२९ असार २०७७ सोमबार
अन्य

ओझेलमा छन् भक्तपुरका संग्रहालय

भक्तपुरको दरवार स्क्वायरमा रहेको राष्ट्रिय कला संग्रहालयमा घुम्न आउने घटेका छन्। २०७२ सालको भूकम्पपछि यहाँ घुम्न आउने घटेका हुन्। संग्रहालयअन्तर्गत तीनवटा म्युजियम रहेका छन् चित्रकला, धातुकला र काष्ठकला। चित्रकला भक्तपुर दरवार स्वायरस्थित राष्ट्रिय कला संग्रहालयमा रहेको छ। काष्ठकला भक्तपुरकै तचपाल टोलस्थित दत्तात्रय मन्दिरको दक्षिणतर्फ रहेको छ भने धातुकला तचपाल टोलस्थित दत्तात्रय मन्दिरको उत्तरतर्फ चिकंफ मठमा रहेको छ।

संस्कृतिविद् ओम धौभडेलले ‘संग्रहालय नाममात्रको भएको’ बताए। संग्रहालयको अवस्था एकदम नाजुक भएको धौभडेल बताउँछन्। संग्रहालयमा विद्यालयले घुमाउन लग्यो भने पुग्ने नभए नपुग्ने अवस्था रहेको उनी बताउँछन्। त्यसैले विद्यालयले मात्र नभई अभिभावकले पनि आफ्नो कला संस्कृतिलाई तथा इतिहास नयाँ पुस्तालाई बुझाउनको लागि संग्रहालय लाग्नुपर्ने उनको धारणा छ। उनले भने, ‘संग्रहालयमा घुम्नको लागि जाने होइन, देशको इतिहास र संस्कृति बुझ्नको लागि जाने हो।’ त्यसैले संग्रहालयमा कम्तिमा पनि त्यहाँ राखिएका सामानको बारेमा पुस्तक र पढ्नको लागि शान्त वातावरण हुनुपर्ने उनी बताउँछन्।

संग्रहालयकी प्रमुख सरस्वती सिंहले संग्रहालय अवलोकन गर्न आउनेको संख्या कम भएको बताइन्। यसमा विदेशीको संख्या कम हुनुको कारण संग्रहालय छिर्न दोहोरो पैसा तिर्नुपर्ने भएको उनी बताउँछिन्। नगरपालिकाले भक्तपुर प्रवेश गर्नुलाई पनि पैसा लिने अनि संग्रहालयमा पनि छु्टै पैसा तिर्नुपर्ने भएर विदेशी नआएको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘भक्तपुर एउटा खुला संग्रहालय हो, त्यसैले विदेशी बाहिरको हेरिसकेपछि संग्रहालय हेर्न नपर्ने सोच छ।’

नयाँ पुस्तामा सिक्ने र अध्ययन गर्ने भावना नहुँदा पनि संग्रहालयमा आउनेको संख्या घटेको उनी बताउँछिन्। उनी भन्छिन्, नयाँ पुस्तालाई घुम्न पाए पुग्छ। उनलेसंग्रहालयमाविद्यार्थी धेरै आउने गरेको सुनाउँछिन्। त्यो पनि बच्चा केही सिकौं भनेर होइन कि कक्षामा पढ्नु नपरी, घुम्न पाउने भएर खुसी हुँदै आउँछन्,’ उनी भन्छिन्। बाहिर टेको लगाएको देखेर मान्छेहरू भित्र छिर्न डराउने उनी सुनाउँछिन्।

तीन वटा संग्रहालयमध्ये जहाँबाट टिकट काट्दा पनि तीन वटै ठाउँमा अवलोकन गर्न मिल्ने उनले जानकारी गराइन्। साथै एकै दिन घुम्न नभ्याएको खण्डमा समय मिलेको बेला जति बेला पनि जान मिल्ने बनाएको उनी बताउँछन्। भक्तपुरको धातुकला संग्राहलयमा कार्यरत कम्प्युटर अपेरेटर विकास नकर्मी पनि संग्रहालय अवलोकन गर्नेको संख्या घट्दै गएको बताउँछन्। त्यसमा पनि धातुकलामा प्रवेश गर्न आउने स्कुलका बच्चा र विदेशी हुने गरेको उनी सुनाउँछन्। उनले भने, ‘अरु त किन हो ठाउँ थाहा नभए वा समय नमिलेर हो कि आउँदैनन्।’

संग्रहालय प्रवेशका लागि नेपालीले नेपालीले २५ रूपैयाँ तिर्नुपर्छ। विद्यार्थीले भने १० रूपैयाँ तिरे पुग्छ। यस्तै, सार्क राष्ट्रका नागरिकलाई ५० रूपैयाँ र विदेशका नागरिकलाई १५० रूपैयाँ प्रवेश शुल्क लाग्छ। यहाँ फोटो र भिडियो खिच्न पाउने सुविधा पनि छ। फोटो खिच्नका लागि नेपालीले ५० रूपैयाँ, सार्क राष्ट्रका नागरिकले ७५ रूपैयाँ र विदेशीले १०० रूपैयाँ तिर्नुपर्छ। भिडियो खिच्नका लागि नेपालीले १०० रूपैयाँ, सार्क राष्ट्रका नागरिकले १५० रूपैया र विदेशीले २०० रूपैयाँ तिर्नुपर्छ।
संग्रहालयमा ११ औं र १५ औँ शताब्दीको चित्र राखिएका छन्। १५ औँ शताब्दीका बसुन्धारा मण्डला, शक्तिसहितको गणेश, महिषसम्बर, बज्रयोगिनी र शिव विश्वरुप पौभा चित्र छन्।

यस्तै, धातुले बनेका पुराना सामान पनि छन्। यहाँ सांस्कृतिक तथा धार्मिक कार्य तथा दैनिक जीवनमा प्रयोग गरिने विभिन्न प्रकारका धातुका साम्रगीहरु प्रदर्शित गरिएका छन्। उपत्यकाका नेवार समुदायले प्रयोग गर्ने पानस, करुवा, कचौरा, थाल, सुकुन्दा, कलश, ताँफ र गाग्री राखिएका छन्।

प्रकाशित: ७ असार २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App