२१ मंसिर २०७८ मंगलबार
अन्य

जो कारागार रुँगेर बसे

तस्बिरः कृष्पा श्रेष्ठ

बाहिर झ्याउँकीरी एकतमासले कराइरहेका छन्। भदौरे झरी चट्याङसहित दर्किरहेको छ। घडीले रातको ठीक १२ बजाएपछि सुन्दरीजल कारागारमा उनी मैनबत्ती बालिदिन्छन्। यो दिन उनका लागि ठूलो विजयको दिन थियो। उनले ठूलो संघर्ष गरेर सुन्दरीजल कारागारलाई एउटा चर्चित ठाउँका रुपमा स्थापित गर्न सफल भएका थिए। अन्ततः २०६१ साल भदौ २४ मा उनी आफ्नो अभियानमा सफल भइछाडे।

यही रात खुसी मनाउन राति मैनबत्ती बालेका थिए, राजनीतिको एउटा उज्ज्वल नक्षत्रलाई सम्झिरहे। पानी रोकिएपछि बिपी थुनिएको कोठालाई दायाँ पारेर उनी अर्काे भ¥याङबाट  आँगनमा झरे। कपुरको रुखको छेउ उभिए र लामो श्वास फेरे।

उनी हुन्, पर्शुराम पोखरेल। सुन्दरजल रुँग्ने उनी एक मात्र व्यक्ति हुन्।

उनको सपना पूरा भएको दिन थियो त्यो। ‘त्यतिबेला त म पूरै शून्यतामा पुगेँ,’ पर्शुरामले भने, ‘जीवनमा केही गर्न सकेँजस्तो लाग्यो।’

बुबाको त्यो बोली 

पुख्र्यौली थलो नजिकै रहेको सुन्दरीजल बन्दी गृह देखाउँदै पर्शुरामका बुबाले भन्थे, ‘सबैले आफूले सक्दो काम गरेका हुन्छन्, सक्यौ भने तिमीले यो जेललाई बिपीको नाममा संग्रहालय बनाउनू।’

प्रधानमन्त्री छँदै कू भएपछि बिपीलाई राजाले जेल हाले। उनलाई सुन्दरजलमै ल्याइएको थियो, २०१७ सालमा। यसको ठीक एक वर्षपछि पर्शुराम जन्मिएका थिए, २०१८ सालमा।

बीचमा बिपी निर्वासित भएका थिए भने पछि मेलमिलापको नीति बोकेर स्वदेश फर्किएका थिए। बिपीलाई यहाँ ल्याइएको छ भन्दा उनी पनि हुर्रिएर बिपीको एक झलक हेर्न पुगेका थिए। बिपीलाई हेर्नेको भिड थियो, त्यही भिडबाट उनले चिहाएर बिपीलाई हेरे।

पछि क्यान्सरको कारणले बिपीको निधन भएपछि बुबाले यो ठाउँलाई संग्रहालय बनाउन भनेको कुराले उनलाई भित्रैबाट छोयो। त्यसै पनि बुबाले बिपीका बारेमा बारम्बार सुनाउने अनेकन् किस्साले कोइरालाप्रति उनको मनमा असीम सम्मान थियो।

शहर आउजाउ गर्दा बाटैमा पर्ने यो बन्दीगृह देख्दा उनका बुबाले भनेको कुरा सम्झिरहन्थे।

२०३३ सालमा मेलमिलापको नीतिअन्तर्गत भारतको निर्वासनबाट बिपी स्वदेश फर्किएका बेला पर्शुरामका बुबा हस्याङफस्याङ गर्दै घर पुगेका थिए र उनको मुखबाट फुत्त निस्किएको थियो, ‘बिपी आउनुभा’छ।’

उनका बुबाले यत्ति भनेका थिए पर्शुराम त हान्निएर जेलनजिक पुगिहाले। त्यहाँ मान्छेको हुल देखेर उनी त चकित भएछन्। टाढैबाट उनले बिपीलाई देखे। देशको प्रधानमन्त्री भइसकेको मान्छेलाई किन थुनेका होलान् ? मेरै गाउँमा ल्याएर किन थुन्याहोला ? भन्ने उनलाई सधैँ लागिरह्यो।

सुन्दरीजल जेल त्यतिबेला सेनाको मातहतमा थियो। २०२१ सालमा नापीले जग्गा नापेको त्यो क्षेत्रमा वडा अध्यक्ष उनका बुबा नै थिए। कारागार रहेको ठाउँलाई उनका बाबुले राजबन्दी गृह राख्नुपर्ने बताएका थिए। सेनाले त्यो बेला नमानेको पर्शुराम बताउँछन्। सेनासँगको घम्साघम्सीका बाबजुद उनले राजबन्दी गृह नै लेखाए। वडा अध्यक्षले हस्ताक्षर नगरी नहुने भएका कारण त्यसो हुन सम्भव भएको पर्शुराम सम्झन्छन्। जसै उनले राजबन्दीगृह भनी लेखाए, उनको वडाअध्यक्ष पद गयो।

के कारणले उनको वडाध्यक्ष पद गयो भनेर कसैले जवाफ दिएन।

बिपी संग्रहालय र किसुनजीको जवाफ
 संग्रहालय स्थपनाको लागि २०४७ सालदेखि नै पर्शुरामले पहल थालेका थिए। कहिले कछुवा गतिमा त कहिले खरायोको गतिमा निरन्तर लागिपरे उनी। बहुदल आएपछि अन्तरिम सरकार बन्यो। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेट्न फाइल बोकेर उनी र केही साथी बिपी संग्रहालय बनाउने जिरीहका साथ पुगे। सेनालाई त्यहाँबाट निकाल्ने र भएको जग्गामा संग्रहालय स्थापना गर्ने पर्शुरामको सोच व्यक्त गरे। प्रधानमन्त्रीले जवाफ दिए, ‘राँडी आइमाई र बाँझो जमिन सेनाले देख्नै हुँदैन। त्यसैले यो काम हुँदैन।’

प्रधानमन्त्रीको ठट्टा सुनेर कोठामा भएका सबै हाँसे। उन ीभने यस्तो गम्भीर कुरामा भएको ठट्टामा हाँस्न सकेनन्।

२०५४ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि भने केही होला कि भन्ने उनलाई लाग्यो। संसद्मा बोल्दाबोल्दै ढलेका कोइराला वीर अस्पतालमा भर्ना भएका थिए। भिभिआइपीको चिकित्सक समितिमा प्राविधिकसमेत रहेका पर्शुराम कोइरालाको उपचारका लागि नियमित सम्पर्कमा थिए। कोइराला निको भएपछि डाक्टरको समितिलाई धन्यवाद दिन अपराह्न बोलाए। उनी पनि गए। उनले त्यही मौकामा मनको पोयो फुकाएर भने, ‘सुन्दरीजल बन्दीगृहलाई बिपी कोइराला संग्रहालय बनाउनु प¥यो।’ जवाफमा कोइरालाले पछि भेट्न बोलाए।

‘म त्यतिबेला निकै उत्साहित थिएँ,’ उनले भने, ‘मलाई लाग्थ्यो, प्रधानमन्त्रीले चाहे तुरुन्त हुन्छ।’ अफसोच, जग्गा सेनाको भएको कारण कसैले पनि छुन नसक्ने अवस्था थियो।

हार मानेर झोक्राएर बस्न उनको मनले मानेन। २०५४ साल पुस २६ गते बिपी संग्रहालयको अवधारणा बनाइयो र त्यसको कार्यदल अध्यक्ष नरहरि आचार्य भए। यसपछि संस्कृति मन्त्रालयले ५० हजार विनियोजन पनि ग-यो।

कार्यदलको पहिलो बैठक बस्यो। बैठक बसेपछि भत्ता लिने चलनअनुसार बाँड्न लागियो। पर्शुराम कड्किए, ‘संग्रहालय नै नबनी केको भत्ता ?’
यसपछि कसैले भत्ता लिन पाएन। न त कुनै निर्णय नै हुन सक्यो। यसपछि त बैठक नै नबस्ने हुन थाल्यो। लामो समयसम्म संस्थाले काम गर्न नसकेपछि उनी एक्लो पहलमा बिपी संग्रहालय समिति भनेर आफैँले दर्ता गरे।

जब सपना साकार भयो
यसबीच रोचक के भयो भने, सुन्दरीजल बन्दीगृह नजिकै शिक्षण अस्पताल बन्ने भयो। त्यसपछि सेनाले ठाउँ छाड्नुपर्ने अवस्था आयो। सेनाले २०६१ साल भाद्र २३ गते यो ठाउँ छाड्यो। भाद्र २४ गते उनले कार्यक्रम राखेर बिपी संग्रहालय निर्माण भई छाड्यो।

यो कार्यक्रममा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पनि सहभागी भए। ‘कसैले सक्दैनस्, सेनाको जग्गा हो, तैँले गर्न खोजेर मात्र हुँदैन भनेर रोक्न खोजे तर मैले हार मानिनँ,’ पर्शुराम पोखरेलले भने, ‘आखिरीमा संग्रहालय भएरै छाड्यो। सक्दैनस् भन्नेहरु बोल्नै छाडे, कोहीले मुन्टो बटारे।’

उनलाई चित्त दुखेको कुरा त, मुन्टो बटार्नेमा अरु कोही नभएर कांग्रेसी नै थिए।

यो संग्रहालय बनाउन उनले विभिन्न समिति र सरकारका नाउँमा एक सय १९ वटा पत्र काटेका रहेछन्।

काम गरे जस्तो हुन्न
अहिले संग्रहालय भएपछि हवल्दारको नेतृत्वमा ५ जना प्रहरीले यसको रेखदेख र सुरक्षा गरिरहेका छन्। अहिले उनले रुग्नु पर्दैन तर दिनको १२ घण्टा निरन्तर संग्रहालयको काममा खट्टिइरहेका हुन्छन्।

प्रकाशित: ९ असार २०७६ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App