोल्पा (टासी डी)’ नामक संस्था खोलेर सहयोग जुटाउँदै आएका छन्। उनको होस्टेमा स्विटजरल्याण्डको ‘तापिरिचा भेहराइन’ र अमेरिकाको ‘फ्रेन्ड्स अफ डोल्पा’ले हैंसे गर्दै आएका छन्।

तापिरिचा सजिलै नमुना बनेको होइन, यसको आफ्नै कथा छ। डोल्पाकै पुग्मो गाउँमा जन्मे/हुर्केका लामाले सदरमुकाम दुनैको सरस्वति माविबाट एसएसलसी दिए। त्यसपछि शिक्षकको जागिर पाउन धेरै दौडधुप गरे। तर, पाएनन्। अनि रिग्म गाउँमा घुम्ती पसल चलाउन थाले।

त्यहीबेला स्विटजरल्याण्डकी मानवशास्त्री मारियटा काइन्ड र अमेरिकाकी क्याथ्री इन्मानसँग उनको भेट भयो। उनले दुवै जनाको अनुसन्धानमा सहयोग पु-याए।

तिनताका धो–तराप उपत्यकामा क्रिष्टल माउन्टेन स्कुल खुलिसकेको थियो। ‘त्यस्तै व्यवस्थित विद्यालय खोल्न उहाँहरूसँग आग्रह गरें,’ लामा सुनाउँछन्, ‘उनीहरू सघाउन तयार भए।’

त्यसपछि संस्थागत रूपमा काम सुरु भयो। आज तापिरिचा नामबाट चिनिएको विद्यालय पुनिखा गाउँबाट साइजलमा सारिएको थियो। पहिला त्यसको नाम थियो– ‘सरस्वती प्रावि।’

सुरुवाती दिनमा आवासीय विद्यालय चलाउने कुरा गाउँलेले पत्याएनन्। मुस्किलले आफ्नै गाउँ पुग्मोका १५ विद्यार्थी लिएर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको सुम्दुवामा अवस्थित खाली भवनमा उनले विद्यालय सुरु गरे। त्यतिबेला उनले अर्का शिक्षक गेसे वाङग्याल लामा, भान्छे र सहयोगी आमा लिएर विद्यालय चलाए। 

उनीहरूले निकै मिहिनेत गरे। विद्यालयले ख्याति कमाउँदै गयो। त्यसैले तापिरिचामा पढ्न चाहनेको धुइरो लाग्न थाल्यो। तर, सबैलाई भर्ना गर्ने क्षमता विद्यालयसँग छैन। 

लामा ४९ वर्षका भए। मातृभूमि उज्यालो बनाउने अभियान जारी छ। दुई वर्षभित्र तापिरिचामै कक्षा १२ सम्मको पढाइ सुरु गर्दै छन्। त्यसका लागि भवन निर्माणमा जुटेका छन्। जन्मथलोको विकासमा लामाले झैं हरेकले योगदान गरेमा मुलुक चाँडै समृद्ध बन्नेछ।

प्रकाशित: ४ श्रावण २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App