१५ चैत्र २०८० बिहीबार
अन्य

विकासका काम अपारदर्शी

राजविराज– चालू आर्थिक वर्ष सकिन लागेपछि सप्तरीमा तिनै तहका सरकारबाट भइरहेको विकासका योजनाहरूको काम अपरादर्शी ढंगले भइरहेको छ। 

संघ, प्रदेश र स्थानीय सरकारबाट सप्तरीको विभिन्न स्थानीय तहहरूमा भइरहेको विकासका निर्माण काम उपभोक्ता समिति तथा ठेकेदारहरूले अपारदर्शी ढंगले गरिरहेका हुन्।

जसरी पनि असारमै बजेट सिध्याउनुपर्ने भएकाले बजेट प्रदान गर्ने सरकारी कार्यालयहरूलाई ठेकेदार तथा उपभोक्ता समितिले कमिसन बुझाउनुपर्ने भएकाले पनि योजनाहरूको काम सप्तरीमा अपरादर्शी ढंगले भइरहेको छ।

राजविराज नगरपालिकाबाट यही असारमा सकिनुपर्ने दर्जनौं योजनाको काम भइरहेको छ। ठूलो धनराशिका योजनाहरूमध्ये माछा हाटमा ५५ लाख बराबरको शौचालय, राजदेवी टोलमा ५० लाखको कबर्ड हल, कोलनिका गलीमा अतिक्रमण हटाउन र नाला निर्माण गर्न ४६ लाख तथा विषहरियामा सडक ढलानका लागि २५ लाख बराबरको काम भइरहेको छ।

तर, माथिकामध्ये कुनै पनि काम पारदर्शी भइरहेको छैन। विकासका योजनाको सम्झौतामै अनिवार्यरूपमा निर्माणस्थलमा निर्माण कामसम्बन्धी सूचना बोर्ड लगाउनुपर्ने उल्लेख छ। ‘कुन काम कहाँ भइरहेको छ, समय सीमा कति छ, कति बजेट तथा उपभोक्ता वा ठेकेदार कम्पनीको सम्पर्क व्यक्ति र सम्पर्क नम्बरसहितको सूचना बोर्ड निर्माणस्थलमा अनिवार्यरूपमा राख्नुपर्छ, यसले सर्वसाधारणलाई सूचित हुने अधिकार पनि दिलाउँछ’, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘तर, वास्तविकमा यस्तो भइरहेको छैन, निर्माणस्थलमा सूचना बोर्ड नराखेको गुनासो धेरै आइरहेको छ।’ 

राजविराज नगरपालिकाबाहेक सप्तरीका विभिन्न स्थानीय तहहरूमा संघ, प्रदेश र स्थानीय सरकारहरूबाट भइरहेको विकासका योजनाहरू यसरी नै अपारदर्शी ढंगले भइरहेको छ। ‘कुन निकायले काम गराइरहेको छ, काम के हो, कहिले सक्नुपर्ने र कति बजेट छ भने जानकारी आफूहरूले पाउन सकेको छैन’, तिलाठीकोइलाडी गाउँपालिकाका अशोक यादवले भने, ‘जसले गर्दा काममा भइरहेको अनियमितताबारे माथिल्लो निकायमा उजुरीसमेत गर्न पाएका छैनौं।’

सहिद गेट निर्माण अलपत्र

राजविराज नगरपालिकाको ८१ लाखको लागतमा वडा नम्बर ९ मलेठमा निर्माणाधीन ‘सहिद स्मारक गेट’को निर्माण कार्य अलपत्र परेको छ।

नगरपालिकाले गत आर्थिक वर्षकै १४ पुसमा सहिद स्मारक गेटको निर्माण काम सम्पन्न गर्ने गरी १५ असार ०७५ मा स्थानीय न्यू गहिल कन्सट्रक्सनसँग सम्झौता गरेको थियो।

तर, ठेकेदार कम्पनीले समयमा काम पूरा गर्न नसकेपछि चालू आर्थिक वर्षको असारसम्म काम सम्पन्न गराउने गरी दोस्रो पटक म्याद ठेकेदारलाई नगरपालिकाले ५ पुस ०७६ मा प्रदान गरेको थियो। अहिले असार सकिन लाग्दा पनि उक्त सहिद स्मारक गेटको निर्माण काम पूरा हुन सकेको छैन।

राजविराज नगरपालिकाका एक प्राविधिकका अनुसार हालसम्म गेटको ढलान, प्लाष्टर र सहिदहरूको शालिक लगाउने काम हुन सकेको छैन। नगरपालिकाले ठेकेदार कम्पनीलाई काम सम्पन्न गराउन भनी गएको असार १ गते नै पत्राचार गरिसकेका छन्। उक्त ठेकेदार कम्पनीका मालिक भने राजविराज नगरपालिकाको निर्वाचनमा मेयर पदका निकटतम प्रतिद्वन्द्वी भएका भीमराज यादव हुन्।

प्रकाशित: २० असार २०७६ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App