७ वैशाख २०८१ शुक्रबार
अन्य

विभूतिको सम्मान

रामकाजी काेने स्थापित पर्यटन व्यवसायी। साहित्य उनको रुचि। नेपाल मुक्तक प्रतिष्ठानको नेतृत्व सम्हालिरहेका उनी नेपाली भाषामा चोटिला मुक्तक लेख्छन्। साहित्यप्रति उनको रुझान छ। उनी आदिकवि भानुभक्तलाई श्रद्धा गर्छन्। भानुलाई क्रान्तिकारी र युग द्रष्टा मान्छन्।

‘धार्मिक ग्रन्थहरू सबै संस्कृतमा भएका बेला रामायणलाई नेपाली भाषामा अनुवाद गर्नु क्रान्तिकारी कदम थियो,’ कोने भन्छन्, ‘आचार्यले नेपालीलाई साझा भाषा मानेर अनुवाद गरेका हुन्।’

भानुभक्त सोचमा निकै अगाडि देखिए। ‘उनले आदिकवि बन्छु भनेर कविता लेखेका होइनन्,’ कोने प्रष्ट्याउँछन्, ‘नेपाली भाषामा रामायण भइदिए सबैले सजिलै ज्ञान लिन सक्लान् भनेर अनुवाद गरेका हुन्।’

यसरी भाषाका माध्यमले सबै नेपालीलाई जोड्ने काम गरे उनले। कोनेले भानुको सम्मानमा १४ वर्षअघिदेखि भानु जयन्तीकै दिन पुरस्कार बाँडिरहेका छन्। सिद्धार्थ साहित्य परिषद्मा उनले ‘सकला सिद्धार्थ साहित्य परिषद् पुरस्कार’ स्थापना गरेका छन्। हरेक वर्ष लुम्बिनी क्षेत्रबाट प्रकाशित उत्कृष्ट कृतिलाई दस हजार रूपैयाँसहित सम्मान गरिरहेका छन्। 

त्यति मात्र होइन, पछिल्ला केही वर्षदेखि उनी चुँदीरम्घास्थित भानुभक्तको जन्मघर पुनर्निर्माण अभियानको अगुवाई गरिरहेका छन्। पत्रिकामा ‘भानुको घर खण्डहर’ शीर्षक समाचार पढेपछि त्यतिवेला उनी अध्यक्ष रहेको पश्चिमाञ्चल विकास मञ्चले त्यो घर बनाउन अग्रसरता लियो। 

चलचित्र ‘आदिकवि भानुभक्त’ निर्माणताका बनाइएको घर खण्डहर बनेको हो। मञ्चले भानु जन्मथलोका गुरुयोजना बनाएर सरकारसँग सहकार्य गरिरहेको छ।

जन्मघर हामी बनाउँछौं। बाँकी संरचना सरकारले बनाउँछ,’ उनले भने, ‘सरकारले बनाएको रामायण भवन अन्तिम चरणमा पुगेको छ।’

सरकारले त्यहाँ अतिथि गृह, पुस्तकालय लगायत संरचना बनाउने छ। त्यसपछि बल्ल चुँदी सृजनाग्रामका रूपमा परिणत हुनेछ।
भानु जन्मस्थलसम्म वर्षैभर मोटर जान सक्दैन। बाटो कच्ची छ। पानी, बिजुली र सुरक्षाजस्ता आधारभूत पूर्वाधार नभएकाले निर्माणमा ढिलाई भइरहेको कोने बताउँछन्। ‘आवश्यक पूर्वाधार पूरा भएमा आउँदो मंसिरदेखि हामी घर निर्माण सुरु गर्नेछौं,’ कोने सुझाउँछन्, ‘सुरक्षाका लागि त्यहाँ एउटा प्रहरी पोस्ट नै चाहिन्छ।’

प्रकाशित: २८ असार २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App