coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

विराटनगर डुबानग्रस्त

विराटनगर– अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त छ। निर्माणाधीन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा सहर कुरुप बनेको छ।

वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको छ। सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा केही दिनदेखि परेको वर्षाले आक्रान्त बनाएको छ। विराटनगर १५, १४, ७ नम्बर वडा तथा कोसी अञ्चल अस्पताल, भित्री सडकहरू डुबानमा परेका छन्। यस्तै राजमार्गभन्दा मुनिका सबै सडकको दायाँबायाँका भित्री सडक तथा पसल डुबानमा परेको स्थानीयले बताएका छन्। डुबानग्रस्त क्षेत्रमा नगरपालिकाले नाला क्लियर पार्न डोजर परिचालन गरेको छ। डुबानबाट पीडित बनेका विराटनगर–७ का स्थानीय सन्तन रेग्मीले नगरपालिकाले बेलैमा ध्यान दिन नसक्दा डुबान भएको आरोप लगाएका छन्।

विराटनगर–७ मा रहेको शनिमन्दिरको बिजुली बजार लाइन पूरै डुबानमा परेको छ। चिया पसल, इलेक्ट्रोनिक पसल तथा सैलुन, काठमिललगायतका स्थानमा ताल बनेको छ। दिउँसो पानी केही घटेको भए पनि बुधबार बिहानीपख २ फिटसम्म पानी जमेको सोही ठाउँका स्थानीय रञ्जीतकुमार गुप्ताको भनाइ छ।

स्थानीय सरकारले डुबान नहुने कारण खोजेर स्थायी समाधान खोज्नुपर्ने स्थानीय बताउँछन्। डुबान भएपछि डोजर लगाएर पानी खोल्ने र पछि चुपचाप बस्ने बानीका कारण पटकपटक समस्या भोग्नुपरेको स्थानीय मोहन न्यौपानेको भनाइ छ।

यता विराटनगर–७ की वडा सदस्य चित्रकला आचार्यले एडिबीको विकास निर्माणका कारण बजार पसल डुबानमा परेको बताइन्। कतिपय सन्दर्भमा सर्वसाधारणले पनि फोहोरको व्यवस्थापन उचित ढंगले नगर्ने र नालामै फोहोर फ्याँक्दा नाला जाम भएको दाबी गरिन्। विकास निर्माणको काम एकैचोटी नहुने भएको भन्दै उनले यसको समाधान बिस्तारै हुने बताइन्।

विराटनगर महानगरपालिकाका प्रमखु भीम पराजुलीले भने डुबानबाट पीडितहरूसँग क्षमा मागेका छन्। ‘विराटनगर निर्माणको अवस्थामा भएको हुनाले, केही असहजता र अप्ठ्यारो स्थिति छ यो समयमा भएको दुःखका लागि म सम्पूर्ण नगरवासीसँग क्षमा माग्न चाहन्छु। तपार्इंहरू सबैको सहयोगले यो दुःखको अवस्था लामो समय रहने छैन,’ प्रमुख पराजुलीले सामाजिक सञ्जालमा स्टाटसमा उल्लेख गरेका छन्। वर्षाका कारण विभिन्न स्थानमा ब्लक भएका नालालाई खुलाउन आफैं उपस्थित भएर महानगर प्रमुख पराजुलीले डोजर चालकलाई निर्देशन गरेका छन्।

०७४ साल साउन २८ र २९ गते आएको बाढीका कारण विराटनगर जलमग्न बनेको थियो। केशलिया र सिंघिया खोला थुनिएर बजार पसेको बाढीले विराटनगरको एयरपोर्ट एक हप्ता लामो समयसम्म सञ्चालन हुन सकेको थिएन भने हजारौं सर्वसाधारण विस्थापित भएका थिए। कतिपयको घर खोलाले बगाएको थियो र करोडौं धनसम्पत्ति नष्ट भएको थियो। त्यसपछि पनि विराटनगर महानगरपालिकाले आउनसक्ने सम्भावित बाढी तथा डुबानको समस्या समाधानका लागि कुनै ठोस पहल नगरेको स्थानीय बताउँछन्।

प्रकाशित: २६ असार २०७६ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App