१६ चैत्र २०८० शुक्रबार
अन्य

मन छुने कथा

 पुष्पराज पौडेल

गजल र उपन्यास लेखनमा सक्रिय उमा सुवेदी १७ वटा कथाहरूको संग्रह ‘सयौ पुतली’ लिएर आएकी छन्। कथामा नारी र नारीका पीडालाई राम्ररी बुनेकी छिन् उनले। उनका कथामा नारीका आर्थिक, सामाजिक, यौनिक समस्यालाई गहन र सहज रुपमा व्याख्या गरिएको छ।

उपन्यास लेखनमा सशक्त उपस्थिति देखाइसकेकी सुवेदीले कथालाई पनि दमदार ढंगले प्रस्तुत गरेकी छन्। संग्रहको पहिलो कथा अविवाहित तर विवाह पक्का भएको नारी पुरुषको सम्बन्ध र पुरुषले कुन नजरबाट हेर्छन् भन्ने कुराको मनोवैज्ञानिक चित्रण गरिएको छ। यस्तै अर्को कथामा सकारात्मक सोच नराख्ने पुरुष अरूलाई दोषमात्र लगाउँछ तर, उसले व्यवहार धान्न कति मुस्किल छ भन्ने बुझ्दैन। जब व्यवहार आपूmमाथि पर्दछ तब मात्र बुझ्छ र पश्चाताप पनि गर्दछ।

समाजमा यौनपिचास पनि छन् जसले छोरी तथा बैनीलाई यौन दुव्र्यवहार गर्दछन्। उनीहरूको मानसिकता यौनसित मात्र जोडिएको हुन्छ। यस्ता नरपिचासको अन्त आफ्ना सन्ततिबाट गराएर कथाकारले राम्रो सन्देश दिएकी छिन्।
अर्को कथामा विवाह गर्ने उमेरकी केटी जो आधुनिक छिन्। उनको सोच आफूले विवाह गर्ने पुरुषसित यौनपरीक्षण गरेर मात्र विवाहको मापन गर्ने हुन्छ उनी त्यसको घोषणा गर्छिन्। प्रवेश परीक्षा पास गरेर कलेज भर्ना भएजस्तो गरी उनीहरूको विवाह हुन्छ।

विवाहको पहिलो दिनबाटै उनले श्रीमान्बाट फरक व्यवहार पाउँछिन्। उनका श्रीमान्ले प्रवेशपरीक्षाको विषयलाई ‘इसु’बनाएर पटकपटक मानसिक यातना दिन्छन्। समाजमा हरेक सदस्यको सामाजिक मान्यता र व्यवहार हुन्छ। अति आधुनिकता पनि समाजलाई पाच्य हुँदैन। कुनै ठाउँमा नारी अति आधुनिक बन्दा हुने दुःखको कथा राम्रोसँग पस्केकी छिन् सुवेदीले।

एउटी एकल नारीको जीवन संघर्ष छ उनको कथामा। जति पीडा भए पनि बाँच्नु पर्ने रहेछ ! कथा संग्रहमा धेरै घटना छन्। श्रीमान् पैसा कमाउन विदेश गएपछि महिलाले कस्तो कुण्ठामा जीवन जिउँछन्। कसरी जीवन काट्छन्,  कति महिला परपुरुषको संगतमा जान्छन् भन्ने उनले चित्रण गरेकी छिन्।   कथाकारले सामाजिक दायित्वलाई सहज रूपमा व्याख्या गरेकी छन्। उनले उपन्यासमा पनि दिदीबहिनीको सम्बन्धमा एकले अर्कामाथि गरेको समर्पण र बलिदानको कथा प्रस्तुत गरेकी थिइन्। यसमा पनि दिदीले अर्थपूर्ण चलाखीकासाथ बहिनीको विवाह गराएकी छन्।

समाजमा भइरहेका घटनाहरूलाई राजनीतिले कसरी आफ्नालाई संरक्षण र अरुलाई नियतवश कानुनी लडाइमा पु-याउँछ भन्ने सजीव चित्रण गरिएको कथा पनि  छ। अधिकाश कथामा नारीको प्रतिनिधित्व भए पनि पुरुषको मन छुने खालका छन्। यति हुँदाहुँदै पनि ‘सयौँ पुतली’ कथा मलाई ठिकै लाग्यो। अरू कथाभन्दा सशक्त लागेन। एउटा पुरुष जँड्याहा हुँदै गर्दा श्रीमतीको पनि भूमिका हुन सक्छ उसलाई रोक्न र सही लाइनमा ल्याउन अपवादबाहेक उक्त नारी सफल पनि हुन सक्छिन्। समाजमा यस्ता प्रतिनिधि पात्रहरू छन्। जसले आफ्नो पीडा भुलाउने बहानामा मादक पदार्थ सेवन गर्छन्। यसपछि परिवारले उसलाई गर्ने दुव्र्यवहारले ऊ पूरै समय जँड्याहा हुन्छ। सकारात्मक सन्देश दिन कथाकारले  प्रयास गरेको भए अझ राम्रो हुने थियो ।

संग्रहमा धेरै सकारात्मक पक्षहरू छन्। कथाकारले पुस्तकको अन्तिममा ‘आफ्नो कुरामा’ लेखेकी छिन्, ‘ठिकठाक लेखेको छु। अझैँ राम्रो लेख्ने प्रयास गर्नेछु।’ उनका केही कथा पढ्दा हतार गरेझैं लाग्छ। केही कथाको पुर्नलेखन जरुरी देखिन्छ। संग्रहमा भाषाको राम्रो संयोजन छ। साङग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक कथा पढ्ने, कथा लेख्न चाहने र नेपाली साहित्यलाई माया गर्ने सबैलाई उपयोगी देखिन्छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App