८ वैशाख २०८१ शनिबार
अन्य

तराईमा सर्प डसाइको घटना बढ्यो

दमक– गर्मी बढेसँगै तराईमा सर्प डसाइका घटना बढेका छन्। सर्पले डसेर उपचार गर्न आउने बिरामीको संख्या वृद्धि भएको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरूले जनाएका छन्।

झापाको दमकसँगै जिल्लाको कन्काई नगरपालिकाको सुरुंगामा नेपाल रेडक्रस सोसाइटी र चारआलीमा नेपाली सेनाको सर्प डसाइको उपचार केन्द्र सञ्चालित छन्। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सञ्चालनमा ल्याएको सर्प डसाइ उपचार केन्द्रमा केही दिनयता दैनिक ८–१० जना बिरामी आउन थालेका छन्।

जिल्लाको माइपश्चिम क्षेत्रका बिरामीहरूले निःशुल्क रुपमा सर्प डसाइको उपचार उपलब्ध गराउँदै आएको छ। सर्प डसाइ उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीका अनुसार गर्मी लागेसँगै तराईमा सर्प डसाइको घटना बढेको पाइएको छ। सर्प डसाइ उपचार केन्द्रमा अहिले सरदर ८–१० जना बिरामी उपचार गर्न आएको केन्द्रको तथ्यांकमा छ। तीमध्ये एक चौथाइ प्रतिशत विषालु सर्पले डस्ने गरेको पाइएको केन्द्रले जनाएको छ।

गर्मीसँगै वर्षाका समयमा आहाराका निम्ति बाहिर निस्किँदा सर्पले डस्ने गरेको उनको भनाइ छ। दिनमा भन्दा साँझ र रातिको समयमा सर्पले डस्ने गरेको भण्डारीले बताए। तराईमा विषालु सर्पमा करेत, गोमन पाइन्छन् भने चुरे पहाडी क्षेत्रमा गुर्वे, हरेउलगायतका सर्पहरू पर्छन्।

एम्बुलेन्सका रुपमा मोटरसाइकल
सर्प डसाइबाट हुन सक्ने मृत्युदर घटाउन झापासहित इलाम र मोरङ जिल्लाका अतिप्रभावित दुई दर्जनभन्दा बढी गाउँपालिकामा सर्प डसाइको आकस्मिक उपचारका लागि मोटरसाइकल स्वयंसेवक कार्यक्रम सञ्चालित छ। रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीका अनुसार एम्बुलेन्सका रुपमा मोटरसाइकलमार्फत बिरामीलाई उपचार केन्द्रसम्म पु¥याउने उद्देश्यले सो कार्यक्रम सञ्चालनमा छ।

सर्पले डसेका बिरामी ल्याउन मोटरसाइकल भएका स्थानीय स्वयंसेवकहरूलाई परिचालन गरिएपछि दुर्गमका त्यस्ता बिरामीले सहजै उपचार पाउन सुविधा पुगेको रेडक्रसका सभापति बुढाथोकीले बताए।

सावधानी अपनाउन आग्रह
सर्पको डसाइबाट विषालु सर्प विशेष गरेर गर्मी र वर्षाको समयमा आहाराको खोजीमा दुलो बाहिर निस्किने हुँदा रातिपख हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने स्वास्थ्य प्राविधिकले आग्रह गरेका छन्। केन्द्रका प्राविधिकसमेत रहेका भण्डारीले बर्खाको समयमा सर्प बस्ने दुलोमा पानी भरिँदा सर्प बाहिर निक्लने हुँदा त्यस मौसममा विशेष सतर्कता अपनाउनुपर्ने बताउँछन्। उनले यो मौसममा घरमा मुसाको दुलो नराख्न, तथा घर छेउछाउ सफा राख्न ध्यान दिनुपर्ने बताए। विशेष गरेर तराईका आदिवासी समुदाय राति झुल नलगाई सुत्ने गर्दा यी समुदायका मानिसहरू बढी सर्पको डसाइमा परेको अध्ययनले देखाएको उनको भनाइ छ।

प्रकाशित: २० असार २०७६ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App