३० असार २०७७ मंगलबार
अन्य

द्वन्द्वकालीन समाजको दुखाइ

हरिश्चन्द्र दाहाल

समीक्षक र सम्पादकको चिनारी बनाएका जिके पोख्रेलको कथा संग्रह ‘गोहो’ बजारमा आएको छ। यसमा दस वटा कथा छन्। गोहो जनयुद्धकालीन देहाती समाजको दर्पण हो। दस वर्षे जनयुद्धलाई फ्ल्यास ब्याकमा नियाल्ने प्रयत्न छ। ‘गोहो’ नेपाली कथा यात्रामा केही वर्षयता देखिएको खाडल सम्याउन सफल छ। 

कथा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापुस्ताका लेखक नै कथा विधालाई स्थापित सडक बनाउने प्रयत्नमा जुट्नु सबल पक्ष हो। ०६५ सालतिरबाट कथा लेख्न थालेका पोख्रेलको तेस्रो कथा संग्रह हो ‘गोहो’।

कथा ‘आनन्दपुर’को यात्रा आनन्दमय छैन। मानिस त्रास र पीडामा जीवनयापन गरिरहेका छन्। जनयुद्ध कालमा भएका घटना र त्यसले सबै पक्षमा पारेको मानवीय क्षतिको यथार्थता प्रस्तुत गरिएको छ। पारिवारिक समस्या, शिक्षक–शिक्षिकाको अवस्थालगायत पक्ष उठान गर्दै द्वन्द्वको समयमा हुने गरेका मानवीय कमजोरीको चित्रण छ। यसमा जंगलराज र सरकारराजको जाँतोमा पिसिएको ग्रामीण जीवनको कष्ट, गरिब जनतामाथिको थिचोमिचो आदि देखाउने पोख्रेलको प्रयत्न देखिन्छ।

‘गोहो’मा जनयुद्ध कालमा भएका बम आक्रमण र त्यसबाट ज्यान गुमाएकाको दर्दनाक अवस्था र बाँचेकाहरूको पीडादायी अवस्था समेटिएको छ। द्वन्द्वमा गरेका अनैतिक कार्यको पश्चातापलगायत विषय समावेश छ। हत्केलामा ज्यान राखेर युद्धमा होमिएका ‘लडाकु’ले माक्र्सवाद र ‘अग्रगामी छलाङ’बारे केही बुझेका पनि थिए कि लहैलहैमा हाम फालेका थिए भन्ने प्रश्नको ‘तुछ’सँग कथाले बिट मार्छ। निर्दोष र चिचिला किशोर–किशोरी द्वन्द्वको चपेटामा कसरी परेका थिए भन्ने कुरामा ‘गोहो’ले प्रश्न उठाएको छ। गाडीमा बम पड्काउनेको आत्मबोध र द्वन्द्वले मानिसलाई कुनै कोणबाट फाइदा पु-याउँदैन भन्ने यस कथाको निष्कर्ष छ।

परम्परागत ‘घाम–जून, सागर–बादल, आकाश’ धर्तीजस्ता दोहोरिइरहने ‘क्लिसे’ बिम्बबाट दिक्क पाठकले गोहोमा नयाँ स्वाद पाउँछन्।

भैँस बिलकुल तराईमा चरेको छ, यस कथामा मैथिली भाषासँगै सुन्दर गहनाको रूपमा आञ्चालिकता आएको छ। अर्को आकर्षक पक्ष स्थानीय लवज हो। यस कारणले पनि कथा सशक्त बनेको छ। तराईको जीवनलाई सहज ढङ्गबाट प्रयोग गरिनु अर्को सफल पाटो हो। कथा नेपालीकरण गर्ने कार्यले थोरै भद्दा भई पाठकीय प्रवाहमा अवरोध सिर्जना गरेको छ। वर्षात्को समयमा हरेक वर्ष तराईका मानिसले प्राकृतिक प्रकोपको कारण कष्टकर जीवन जियाई सुन्दर र कलात्मक हुनु यस कथा सार हो। बर्खा लागेपछि तराईमा आइपर्ने बाढीको मानिसको मृत्यु साथै घरपालुवा जनावरको अवस्था प्रस्तुत छ। तर, कथाको व्यङ्ग्यले यतिमै बिट मार्दैन। आन्दोलनका नाममा सिधासादा देहाती गरिबलाई ‘यो आन्दोलन तेरो हो’ भनेर मास्टर साहेबले हरियालाई भैंसी दिए जसरी मुक्तिको सपना युगयुगदेखि नामसारी गरिदिएका उदाहरण प्रशस्तै छन्। यो कथा आफैँमा नेपाली राजनीतिको वर्षाैँदेखिको दुःखान्तको चित्र हो।

हरियाहरू र हलियाहरू ‘आफ्नो’ हुन नसकेको भैँसीको रसी तान्दै ज्यान गुमाइरहेका छन् र हरियाहरूको सपनाको टेको लगाएर आधुनिक महराजहरू समृद्धिको ‘मखन’ चाटिरहेका छन्।

‘मोचनघाट’मा मोचन छैन। नारी र पुरुषबीच अस्तित्वद्वन्द्व कायम राख्न खोज्नु कथाकारको ध्येय देखिन्छ। यसमा नारी र पुरुषबीचको समान हक र अधिकारको प्रयोग हुँदा सामाजिक र मानसिक छटपटी कसरी छताछुल्ल हुन्छ भन्ने देखाइएको छ। सामाजिक रूपमा असमानताको सिकार भएका नारीहरूको बुझाइलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। यसमा सहअस्तित्वमा सही दृष्टिकोण पु-याउन नसक्नु कथाको कमजोरी हो। यसमा नारीवादी दृष्टिकोण हावी भएका कारण समानताको जुवा एककाँधे भएको आभास हुन्छ। संवादात्मक दृष्टिमा हेर्दा कथा पूर्ण भएझैँ देखिए पनि मोचनघाटले नारी अधिकार र कर्तव्यलाई ‘मोचन’ गरेको पाइएन।

कथाहरूमा प्रयोग भएका बिम्बले भर्खरै लेख्न र पढ्न थालेका मान्छेको हुर्मत लिन्छ। आख्यानमा यति धेरै बिम्बको गञ्जागोल आवश्यक छ कि छैन भन्ने कुराको निक्र्योल पाठकले गर्ने नै छन्। तापनि कथामा आएका सुक्तिमय वाक्य र नौला ग्रामीण बिम्बले पाठकलाई तानेर किताबको पुछारसम्मै पु-याउँछन्।

परम्परागत घाम–जून, सागर–बादल, आकाश’धर्तीजस्ता दोहोरिइरहने ‘क्लिसे’ बिम्बबाट दिक्क नेपाली पाठकले गोहोमा नयाँ स्वाद पाउँछन्। कथाको अर्को सुन्दर पाटो विषयवस्तु, बिम्बविधान र प्रस्तुतीकरणमा आफ्नोपन हो। यी कुनै अग्रज वा विदेशी लेखकलाई गुरु थापेर ‘कपी–पेस्ट’ गरिएका कथा होइनन्। उनी नयाँ लेख्ने बहानामा बहकिएका भने पक्कै छन्। ‘गोहो’ द्वन्द्वकालीन नेपाली समाजको आधा यथार्थको दुखाइ मात्र हो। पारिवारिक माया, प्रेम, सद्भावभन्दा युद्ध, क्राान्ति, द्वन्द्व, संघर्षमा पिल्सिएका भुइँमान्छेको जीवनबोध त पाइन्छ– तर आधामात्रै। कथा अनावश्यक तन्किएका छन् ‘गोहो’ र ‘छेकारो’ कथामा चारपाँच पेजसम्म ‘ल्याङल्याङ’मात्रै छ। नचाहिने पात्र र उपकथा पनि घुसपैठ गर्न आइपुगेका छन्। अनि लठिबज्र पारेर छोडिएका छन्। कतैकतै बिम्ब र सन्दर्भ दोहोरिएजस्तो पनि लाग्छ। पूरै किताब दस वर्षे जनयुद्धबाट आएको सामाजिक र बौद्धिक जागरणको विषयमा मौन छ। पछिल्लो समय आएको राजनीतिक परिवर्तन स्वीकार्न नसक्नु ‘गोहो’को कमजोर पक्ष हो।

प्रकाशित: २८ असार २०७६ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App