२९ असार २०७७ सोमबार
अन्य

पानी रंगको गोरेटोमा

कलाकार एनबी गुरुङले अन्तर्राष्ट्रिय कला महोत्सवमा सहभागी भएर युरोप, इन्डोनेसिया, कोरिया, थाइल्याण्ड, बंगलादेश, भारत र चीनमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्। पानी रंगको चित्रकारितामा नेपाल कहाँ पुगेको छ भन्ने उदाहरण बनेका छन् उनी।

कलाकारितामा लाग्नेहरू सुरु–सुरुमा पानी रंगले चित्र बनाउँछन्। रंगहरू सर्वसुलभ पाइने र अन्य भन्दा सस्तो हुने भएकाले उनीहरू जल रंग प्रयोग गर्छन्। कलामा पोख्त हुँदै गएपछि उनीहरू एक्रेलिक र तैल चित्र बनाउँछन्। तर, राम्रोसँग बुझ्दै जाँदा पानी रंगमा काम गर्नु बढी चुनौतीपूर्ण हुने इन्टरनेसनल वाटर कलर सोसाइटी, नेपाल शाखाका अध्यक्ष एनबी गुरुङ बताउँछन्।

जल रंगका माध्यमबाट चित्र बनाउन धैर्यता चाहिन्छ, कागजमै गर्नु पर्ने बाध्यता हुन्छ। जल रंग अभ्यास आफैंमा टेक्निकल काम हो। काम बिग्रियो भने फेरि अर्को कागजमा गर्नु पर्ने हुन्छ। त्यसैले सिकारु बेलामा यसको प्रयोग गरेता पनि स्थापित भइसकेपछि जल रंगमै केन्द्रित हुने कलाकारको संख्या न्यून छ। जल रंगबाटै चिनिएका कलाकारहरूमा दुर्गा बराल, बुद्धि गुरुङ, आलोक गुरुङ, रतनकुमार राई, एनबी गुरुङ, डिराम पाल्पाली, सृजन राजभण्डारी, दिपेन्द्रमान बनेपाली, डिबी राईलगायत छन्।
संसारमै जल रंग प्रवद्र्धन गर्न सन् २०१२ मा सोसाइटी खुलेको थियो। नेपालमा अनौपचारिक रूपमा सन् २०१४ देखि नेपाली कलाकारले काम थालेका थिए। त्यसको दुई वर्षपछि सन् २०१६ देखि विधिवत दर्ता भएर नेपाल शाखाले काम ग-यो। त्यही वर्ष नेपाल शाखाले ‘अन्तर्राष्ट्रिय जल रंग महोत्सव’ आयोजना ग-यो। हरेक दुई वर्षमा महोत्सव गरिन्छ। सन् २०१८ मा पनि यसको दोस्रो संस्करण गरियो। तेस्रो संस्करण सन् २०२० मा हुनेछ।

नेपाल शाखाले तत्स्थानीय चित्रकला कार्यशाला तथा प्रदर्शनीहरू आयोजना गर्दै आएको छ। उसले स्वदेशमा जल रंग प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नुका साथै विदेशमा नेपालीको क्षमता प्रदर्शन गर्ने काम समेत गर्दै आएको छ।

संसारका ९० भन्दा बढी मुलुकमा सोसाइटीका शाखा छन्। त्यहाँ आयोजना गरिने कार्यशाला र प्रदर्शनीहरूमा नेपाली कलाकारका चित्र पठाउने काम नेपाल शाखाले गर्दै आएको छ। संस्थाका अध्यक्ष गुरुङ आफैंले पनि अन्तर्राष्ट्रिय कला महोत्सवहरूमा सहभागी भएर युरोप, इन्डोनेसिया, कोरिया, थाइल्याण्ड, बंगलादेश, भारत र चीनमा आफ्नो कला प्रदर्शन गरिसकेका छन्। पानी रंगको चित्रकारितामा नेपाल कहाँ पुगेको छ भन्ने उदाहरण बनेका छन् उनी।

डेढ महिनाअघि मात्र उनी चीनबाट फर्केका हुन्। ‘हामीले हाम्रा अग्रजहरूको काम हेरेर सिक्यौं,’ नेपाली कलाकारको अबस्थाबारे गुरुङ भन्छन्, ‘पछिल्लो समय इन्टरनेटका माध्यमबाट विदेशी कलाको अध्ययन गर्दा हामी पनि अब्बलै छौं भन्ने आत्ममूल्यांकन गर्न सक्छौं।’

दुःखको कुरा, अन्तर्राष्ट्रिय ब्राण्डका राम्रा रंग, ब्रस, कागज आदि नेपालमा सजिलै पाइँदैन। त्यसको उपलब्धता हुन सक्यो भने नेपाली पनि धेरै उचाईमा पुग्न सक्ने देखेका छन् उनले। 

सोसाइटीले कलामार्फत् नेपालको पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ। विदेशीलाई निम्त्याएर हाम्रा पर्यटकीय गन्तव्यहरूमा चित्र बनाउन प्रोत्साहित गरिरहेको छ। नेपालमा आयोजित महोत्सवमा पहिलोपटक ३२ जना विदेशी आएका थिए भने दोस्रो पटक २५ जना। उनीहरूले काठमाडौं, लुम्बिनी र घान्द्रुक घुमेर चित्र बनाए।

गुरुङका अनुसार महोत्सवबाट फर्केपछि पनि कतिपय कलाकार आफ्ना कलामा अझै नेपालकै सम्पदा उतारिरहेका छन्, जस्तो : थाइल्याण्डका चर्चित कलाकार डेरेक किगनगले तीन वर्षदेखि नेपालका हिमाल, मन्दिर र नेपाली जीवनशैलीलाई आफ्नो विषय बनाएका छन्। ‘हामी नेपालका सम्पदाहरू, हिमाल, मन्दिर आदिका चित्र विदेशमा पठाइरहेका छौं,’ गुरुङ भन्छन्, ‘हामी कला विकाससँगै आर्ट टुरिज्म प्रवद्र्धन अभियानमा पनि जुटेका छौं।’

प्रकाशित: २८ असार २०७६ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App